बचौँ चिसोजन्य व्याधिबाट (सम्पादकीय)
मुलुकका राजनीतिक दलहरूमा महाधिवेशन तथा सम्मेलनका कारण राप, तापका चर्चा बढ्दै गए पनि मौसम भने क्रमिक रूपले चिसो बढ्दै गएको छ । भनिन्छ, मङ्सिर २० देखि माघ १० गतेसम्म माछालाई पनि चिसो लाग्छ रे । त्यसैले यो समयलाई मिनपचास भन्ने गरिन्छ । माछालाई समेत चिसो हुने यो मौसममा कर्णालीका कतिपय ठाउँमा माइनस १७ डिग्रीको न्यूनतम तापक्रम पुगेका समाचार आइरहेको छ । राजधानी काठमाडौँलगायत देशभर नै चिसो बढ्दै छ । चिसो बढ्दै गएपछि मानव शरीरमा चिसोजन्य विभिन्न रोगले सताउन थाल्दछ । रुघाखोकी, ज्वरो, निमोनिया, दम आदि रोगका बिरामीले अस्पताल, क्लिनिक, स्वास्थ्य केन्द्र भरिन थाल्छ । जाडो यामका रोगमध्ये हाल नेपालमा पनि टन्सिलको समस्या निकै आम समस्यामा रूपान्तरित हुन थालेको छ । जाडो बढ्ने क्रमसँगै नाक, कान, घाँटी रोग विशेषज्ञहरूको बढ्दो व्यस्तताले पनि यही तथ्यलाई प्रमाणित गरेको छ ।
टन्सिल मुख्यतया घाँटी दुख्ने गर्छ । बोलीचाली गर्न तथा खानपिन गर्न असजिलो हुने घाँटीको यो जटिल नै समस्या हो । जाडोको मौसम, धुँवाधुला, अस्वस्थकर खानपान, रुघाखोकीमा हेलचक्रयाइ आदि यस समस्याका मुख्य कारक तìव हुन् । टन्सिलको सङ्क्रमण फैलिँदा जाँदा घाँटीमा रहेको टन्सिल ग्रन्थी नजिकै ठूलो फोकामा पीप जम्ने र घाँटीको भित्री तहसम्म पुग्ने सम्भावना हुन्छ । यो समस्यालाई तत्काल नियन्त्रण गर्न सकिएन भने यसको सङ्क्रमण विस्तार हुँदै जाँदा मुटु, मिर्गौला, जोर्नी र दिमागमा समेत प्रतिकूल प्रभाव पार्न सक्ने विशेषज्ञहरूको भनाइ छ ।
एक पटक टन्सिल भइसकेका व्यक्तिलाई यो समस्याले बारम्बार दुःख दिइराख्न सक्ने भएकाले यसलाई समयमै नियन्त्रण गर्नु जरुरी छ । जाडो मौसममा शरीरको ख्याल राख्ने, धुँवाधुलोबाट बच्ने, सङक्रमण विस्तार हुन नदिन व्यक्तिगत सरसफाइमा ध्यान पु¥याउने यो समस्या नियन्त्रणका आधारभूत उपायहरू हुन् । यसबाहेक टन्सिलको सङ्क्रमण हुँदा नियमित औषधि सेवन अनिवार्य नै छ, अझ विशेष गरेर चिकित्सकको सुझावमा निश्चित मात्राको एन्टिवायटिक औषधि । व्याक्टेरियाका कारण हुने टन्सिलबाट अल्पकालीन र दीर्घकालीन दुवै खाले जटिलताको खतरा हुने सम्भावना पनि विशेषज्ञ चिकित्सकहरूले औंँल्याएका छन्, जसअन्तर्गत एक पटक टन्सिल भइसकेपछि निको हुने र क्रमशः यसले थप जटिल रूप लिन सक्नेप्रति सचेत हुनुपर्छ ।
टन्सिलको समस्याबाट युवा वा उमेर पुगेका व्यक्ति मात्र नभई बालबालिकाहरू समेत पीडित भएका पाइन्छन् । घाँटी र कान दुख्ने, निल्न गाह्रो हुने, ज्वरो आउने, टाउको दुख्ने, आवाजमा परिवर्तन आउने, बान्ता हुनेजस्ता समस्या आफ्ना बालबालिकामा देखापरेमा अभिभावकले सचेत हुनुपर्दछ । यो समस्या देखिइसकेपछि बालबालिका वा कसैलाई पनि आराम गराउनुका साथै मनतातो पानीमा नुन हालेर दैनिक चार पाँच पटक कुल्ला गर्ने, चिया वा तातो पानीमा मह हालेर खाने गर्नु उपयुक्त हुने चिकित्सकको सुझाव छ । पाँचदेखि १५ वर्षसम्मका बालबालिका यो समस्याबाट बढी ग्रसित हुने सम्भावना हुन्छ । यसका साथै विद्यालयमा अध्ययनरत बालबालिकामा समेत यो समस्या देखिन सक्दछ ।
चिकित्सा विज्ञानको सामान्य सिद्धान्त नै हो– रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । तसर्थ जाडोबाट बच्ने, फ्रिजमा राखिएका पानी तथा खाद्य पदार्थको सकभर कम प्रयोग, ताता झोलिलो पदार्थ खानेपिउने, घाँटीको विशेष हेरचाह गर्ने, बेलाबेलामा चिकित्सकीय परीक्षण गराउने कार्यलाई निरन्तरता दिइराखेमा यो समस्या नियन्त्रण गर्न बढी सहयोगी हुन्छ । मुलुकमा कोरोना (कोभिड–१९) लगायतका विभिन्न स्वास्थ्य समस्या देखिइरहेका बेला टन्सिल समस्याजस्ता आफैँले सचेत भएर नियन्त्रण गर्न सकिने समस्यालाई नियन्त्रणमा राख्ने कोसिस गर्नु नै अहिलेका लागि उत्तम उपाय हो । निश्चय नै हिजोआज अस्पताल जानु पनि कम जोखिमपूर्ण छैन । त्यसले टन्सिललगायतका चिसोजन्य व्याधिबाट बच्न समयमै सजगता अपनाउनु र रोग लागिहाले चिकित्सकको सुझावमा उपचार गर्नु बुद्धिमानी हुन्छ ।