सुधारिएको काँग्रेसको परिकल्पना
तीर्थबहादुर थापा
ऐतिहासिक विरासत बोकेको नेपाली कांँग्रेस चौधौँ महाधिवेशनको सन्निकट छ । पार्टीका निष्ठावान् कार्यकर्ता मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्ले समेत काँंग्रेस महाधिवेशनलाई प्रतीक्षा गरिरहेको छ । मुलुकमा आइपर्ने हरेक सङ्कटको सारथि बन्दै आएको काँग्रेस महाधिवेशन सफल बनाउनु हामी सबैको दायित्व हो । एकता र प्रजातान्त्रिक शैलीको सफल महाधिवेशनले मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा काँग्रेसप्रति सकारात्मक सन्देश जानेछ ।
मुलुकका हरेक परिवर्तनको मात्र होइन, कठिन परिस्थितिमा समेत काँग्रेसले निकास दिँदै आएको छ । पछिल्लो पटक सरकारको नेतृत्व सम्हाल्नुपर्ने परिस्थिति अस्वाभाविक बाध्यताको उपज थियो । गठबन्धनमा सहभागी दलको आग्रहकै कारण काँग्रेसले सरकारको नेतृत्व गर्न बाध्य भएको हो । झन्डै दुईतिहाइ बहुमत हासिल गरेको नेकपा नेतृत्वको सरकारले आफू पार्टी, संविधान र नागरिकभन्दा माथि भएको शैली प्रदर्शन ग-यो । संविधानविरुद्ध पटकपटक जनप्रतिनिधिमूलक थलो संसद् विघटन गरेर केपी ओलीले ‘म नै राज्य हुँ’ भन्ने निरङ्कुश शैलीको प्रदर्शन गरेकैले मुलुकको अस्तित्व जोगाउन पनि कांँग्रेस सरकारको नेतृत्व गर्न तयार भएको हो । एमाले महाधिवेशनमा ओलीको देवत्वकरणले पनि त्यसको पुष्टि गरेको छ ।
हो, काँग्रेसलाई नागरिकले पाँच वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको थियो । ओलीको गलत र जनविरोधी शासकीय शैलीबाट मुलुकलाई मुक्ति दिलाउन जनप्रतिनिधिमूलक थलो संसद्को बहुमतले आग्रह गरेपछि काँग्रेसले सरकारको नेतृत्व गरेको हो । यसले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला काँग्रेस नै चाहिँदो रहेछ भन्ने सन्देश पनि प्रवाह भएको छ । परमादेशको सरकार भनेर नेकपा (एमाले)ले आफूलाई चोखो सावित गर्न खोज्दै छ, त्यो उसको भ्रम मात्र होइन, लोकतन्त्रका मूल्य र नागरिकलाई उसले गरेको उपेक्षाको परिणाम पनि हो । म फेरि दोहो-याउन चाहन्छु, यो सरकार परमादेशबाट आएको भए पनि लोकतान्त्रिक र संवैधानिक व्यवस्थाको उपज हो । यो सरकार गठनसँगै सङ्कटमा परेको राष्ट्र, संविधान र लोकतन्त्रको सुरक्षा भएको छ । निर्वाचित शासकबाट प्रजातन्त्र लुटिएको र राष्ट्रियता इतिहासमै कमजोर भएर काँग्रेस सत्तासीन हुनुपरेको अवस्थाकै कारण आमनागरिक तहमा सकारात्मक सन्देश प्रवाह भएको छ । नागरिकलाई सुशासनका प्रत्याभूति दिलाउनेतर्फ सरकार दत्तचित्त हुनुपर्छ । सरकार कमजोर भयो भने पार्टीलाई नोक्सान पुग्छ । सिङ्गो पार्टी पङ्क्तिले एकजुट भएर सरकारलाई साथ दिनुपर्छ ।
काँग्रेस यतिबेला महाधिवेशनमा जुटिरहेको छ । महाधिवेशनका क्रममा नेताकार्यकर्तामा देखिएको उत्साह र आएको ऊर्जालाई ठूलो शक्तिका रूपमा व्याख्या गर्दै यसलाई पार्टीका नेता र कार्यकर्ता मात्र हैन, शुभेच्छुक, पर्यवेक्षक र आमनागरिकले उत्सकुतापूर्वक हेरिरहेका छन् । यो ऊर्जा र उत्साह कम्तीमा आउने आमनिर्वाचनसम्म कायम रहनुपर्छ । राष्ट्रिय गानमा भनिएजस्तो महाधिवेशनले सयौँ थुँगा पूmललाई एकै मालामा उन्न सक्नुपर्छ । आगामी आमनिर्वाचनमा पार्टी महाधिवेशनमा भएका र हुने स्वस्थ आन्तरिक प्रतिस्पर्धाको प्रभाव र तिक्तता रहनुहुँदैन । आमनिर्वाचनमा जाँदा पार्टीको साथी अर्को पार्टीको जस्तो र अर्को पार्टीको प्रतिस्पर्धी आफ्नो जस्तो ठान्ने प्रवृत्ति त्याग्नुपर्छ । कसैप्रति गालीगलौज नहोस् । मित्रवत् व्यवहार होस् । हामी विपक्षीको नभई आफूभित्रै एकअर्काको आलोचना गर्दछौँ । ओलीका अनावश्यक गफ बिकिरहेका छन् तर काँग्रेसका काम बिकिरहेका छैनन् । हामीले व्यक्तिलाई नभई पार्टी र विचारलाई केन्द्रमा राख्नुपर्छ । पार्टीको क्षमता बढे नेता कार्यकर्ताको प्रतिष्ठा र क्षमता स्वतः बढ्छ । काँग्रेस पार्टीले यति धेरै काम गर्दा पनि प्रचार हुन सकेन । कम्युनिस्टले कामभन्दा प्रचार धेरै गर्छन्, ठूलो गल्ती गर्छन्, प्रचारमा सानो आउँछ । हामीले तिलबराबर गल्ती ग-यौ भने पहाडबराबर हल्ला हुन्छ । पहाड बराबर काम गर्छौं, तिलबराबर प्रचार हुन्छ । पार्टीलाई आगामी निर्वाचनमा अत्यधिक बहुमतमा पु-याउनुपर्ने दायित्व हाम्रो काँधमा छ । संसारभर कम्युनिस्ट निर्वाचनमा गएपछि हराएका छन्, नेपालमा पनि त्यही स्थिति ल्याउनुपर्छ । त्यो स्थिति ल्याउन हाम्रो एकताबाट मात्र सम्भव हुन्छ ।
पार्टीमा आफू बहुमतमा भए पनि बहुमतको घमण्ड नगरेर सर्वसम्मति र सहमतिबाट पार्टी सञ्चालन गर्ने सभापतिको निर्णय सुझबूझपूर्ण, दूरदर्शी र बुद्धिमत्तापूर्ण छ । क्रियाशील सदस्यता साढे चार लाखबाट १० लाख पुग्नु यसैको परिणाम हो । अधिवेशनमा युवाको वर्चस्वले पनि यसलाई पुष्टि गरेको छ । पार्टीको विधान संविधानको अक्षर र भावनासँग मिल्ने बनाइएका तल्लो तहदेखि नै समावेशी भएको छ । पहिले जसरी ९० देखि ९५ प्रतिशत पुरुषको प्रतिनिधित्व हर क्षेत्रमा देखिन्थ्यो, अब तस्बिर फेरिँदै छ, त्यो स्थान महिलाले लिन सक्छन् ।
यसैगरी पार्टीमा उदीयमान युवाको प्रतिनिधित्वले नयाँ आशा जगाएको छ । यसले भविष्यमा काँग्रेसको नाममा राजनीति गर्न चाहने पुस्ताका लागि मैदान फराकिलो हुने विश्वास गर्न सकिन्छ । यही गतिमा युवाको प्रतिनिधित्व बढ्यो भने पार्टीको ऐतिहासिक विरासतमा ठूलो टेवा पुग्नेछ । यही वर्षभित्र स्थानीय निर्वाचन र आगामी वर्ष सङ्घीय संसद्को निर्वाचन हुने भएकाले पार्टीभित्र तिक्तता बढाउनुहुन्न । स्वच्छ प्रतिस्पर्धाका आधारमा इमानदार कांँग्रेस छान्नका लागि हुने महाधिवेशनले निर्वाचनलाई कुनै असर पु-याउँदैन पनि । कुनै व्यक्ति वा गुट विशेष व्यक्तिको उन्नतिका लागि पार्टीको लोकतान्त्रिक र ऐतिहासिक छवि धुमिल हुन दिनु हुँदैन । महाधिवेशनमा हुने स्वस्थ प्रतिस्पर्धाले स्थानीय तह र सङ्घीय संसद् निर्वाचनलाई असर पु-याउँदैन ।
आमनागरिकमा सामाजिक न्यायको सिद्धान्त स्थापित गर्न पार्टी स्थापनाकालदेखि पूर्वजहरूले जीवन उत्सर्ग मात्र गरेका छैनन्, बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद कोइरालाले कठोर यातनासहित ठूलो सङ्घर्ष गरेका छन् । पार्टीको उन्नतिका लागि लाखौँ कार्यकर्ताको रगतपसिना हिजो पनि बग्यो र अहिले पनि बगिरहेको छ । पार्टीको पहिचान जोगाउन रगतपसिना बगाएका निष्ठावान् कांँग्रेसको ऐतिहासिक विरासत कायम राख्न पनि हामीले ससाना विवादभन्दा माथि उठेर अघि बढ्नुपर्छ । जसले अब क्रमशः हँुदै जाने निर्वाचनलाई ऊर्जा प्रदान गरोस् । जसको प्रारम्भ बिन्दु पार्टीको महाधिवेशनलाई बनाऔँ । महाधिवेशनमा कार्यकर्ताले निर्वाध नेतृत्व चुन्ने सुअवसर पाए भने त्यो सबैभन्दा ठूलो ऊर्जा हुनेछ ।
काँग्रेसजनलाई यतिबेला सरकारभन्दा पनि पार्टीप्रति बढी चासो र चिन्ता देखिन्छ । नेतृत्व तहमा बस्नेको बढी जिम्मेवारी हुन्छ नै । निष्ठावान् कार्यकर्ताको भावना बुझ्नुपर्छ । लोकतान्त्रिक चरित्र अनुसरण गरेको पार्टीका कार्यकर्तामा कम्युनिस्टको जस्तो तिक्तता हुँदैन । भोलि गतिलो परिणाम नआउला भनेर आफ्नो लोकतान्त्रिक पहिचानमा दाग लगाउने दिशामा अग्रसर हुनुहुँदैन । पार्टी मजबुत बनाउन सके बहुमतसहित सरकार त भोलिभोलि पनि चलाउन पाइनेछ ।
पार्टी नेतृत्वबारे प्रश्न उठ्ने गरेको छ । हो, नागरिकको चाहनाअनुसार पार्टीलाई कुशल तरिकाले चलाउन हामी सफल भएका छैनौँ, यो कुरा सबैले स्वीकार्नुपर्छ । नेतृत्व भनेको आवश्यकताको सिद्धान्तमा चल्छ, कुनै पनि पार्टीको होस् वा मुलुकको । यति नै वर्ष वा समूहको हुनुपर्ने भन्ने हुँदैन । काँग्रेसमा प्रौढ र युवाको सहभागिता उत्तिकै छ । प्रौढ नेतृत्वको अनुभव, योगदान, परिपक्वता र युवाको ऊर्जा आवश्यक हुन्छ । युवाको नेतृत्व हुनुपर्छ भन्ने बहस स्वाभाविक होइन । अहिलेको अधिवेशनमा पनि तल्लो तहमा अधिकांश स्थानमा युवा पङ्क्ति आएको छ । पार्टी सञ्चालन भनेको सभापतिले मात्र गर्ने होइन, समग्र पार्टी पदाधिकारीले हो । काँग्रेसलाई आधुनिक पार्टी बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । पुरानो र ऐतिहासिक पार्टीसँगै संसारले रुचाएको हाम्रो विचारलाई जनसमक्ष स्थापित गर्न हामी चुकेका छौँ ।
काँग्रेसको माझिएको विचारका आधारमा मुलुकलाई समृद्ध र समयसापेक्ष बनाउन सकिन्छ । यही मान्यताका साथ आउँदो निर्वाचनमा पार्टीलाई पहिलो बनाउन कम्तीमा ५० प्रतिशत मत ल्याउने अभियान चलाउनुपर्छ । ३६ प्रतिशत मत हामीले हासिल गरिसकेका छौँ । त्यसका लागि कार्यशैलीमा आमूल परिवर्तन आवश्यक छ । सङ्गठनमा अनुशासन र कामका आधारमा कार्यकर्तालाई सम्मान गर्ने संस्कारको थालनी गर्नुपर्छ । काँंग्रेसमा पार्टी पछि परेर व्यक्ति अघि बढेको छ, जुन गलत हो । व्यक्ति होइन, पार्टीलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्छ ।
व्यक्तिबाट प्रभावित भएर गुट बनेका छन् । संरक्षण पाउने र संरक्षण दिने परिपाटीकै प्रतिफल हुन्– गुटउपगुट । विचार र मुद्दाका आधारमा पार्टीमा बहस हुनु राम्रो हो तर गुटका आधारमा भाग खोज्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । गुटउपगुटको गलत पद्धति छाडेर काँग्रेसको लोकतान्त्रिक संस्कारलाई जीवन पद्धतिमा ढाल्नु आजको आवश्यकता हो । इमानदार कार्यकर्ता पार्टी बगिरहने नदीजस्तो होस् भन्ने चाहना छ । सरकारको नेतृत्वसमेत काँग्रेसले गरेकाले पार्टीप्रति आमनागरिकको पनि इच्छा र आकाङ्क्षा छन् । हरेक कोणबाट यो कठिन घडी हो । निष्पक्ष रूपमा पार्टीको महाधिवेशन सम्पन्न गरेर सिङ्गो पार्टीको सहयोग लिने सक्यो भने सरकार सञ्चालनमा पनि त्यसले महìवपूर्ण ऊर्जा दिनेछ । निष्ठावान् कार्यकर्ताको आग्रह पनि यही नै हो । पार्टीको नेतृत्व कसले गर्ने वा नगर्ने भन्दा पनि ऐतिहासिक छविको विरासत जोगाउन सबै एकजुट भएर अग्रसर हुनुपर्छ । कसले जित्यो वा हा-योभन्दा पनि काँग्रेसले जित्नुपर्छ भन्ने मान्यता स्थापित गरौँ ।
चौधौँ महाधिवेशन काँग्रेसका लागि ठूलो अवसर र चुनौतीका रूपमा खडा छ । योजना, साहस र समर्पण भएको ऊर्जावान् काँग्रेसले मात्र विद्यमान चुनौतीको सामना गर्न सक्छ । महाधिवेशनमा व्यक्तिगत र गुटगत स्वार्थ छाडेर विचार, पद्धति र नीतिमा बहस गरौँ । पार्टीमा बढेको युवा आकर्षणले महìवपूर्ण पाठ सिकाएको छ । बढ्दो युवा आकर्षण र निष्ठावान् कांँग्रेसले त्यो ऐतिहासिक विरासतको अवश्य जगेर्ना गर्नेछन् । त्यसैले पनि व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज, नेता होइन नीतिमा बहस गरौँ । त्यसले लोकतान्त्रिक पार्टीको छवि उँचो बनाउने छ । आधुनिक काँग्रेसको परिकल्पना पनि साकार हुनेछ ।