सञ्चारको जटिलता
डा. कुन्दन अर्याल
धेरैजसो सन्दर्भमा सञ्चार भनेको बोलेर, लेखेर वा तस्बिर देखाएर कुनै सन्देश प्रवाहित गर्ने कार्य भन्ने बुझ्ने गरिन्छ । त्यसैले आमरूपमा छापा, रेडियो, टेलिभिजन वा अनलाइन माध्यम सञ्चार माध्यमका रूपमा परिचित छन् । तर मानिसको जीवन वा दैनिकीमा बोलेर वा लेखेर गरिने सञ्चारको परिणाम निकै न्यून हुन्छ । जानेर वा नजानेर मानिसका हरेक क्रियाकलापले केही न केही बताइरहेका हुन्छन् । सञ्चार अखबार, रेडियो, टेलिभिजन वा अनलाइन माध्यम हो तर सञ्चार पहिरन, कपालको ढाँचा पनि हो । जे भए पनि सञ्चार सन्देश प्रसार गर्दै अर्थ स्थापित गरिने सामाजिक अन्तक्र्रिया हो । सञ्चार सामाजिक क्रियाकलाप हो । सन्देश सम्प्रेषणको प्रकृति फरक–फरक हुन्छ । एउटा धारणाअनुसार सन्देशको प्रभावकारी सम्प्रेषण वा प्रसार गरी अर्थ स्थापना गर्नका लागि प्रभावकारी प्रक्रियाको बढी महìव हुन्छ । अर्कोथरी धारणाअनुसार सुझबुझपूर्ण ढङ्गले तयार गरिएका सन्देशले मात्र होइन, छवि र क्रियाकलापबाट प्रवाहित हुन जाने सन्देशले झन् जवरजस्त ढङ्गमा अर्थको निर्माण वा साझेदारी गरिरहेको हुन्छ ।
ठूला–ठूला समारोह, सम्मेलन वा भेलाहरू हुन्छन् । ती भव्य जमघटका छलफल, भाषण वा लिखित सामग्री सबैले सुस्पष्ट सञ्चार गरिरहेकै हुन्छन् समाजमा खास–खास अर्थ स्थापना गर्न खोजिरहेकै हुन्छन् । तर आयोजनाका यावत पक्षले झन् असीमित सन्देश प्रवाहित गरिरहेका हुन सक्छन् । सबै किसिमका सार्वजनिक आयोजना वा समारोहमा बोलेर वा लेखेर प्रष्ट शब्दहरूमार्फत खास अर्थ स्थापना गर्न सन्देश प्रवाहित गर्ने गरिन्छ । तर सन्देश प्रवाह गर्नेहरूले अपेक्षा गरेजस्तै वा उनीहरूले सोचेजस्तै सन्देश प्रापकहरूले अर्थको निर्माण नगरेका पनि त हुन सक्छन् ।
सञ्चारलाई प्रक्रिया ठानिन्छ, त्यहीकारण निकै मिहिनेत गरेर शब्दहरू उनिन्छ, मुद्रण गरेर वितरण गरिन्छ । मिहिनेतसाथ शब्दहरूको छनोट गरिन्छ, वाक्यहरू मिलाएर उच्चारण गरिन्छ, आकर्षक तस्बिरहरूको प्रयोग गरिन्छ । तर संसारमा कुनै पनि व्यक्ति वा विषयका बारेमा हुने सन्देशले प्रसार गर्ने अर्थ यस्ता मिहिनेत अनुकूल मात्र स्थापित हुने गरेको देखिँदैन । किनकी, सन्देशको अर्थ स्थापनामा सेमियोटिक्स, सेमियोलोजी अर्थात् सङ्केत विज्ञानको भूमिका अझ व्यापक हुन्छ । त्यसैले सञ्चार प्रक्रिया मात्र होइन, सङ्केत विज्ञानको वृत्त पनि हो ।
संसारका विभिन्न देशमा अध्यापन गर्ने बेलायती सञ्चारविज्ञ जोन फिस्क भन्नुुहुन्छ सञ्चार एकअर्कासँग गरिने कुराकानी हो, सारमा सूचनाको प्रसार हो । यो कपालको ढाँचा पनि हो, साहित्यिक समीक्षा पनि हो, सूची अन्तरहिन हुन सक्छ । उहाँ जोड दिनुहुन्छ सबै किसिमका सञ्चारमा सङ्केत र कोडहरूको भूमिका हुन्छ । सञ्चारलाई मूलतः सन्देश प्रसारको प्रक्रिया ठान्नेहरू सामाजिक अन्तक्र्रियालाई एक व्यक्तिको अरूसँगको सम्बन्ध गाँस्ने प्रक्रियाका रूपमा बुझ्छन् । यो मान्यतामा रहेकाहरू सञ्चारलाई अरूको व्यवहार, मानसिक वा भावनात्मक अवस्थामा प्रभाव पार्ने प्रक्रियाका रूपमा परिभाषित गर्दछन् । तर सङ्केत विज्ञानअनुसार मानिस सहभागी हुने हरेक क्रियाकलाप वा व्यवहारले अर्थ निर्माण गर्न सघाउने सङ्केत प्रसार गर्दछन् । जब मानिसका क्रियाकलाप वा प्रत्यक्ष सञ्चारअतिरिक्त पहिरन वा अन्य सङ्केत चिह्नले अर्थ निर्माण गर्न थाल्छन् तब ती सबै पढिने सामग्री बन्न पुग्छन् । सङ्केत विज्ञानमा तस्बिर पढिन्छ, कार्टुन पढिन्छ, क्रियाकलाप पढिन्छ । ती सामग्री प्रभावशाली रूपमा सन्देशको प्रसार गर्दछन्, अर्थ निर्माण गर्न प्रेरित गर्दछन् । कतिपय बेला कपालको ढाँचा वा पोसाकको विश्लेषणबाट पनि कुनै अर्थ स्थापित हुन सक्दछ । त्यसैले ती ढाँचा वा पहिरन पनि सङ्केत विज्ञानमा पढिने सामग्री हुन् ।
सञ्चार बोली वा लेखाइमा मात्र सीमित हुँदैन । त्यसैले कसैको कुन गतिविधि वा क्रियाकलापबाट आममानिसमा कस्तो छाप परेको छ भन्ने समेत विश्लेषण गर्ने विधि विकसित भएको हो । छाप पर्ने विषय व्यक्तिको अनुभव, सांस्कृतिक पृष्ठभूमि वा वस्तुगत अवस्थासँग सम्बन्धित हुने गर्दछ । एउटै क्रियाकलापको विभिन्न व्यक्तिमा फरक–फरक प्रभाव वा छाप पर्न सक्छ । बोली वा प्रत्यक्ष संवाद र लेखाइ छाप छोड्ने प्रभावकारी उपाय अवश्य हुन् । तर बोली र लिखतलाई त्यही अनुकूलको व्यवहार वा क्रियाकलापले मात्र प्रभावकारी बनाउन सक्दछ । सञ्चारलाई प्रक्रिया मात्र मान्ने हो भने सुन्दर र बोधगम्य सन्देश सहज र व्यापक माध्यमबाट प्रसार गर्नु नै पर्याप्त हुन्छ । तर सञ्चार एक ठाउँको सन्देश अर्को ठाउँ वा व्यक्तिमा प्रसार गर्नु मात्र होइन । किनकी, आफूले सोचेर तय गरेको सन्देशको अर्थ अरूले अर्कै ढङ्गले ग्रहण गरिरहेको पनि हुन सक्छ ।
फिनल्यान्डका एक प्राज्ञिक पत्रकार तथा लेखक ओस्मो आन्टेरो वीवो भन्नुहुन्छ, सञ्चार प्रायः असफल हुन्छ, कुनै दुर्घटना भएको अवस्थामा बाहेक । अर्थात् कुनै पनि सन्देश व्यापक समुदायमा फैलिएको अवस्थामा एकै ढङ्गले ग्रहण गरिंदै गरिंदैन । उहाँ के पनि भन्नुहुन्छ भने कुनै प्रेषकको सन्देशको अर्थ उसले भन्दा पनि राम्रोसँग निर्माण गर्ने व्यक्ति पनि हुन सक्छ । संसद्को समेत अनुभवपश्चात् उहाँ भन्नुहुन्छ ः कुनै सन्देशका बारेमा जति धेरै शाब्दिक व्याख्या ग¥यो, सञ्चार उति कमजोर हुन पुग्दछ । सञ्चारलाई प्रक्रिया ठान्ने धारणाका पक्षधरहरू यस्तो अवस्थालाई सञ्चारको असफलता ठान्छन् । तर अर्काथरी सङ्केत विज्ञानका अध्येता यस्तो अवस्थालाई कुनै कारणले भएको कम्युनिकेसन ग्याप अर्थात् सञ्चारमा उत्पन्न एक प्रकारको असमझदारी ठान्छन् । यस्तो असमझदारी आर्थिक, सामाजिक वा सांस्कृतिक पृष्ठभूमिको भिन्नताका कारण उत्पन्न हुने गर्दछ ।
प्रक्रिया ठान्नेहरू सञ्चारलाई सन्देशको स्थानान्तरण ठान्छन् । त्यसैले सञ्चारलाई प्रक्रियाका रूपमा बुझ्दा सन्देश प्रेषक र प्रापकले कसरी अर्थ ग्रहण गर्दछन् र कुन माध्यमबाट कसरी सन्देशको स्थानान्तरण हुन्छ भन्ने विषयमा ध्यान केन्द्रित गरिन्छ । जसअन्तर्गत सूचनाको प्रसारका क्रममा आउन सक्ने प्राविधिक व्यवधानलाई पन्छाउने वा प्रसारको गति बढाउने प्रयत्न गरिन्छ । तर सङ्केत विज्ञानका पक्षधरहरू सञ्चारलाई अर्थको उत्पादन वा साझेदारी ठान्छन् । त्यसैले सङ्केत विज्ञानलाई ख्याल गर्ने हो भने के बोलिएको छ वा के लेखिएको छ भन्दा पनि के बुझिएको छ वा के छाप परेको छ भन्ने कुरा महìवपूर्ण हुन्छ ।
सङ्केत विज्ञानले सञ्चारलाई अर्थको उत्पादन र साझेदारीका रूपमा परिभाषित गर्दछ । अनि सञ्चार सङ्केतक र सङ्केतार्थमा आधारित हुन्छ । स्वीस भाषाविद् फर्डिनाण्ड ससुरले अर्थको निर्माण कसरी हुन्छ भन्ने व्याख्या गर्ने क्रममा सिग्निफायर र सिग्निफाइडका बारेमा बताउनुभएको छ । सिग्निफायर अर्थात् सङ्केतक शब्द वा भाषा मात्र होइनन्, सङ्केतक मानिसका हरेक क्रियाकलाप हुन सक्छन् । झण्डा र ब्यानर वा लोगो मात्र होइन, व्यवहार, हाउभाऊ र पहिरन पनि हुन सक्छन् । त्यसैले सञ्चारलाई प्रक्रियाका रूपमा बुझ्दा कुनै सन्देश उद्देश्यमूलक ढङ्गले प्रसार गर्न शब्द वा सङ्केतको प्रयोग गरिन्छ । तर सङ्केत विज्ञानअनुसार सन्देशको प्रवाह सचेत क्रियाकलाप वा शब्दको प्रयोग नभएको अवस्थामा पनि हुने गर्दछ । वास्तवमा भन्ने हो भने मानिसले आफ्नो परिवेशमा गर्ने सबैभन्दा बढी अन्तक्र्रिया सङ्केत विज्ञानकै परिधिमा पर्दछन् । अर्थपूर्ण शब्दको प्रयोग थोरै हुन्छ । तर व्यवहार, क्रियाकलाप र छाँटकाँटबाट मानिसले असचेत रूपमै आफ्नो सन्देश प्रसार गरिरहेको हुन्छ ।
यसरी एक अर्थमा सञ्चारलाई प्रायः मानिसका भोगाइका आधारमा अनुभवहरूको साझेदारीका रूपमा परिभाषित गरिएको पाइन्छ । अर्को अर्थमा यसलाई अर्थ वा मान्यताको स्थानान्तरणका रूपमा बुझ्ने गरिएको छ । वास्तवमा सञ्चारका दुवै परिभाषा उपयुक्त हुन । यी दुवैको उल्लेख नगरी सञ्चारको परिभाषा प्रस्तुत गर्न सकिँदैन ।
एउटै अर्थ स्थापित होस् भनेर कति मिहिनेतका साथ तयार गरिएको सन्देशको अर्थ व्यापक जनसमुदायमा पुग्दा फरक–फरक ढङ्गले लाग्न सक्छ । किनकी, अर्थ ग्रहणमा प्रापकको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था, चेतनाको तह वा वस्तुगत अवस्थाको प्रत्यक्ष भूमिका हुने गर्दछ । असम्भव नै नभए पनि सञ्चारको एउटै परिभाषा प्रस्तुत गर्न कठिन छ । किनकी, सञ्चार व्यापक र जटिल नै छ । न त्यति सजिलै कसैले आफूले निर्माण गर्न खोजेको अर्थ केवल आफ्नो सुन्दर सन्देश मार्फत स्थापित गर्न सक्दछ । न कसैले आफ्ना व्यवहार वा अव्यक्त पक्षबाट सन्देश ग्रहण गर्दै आम मानिसलाई आफूअनुकूल अर्थ स्थापित गर्नबाट रोक्न सक्छ ।