राप्रपाको नेतृत्वबाट अपेक्षा
हरि अधिकारी
वि.सं. २०४६ को जनआन्दोलन सफल भई निर्दलीय पञ्चायत प्रणाली सकिएसँगै लगत्तै अस्तित्वमा आएको हो– राष्ट्रिय प्रजातन्त्र पार्टी अथवा राप्रपा । आफ्नो हालिमुहालीमा सञ्चालित व्यवस्था नै उल्टिएका कारण राष्ट्रिय राजनीतिको मूलधारबाट उछिट्टिन पुगेका पूर्वपञ्चहरूले विधिवत् एउटा राजनीतिक सङ्गठन बनाएर राष्ट्रिय राजनीतिमा आफ्ना लागि सार्थक भूमिकाको अपेक्षा गर्नु एउटा सकारात्मक प्रारम्भ नै थियो । उनीहरूको त्यस पहलकदमीलाई लोकतन्त्रमा आस्था र विश्वास राख्ने अधिकांश नेपालीले सतर्क दृष्टिका साथ स्वागत गरेका थिए । हामीहरूले अपेक्षा गरेका थियौँ, राप्रपा यस देशको राष्ट्रिय राजनीतिक परिदृश्यमा लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यताप्रति झुकाव राख्ने त्यस्तो मध्यमार्गी दलका रूपमा उभारमा आउने छ, जसले प्रजातान्त्रिक समाजवादी दल नेपाली काँग्रेस र वामपन्थी दल नेपाल कम्युनिस्ट पार्टीबीच सन्तुलनकारी भूमिका निर्वाह गर्नेछ ।
दुर्भाग्यको विषय, राप्रपा नेतृत्वले आफूले पूरा गर्नुपर्ने त्यस्तो ऐतिहासिक भूमिकालाई आत्मसात् गर्ने र सोहीअनुसार राजनीतिक अग्रसरता लिनेतर्फ कहिल्यै ध्यान केन्द्रित गरेको देखिएन । स्थापनाकालदेखि अहिलेसम्म पनि त्यस पार्टीको नेतृत्व गरिरहेका नेताहरूले प्रदर्शन गरेको निजी स्वार्थकेन्द्रित अल्पदृष्टिका कारण त्यसले नीति, सिद्धान्त र योजनाले सुसम्पन्न एउटा प्रभावकारी राजनीतिक सङ्गठनको रूप नै लिन सकेको छैन । कालक्रममा राप्रपाको लगाम आफ्नो हातमा लिन सफल भएका सबैजसो नेताले थोरै सङ्ख्यामा भए पनि देशैभरि जनाधार भएको त्यस दललाई आफ्नो बुतामा स्थापित गर्ने प्रयत्न गर्नुको सट्टा काँग्रेस र कम्युनिस्ट पार्टीका कमजोरीमा खेल्ने, ती दलका अन्तरविरोधको फाइदा उठाएर सत्तामा भागिदारी गर्ने र राष्ट्रिय राजनीतिको बजारमा खोटो मोहोर साबित भइसकेको राजाको लबेदाको फेर समातेर सिंहदरबारको प्रवेशद्वार पार गर्ने असफल प्रयास गर्दै आएका छन् ।
राप्रपाले एउटै नामका दुई/तीन चोइटा र ती चोइटाका बीच पनि समय–समयमा फुट र जुट हुँदै करिब ३० वर्षको राजनीतिक यात्रा पूरा गरुञ्जेल सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको नेतृत्व बेहोरेको छ । राजनीतिक रूपमा चतुर सूर्यबहादुर थापा र तुलनात्मक रूपमा सरल र स्वच्छ छविका लोकेन्द्रबहादुर चन्दले नेपाली कांँग्रेस र नेकपा (एमाले)का कमजोरीहरू तथा राजा ज्ञानेन्द्रको अवाञ्छित महत्त्वकाङ्क्षामा खेल्ने अवसर पाएर अत्यन्त अल्पमतमा हुँदाहुँदै पनि बहुदलीय प्रणालीअन्तर्गत प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् । विडम्बनाको विषय, राजाको प्रत्यक्ष निर्देशनमा सञ्चालित प्रणालीमा पनि प्रधानमन्त्री भइसकेका ती दुई पूर्वपञ्चले परिवर्तित व्यवस्थामा पनि पाएको राज्य सञ्चालनको अभिभारालाई देश र जनताको त कुरै छोडौँ, आफूले नेतृत्व गरेको राजनीतिक सङ्गठनको हकमा पनि उपयोग गर्न सकेका थिएनन् ।
त्यसो हुनुको मुख्य कारण थियो, ती दुवै नेताको दिल र दिमागमा जमेर बसेको सैद्धान्तिक अन्योल । ती दुवै नेताले न त राजाप्रतिको आफ्नो वफादारीलाई कायम राख्न सकेका थिए न त बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई हृदयदेखि नै आत्मसात् गर्न सके । तिनका लागि आफूले नेतृत्व गरेको राजनीतिक सङ्गठन राप्रपा नीति, सिद्धान्त, योजना र देशव्यापी सङ्गठनको मजबूत जगमा उभिएको राजनीतिक दल नभएर ‘सत्तासम्म पुगिहालिन्छ कि भनेर थापेको च्याँखे’ मात्र थियो । तिनले नेतृत्व गरेको सङ्गठनमा एउटा राजनीतिक दलका लागि आवश्यक अनिवार्य तìव राष्ट्रले अङ्गीकार गरेको मौजुदा प्रणालीप्रति प्रश्नातीत आस्था गायब थियो । त्यही सैद्धान्तिक अन्योलका कारण राप्रपामा समय–समयमा विभाजनको लहर आएको हो । यी पङ्क्ति लेख्दासम्म पनि राप्रपा तीन जना अध्यक्षद्वारा निर्देशित छ । राप्रपाको इतिहासमा यसको एक प्रभावशाली नेताका रूपमा कमल थापाको अभ्युदय राप्रपाका लागि मात्र नभएर समग्र देशकै सन्दर्भमा पनि एउटा दुर्घटना थियो ।
राष्ट्रवादी विद्यार्थी मण्डलको सभापति हुँदै राष्ट्रिय राजनीतिको मूलधारमा स्थापित हुन पुगेका थापासँग लोकतन्त्र, विधिको शासन, समन्वय, सद्भाव र सहअस्तित्वका दृष्टिले अत्यन्त नकारात्मक प्रसङ्गहरू जोडिएका छन् । जनआन्दोलन २०४६ का समयमा मरिचमान सिंहको मन्त्रिपरिषद्मा शक्तिशाली मन्त्री रहेका थापा त्यसबेला जनआन्दोलनलाई निरस्त पार्ने हेतुले सरकारद्वारा चालिएका सबै निरर्थक तर दुष्ट्याइँपूर्ण कदमका मास्टरमाइन्ड मानिएका थिए । जनआन्दोलन उफानमा आएका समय गृह मन्त्रालयको प्रभार यीभन्दा कम उदण्ड मानिने पञ्च नीरञ्जन थापाको हातमा थियो तापनि आन्दोलनकारीविरुद्ध सरकारले चलाएको दमनचक्रको प्रणेता कमल थापा नै थिए भनिन्छ ।
राप्रपामा यिनको नेतृत्व स्थापित भएपछि यिनले पूर्वपञ्चहरूको त्यस दललाई लोकतन्त्रका विश्वव्यापी मूल्य र मान्यतामा विश्वास राख्ने, संविधानका प्रावधानको सम्मान गर्ने र राज्य सञ्चालनमा सुशासनका आधारलाई लागू गर्ने कुरामाथि विश्वास गर्ने कार्यकर्ता पङ्क्तिको भरमा एउटा सुसङ्गठित राजनीतिक दल बनाउनुको सट्टा देशलाई २०४६ सालभन्दा अगाडिको स्थितिमा पु-याउन चाहने प्रतिगामी जमात बनाएर छोडिदिए । संविधानले परिकल्पना गरेको समावेशी समानुपातिक निर्वाचन प्रणालीको दोहन गरेर कमल थापाले ठूला पार्टीहरूमा अन्तरद्वन्द्व फैलिएको अवस्थामा सत्तामा जान मार्गप्रशस्त हुनेसम्मको संसदीय प्रतिनिधित्व त राप्रपालाई दिलाए तर आफ्नो पार्टीलाई लोकप्रिय मतका साथ निर्णायक भूमिका निर्वाह गर्न सक्ने स्तरमा भने कहिल्यै पु¥याउन सकेनन् । एक पटकको आमनिर्वाचनमा त राप्रपाको अध्यक्षको हैसियतमा रहेका थापाले देशका कुनै पनि संसदीय चुनाव क्षेत्रबाट प्रत्यक्षतर्फ उमेदवारीसम्म दिएनन् । संसद्मा बहुमत पु-याएर सरकार चलाउँछु भनी स्पर्धा गर्ने पार्टीको नेता नै प्रत्यक्षतर्फ चुनाव नलडेपछि जनताले पनि त्यस्तो दललाई भोट दिन आवश्यक ठानेनन् ।
अहिले काठमाडौँमा राप्रपाको एकता अधिवेशन जारी छ । जतिसुकै घना कालो भए पनि बादलमा चाँदीको घेरा हुन्छ भनिन्छ । राप्रपाको जारी एकता अधिवेशन र निर्वाचनका सन्दर्भमा युवा नेता राजेन्द्र लिङ्देनले पनि कमल थापाको पटकपटक परीक्षण गरिएको र असफल भएको नेतृत्वलाई चुनौती दिँदै सभापति पदमा प्रतिस्पर्धा गरेका छन् । निर्वाचनको परिणाम जेजस्तो आए पनि झापाबाट नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरेर सांसद बनेका राजेन्द्र लिङ्देनको उम्मेदवारीले अत्यन्त उत्साहित भएका छन् भनिँदै छ । उनको उम्मेदवारीले नयाँ पुस्तालाई आकर्षितसमेत गरेको विश्लेषण गरिँदै छ । तुलनात्मक रूपमा लिङ्देनको छवि स्वच्छ छ । उनले संसद् सदस्यका रूपमा सेसनमा अत्यन्त सकारात्मक भूमिका निर्वाह गर्दै आएका छन् । त्यति मात्र होइन, अनेक जटिल राष्ट्रिय मुद्दाहरूमा उनले लिएका अडानहरू सार्थक छन् । राप्रपाको सभापति पदका लागि उम्मेदवारी दिँदा उनले जुन प्यानल बनाएका छन्, त्यसमा समेटिएकाको अनुहार हेर्दा पनि उनको विजय राप्रपाका लागि मात्र नभएर देशकै राजनीतिका दृष्टिले पनि सबैका लागि स्वागतयोग्य हुनेछ भन्ने कुरामा सायदै विमति होला ।
लिङ्देनले आफ्नो प्यानलमा देशको मध्यपश्चिम क्षेत्रमा व्यापक जनाधार भएका नेपालगञ्जका मेयर धवलशमशेर राणालाई मात्र समेटेका छैनन्, नेपाली चलचित्र क्षेत्रकी अत्यन्त लोकप्रिय र प्रबुद्ध नायिका रेखा थापालाई पनि स्थान दिएका छन् । केन्द्रीय समितिका अरू पदाधिकारी तथा सदस्यहरूमा उम्मेदवारी दिने नेताहरूको छनोट गर्दा पनि लिङ्देनले निकै सजगता अपनाएको देखिन्छ । अर्कोतिर कमल थापाले आफ्ना सहयात्रीको छनोट गर्दा उनै पुराना थोत्रिसकेका अनुहारहरूमा भर परेको देखिन्छ । निर्वाचन परिणाममा जसको हार जित भए पनि राप्रपाले आफूलाई एक मुख्य तथा निर्णायक राजनीतिक दलका रूपमा स्थापित गर्नु अहिलेको मुख्य चुनौती हो ।