विचार/दृष्टिकोण |

उच्च शिक्षामा अर्जुनदृष्टि (सम्पादकीय)

कुनै पनि मुलुकमा प्रतिस्पर्धी शैक्षिक जनशक्ति उत्पादनले मुलुककै मुहार फेर्न सक्दछ । त्यसैले पनि हरेक मुलुकले उच्च शिक्षालाई निकै महìव दिएको पाइन्छ । नेपालका सन्दर्भमा यही विषयमा चर्चा गर्दा उत्पादित जनशक्तिले कतिपय क्षेत्रमा उच्च महìव पाए पनि उत्साहजनक परिणाम भने प्राप्त हुन नसकेको अनुभव छ । शैक्षिक तहका प्रमाणपत्रहरू हातमा भएपछि त्यसैका माध्यमबाट रोजगारीका सम्भावनाको बाटो खुल्न सक्छ तर त्यसका लागि पक्कै पनि जनशक्ति प्रतिस्पर्धी हुनुपर्छ । मुलुकमा पर्याप्त रोजगारी छैन भने कतिपय स्वरोजगारको क्षेत्र पनि खुल्न सकेको छैन । प्रतिस्पर्धी जनशक्तिको अभावकै फलस्वरूप जीवन निर्वाहका लागि शैक्षिक बेरोजगार खाडीलगायतका मुलुकमा निम्न स्तरका काम गर्न बाध्य भइरहेको तितो अनुभव छ । प्रतिस्पर्धी जनशक्तिको पर्याप्त उत्पादन हुँदो हो त मुलुकभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रिय बजारमा समेत हाम्रो जनशक्तिको माग हुन्थ्यो होला । अन्तर्राष्ट्रिय बजारमा भारतीय जनशक्तिको प्रचुरता यसैको एक उदाहरण मान्न सकिन्छ ।

त्रिभुवन विश्वविद्यालयको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार सम्बोधनका क्रममा आँैंल्याउनु भएजस्तै मुलुकको समग्र विकास र समृद्धिको आधार शिक्षा भएकाले यो प्रतिस्पर्धी र समयानुकूल हुनुपर्ने यथार्थ हो । समयानुकूल शिक्षा प्रतिस्पर्धी हुनुको तात्पर्य नै उत्पादित जनशक्तिले प्रतिस्पर्धामार्फत रोजगार हासिल गर्न सक्षम हुनु हो । तर हाम्रो सन्दर्भमा वास्तविकता अलि पृथक छ । शैक्षिक बेरोजगारी बढ्दो छ । आर्थिक, सामाजिक, राजनीतिलगायतका क्षेत्रमा यसको प्रतिकूल प्रभाव देखिएको छ । शैक्षिक प्रमाणपत्र भएर पनि त्यस अनुरूप काम गर्ने सीप नहुँदा रोजगारी प्राप्त हुने सकेको छैन ।


यताका वर्षहरू नवीन प्रवृत्ति पनि देखिएको छ । आफ्ना सन्तानलाई विदेशी विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि पठाउने तप्का बढिरहेको छ । विदेशी विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि आफ्ना बुढेसकालका सहारा सन्तानलाई पठाउनुमा अभिभावकको पनि बाध्यता भएको छ । स्वदेशमा उत्पादित जनशक्ति प्रतिस्पर्धी हुन नसक्ने मात्र होइन, बेरोजगारको सङ्ख्या मात्र बढ्ने हुँदा पनि विदेशी शिक्षाको मोह बढेको हुनुपर्छ । यस्ता प्रवृत्तिमा कमी ल्याउन देशका विश्वविद्यालयहरूले आफ्ना उत्पादनलाई प्रतिस्पर्धी तथा बजारमुखी बनाउन अध्ययन, अनुसन्धान र व्यावहारिक शिक्षालाई प्रभावकारी बनाउनु आवश्यक छ । उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, प्रतिस्पर्धी एवं रोजगारमूलक बनाउँदा नै देशको भविष्य सुनिश्चित हुन्छ । यसका लागि छ दशक इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको पहलकदमी वाञ्छनीय हुनुपर्छ ।

विदेशी विश्वविद्यालयका उत्पादन प्रतिस्पर्धी एवं विश्व बजारमा सजिलै बिकाउ किन पनि हुन्छन् भने बजारको मागअनुरूप समयानुकूल परिवेशमा आफ्ना उत्पादनलाई तयार गर्न शैक्षिक कार्यक्रम अगाडि सारिएका हुन्छन् । त्यसका लागि अध्ययन अनुसन्धानलाई व्यापक बनाइएको हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा कुन क्षेत्रमा कस्ता रोजगारीका सम्भावना छन्, तिनीहरूको उत्पादनमा के कस्ता काम गरिनुपर्छ भन्ने विषयमा गहन गृहकार्य गरिएको हुन्छ । हामीकहाँ विश्वविद्यालयहरू पाठ्यक्रम नै लामो समय पुनरवलोकन हुँदैन । विश्वविद्यालयका विभाग तथा अनुसन्धान संस्था कागजी रूपमा बढी र यथार्थमा सुस्त छन् । विद्यार्थीलाई अपेक्षित सहयोग हुन सक्दैन । अधिकांश विदेशी विश्वविद्यालयको सन्दर्भ फरक हुन्छ । विश्वविद्यालयबाट दीक्षित विद्यार्थी रोजगारमूलक नहुँदासम्म सहयोग भइरहन्छ । विभिन्न रोजगारदातासँग भेटघाट, रोजगारीका लागि हुने विभिन्न परीक्षणमा संलग्न हुने तौरतरिका, अभ्यास तथा अन्य विविध प्रशिक्षण उपलब्ध गराइन्छ ।

उत्पादित जनशक्तिलाई रोजगारीमा संलग्न नहुँदासम्म उनीहरूप्रति आफ्नो नैतिक दायित्व महसुस गर्छन् र निरन्तर सघाउन तत्पर हुन्छन् । साथै विश्वविद्यालयका साधन स्रोतको प्रयोगमा समेत विद्यार्थीलाई कुनै अड्चन हुँदैन । हाम्रो सन्दर्भमा शैक्षिक क्यालेन्डरको समाप्तिसँगै विद्यार्थी र विश्वविद्यालय एक अर्काका बिरानो जस्तै लाग्न थाल्छ । विदेशी विद्यालयका असल अभ्यास त्रिभुवन विश्वविद्यालयलगायतले अवलम्बन गर्दा अहिलेको अवस्थामा अवश्य सुधार हुन सक्ने छ । यसर्थ पनि मुलुकको शैक्षिक गतिविधिलाई उकास्दै रोजगारी सिर्जना तथा बजारका लागि गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न हाम्रा विश्वविद्यालयहरूको अर्जुनदृष्टि अपरिहार्य हुन्छ ।