वायु प्रदूूषण रोक्न सावधानी (सम्पादकीय)
चिसो बढेसँगै वायुको गुणस्तर खस्कँदै जान थालेपछि स्वास्थ्यमा समस्या देखिन थालेको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको चिकित्सकहरूले बताएका छन् । हिउँदयाममा चिसो बढेसँगै वायुको गुणस्तर बिग्रने गरेको छ । पछिल्ला वर्षमा वायु गुणस्तरको अवस्था झन्झन् बिग्रदै गएको छ । तिहारपछि भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढ्न थालेको हो । भारतबाट आएको धुलो र धुवाँको कण मिसिएको जलवाष्पयुक्त हावाका कारण काठमाडौँको वायु प्रदूषण बढेको थियो ।
यस वर्ष चाँडै चिसो बढेकाले मुलुकका विभिन्न भागको वायु गुणस्तर बिग्रिएको वातावरण विभागको तथ्याङ्कले देखाउँछ । शनिबारको वायु गुणस्तर सूचकाङ्क –एक्युआई) सिमरामा सबैभन्दा धेरै १९५ रहेको थियो भने विराटनगरमा १९४, पोखरामा १८९, धनगढीमा १५९, जनकपुरमा १२२ रहेको थियो । काठमाडौँका विभिन्न ठाउँमा ११५ देखि १५९ सम्म पुगेको छ । गत सालको हिउँदमा पनि काठमाडौँको वायु गुणस्तर चार सय एक्युआई पुगेको थियो । वायुको यो गुणस्तर मानव स्वास्थ्यका लागि हानिकारक हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ५० एक्युआईसम्म भएको वायु स्वस्थ्यकर मानिन्छ । एक्युआई एक सयभन्दा माथिको वायु स्वस्थका लागि हानिकारक हुन्छ ।
वायुको गुणस्तर सुधार गर्ने उद्देश्यसहित सरकारले २०७६ माघमै काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना ल्याएको थियो । यो कार्ययोजनाले दीर्घकालीन र अल्पकालीन कार्यक्रम अगाडि सारेको छ । वायु प्रदूषणका मुख्य कारक मानिएका यातायातका साधनबाट हुने प्रदूषण रोक्न विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने, उद्योगधन्दाबाट हुने उत्सर्जन कम गर्नेदेखि उद्योगधन्दा, अस्पताल, घरायसी एवं कृषिजन्य फोहोरको उचित व्यवस्थापनमा कार्ययोजनाले जोड दिएको थियो । तर यो कार्ययोजनाको प्रभावकारी कार्यान्वयन हुन सकेन । कोरोना महामारीका कारण कार्ययोजना कार्यान्वयनमा समस्या देखिएको छ ।
वायु प्रदूषण मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध भएको विषय हो । वायु प्रदूषण बढेको अवस्थामा हरेक मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ । चिकित्सकका अनुसार प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढी मात्रा देखिन्छ । वायु प्रदूषणका कारण रुघाखोकी लाग्ने, घाँटीमा समस्या हुने, घाँटी खसखस हुने, चिलाउने, घाँटीको एलर्जीको समस्या देखिन्छ । दम, मुटु, छातीको समस्या भएका बिरामी उच्च जोखिममा रहन्छन् । अत्यधिक चिसो तथा प्रदूषणले निमोनिया, श्वासप्रश्वास, हाइपोथर्मियालगायतका रोगले सताउँछ । यो समयमा विशेष गरी दीर्घरोगी, वृद्धवृद्धा तथा बालबालिका उच्च जोखिममा रहन्छन् ।
वायु प्रदूषण कम गर्न दीर्घकालीन उपाय अपनाउन आवश्यक छ । सरकारले ल्याएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयनबाट वायुको गुणस्तरमा सुधार गर्न सकिन्छ । यहाँको वायु प्रदूषणमा करिब एकतिहाइ अंश सवारी साधनबाट गरिएको प्रदूषणकै छ । त्यसैले पुराना र बढी प्रदूषण गर्ने सवारी साधन सञ्चालनमा रोक लगाउनेदेखि जैविक इन्धन प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरणले वायु गुणस्तर सुधारमा निकै सहयोग गर्न सक्छ । सवारी साधनको नियमित जाँच गर्नेदेखि बढी प्रदूषण गर्ने र पुराना सवारी साधन सञ्चालनमा तत्काल रोक लगाउनुपर्ने अवस्था आएको छ । यसबाहेक इँटाभट्टा र उद्योगधन्दालाई प्रविधिगत रूपमा सुधार गरी वातावरणमैत्री बनाउनु जरुरी छ । फोहोर व्यवस्थापनलाई वातावरणमैत्री बनाउनुपर्छ ।
वायु प्रदूषण घटाउन सामूहिक प्रयास चाहिन्छ । यसका लागि हरेक नागरिक जिम्मेवार बन्नैपर्छ । जाडोमा फोहोर बाल्ने काम धेरै हुन्छ । त्यसलाई रोक्न सरकारले पूर्ण रूपमा बन्द गर्न अभियान नै चलाउनुपर्छ । घरबाट निस्कने फोहोर, कृषि तथा पशुजन्य फोहोर बाल्ने व्यवहारमा तत्काल परिवर्तन आवश्यक छ । यसले स्वास्थ्यमा असर गर्छ भन्नेबारे व्यापक जनचेतना फैलाउन आवश्यक छ ।
वायु प्रदूषण बढेका बेला आफ्नो स्वास्थ्यमा समस्या नआओस् भनेर प्रत्येक व्यक्ति सचेत हुनुपर्छ । यस्तो बेला घरबाहिर ननिस्कने र निस्कनै परेमा विशेष सावधानी अपनाउनुपर्छ । चिकित्सकहरूले यस्तो बेलामा
‘मर्निङवाक’ नगर्न, कठिनखालका शारीरिक अभ्यास नगर्न, घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, चस्मा प्रयोग गर्न सुझाव दिएका छन् । बाक्ला कपडा लगाइदिने, तातो, झोलिलो र पोषिलो खानेकुरा खानाले यसको असर कम गर्न सकिन्छ ।