विचार/दृष्टिकोण |

कोरोनाले रोजगारीमा चुनौती

युवराज अधिकारी

महामारीका रूपमा फैलिएको कोरोना भाइरस विषाणुको कारण संसारले नै रोजगार सिर्जनामा ठूलो चुनौतीको सामना गरिरहेको छ । अहिलेको अवस्थामा रोजगारका लागि चार प्रकारका विश्वव्यापी चुनौती देखिएका छन् । पहिलो, विश्वव्यापी घटनाको कारण उत्पादक रोजगारको अपर्याप्त उपलब्धता, जसले विश्वलाई प्रभावित गरिरहेको छ । दोस्रो, व्यक्तिगत रोजगारभन्दा पनि व्यापार, पुँजी र श्रमको सीमापार प्रवाह । तेस्रो, कम विकसित देशमा रोजगारका अवसर विस्तार नगरिनु र राष्ट्रिय नीति निर्माण नगरिनु । चौथो, संसारभर फैलिएको महामारी कोरोना भाइरसका कारण प्राप्त रोजगारसमेत गुमाउनुपरेको छ । कोरोना भाइरसको कारण संसारमा अधिकांश श्रमिक नै बेरोजगार रहेको अवस्थामा नयाँ कामदारले काम पाउने सम्भावना कम छ । विश्वमा रोजगारका चुनौती तथा परिमाणको अध्ययन गर्दा राज्यले निर्माण गर्ने अन्तर्राष्ट्रिय आर्थिक नीतिमा व्यक्तिगत रोजगारका लागि उठाइएका योजना महत्त्वपूर्ण छन् । सन् १९९० देखि विश्वले भोग्नुपरेको रोजगारको समस्या तथा घटनाक्रमको अध्ययन गर्दा विश्वमा प्रत्येक वर्ष रोजगारका लागि तयार हुने लगभग तीन करोड कामदारमध्ये ७३ प्रतिशत विकासोन्मुख देशमा बस्छन् । जबकि १४ प्रतिशत मात्र विकसित देशमा र बाँकी मध्य र पूर्वी युरोपका उच्च आय भएका देशमा बस्छन् ।

विश्वको श्रम शक्ति विकासोन्मुख देशमा बढी छ । विश्वमा प्रत्येक वर्ष लगभग तीन करोड नयाँ कामदार अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारका लागि तयार हुन्छन् । यो श्रम शक्तिलाई पुँजीगत र उन्नत औद्योगिक क्षेत्रको शक्तिका रूपमा लिनुपर्छ । विश्वको रोजगारीको अवस्थाको अध्ययन गर्दा श्रमलाई पनि उत्पादक संसाधनको रूपमा प्रतिबिम्बित गरिनुपर्छ । विकासोन्मुख देशमा बस्ने लाखौँ श्रमिक कम पारिश्रमिकमा जीवनयापनका गतिविधिमा संलग्न छन् । कोरोनाको कारण विकासशील औद्योगिक देशमा पनि ठूलो सङ्ख्यामा बेरोजगारहरू बढिरहेको अवस्था छ । बर्सेनि श्रमशक्तिमा सामेल हुने लाखौँ बेरोजगार मात्र नभई न्यून आयमा जीवनयापन गरिरहेका श्रमिकका लागि नयाँ रोजगार सिर्जना गरी उचित आयसहितको जीवनयापनका लागि नयाँ योजना तथा कार्यक्रम ल्याउनु विश्वकै लागि चुनौतीको विषय हो । राज्यले दोहोरो आर्थिक संरचनासहितको आर्थिक नीति नल्याउँदासम्म रोजगारका ढोका खुल्दैनन् ।

नेपाललगायत विकासोन्मुख देशमा दोहोरो आर्थिक संरचना छैन । त्यसैले विकासोन्मुख देशमा रोजगारीको समस्या उच्च छ । यहाँ बेरोजगारमा नभई न्यून वेतन तथा आम्दानी गर्ने स्वरोजगारमा लुकेको समस्याबाट पुष्टि हुन्छ कि देशको आर्थिक अवस्था कस्तो छ भनेर । विश्वका गरिब तथा बेरोजगार श्रमिक राज्यको औपचारिक क्षेत्रभन्दा बाहिर छन् । उनीहरू स्वयं रोजगार र आकस्मिक ज्याला मजदुरको रूपमा काम गरिरहेका छन् । रोजगारको स्थितिमा सुधार आउने हो भने गरिबी घट्छ । रोजगारमा समस्या सामान्यतया दुई फरक तरिकाबाट हुन्छ । पहिलो, औपचारिक रोजगारभन्दा श्रमशक्ति छिटो बढ्छ, जो स्वरोजगार र आकस्मिक ज्याला मजदुरका लागि पूर्ण–समय उत्पादक रोजगारमा जान्छ । दोस्रो, सरकारी नीति तथा अर्थव्यवस्था, जसले प्रत्यक्ष रूपमा लगानी गरी स्वरोजगार र आकस्मिक ज्याला मजदुरीको व्यवस्था गर्नुपर्ने । यी मापदण्ड प्रयोग गरी सन् १९९० पछि केही विकसित देशले रोजगारको स्थितिमा सुधार ल्याएको पाइन्छ । उनीहरूले सीमापार व्यापार र पुँजी प्रवाह वृद्धि गरी रोजगारीको स्थितिमा समेत सुधार ल्याएका थिए । विगत केही वर्षदेखि संसारभर फैलिएको महामारीको कारण पनि व्यापार वृद्धि र पुँजी प्रवाह प्रायजसो विकसित देशमा स्थिर छ भने लगानीमा गिरावट आएको छ । जसले गर्दा केही उद्योग तथा कलकारखानामा काम गर्ने श्रमिकले श्रमसमेत गुमाउनुपरेको छ ।

राज्यले व्यापार र पुँजी प्रवाहको क्षेत्रमा लगानी गर्नुपर्नेमा अनौपचारिक क्षेत्रमा लगानीको मात्रा बढाउनुपर्ने अवस्था आएको छ । सरकारको नीति निर्माणमा रोजगारभन्दा पनि जनस्वास्थ्य प्राथमिकतामा पर्दै गएकाले रोजगार क्षेत्र वृद्धिमा प्रतिकूल प्रभाव पर्दै गएको छ । स्वास्थ्य क्षेत्रमा आएको महामारीको कारण नेपाललगायतका विकासोन्मुख देशमा रोजगार व्यवस्थापनमा सरकारले चाल्ने कदम चुनौतीका रूपमा रहेको छ । युरोपलगायतका आर्थिक रूपमा सम्पन्न देशमा १९९० को अन्त्यसम्म पूर्ण रोजगारको अवस्था थियो । तर, अहिले विश्वका कतिपय घटनाक्रमले विकसित देशमा समेत रोजगार समस्याका रूपमा रहेको छ । बेरोजगार सङ्ख्या ५ प्रतिशत नाघेको छ । अहिले ती देशमा १३ प्रशित कामदार आंशिक रूपमा काम गर्छन् ।

आंशिक समयको रोजगारले केही हदसम्म बेरोजगारी समस्यालाई प्रतिस्थापन गरेको देखिन्छ । सन् १९९० को दशकको मध्यमा धेरैजसो देशले श्रम बजारमा ल्याएको लचिलोपन र सरकारको नीति परिवर्तनले गर्दा रोजगारको समस्यालाई केही हदसम्म सम्बोधन गर्न खोजेको थियो । यी नीति बेरोजगारी घटाउन सीमित सफलता मात्र थिए । सरकारको नीति परिवर्तनले रोजगार बढ्नुभन्दा पनि आंशिक श्रममा कम पारिश्रमिक र अस्थायी रोजगारजस्ता दुई स्तरीय श्रम बजारको वृद्धि भएको पाइन्छ । विकसित देशमा रहेको रोजगार समस्या केही समयका लागि टरेको पाइन्छ ।

सन् १९९० को दशक रोजगारी वृद्धिभन्दा पनि आर्थिकस्तर वृद्धिको समयका रूपमा देखिन्छ जुन विकसित देश, अर्धविकसित देश तथा विकासोन्मुख देशको नाममा विश्वका देशको स्तर विभाजनको रूपमा रह्यो । त्यसैले विकासोन्मुख देशमा रहेको अदक्ष जनशक्ति श्रमिकले विकसित देशमा श्रम गर्न कठिनाइ भयो । विकसित देशले श्रम बजारमा केही हदसम्म संरचनात्मक परिवर्तन गरी लचिलोपन ल्याएर पूर्वाधार तथा प्राविधिक विकासगरी विशेषज्ञ श्रमिकको उत्पादन गरेका थिए । जसले गर्दा कम दक्ष तथा अर्धदक्ष कामदारको सङ्ख्या घट्न पुग्यो । यसले गर्दा अदक्ष तथा अर्धदक्ष श्रमिकले रोजगार पाउन छाडे । श्रमबजारमा दक्ष श्रमिकको मात्र र मागसमेत बढ्दै गयो । श्रम बजारमा अपनाइएका लचिलोपन तथा नीतिले कम दक्ष कामदारलाई अनैच्छिक तथा अल्पकालिक रोजगारमा धकेल्न थालिसकेको विश्व श्रमसङ्गठन, विश्व बैङ्कलगायतले प्रकाशन गर्ने तथ्याङ्कले देखाउँछ ।

अहिलेको अवस्थामा सन् १९९० को दशकको भन्दा रोजगार समस्या भयावह रूपमा आएको छ । सन् २०१९ देखि संसारभर महामारीका रूपमा फैलिएको कोरोनाको कारण विकासोन्मुख देशमा रोजगारको समस्या विकसित भई बेरोजगारको सङ्ख्यामा वृद्धि गराएको छ । कोरोनाकै कारण संसारभर श्रमशक्तिको सहभागिता दर प्रायः बिग्रँदै गएको छ । बेरोजगारी दर घटाउन भएका प्रयास निराशाजनक अवस्थामा छ । बेरोजगारी दर बढ्नु भनेको कामदारको निराशा बढ्नु हो । अहिले संसारभर बेरोजगारी र हतोत्साहित कामदारको ठूलो सङ्ख्या पैदा भएको छ । अन्तर्राष्ट्रि«य श्रम सङ्गठनले १५ जुन २०२१ मा प्रकाशन गरेको तथ्याङ्कमा संसारका सबै देशमा बेरोजगारी दर ६.५ प्रतिशत भन्दा बढ्ने प्रक्षेपण पाइन्छ । श्रम सङ्गठनले २०२१ जनवरीमा प्रकाशन गरेको तथ्याङ्क हेर्दा कोरोनाको कारण संसारभर लगभग एक करोड ४४ लाख श्रमिकले रोजगार गुमाइसकेका छन् ।

नेपालमा बर्सेनि पाँच लाख श्रमिक विश्व श्रमबजारका लागि तयार हुन्छन् । तीमध्ये पाँच प्रतिशतले पनि उचित रोजगार पाएका छैनन् । नेपाललाई रोजगारी सिर्जना चुनौतीको सामना गर्न दुइटा डरलाग्दो विषयको रूपमा देखापरेको छ । उत्पादक रोजगारीको गम्भीर अभाव र विगतमा अपनाइएका नीति समस्या समाधान गर्न अप्रभावकारी । विश्वमा जस्तोसुकै महामारी फैलिए पनि बर्सेनि करोडौँको सङ्ख्यामा श्रमिक रोजगारका लागि तयार हुन्छन् । तसर्थ समस्या पहिचान र नीतिमा पुनर्विचार गर्नु जरुरी छ ।

नेपाललगायत विकासोन्मुख देशले सामना गरिरहेको रोजगार चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा नीतिनिर्माण गर्नुपर्ने आवश्यकता छ । विकासोन्मुख देशमा रोजगारको स्थितिमा सुधार गर्न वर्तमान उत्पादक संसाधनहरूको अन्तरदेशीय वितरणका लागि विकसित देशसँग समन्वय गरिनुपर्छ । विकासोन्मुख देशमा रहेको बेरोजगार सङ्ख्या घटाउन भूमण्डलीकरणले खेल्नसक्ने सम्भावित भूमिकालाई पनि मान्यता दिनुपर्छ ।
अन्तर्राष्ट्रिय माइग्रेसन तथा विकासशील देशमा ब्रेन ड्रेनका लागि बनाइएका संयन्त्र जसमा नेपालले समेत पहिचान गरिसकेको क्षेत्र हो । यो अन्तर्राष्ट्रिय स्तरमा गरिएको प्रयोगलाई नेपालले अनुसरण गरी मस्तिष्क परिसंचरणमा रूपान्तरण गरेर विदेशमा काम गरेको सीप र अनुभवलाई नेपालमा प्रयोग गर्न प्रेरित गरिनुपर्छ

रोजगारको अधिकतम उपलब्धताका लागि विकसित देशले अपनाएको जस्तै रोजगार तथा श्रम नीतिलाई आत्मसात् गरी कार्ययोजना बनाउने हो भने बेरोजगार दर कम गर्न सकिन्छ । रोजगारमा देखिएको समस्या समाधान गर्न अर्थतन्त्रको औपचारिक खण्डमा श्रमशक्ति वृद्धिभन्दा रोजगार बढी हुनेखालको कार्यक्रम लागु हुनुपर्छ । श्रमका लागि पुँजीको प्रतिस्थापन बलियो पार्नु हुँदैन । कोरोना महामारीको कारण औद्योगिक क्षेत्रमा आफ्नो रोजगारी गुमाएकालाई सेवा क्षेत्रमा नयाँ रोजगारमा परिवर्तन गर्न ध्यान केन्द्रित गर्नुपर्छ । रोजगार व्यवस्थापनका लागि निर्वाहमुखी खेतीलाई आधारभूत संरचनाका रूपमा विकास र विस्तार गरी केही हदसम्म रोजगार समस्याको समाधान गर्न सकिन्छ । दोस्रो, प्राकृतिक स्रोतसाधनको अधिकतम उपभोगरी रोजगारलाई बढावा दिन सकिन्छ ।