स्वयंसेवक परिचालन नीतिमा पूर्णता
डा. बाबुराम ढुङ्गाना
सन् १९८५ देखि संयुक्त राष्ट्रसङ्घको आयोजनामा हरेक वर्षको डिसेम्बर ५ तारिखका दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै आइएको छ । यस वर्ष नेपालमा पनि ‘हाम्रो साझा भविष्यका लागि स्वयं सेवा गरौँ’ भन्ने नाराका साथ सरकारी तथा गैरसरकारी क्षेत्रबाट राष्ट्रिय, स्थानीय तथा समुदायस्तरमा मनाइँदै छ । यो दिवसले स्वयंसेवा गरिरहेका व्यक्ति वा संस्थालाई हौसला बढाउँदै आएको छ । नयाँ पुस्तालाई स्वयंसेवा के हो र किन गरिन्छ भन्ने सन्देशसमेत दिएको छ ।
स्वयंसेवक विकास र परिचालनका क्षेत्रमा हरेक समाजका अलगअलग अवस्था छन् । संसारमा व्यक्तिगत वा संस्थागत रूपमा राजीखुसीले स्वयंसेवा गर्ने चलन धेरै पुरानो हो । कतिपय देशमा राज्यको कानुनले नै स्वयंसेवा गर्न संस्थागत प्रबन्ध गरिदिएको हुन्छ । नेपालमा स्वयंसेवाको अभ्यास धेरै पुरानो भए पनि पछिल्ला दिनमा नयाँ पुस्तालाई आकर्षित गर्न सकिएको छैन । स्वयंसेवक विकास र परिचालनसम्बन्धी कुनै निश्चित निकाय नहुनु, स्वयंसेवी कार्यको कुनै मापदण्ड नहुनु र स्वयंसेवकको कामको मूल्याङ्कन कतै नहुनुले यस कामलाई व्यवस्थित गर्न सकिएको छैन ।
स्वयंसेवा
क्यालिफोर्नियाको स्वयंसेवकसम्बन्धी श्रम कानुनका अनुसार स्वयंसेवक भन्नाले परोपकारी भावनाले कुनै व्यक्तिले कुनै मुनाफारहित संस्था वा सार्वजनिक संस्थाका लागि बिनापारिश्रामिक वा कुनै व्यक्तिगत अपेक्षा नराखी नागरिकको कर्तव्यका रूपमा काम गर्छ भने त्यो व्यक्ति स्वयंसेवक हो । यसरी जनहितका लागि स्थापित संस्थाका लागि व्यक्तिले राजीखुसीसाथ निःशुल्क काम गर्नुलाई स्वयंसेवा मानिन्छ ।
एउटा व्यक्तिले पटकपटक स्वयंसेवा गर्न सक्दैन । व्यक्ति आफ्नो अनुकूल समयमा, रहर लागेको बेलामा समुदायसँग मिलेर सिक्न वा जानेको कुरा अरूलाई सिकाउन वा कुनै उद्धार कार्यमा सहभागी हुन स्वयंसेवामा जोडिन्छ । कुनै संस्थाले आफ्नो कार्यक्रममा सहभागी गराउन विषय मिल्दो क्षेत्रमा स्वयंसेवा गरेको अनुभवलाई छनोटको आधार बनाउने भएकाले व्यक्तिहरू स्वयंसेवी कार्यमा जोडिन्छन् । त्यस्तै स्वयंसेवक परिचालन गर्ने संस्थाले सामुदायिक कार्यमा व्यक्तिलाई जोडी समाजसेवी भावनाको वृद्धि गर्न र अप्ठेरोमा परेको बेलामा सहयोग वा उद्धारका कार्यलाई निरन्तरता दिन संस्थागत रूपमा स्वयंसेवाको कार्यक्रम राखेको हुन्छ ।
जुनसुकै मानिसलाई जेसुकै काममा जोडेर स्वयंसेवकका रूपमा स्वीकार्न सकिँदैन । स्वयंसेवी कार्यमा जोडिन चाहने व्यक्तिलाई खटाउने संस्थाले खटिएको स्थानमा गर्नुपर्ने कामका बारेमा स्पष्ट पारेर पठाउनुपर्छ । त्यहाँ गर्नुपर्ने कामका साथै गर्नै नहुने कामका बारेमा समेत जानकारी गराउनुपर्छ । स्वयंसेवाका कतिपय क्षेत्रहरूमा विशिष्ट ज्ञान र सीपको जरुरत पर्छ । स्वयंसेवकका रूपमा काम गर्न चाहने व्यक्तिसँग तोकिएको न्यूनतम योग्यता छ भने पनि कार्यक्षेत्रमा जानुपूर्व सामान्य अभिमुखीकरण हुनु आवश्यक छ । यो काम स्वयंसेवक परिचालन गर्ने संस्थाले गर्छ । स्वयंसेवक विकास गर्न एउटा निश्चित मापदण्ड र निरन्तर खटिरहने जनशक्ति आवश्यक पर्छ ।
स्वयंसेवक परिचालन गर्नुअघि संस्थाको उद्देश्य प्राप्तिका लागि कति जना र कस्ता योग्यताका स्वयंसेवकलाई के आधारमा छनोट गर्ने भन्ने कुरा आउँछ । धेरै निकायले सार्वजनिक सूचना जारी गरी प्राप्त भएका आवेदनका आधारमा उपयुक्त व्यक्तिको छनोट गर्छन् भने कतिपयले आफ्नो निकायमा सम्पर्क राख्न आउने व्यक्तिलाई अभिमुखीकरणका साथ स्वयंसेवा गर्न पठाउँछन् । संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायले आफूभित्र काम गर्न स्वयंसेवक छनोट गरी निश्चित अवधि र जिम्मेवारी तोकी स्वयंसेवक परिचालन गरेको पाइन्छ । छनोट गरिएका स्वयंसेवकलाई परिचालन गर्नुअघि कुन काम गर्न कहाँ, कति जना, के सुविधा दिएर र कसको सुपरिवेक्षणमा रही काम गर्ने गरी खटाउने भन्ने कुराको निक्र्योल गरिन्छ ।
नेपालमा कल्याणकारी कार्यका लागि स्वयंसेवा गर्ने प्रचुर अभ्यास भए पनि पछिल्ला दिनमा मानिसका दिनानुदिनका समस्या प्रधान हुन जाँदा हातमुख जोर्ने साधन जुटाउन र जीवनवृत्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले स्वयंसेवी कार्य ओझेलमा पर्न गएको महसुस भयो । राष्ट्रिय योजना आयोगको सचिवालयले निश्चित योग्यता भएका युवालाई निर्वाह खर्चसमेत उपलब्ध गराई खास कामका लागि स्वयंसेवक परिचालन गरी आएकोमा मुलुकमा सङ्घीयताको अभ्यासपछि यो जिम्मा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । पछिल्ला दिनमा विदेशबाट स्वयंसेवक आउन थालेपछि पुनः यो कामले चर्चा पायो । विशेषगरी अमेरिका, यूके, अस्ट्रेलियालगायतका मुलुक र संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका निकायले विभिन्न काममा स्वयंसेवक परिचालन गरेबाट यसको प्रयोग फेरि बढेको अनुभव गर्न सकिन्छ ।
नेपालमा नियमित रूपमा स्वयंसेवक परिचालन गर्ने काम राष्ट्रिय युवा परिषद्, नेपाल स्काउट, नेपाली सेना तथा प्रहरी र केही गैरसरकारी क्षेत्रबाट भइआएको छ । हाल प्रदेश तहमा कार्यक्रमिक रूपमा रहेका कारण कतिपय प्रदेश सरकारले कार्यविधि बनाई स्वयंसेवकलाई खटाउने गरे पनि निश्चित मापदण्डबिना खटाइनुले युवाले यसलाई छोटो अवधिको नोकरीका रूपमा बुझ्न गई विषयवस्तुको मर्म भाँचिन गएको छ । स्वयंसेवामा जोडिन कुनै खास उमेर आवश्यक नभए पनि युवा वर्ग नै यस कार्यमा बढी आकर्षित हुनु स्वाभाविक छ । नेपालको कानुनले स्वयंसेवकका क्षेत्रमा मात्र समर्पित भई काम गर्न कुनै निकाय नतोके पनि राष्ट्रिय युवा परिषद् नियमावली, २०७३ ले यो कामको जिम्मा राष्ट्रिय युवा परिषद्लाई दिएको छ । स्वयंसेवक विकास र परिचालनका क्षेत्रमा राष्ट्रिय युवा परिषद्ले अभ्यासका साथ देहायका मोडेल विकास ग-यो ।
(क) एकदेखि तीनदिने स्वयंसेवक परिचालन – खास सीप नचाहिने काम वा अपर्झट आइपर्ने तर लामो समय दिनु नपर्ने कामका लागि सामान्य चियानास्ताका भरमा गरिने काम । यस्ता काममा कुन व्यक्तिले कति काम ग¥यो भन्ने महìव राखिँदैन तर कुन संस्थाले के काम ग¥यो भन्ने मात्र गणना हुन्छ । व्यवस्थित अभिमुखीकरणको समेत आवश्यकता पर्दैन ।
(ख) १४ घण्टे स्वयंसेवक परिचालन – सहभागीलाई यातायात खर्च र खाजा खर्च दिएर कुनै तोकिएको क्षेत्रमा तोकिएको कामका लागि अभिमुखीकरणका साथ स्थानीय व्यक्तिलाई प्राथमिकता दिई खटाइन्छ । यो कामको जिम्मा पनि संस्थाले नै लिने हुँदा व्यक्तिलाई प्रमाणपत्र दिइँदैन तर युवा परिचालनमा राष्ट्रिय युवा परिषद्सँग सहकार्य गर्ने संस्थालाई प्रमाणपत्र दिइन्छ ।
(ग) ३० कार्य दिने युवा परिचालन –इच्छुक युवाबाट काम र काम गर्ने स्थान तोकेर आवेदन आह्वान गरिन्छ । युवालाई प्राथमिकताका आधारमा छनोट गरिन्छ । छनोट गरिएका युवालाई स्तरीय ढाँचामा अभिमुखीकरण गरिन्छ । कुनै निकायको मागका आधारमा खाँचो परेको काममा सघाउन पठाइन्छ । माग गर्ने निकायले कामको सुपरिवेक्षण सहजीकरणसाथ कति दिन काम गरेको हो, प्रमाणित गरी राष्ट्रिय युवा परिषद्मा सिफारिस गरी पठाउँछ । सहभागीलाई खटिएको दिन यातायात भत्ता, खाजा खर्च र आधारभूत सामग्रीसमेत उपलब्ध गराइन्छ ।
स्वयंसेवक विकास र परिचालनलाई अध्ययनको एउटा अलग्गै विधाका रूपमा स्वीकार गरिएका कारण विश्वविद्यालयका पाठ्यक्रममा समेत समावेश गरिएको छ । हाल यो विषय अनौपचारिक क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको पनि अध्ययन र अनुसन्धानको क्षेत्र बन्न पुगेको छ । स्वयंसेवक विकास र परिचालनका क्षेत्रमा सामाजिक अध्ययन विषयमा र चिकित्साशास्त्रका विद्यार्थी परिचालित भएर समाजका विभिन्न क्षेत्रमा खटिएका उदाहरण धेरै भेटिन्छन् । राष्ट्रिय प्राथमिकताका साथ स्वयंसेवक विकास तथा परिचालनका लागि विशिष्ट नीति नहुनु, कुनै जिम्मेवार निकाय नतोकिनु, न्यूनतम मापदण्ड नबन्नु, अभिलेखीकरणका साथ प्रमाणपत्र दिने व्यवस्थाका साथै यस कार्यले निरन्तरता नपाउनु स्वयंसेवक परिचालनका मूल मुद्दा हुन् ।
यो कार्य युवा परिचालनअन्तर्गत कानुनद्वारा समेटी राष्ट्रिय युवा परिषद्को प्रमुख कार्यका रूपमा तोक्नु उत्तम विकल्प हुनसक्छ । छनोट र विकासलगायत खटिने स्वयंसेवकलाई यातायात र निर्वाह खर्चको व्यवस्था निक्र्योल हुनु आवश्यक छ । कुनै काम तोकेर स्थानीय तहले गरेको मागका आधारमा राष्ट्रिय मापदण्डबाट छनोट गरेका स्वयंसेवक युवालाई प्रदेशस्तरमा तालिम दिलाई स्थानीय तहको सुपरिवेक्षणमा काम गर्ने व्यवस्था मिलाउनु वैज्ञानिक हुन्छ । प्रदेश र सङ्घीय तहका निकायसँग मिलेर स्वयंसेवा गर्न चाहनेका लागि पनि विकल्प दिन सकिन्छ । सार्वजनिक सेवामा कर्मचारी भर्ना गर्दा वा उच्च तहमा अध्ययन तथा अनुसन्धानका लागि शोधार्थी छनोट गर्दा सम्बन्धित विषय क्षेत्रमा स्वयंसेवा गरेको प्रमाणपत्रको समेत मूल्याङ्कन गर्ने प्रबन्ध राज्यको कानुनले स्वीकारेमा यो कार्यले स्तरीयता प्राप्त गर्छ । नेपालमा हाल बन्दै गरेको स्वयंसेवक परिचालन नीतिले पूर्णता प्राप्त गरेमा यस वर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा स्वयंसेवक विकास र परिचालनका क्षेत्रमा लागेका व्यक्ति वा संस्थाको सम्मान भई त्यसलाई समाजहितमा उपयोग गर्न सकिनेछ ।