विचार/दृष्टिकोण |

नारामा सीमित महिला सशक्तीकरण

डा. नम्रता पाण्डे
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० लाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियानको रूपमा मनाउँदै आइएको छ । सन् १९९३ मा संयुक्त राष्ट्र महासभाले जारी गरेको महिलाविरुद्धको हिंसा उन्मूलनसम्बन्धी घोषणाले महिलाविरुद्धको हिंसालाई लैङ्गिकताको विभेदमा आधारित हिंसाको कुनै पनि कार्यको रूपलाई महिला हिंसाको रूपमा परिभाषित गरेको छ । जसमा–महिला भएकै कारणले भोग्नुपर्ने शारीरिक, यौनिक, मनोवैज्ञानिक, मानसिक पीडा, साथै त्यस्ता कार्यप्रति धम्की, जबरजस्ती वा स्वतन्त्रताको स्वेच्छाचारीलाई वञ्चित गरिने खालका व्यवहार जुन सार्वजनिक वा निजी जीवनमा महिलाले महसुस गर्नुपर्ने हुन्छ । नीति नियम र अभियानले मात्र अपेक्षित रूपमा यस्ता हानिकारक अभ्यास निर्मूल हुन नसक्ने रहेछन् भन्ने तथ्य वार्षिक घट्ने गरेका बलात्कार, आत्महत्या, बालविवाह, छाउपडी, बोक्सीको आरोप, दाइजोप्रथा लगायतका, दुव्र्यवहारको माध्यमबाट महिलाले भोग्नुपरेको तथ्याङ्कले पनि पुष्टि गरेको हुन्छ । अनुसन्धानले पुष्टि गरेको छ, लगभग तीनमध्ये एक महिला आफ्नो जीवनकालमा दुव्र्यवहारकोे सिकार हुन पुग्छन् । युएन वुमनले अनुसन्धान गरी प्रस्तुत गरेको नयाँ प्रतिवेदनले बताउँछ कि यस्ता दुव्र्यवहार सङ्कटको समयमा अरू धेरै सङ्ख्याले बढ्ने रहेछ ।

कोरोना महामारीको अवधि, मानवीय सङ्कट, द्वन्द्व र जलवायु प्रकोपको समयमा यस्ता घटना बढेको तथ्याङ्कमा देखियो । करिब १३ देशको तथ्याङ्कमा आधारित उक्त प्रतिवेदनले देखाउँछ कि तीनमध्ये दुई महिलाले कुनै न कुनै प्रकारको हिंसाको अनुभव गरेको र खाद्य असुरक्षाको सामना गर्नुपर्ने बढी सम्भावना रहेको बताए भने, १० मध्ये एक महिलाले मात्र आफ्नो पीडालाई व्यक्त गर्ने र प्रहरीकहाँ गएर उजुरी दिने गरेको पाइयो । नेपालको परिवेशमा कतिपय अभिभावक आफ्ना श्रीमती र छोरी अन्यायमा परेका घटना बाहिर ल्याउन समेत चाहँदैनन् । यस्ता विषयलाई अघि सार्नु भनेको आफ्नो इज्जत गुमाउनु हो भन्ने ठान्दछन् । अब के गर्नुपर्ला त ? अब सोच बदल्न जरुरी छ–छोरी र श्रीमतीजत्तिको इज्जत के छ ? समाजले के भन्छ होइन, मेरो इज्जतमाथि कसैले अन्याय गर्न सक्दैन भनेर अन्यायविरुद्ध आवाज उठाउने शक्तिको खाँचो छ । हाम्रो परम्परागत धारणा छ, महिला कमजोर र दोस्रो कोटीकी प्राणी हुन् त्यसैले महिला उत्थानका लागि विकास आवश्यक छ । होइन, अब धारणा परिवर्तन गर्नुपर्छ–महिलालाई विकास होइन कि विकासमा महिला आवश्यक छन् । आफ्नो घरको उदाहरण हेरौँ न एक दिन आमा, छोरी या श्रीमती नभएको घर कति शून्य र अपूर्ण लाग्छ । त्यसैले राज्यका समग्र विकास अभियानमा पनि पूर्णता खोज्ने हो र असामाजिक हानिकारक अभ्यासलाई परास्त गर्ने हो भने ती सबै अभियानमा महिलाको सहभागिता, योगदान र निर्णय अधिकारको आवश्यकता छ ।

अभियानको नारा र उद्देश्य
अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको अभियान २०२१ को नारा रहेको छ– ओरेन्ज द वल्र्ड ः अब महिलाविरुद्ध हिंसा अन्त्य गर्नुहोस् । महिला र बालिकाविरुद्ध हिंसामुक्त उज्ज्वल भविष्यको प्रतिनिधित्व गर्न र सचेतना जगाउन सुन्तला रङलाई रोजिएको छ । आध्यात्मिक हिसाबले हेर्ने हो भने पनि सुन्तला रङले स्वधिष्ठान चक्रको प्रतिनिधित्व गर्छ । भावना, संवेदना र नाभी चक्रको आसपास रहेको स्वधिष्ठान चक्र प्रजननको माध्यम पनि भएकाले शक्तिको उपमा पनि दिन्छ । ध्यानको अभ्यासबाट यसको सकारात्मक ऊर्जा महसुस गर्न सक्ने हो भने सबैतिर प्रेम, सद्भाव र संवेदना फैलाउन सकिने सङ्केत पनि हो सुन्तला रङको आन्दोलन, जसमा सबैलाई हिस्सा बन्न आग्रह गरिएको छ । पहिरनमा सुन्तला रङ, उत्सवका कार्यक्रममा बत्ती, सजावटका सामग्रीमा सुन्तला रङको प्रयोग आदि माध्यमले सहयोग गर्न सकिनेछ ।

सहकार्यको जरुरी
समाजमा घट्ने असामाजिक हानिकारक अभ्यासका घटनाले पीडित व्यक्ति र परिवारमा मात्र अशान्ति पु¥याउने होइन । त्यसले समाज र राष्ट्र अनि मानव जातिमै प्रत्यक्ष÷अप्रत्यक्ष असर पर्छ, त्यसैले यस्ता घटना न्यूनीकरण र निरुत्साहित गर्न समाजका सबै पक्षको सहकार्य आवश्यक रहन्छ । अवश्य सरकार एवं महिला तथा बालबालिकाको हितमा खुलेका सङ्घसंस्था, सामाजिक अभियन्ता, प्रहरी, प्रशासन, न्यायालय, शिक्षा, स्वास्थ्यको क्षेत्र सबैले दायित्व बोध गर्नुपर्ने हुन्छ । समाजका नेतृत्वमा आउने विभिन्न धर्म, सम्प्रदायका धर्मगुरु, आध्यात्मिक जनचेतना जागृत गराउने अभियानमा लागेका आध्यात्मिक क्षेत्रका नेतृत्वको समेत यसमा सक्रिय सहभागिता र जिम्मेवारी बोध हुनु जरुरी छ । धर्म र पापको आधारमा जीवनभर कर्म चलाउनेले महिला हिंसाविरुद्ध आवाज उठाई, महिलामाथिको हिंसा हानिकारक अभ्यास र पाप हो भन्ने प्रवचन पनि जरुरी देखिन्छ । महिला सशक्तीकरण, न्याय, समावेशी दृष्टिकोणको विकासलाई अगाडि बढाउने हो भने मात्र लैङ्गिकताको आधारमा हुने हिंसा र अराजकता अन्त्य गर्न सकिनेछ । अन्तर्राष्ट्रिय रूपमा सन् २००८ देखि संयुक्त राष्ट्रका महासचिव र युएन वुमनको नेतृत्वमा यो अभियानले विश्वभरका महिला र केटीविरुद्ध हुने हिंसा रोक्न र उन्मूलन गर्ने उद्देश्य राख्दै चेतना अभिवृद्धि गर्न, वकालत गर्न, प्रवद्र्धन गर्न र चुनौती र समाधानमा छलफलका लागि अवसर सिर्जना गर्न विश्वव्यापी कदम चाल्न आह्वान गरेको छ । नेपालमा पनि महिला हिंसाविरुद्धको अभियानको सुरुवात २०५४ बाट सुरु भएर देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्दै आइरहेको छ ।

संविधान र व्यवहारमा भिन्नता
नेपालको संविधानको धारा ३८(१) ले प्रत्येक महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक हुनेछ भन्ने व्यवस्थासमेत गरेबाट वंशजको नामकरण वा पहिचानको मामिलामा महिलालाई समान हक दिएको छ तर व्यवहारमा यो सतप्रतिशत पाइँदैन । किनकि अझै पनि हाम्रो सोचाइ र व्यवहार, रुढिवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्यमान्यता हाबी भएको कारण महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिने, समान अवसरबाट वञ्चित गराइने, महिलाको स्वतन्त्रता र गतिशीलतामाथि अरूले नियन्त्रण गर्ने प्रवृत्ति धेरै छ, जसका कारण पनि महिला माथि हुने हिंसा ज्युँ का त्युँ छन् भन्दा अनुपयुक्त हुँदैन । शिक्षित, चेतनशील परिवारमा महिला ससम्मान आफ्नो कर्मक्षेत्रमा अगाडि छन् । साथ सहयोग पाएका छन्, बहुआयामबाट आफूलाई सक्रिय एवं शसक्त बनाउन सफल छन् । तर, जहाँ आवश्यक छ, भुइँ तहका महिला तथा बालबालिका अनेक तरहले हिंसाको चपेटामा परेका छन् उनीहरूलाई के थाहा आफ्नो सुरक्षा र समानतापूर्वक, सम्मानपूर्वक बाँच्न पाउने अधिकार संविधानमा अङ्कित छ भनेर ? दाइजो प्रथाविरुद्ध, बालविवाहविरुद्ध, गालीगलौज र अनावश्यक आरोपविरुद्ध, हिंसाविरुद्ध आफ्ना पीडा ओकल्न सक्ने महिलाकहाँ संविधानबारे जानकारी हुनुअघि उनीहरूलाई आफ्ना पीडाका बारेमा आवाज उठाउन सक्ने बनाउनु जरुरी छ ।

शिक्षा, स्वास्थ्य, मातृत्व सुरक्षा र आधारभूत आवश्यकताबाट वञ्चित महिला तथा बालबालिकाको उत्थानमा गरिएका कामको तथ्याङ्क बढ्नु जरुरी छ । नेपाली समाजमा त्यस्ता स्थान र परम्परा अझै कायम छन् जहाँ जबर्जस्तीकरणी, वैदेशिक रोजगारीको नाममा ठगी, यौन शोषण, महिलाले दाइजो नल्याएका कारण यातना सहनु पर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, बालविवाह, बहुविवाह, देहव्यापार, गरिबी, बेरोजगारी, मानसिक यातना, गालीगलौज, बहुविवाह, चेलीबेटी बेचबिखन र ओसारपसार, हाडनातामा करणी, अत्यधिक काम तर ज्याला कम, यौन दुरुत्साहन, यौन शोषणलगायतका हिंसाले जरा गाडेको देखिन्छ । यस्ता अभ्यास न्यूनीकरण गर्न एक मात्र अभ्यास हो चेतना जागरणका कार्यक्रम बढाउनु । व्यक्तिको मानसिक सोच परिवर्तनका लागि उत्प्रेरात्मक कार्यक्रममार्फत रूपान्तरणको प्रयास गर्नु र ध्यान तथा योगको अभ्यासबाट स्वयंको पहिचान गराई सबैप्रति मानवीयताको भावले हेर्न सक्ने दृष्टिकोणको विकास गर्नु । दिगो विकास लक्ष्यको वाचामा पनि – कोही पछि नपरुन् भन्ने विषयले महिला र बालिकाविरुद्धको हिंसा अन्त्य नगरी दिगो विकास लक्ष्य पूरा हुन सक्दैन भनेर आत्मसात् गरेको छ । मानसिक सोचको रूपान्तरण यस्तो आउनुछ कि–महिलालाई विकास होइन विकासमा महिला हुनुपर्नेछ ।