हुलाक सेवाको रूपान्तरण (सम्पादकीय)
बदलिँदो तथा विकसित सूचना प्रविधिको युगसँगै कुनै समयमा सञ्चारको पर्यायका रूपमा रहेको हुलाक सेवा हिजोआज ढिलो, सुस्त तथा बूढो भइसकेको प्रतित हुन्छ । चिठीपत्र पठाएर हालखबर, सन्चो बिसञ्चो जान्ने विगत अहिले एकादेशको कथाजस्तो भएको छ । अब यही अवस्था विद्यमान रहेमा केही वर्षपछि मानिसद्वारा नै चिठ्ठीपत्रको ओसारपसार गरिन्थ्यो भन्ने कुरा साना बालबालिकाका लागि पत्याउन नसक्ने लाग्न सक्छ । इमेल, मेसेन्जर, मोबाइल फोनको माध्यमबाट क्षणभरमा देश दुनियाँका खबर, हालचाल जान्न सकिने अहिलेको समय र अवस्थामा हुलाकको महत्त्व घट्नु त्यति अस्वाभाविक होइन । यो प्रवृत्ति कुनै स्थान विशेषमा मात्र नभएर संसारभरिकै हो । अहिले संसारभरि नै हुलाक सेवाको अस्तित्व कसरी जोगाउने भन्ने पनि सामूहिक चिन्ता र चासोको विषय पनि बनिरहेको छ । विकसित देशमा सूचना प्रविधिको विकास र विस्तार भए पनि समयसापेक्ष काम गरिरहेको छ । आफ्नो सन्दर्भिकता कायमै राखेको छ । तर कतिपय मुलुकमा भने नयाँ प्रविधि आएपछि हुलाक सेवा इतिहासको विस्मृतिमा जाने जोखिम बढ्दै गएको छ । नेपालको मौजुदा हुलाक सेवा यसमा अपवाद छैन ।
नेपालकै सन्दर्भमा पनि उल्लेख गर्दा हिजोका दिनमा दिनहुँ हजारौँ चिठ्ठीपत्र एक ठाउँमा अर्को ठाउँमा ओसारेर सेवा पु-याइरहेका हुलाकीहरू चिठ्ठी पठाउने घट्दो क्रमसँगै कामविहीन वा निकै फुर्सदिला हुन थालेका छन् । जनशक्तिसँगै राज्यको साधन र स्रोत खेर गइरहेको छ । नेपालमा चिठ्ठीपत्र ओसारपसार गर्न दस हजारभन्दा बढी हुलाकी कार्यरत भए पनि चिठ्ठीपत्रको प्रवाहमा आएको कमीसँगै उनीहरूले पर्याप्त जिम्मेवारी नपाएका हुलाक सम्बद्ध सरकारी अधिकारीहरूको स्वीकारोक्ति सार्वजनिक भएको छ । जिम्मेवारीको अभावमा फुर्सदिलो हुनु अस्वाभाविक विषय पनि होइन । फेरि हुलाकी पदमा उमेरको हदबन्दी नहुने भएकै कारण शारीरिक रूपमा सक्षम हुँदासम्म उनीहरूले सेवारत हुनसक्ने प्रावधानले पनि यो अवस्थामा तत्कालै कमी आउने सम्भावना पनि कमै छ । यो नयाँ परिवेशमा हुलाक सेवाका जनशक्तिलाई के कसरी काममा लगाउन सकिन्छ भन्नेतर्फ विचार गर्नुपर्ने भएको छ ।
हाल हुलाक सेवा समूह २०६१ खारेज भइसके पनि २०३४ सालमा गठन भएको अतिरिक्त हुलाक समूह सेवा कायमै रहेकै छ । यसैको फलस्वरूप हुलाकीको सङ्ख्यामा कमी आउने देखिँदैन तर यिनीहरूको उचित व्यवस्थापन भने मुख्य प्रश्न बनेको छ । यसै समूहको कर्मचारीको व्यवस्थापनका लागि सरकारले गत वर्ष एक अध्ययन कार्यदल गठन गरेको र कार्यदलले आधुनिक हुलाक सञ्चालन जरुरी भइसकेको औँल्याएबाट पनि यो जनशक्तिको यथासक्य उपयोग गरिहाल्नुपर्ने अवस्था छ । हुलाक सेवाअन्तर्गत नै अन्य वैकल्पिक कामको सिलसिलामा यस्ता हुलाकीको उपयोग गर्न सकिने बारेमा सम्बन्धित निकायले गृहकार्य गर्नु पनि जरुरी भइसकेको छ ।
वर्तमानमा पनि हुलाक सेवाको महìवलाई कम आँक्न सकिँदैन । प्राकृतिक वा अन्य विपत्तिका बेलामा सूचना प्रविधाका सेवाहरू अवरुद्ध हुँदा सञ्चार सम्पर्कका लागि मानवीय जनशक्तिमा आधारित हुलाक सेवा निकै भरपर्दो तथा उपयोगी हुने तथ्यमा दुई मत छैन । हुलाक सेवाको महìव अभिवृद्धिका निम्ति सरकारले विशेष रूपमा चासो दिनु नै पर्ने देखिन्छ । विदेशमा समेत अधिकांश सरकारी चिठ्ठीपत्रका साथै स्थानीय तह, बैङ्कलगायतका संस्थागत लिखित जानकारी हुलाकमार्फत नै आदानप्रदान गरिनुपर्ने व्यवस्था गर्नु उपयुक्त हुनसक्छ । यी प्रावधानबाट सञ्चारको लागतमा थप केही वृद्धि हुने सम्भावना भए पनि थप कार्यभार तथा आयको सिर्जनाका फलस्वरूप हुलाक सेवाले नयाँ जीवन पाउन सक्ने आधार पनि हुन्छ । यसका अतिरिक्त हुलाक आफँैले सेवा विविधीकरणका साथै द्रुत सेवामा बढी ध्यान दिनसके बढी उपयुक्त हुने देखिन्छ । हिजोआज बजारमा द्रुत डाँक सेवा तथा पार्सल ढुवानीका थुप्रै कम्पनी सञ्चालनमा छन् र तिनीहरू आर्थिक दृष्टिकोणबाट सहज स्थितिमा सञ्चालनमा रहेका परिप्रेक्ष्यमा नेपाली हुलाक सेवा पनि नयाँ सेवाका साथ समयसापेक्ष प्रतिस्पर्धी आवश्यक देखिन्छ । हुलाक सेवालाई नवीन तवरले अगाडि बढाउन नसक्दा सञ्चार र मालवस्तु आदानप्रदानको लामो परम्परा भएको संस्थाकै अस्तित्व सङ्कटमा पर्नु उचित होइन । त्यसैले हुलाक सेवाको समयानुकूल रूपान्तरणमा गृहकार्य आवश्यक भइसकेको छ ।