विचार/दृष्टिकोण |

कोमल शक्ति सूचकाङ्कमा नेपाल

नरसागर श्रेष्ठ


सन् १९९० मा हार्बर्ड विश्वविद्यालयका प्राध्यापक जोेसेफ एस नाईले राज्यको आर्थिक, सैनिक र राजनीतिक शक्तिलाई हार्ड पावर र राज्यको अरू पक्षलाई कोमल शक्तिका रूपमा प्रतिपादन गरेका थिए । कोमल शक्तिको अर्थ देशको अरूलाई आकर्षण गर्नसक्ने र सहअस्तित्वमा कार्य गर्न सक्ने अवस्थालाई जनाउँछ । सन् १९९० मा ‘बाउण्ड टु लिड’ नाम गरेको पुस्तक प्रकाशित भएपछि यसको प्रचलन अरू बढेको पाइन्छ ।

सन् २००५ देखि बेलायतको ब्राण्ड फिनान्स नाम गरेको ब्राण्डसम्बन्धी काम गर्ने विश्वको अब्बल दर्जाको एक कन्सलटेन्सीले विश्वका देशलाई उनीहरूको कोमल शक्तिका आधारमा वर्गीकरण गरेको पाइन्छ । देशको कोमल शक्तिका तीन वटा स्रोत हुन्छन् । पहिलो, देशको संस्कृति जसले अरूलाई आकर्षित गर्न सक्छ । दोस्रो, त्यसको राजनीतिक मूल्य र मान्यता जसबाट नागरिक स्वदेश र विदेशमा सम्मानपूर्वक बाँचिरहेका हुन्छन् । तेस्रो, यसको विदेश नीति जसबाट अरूले कुनै पनि देशको वैधता र देशको नैतिक अधिकारलाई मान्यता दिइरहेको हुन्छ ।

एउटा देशको कोमल शक्ति सूचकाङ्कमा विभिन्न प्रकारका सूचक समावेश गरिएको हुन्छ, जसले संयुक्त रूपमा देशको विश्व रङ्गमञ्चमा उपस्थिति, प्रभाव र इज्जत देखाइरहेको हुन्छ । यस वर्षको सूचकाङ्क गणितीय रूपमा गणना गर्दा ब्राण्ड फिनान्सले सातवटा विषयलाई आधारस्तम्भका रूपमा लिएको थियो । ती हुन् व्यवसाय र व्यापार, शासकीय व्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, संस्कृति र सम्पदा, सञ्चार र मिडिया, शिक्षा र विज्ञान तथा जनता र प्रचलित मूल्यमान्यता । यी सात वटा आधार स्तम्भको ३४ वटा अवयव विश्लेषण गरेपछि हरेक देशले आफ्नो तुलनात्मक स्थितिको आकलन गर्न सकिनेछ । यी सात वटा आधारस्तम्भभित्र देशको शासकीय व्यवस्था, विधिको शासन, अपराधको दर, सुरक्षा, संविधानको कार्यान्वयन, पर्यटन, ललितकला, परम्परागत र सामाजिक सञ्जालको सञ्चालन शिक्षा, मूल्य र मान्यता र समाजप्रतिको बढ्दो विश्वास भएमा देशको स्थिति माथि उक्लिने गर्छ । व्यापार व्यवसायमा अर्थव्यवस्था, कर व्यवस्था र उपलब्ध आधारभूत संरचना समावेश गरिएको हुन्छ । शासकीय व्यवस्थामा विधिको शासन, मानव अधिकार, अपराधको दर सुरक्षा संंविधान र राजनीतिक विशिष्टका तथ्य समावेश गरिएको हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धअन्तर्गत कूटनीतिक सम्बन्ध, देशमा अन्तर्राष्ट्रिय संस्थाहरूको उपस्थिति, द्वन्द्व व्यवस्थापन, अन्तर्राष्ट्रिय सहयोग र हावापानी परिवर्तन सम्बन्धमा देशले चालेका कदम समावेश गरिएको हुन्छ । संस्कृति र सम्पदामा पर्यटन, खेलकुद, देशमा प्रचलित खाद्यवस्तु, ललितकला, साहित्य सङ्गीत, फिल्म र फेसन पर्दछ । मिडिया र सञ्चारमा परम्परागत सञ्चार व्यवस्था र सामाजिक सञ्जाल र तिनीहरूको बजारीकरण र अन्तिमको जनता र मूल्यमान्यतालाई समावेश गरिएको छ ।

यो सूचकाङ्क गणना गर्दा तथ्याङ्कीय विवरण विश्लेषण गर्नुको साथै यसमा भाग लिन चाहने देशको केही निश्चित प्रतिशत मानिसलाई प्रश्नावली पठाएर र उनीहरूसँग अनलाइन अन्तर्वार्ता लिएर तथ्य सङ्कलन गर्ने प्रचलन छ । माथि सात वटा आधार स्तम्भहरूको आधारमा हरेक देशले प्राप्त गर्ने पूर्णाङ्क भनेको एक सय नै हो । यस वर्षको प्रतिवेदनमा सय देशका ७५ हजार जना व्यक्तिसँग अन्तर्वार्ता लिएको, एक सय देशका ७५० जना विशेषज्ञको राय सङ्कलन गरिएको थियो । यी विशेषज्ञमा व्यावसायिक नेताहरू, बजार विश्लेषक, प्राज्ञिक वर्ग, थिङ्कट्याङ्क, गैरसरकारी संस्था र पत्रकार पर्छन् जोसँग टलिफोन वा इन्टरनेटको माध्यमबाट अन्तर्वार्ता लिएको पाइन्छ ।

यी सात वटा आधारस्तम्भको अवयवमा देशहरूको अवस्था साथै विशेषज्ञहरूले देश विश्वमा कति परिचित छ, विश्वमा उसको प्रतिष्ठा, प्रभाव, कोभिड–१९ रोकथाम र उपचारमा गरेको प्रयासलाई मूल्याङ्कन गरेर विशेषज्ञले देशहरूलाई स्वर्ण, रजत र काँस्य पदक पनि दिने गरेको छ । यस प्रकार देशहरूलाई १२ वटा सूचकको आधारमा देशहरूको तुलनात्मक स्थिति देखाइएको हुन्छ ।

यो सर्वेक्षणमा हरेक वर्ष देशहरूको सहभागिता वृद्धि हँुदै गएको छ । उदाहरणका लागि गत वर्ष ६० वटा देश समावेश भएकोमा यस वर्ष सय वटा देश पुगेको छ । सन् २०१५ देखि यो सूचकाङ्क प्रकाशन हुन थाले पनि नेपालले २०२१ को सर्वेक्षणमा मात्र सहभागिता जनाएको देखिन्छ । सन् २०२१ को सर्वेक्षणमा एक सय देश समावेश भएकोमा नेपालको स्थान ९५ मा छ । नेपाल पाँच वटा देश (केन्या, तान्जानिया, सेनेगल तुर्केमिनिस्तान र एंगोला । यी देशले २०२१ मा मात्र सहभागिता जनाएको ) भन्दा मात्र अगाडि रहेको पाइन्छ । सार्क क्षेत्रमा भारतको अवस्था सबभन्दा राम्रो देखाइएको छ भने भुटान र माल्दिभ्स सहभागी नभएकाले हाम्रो अवस्था सबभन्दा कमजोर छ ।

यस वर्षको प्रतिवेदनमा ६२.२ अङ्क प्राप्त गरी जर्मनी पहिलो स्थानमा रहन सफल भयो भने ६०.६ अङ्क प्राप्त गरी जापान दोस्रो र एङ्गोला २६.९ अङ्कसहित सबभन्दा पुछारमा रहेको पाइन्छ । स्मरण रहोस् सन् २०२० का प्रतिवेदनमा जापान पहिलो स्थानमा रहेको थियो र यस वर्ष जापान दोस्रो स्थानमा झरेको छ । बेलायत ५७.६ अङ्कका साथ तेस्रो स्थानमा रहेको देखिन्छ । यो प्रतिवेदनले न्युजिल्यान्डले आफ्नो स्थान माथि उकास्न सफल रहेको देखाइएको छ भने अमेरिका ओरालो लागिरहेको छ ।

एसियामा सबभन्दा राम्रो अवस्था जापान र त्यसपछि चीनको रहेको पाइन्छ । चीन आठौँ स्थानमा छ भने भारत ३६ स्थानमा । भियतनाम भने ४७औँ स्थानमा छ । सार्क देशमा श्रीलङ्काको स्थान पनि सम्मानजनक नै मान्नुपर्छ । भारत गत वर्षको तुलनामा यस वर्ष नौ स्थानले तल झरेको छ । कोभिड–१९ को दोस्रो लहरले भारतको अर्थव्यवस्थामा जुन प्रभाव पा¥यो र भारतमा भइरहेको निरन्तरको प्रदर्शन वा जुलुस र नागरिक अवज्ञाका घटनाले भारतको स्थान तल झरेको हो ।
माथि उल्लिखित १२ वटा सूचकका आधारमा नेपाल र भारतको प्रतिष्ठामा अङ्क बराबर (५.४) छ भने कोभिड नियन्त्रणमा भारतले भन्दा नेपालले १.३ अङ्क बढी प्राप्त गरेको देखिन्छ । अरू सबै सूचकमा नेपाल भारतभन्दा पछि नै रहेको देखाइएको छ । भारतले माथि भनिएजस्तै एउटा मात्र पदक जितेको देखाइएको छ भने नेपाललाई त्यस्तो पदक प्राप्त भएको देखिँदैन ।

विभिन्न अन्तर्राष्ट्रिय निकायबाट प्रकाशित हुने सूचकाङ्कमध्ये यो सूचकाङ्क दुइटा कारणले गर्दा भिन्न रहेको छ । पहिलो, यो सूचकाङ्कको क्षेत्र व्यापक भएको पाइन्छ । सात वटा आधार स्तम्भभित्र रहेका ३४ वटा विषय सबै समेटिँदा देशको आर्थिक, सामाजिक र राजनीतिका सबै क्षेत्र समेटिएको पाइन्छ । यो प्रतिवेदनले अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व आर्थिक मञ्च दाभोस आदिले प्रकाशन गरेका तथ्याङ्क उपयोग गर्नुको साथै नमुनाका रूपमा धेरै देशका नागरिकको धारणाको साथमा विशेषज्ञको रायसमेत समावेश हुने भएकाले यसले देशप्रतिको बाह्य धारणा बुझ्न सहयोग मिल्छ ।

एकजना अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ विनोद खड्काले नेपालको बुद्ध धर्म, सगरमाथा, नेपालको द्वन्द्व व्यवस्थापनमा प्राप्त गरेको सफलता, अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति र सुव्यवस्था कायम गर्न नेपालले खेलेको भूमिका र हाम्रो धर्म संस्कृति आदिको बारेमा अन्तर्राष्ट्रिय जगत्मा अध्ययन र अनुसन्धानसहित कोमल शक्तिको प्रचारप्रसार गर्न सकेमा हाम्रो तुलनात्मक स्थितिमा परिवर्तन आउने बताए ।

नेपालले यो सर्वेक्षणमा सहभागी हुनुले हाम्रो पारदर्शिताप्रतिको चाहना र विश्व रङ्गमञ्चमा अहिले पाइरहेको भूमिकालाई अरू सुदृढ गर्न चाहान्छ भन्ने स्पष्ट हुन्छ । नेपालको हकमा राजनीतिक अस्थिरता, भ्रष्टाचार कम गर्न प्राप्त भएको सफलतामा कमी, दैनिकजस्तो सडकमा प्रदर्शन, अहिले शक्ति पृथकीकरण सिद्धान्तविरुद्ध भइरहेको न्यायालयको तनाव आदिले गर्दा नेपालको स्थान निकट भविष्यमा माथि उक्लिने सम्भावना कम छ । यद्यपि नेपालले कोभिड– १९ नियन्त्रणमा गरेको प्रयास खासगरी खोप कार्यक्रमको विस्तार र आर्थिक वृद्धिमा रहेको सम्भावनाले अवस्था सुधार हुने आकलन गर्न सकिन्छ ।