विचार/दृष्टिकोण |

ओमिक्रोनप्रति समयमै सतर्कता (सम्पादकीय)

शनैः शनैः कोरोना (कोभिड–१९)बाट त्राण पाउन लागेको विश्व फेरि यसैको अर्को प्रकारको रूप (भेरियन्ट)बाट त्रसित हुन थालेको छ । कोभिड–१९ का फलस्वरूप विश्व तथा नेपालमा भएको धनजनको क्षति एवं यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेका दीर्घकालीन प्रतिकूल प्रभावका सम्बन्धमा हामी सबै जानकार नै छौंँ । कोरोनाको यो स्थितिबाट शतप्रतिशत पूर्ण रूपमा मुक्ति नपाउँदै फेरि यसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले अवस्था पुनः पूर्ववत् रूपमा फर्किने हो भन्ने चिन्ता पनि त्यत्तिकै बढ्न थालेको छ ।
विशेषगरी दक्षिण अफ्रिकाको निकै ठूलो जनसङ्ख्या बसोबास गर्ने गाउटेङ्ग नामक प्रान्तमा केही दिनदेखि कोरोना भाइरस सङ्क्रमणमा निकै बढोत्तरी भइरहेको पाइएको थियो । केही हप्ताअघिसम्म दैनिक दुई सय जनामा कोरोना देखापरिरहेको दक्षिण अफ्रिाकामा दैनिक तीन हजारभन्दा बढीमा कोरोना देखिन थालेपछि विशेषज्ञ टोलीले त्यस क्षेत्रमा परीक्षण गर्दा कोरोनामा बढोत्तरीको ९० प्रतिशतभन्दा बढी यही ओमिक्रोन जिम्मेवार रहेको पत्ता लाग्यो । विज्ञहरू अझै पनि यो भेरियन्टको उद्गम स्थलका सम्बन्धमा जानकार नभए पनि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले यसको प्रकृतिलाई दृष्टिगत गर्दै सजग रहन सबैलाई आह्वान गरिसकेको छ ।

डब्लूएचओको यस आग्रहबाट समेत यो नयाँ भेरियन्टको जोखिम सहजै अनुमान गर्न सकिन्छ । केही दिनअघि मात्र पत्ता लागेका कारण ओमिक्रोनका सम्बन्धमा वैज्ञानिक पनि पूर्ण जानकार छैनन् तथापि अहिलेसम्मको परीक्षणबाट पहिले नै कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिमा फेरि सङ्क्रमणको सम्भावना बढी हुने भन्न सकिने अवस्था भएको पत्ता लागेको छ । ओमिक्रोनबारे अध्ययन अनुसन्धान प्रारम्भिक चरणमा भएकै कारण यो भेरियन्ट पहिलेका बेटा तथा डेल्टा भेरियन्टभन्दा कति खतरनाक छ भन्ने तथ्य पनि परीक्षणकै क्रममा छ । बेलायत लगायतका मुलुकमा यस नयाँ भेरियन्टका बारेमा भइरहेको अध्ययनमा पनि यो भाइरस कत्तिको खतरनाक छ वा अहिलेको कोरोना खोप यसका लागि कत्तिको प्रभावकारी छ भन्ने नतिजा आउन अझै हप्तौंँ लाग्नसक्ने देखिएको छ ।

पर्याप्त जानकारी नभएकै कारण पनि ओमिक्रोनबाट बच्न समयमै सतर्क हुनु उत्तम उपाय हो । यसका लागि केही समयअघि कोरोनाबाट बच्न गरिएका व्यक्तिगत सरसफाइ, सामाजिक दूरी, बढी जमघट हुने थलोमा विशेष स्वास्थ्य सुरक्षा अपनाउने लगायतका मापदण्डको पालना गर्नु त्यत्तिकै जरुरी छ । सुरक्षात्मक उपायस्वरूप विश्वका कतिपय मुलुकले हवाई सेवा तत्कालका लागि बन्द गरिसकेका छन्, जसलाई उपयुक्त कदम मान्न सकिन्छ । इजरायलले आफ्नो देशमा विदेशीका लागि आगमन बन्द गरेको छ भने मोरक्कोले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । यस्तै नेपालले पनि हङकङलगायत अफ्रिकी राष्ट्रबाट आउने उडानमा रोक लगाएबाट सरकार कोरोनाको यस नयाँ भेरियन्टको विस्तार नियन्त्रणमा निकै सजग रहेको स्पष्ट पार्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलगायत स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीसँग शीतल निवासमा ओमिक्रोनका सम्बन्धमा गर्नुभएको छलफल तथा सुरक्षा चासोले नेपालको कोरोना नियन्त्रणप्रतिको प्रतिबद्धतालाई थप स्पष्ट पार्छ । यसबाहेक सरकारले बेलैमा कोरोनाविरुद्धको पर्याप्त खोप, आईसीयू बेडको व्यवस्था, अक्सिजनलगायत आधारभूत औषधिको मौज्दात राख्ने तथा अहिले चर्चामा रहेको ‘बुस्टर डोज’जस्तो व्यवस्था पनि गर्न सके विगतका कमीकमजोरीबाट राम्रो पाठ सिकेको मान्न सकिनेछ ।

अहिले मुलुकमा एक किसिमको ‘राजनीतिक दशैँ’को वातावरण देखिएको छ । मुलुकका लगभग सबैजसो ठूला पार्टी आफ्ना महाधिवेशन लगायतका बृहत् कार्यक्रम आयोजनामा व्यस्त छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र)का कार्यक्रममा हजारौँ कार्यकर्ताको सहभागिता हुनु स्वाभाविकै हो तथापि कोरोना सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा नआइसकेको तथा नयाँ भेरियन्टको उद्गमले राजनीतिक पार्टीले उपयुक्त स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । यसै सन्दर्भमा नेपाली काँग्रेसले केही दिनपछि सम्पन्न हुने आफ्नो चौधौंँ महाधिवेशनमा पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाउने जुन प्रतिबद्धता व्यक्त गरेको छ, त्यसलाई सराहनीय मान्न सकिन्छ किनकि यस्ता सङ्क्रामक रोग नियन्त्रण गर्न सामूहिक प्रतिबद्धताको दरकार पर्छ ।