विचार/दृष्टिकोण |

ओमिक्रोनले बढाएको त्रास (सम्पादकीय)

कोरोना (कोभिड–१९) देखिएको करिब दुई वर्षपछि अर्काे नयाँ प्रजातिले विश्वलाई त्रासमा पारेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरियन्ट कतिपय मुलुकमा फैलिसकेको छ । यो सङ्क्रमण बढ्नसक्ने जोखिमलाई ध्यानमा राखेर आइतबार गृह मन्त्रालयले यसको जोखिम नियन्त्रण तथा रोकथामका लागि दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा निषेध गरेको छ । अफ्रिकी मुलुक हुँदै यात्रा गरेर नेपाल प्रवेश गर्ने अन्य देशका नागरिकलाई पनि उच्च निगरानीमा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।

यसै महिना दक्षिण अफ्रिकामा देखिएको यो कोरोना भेरियन्ट अफ्रिका, युरोप अमेरिका, अस्टे«लियामा देखापरेको छ । हालसम्ममा बेलायत, नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, अस्ट्रेलिया, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोभिड–१९ को यो नयाँ भेरियन्ट अत्यधिक उत्परिवर्तन क्षमता भएको र निकै घातक रहेको दाबी स्वास्थ्य विज्ञहरूको छ । नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण जोखिम बढेसँगै जोखिममा रहेका मुलुकले अन्य देशका नागरिकको प्रवेशमा रोक लगाउन थालेका छन् । न्युजिल्यान्ड, थाइल्यान्ड, सिङ्गापुर, माल्दिभ्स, श्रीलङ्का, साउदी अरेबिया, ब्राजिल, क्यानडा, इजरायल, जापान, युरोपेली सङ्घ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायतका देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

यसअघि डेल्टा भेरियन्टले विश्वलाई आक्रान्त पारेको थियो । डेल्टा भेरियन्टभन्दा अझ बढी घातक रहेको अनुमान गरिएको ओमिक्रोन भेरियन्टका कारण कोरोनाको तेस्रो महामारी नआओस् भन्नेतर्फ विश्व सचेत देखिएको छ । चीनको वुहानमा देखिएको भाइरस र त्यसको भेरियन्ट डेल्टाभन्दा निकै फरक र उत्परिवर्तन क्षमता बढी भएको यो नयाँ भेरियन्टलाई वैज्ञानिकहरूले चिन्ताको विषय मानेका छन् । ओमिक्रोन भेरियन्टको असर कम विश्व आवश्यक सुरक्षा उपाय अबलम्बन गर्न थालिसकेका छन् । युरोपेली मुलुक, अमेरिकालगायतले यात्रा प्रतिबन्ध नै लगाएका छन् । बेलायतलगायतका केही मुलुकले कोरोनाविरुद्धको बुस्टर डोजलाई प्राथमिकता दिन थालेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ओमिक्रोनलाई चिन्ताजनक भेरियन्टका रूपमा लिएको छ । डेल्टा भेरियन्टभन्दा दुई गुणा खतरनाक भएको अनुमान गरिएको यो भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्न विश्वभर आवश्यक सुरक्षा उपाय अपनाउन थालिसकेको छ । कतिपय ठाउँमा निषेधाज्ञा जारी भइसकेको भने धेरैजसो मुलुकले यात्रा प्रतिबन्ध लगाएका छन् । नेपाल दक्षिण अफ्रिकासँग सीधा हवाई सम्पर्क नभए पनि यो भेरियन्ट फेला परिसकेको हङकङसँग सीधा सम्पर्क छ । धेरै आवतजावत रहेका युरोपेली मुलुकमा पनि यो भेरियन्ट फेला परेको छ भने सीधा सम्पर्क रहेका थाइल्यान्ड र खाडी क्षेत्रका मुलुक उच्च जोखिममा रहेकाले नेपाल पनि खतरामुक्त छैन । भारतमा शङ्कास्पद सङ्क्रमित भेटिएको र भारतमा यो भेरियन्टको सङ्क्रमण बढ्ने उच्च जोखिम रहेकाले नेपालमा पनि जोखिम धेरै छ ।

(डब्लुएचओ)ले नेपाललगायत दक्षिण एसियाली मुलुकलाई होसियारी अपनाउन सुझाव दिइसकेको छ । नेपालमा हाल कोरोनाको सङ्क्रमण दर कम रहे पनि यो नयाँ भेरियन्टले असर पार्नसक्ने जोखिम उच्च छ । त्यसैले पूर्व तयारी र सतर्कता अपनाउनुपर्छ । हालसम्म करिब एकतिहाइभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् तर नयाँ भेरियन्टको सन्दर्भमा यी खोप कति प्रभावकारी हुन्छन् भन्ने यकिन भइसकेको छैन । डेल्टा भेरियन्टमा खोपको प्रभावकारिता घटेको भए पनि धेरै सुरक्षा गरेको अनुभव छ । नेपालमा दोहोरिएर वा खोप लगाएका व्यक्तिमा पनि सङ्क्रमण देखिए पनि तिनमा गम्भीर अवस्था आएन । नयाँ भेरियन्टको सन्दर्भमा पनि कोरोनाविरुद्ध प्रयोग भइरहेका खोपले केही सुरक्षा गर्ने आशा गर्न सकिन्छ तर ढुक्क हुने अवस्था छैन । त्यसैले पूर्व सकर्तता नै सर्वोत्तम उपाय हो ।


खोप लगाइसकेका मानिसलाई समेत सङ्क्रमणको जोखिम भएको नयाँ भेरियन्ट भित्रिन नदिन उच्च जोखिममा रहेका मुलुकमा यात्रा गर्न प्रतिबन्ध लगाउन र विदेशबाट आउने यात्रुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र पीसीआर विधिबाट परीक्षण गर्नुपर्छ । सीमा नाका व्यवस्थापनमा ध्यान जानुपर्छ । विगतमा जस्तो समस्या दोहोरिन नदिन अहिलेबाटै परीक्षण र क्वारेन्टाइनको व्यवस्था आवश्यक छ । स्वास्थ्य मापदण्डलाई थप व्यवस्थित र प्रभावकारी बनाएर जोखिम कम गर्नसक्छ । á