विचार/दृष्टिकोण |

नोरो भाइरसको चुनौती

डा.केदार कार्की
हामी वैश्विक तपन, जलवायु परिवर्तन वातावरणीय प्रदूषणको माखेसाङ्लोमा अल्झिएका छौँ । मानव समुदायले आजसम्म आर्जन एवं विकास गरेको ज्ञान, सीप, प्रविधि जसले प्रकृतिबाट उत्पन्न हुनसक्ने जोखिममाथि सहजै विजय प्राप्त गर्न सकिने विश्वास गरिएको थियो । वैश्विक स्तरमा फैलिएको कोभिड–१९ को महामारीले जनस्वास्थ्य एवं आवासीय चिकित्सा क्षेत्रमा हालसम्म उपलब्ध सबैखाले उत्तर आधुनिक ज्ञान, सीप, विधि एवं प्रयोदयोगिकको क्षमता, दक्षता एवं उपादेयताको अन्तिम सीमा तोकिदिएजस्तो छ । जसले गर्दा मानव समुदाय कोभिड–१९ को महामारीबाट कहिले सुरक्षित निस्कने हो भन्ने भेउ पाउन सकिरहेका छैनन् वैश्विक स्तरमै । यसै कालखण्डमा यस भारतीय उपमहाद्वीपमा ब्ल्याक फङ्गस अनि डेङ्गु जिकाले जनसमुदायलाई आक्रान्त पारेको छ । यही बेला भारतको केराला राज्यको बडनियान क्षेत्रमा महामारीकै रूपमा ठूलो जनसमुदाय नोरो भाइरसको सङ्क्रमणमा परेको खबर छापाका सबैखाले माध्यममा छ्यापछ्याप्ती देखिँदा जनस्वास्थ्यकर्मीविद् एवं आवासीय उपचार सेवामा लागेका चिकित्साकर्मी चिन्तित हुने नै भए । जुन साधारणलाई यस रोगका बारे पूर्वसचेतना गराउनु, रोग देखिएमा मानवीय क्षति न्यून गर्न जनस्वास्थ्य शिक्षाको आधारभूत दर्शन मानिन्छ ।

के हो त नोरो भाइरस ?
वैश्विक स्तरमा झाडापखाला वान्ता तीक्ष्ण रूपमा गराउने कारकको रूपमा नेरो भाइरसलाई लिइन्छ । खानेकुरा अनि पिउने पानीको माध्यमबाट यो सजिलै सर्छ अनि जनसमुदयाको स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । नोरो भाइरस ई.सं. १९७२ मा अमेरिकाको ओहोवा प्रान्तको नोरवाक सहरमा देखापरेको एवं प्रयोगशालाकृत पुष्टि भएकाले उत्पत्तिका आधारमा सुरुमा नोरवाक भाइरस भनियो । संयुक्त राज्य अमेरिकामा प्रति वर्ष औसत १९ मिलियनदेखि २१ मिलियन जनसमुदायमा यसले असर गर्ने गरेको तथा चार लाख ५० हजारभन्दा बढी मानिस आकस्मिक चिकित्सा सेवा कक्ष जाने गरेको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल संस्थाको अभिलेखमा पाइन्छ । यसले वर्षभरि हुने खाद्यजनित हुने स्वास्थ्य जटिलताको आधा हिस्सा ओगट्ने गरेको तथ्याङ्क पाइन्छ । नोरो भाइरसका धेरै प्रकार छन्  । एक प्रजातिबाट भएको सङ्क्रमणबाट मुक्त भए पनि अर्को प्रजातिबाट सङ्क्रमित हुन पुगे सुरक्षित भइँदैन । यद्यपि नोरो भाइरसले वर्षैभरि सङ्क्रमण गर्ने भए पनि जाडोको बेला भने बढी सक्रिय हुने गर्छ । यसको सङ्क्रमणलाई कहिलेकाहीँ विन्टर भोमिटिङ बग भन्ने गरिन्छ । साथै खाद्य विषाक्तता वा यो दूषित खानेकुराको माध्यमबाट सर्छ ।

नोरो भाइरस सङ्क्रमणमका लक्षण
यदि मानिसलाई नोरो भाइरसको सङ्क्रमण भयो भने सामान्य अवस्थादेखि पूर्ण अस्वस्थताको अवस्थामा सङ्क्रमण भएको १–२ दिनमै पुग्ने स्थिति हुन्छ । यस सङ्क्रमणका टड्कारो लक्षणका रूपमा प्रयाःजसो बालबालिकामा वाक्वाकी लाग्ने, वयस्कमा भने पातलो पानीजस्तो पखाला लाग्ने तथा पेट दुख्ने, बटारिने गर्छ । त्यसबाहेक हल्का ज्वरो आउने, जाडो लाग्नु, टाउको दुख्ने, मांसपेसी दुख्ने, थकाइ लाग्ने, शिथिल हुने गर्छ । धेरैजसो यी लक्षण त्यति गम्भीर हुँदैनन् तर झाडापखालाले गर्दा शरीरबाट जल विग्रहित हुने हुँदा शरीरमा जलअल्पता हुनेगर्छ । वयस्क एवं बालबालिका बढी संवेदनशील एवं ग्रहणशील हुने गर्छन् साथै कुपोषणको सिकार पनि । सङ्क्रमित जनसमुदायबाट ८ हप्तासम्म यो भाइरस प्रभावित हुन सक्छ जसले गर्दा अरू मानिसमा रोग सर्न सक्छ । यद्यपि यस रोगको सङ्क्रमण क्षमता भने न्यून हुँदै जान्छ । यसबाट सङ्क्रमणमुक्त भएको अवस्थामा ४८ घन्टापछि नियमित दैनिक कार्यमा संलग्न हुन सकिन्छ तर खाद्य उद्योगमा संलग्न कामदारलाई भने ७२ घन्टा पछि मात्र काम गराउनुपर्छ ।

नोरो भाइरस सङ्क्रमणका जोखिम
दूषित खानेकुरा एवं पेयपदार्थ खानाले मानिसहरू नोरो भाइरसबाट सङ्क्रमित हुने गर्छन् । काँचो वा अधकल्चो समुद्री आहार, काँचो फलफूल एवं तरकारी पनि कुनै–कुनै सङ्क्रमणमा सम्मिलित भएको पाइन्छ । नोरो भाइरसबाट सङ्क्रमित एवं दूषित वस्तु सतह छोएर निसङ्क्रमण नगरी आँखा, नाक, मुख छुँदा पनि यो भाइरस सर्न सक्छ । नोरो भाइरस साँघुरो ठाउँमा राम्रोसित फस्टाउँछ । रेस्टुराँ, डे केयर सेन्टर, नर्सिङहोमहरूबाट यो भाइरस चाँडै फैलन्छ । यो भाइरस सतह एवं पानीमा विषम तापक्रममा पनि बाँच्न सक्छ । भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा भाँडाकुँडा, साझा खानेकुरा, हात मिलाउँदा वा अन्य नजिकको सम्पर्कबाट फैलिन्छ । वान्ता गर्दा हावाको माध्यमले भाइरस सतहमा सर्छ । दिशाबाट पनि सर्छ । कलिला बालबालिका एवं वयस्कमा प्रतिरक्षा प्रणाली कमजोर हुनेहुँदा बढी संवेदनशील हुन्छन् सङ्क्रमणका लागि । यसका विषाणु बिरामी साङ्केतिक लक्षण देखिनुभन्दा पहिले नै प्रवाहित हुनेहुँदा सङ्क्रमणको परिचरण रोक्न भने त्यति सहज छैन ।

रोगको निदान
सङ्क्रमणको शङ्का लागेमा दिसा परीक्षणबाट रोगको पुष्टि गर्न सकिन्छ ।

उपचार
अरूखाले भाइरस सङ्क्रमणजस्तो नोरो भाइरसको उपचार उपलब्ध छैन, एन्टिवायोटिकले खासै काम गर्दैन । राम्रो स्याहारसुसार, शुद्ध सफा, पोषिलो आहार एवं प्रशस्त निर्जलीकरण भएमा रोग तीन दिनपछि हराएर जान सक्छ ।

नोरो भाइरसको सङ्क्रमण जटिलता
प्रायःजसो बिरामीमा कुनै किसिमको समस्या लामो समयसम्म देखिँदैन । तर प्रतिरक्षक प्रणाली कमजोर भएका बालबालिका, वयस्कमा भने जलविग्रहका कारण जलअल्पता हुन सक्छ । जसले गर्दा उभिँदा रिङ्गटा लाग्ने, मुख सुक्खा हुने, निद्रा खल्बलिने, आँसु झारी रुने कराउने, आलस्य हुने, छटपटी लाग्ने हुन्छ । जलअल्पता हुनबाट रोक्न प्रशस्त पानी एवं ताजा फलफूलको जुस, अनि खासगरी बालबालिकालाई ओरल डिहाइड्रेसन सोलुसन, जीवनजल क्षति भएको पानी एवं इलेक्ट्रोलाइट सोधभर्ना गर्न दिनुपर्छ । गुलियोयुक्त पेय, रक्सी तथा कोफिनयुक्त पदार्थको सेवन गर्नु हुँदैन, जसले जलविग्रहलाई प्रोत्साहित गर्नेछ । गम्भीर अवस्थाको जलविग्रहको स्थितिमा रगतको नशाबाट निर्जलीकरण गर्नुपर्ने हुन्छ ।

सङ्क्रमणबाट बच्ने कसरी ?
स्वच्छता नोरो भाइरस रोक्ने अचुक उपाय मानिन्छ । दिसा–पिसाब गर्नुअघि र पछि बच्चाको डाइपर बदलिदिँदा, खाना पकाउनुअघि खाना खानुअघि साबुन पानीले कम्तीमा २० सेकेन्ड हात धुने । अल्कोहल आधारित सफाइका साधन साबुन पानीभन्दा प्रभावकारी हुँदैनन् । दूषित सामग्री सावधानीपूर्वक तह लगाउने, तरकारी, फलफूल राम्रोसित पखाल्ने गर्नुपर्छ । सामुद्रिक भोजन आहार राम्रोसित पकाएर खानुपर्छ । भुँइ सतहलाई क्लोरिन एवं डिटरजेन्ट मिश्रणले राम्रोसँग नियमित सफा गर्नुपर्ने हुन्छ ।
तपाईं सङ्क्रमित हुनुभयो भने सङ्क्रमणमुक्त भएपछि पनि २–३ दिनसम्म आफैँ खाना नपकाउनुहोस् साथै शङ्कास्पद सङ्क्रमितले पकाएको खाना पनि नखानुस् । आफू बाँचे संसार देखिन्छ, आफू मरे त डुमै राजा ।