विचार/दृष्टिकोण |

लोकतन्त्रमा नयाँ आयाम

हरिविनोद अधिकारी

नेपाली काँग्रेसको चौधौँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको छ । सभापतिको आन्तरिक प्रतिस्पर्धामा रहनुभएका डा.शेखर कोइराला पराजित हुनुभएको छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक प्रतिस्पर्धामा नउत्रिएर मतदानमा समेत चासो नदेखाएपछि कोइराला मुख्य प्रतिस्पर्धी हुनुभएको हो । आन्तरिक प्रतिस्पर्धामा जो जो चुनावी मैदानमा देखिए पनि निर्वाचनमा महाधिवेशन प्रतिनिधिले दिएको आदेश नै आगामी अवधिभरका लागि औपचारिक र वैध मानिन्छ । यो आन्तरिक निर्वाचनले देखाएका केही सङ्केत पक्कै अरू दल र नेपाली काँग्र्रेस आन्तरिक जीवनका लागि पनि मननयोग्य हुनेछन् । निर्वाचन प्रक्रियामा आधुनिक मतपेटिकाको प्रयोग होस् या नहोस्, जति झन्झटिलो होस् तर आन्तरिक प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने अनुपम उदाहरण भने यो निर्वाचनले देखाएको छ । निर्वाचनको परिणामपश्चात् काँग्रेस एकढिक्का भएर अगाडि बढ्ने वचनबद्धता प्रतिस्पर्धीले दिनु नै यसको उदाहरणीय पक्ष हो ।

यो निर्वाचनमा पारिवारिक विरासतका कुरा पनि उठेका थिए । निरन्तर क्रियाशील तर दिवङ्गत नेताहरूका परिवारका सदस्यको प्रभाव अप्रत्यक्ष रूपमा मात्र देखियो तर प्रत्यक्ष रूपमा भने केन्द्रीय निर्वाचनसम्म आइपुग्दा ती सबै छिन्नभिन्न भए । यसलाई दलको भावी जीवनमा युवाको हस्तक्षेपकारी भूमिकाको निमन्त्रणा दिएको सङ्केतका रूपमा बुझिन्छ । बीपी कोइरालाको दूरदृष्टिको सपना बोकेको काँग्रेसले अब कस्तो बाटो लिनेछ भन्ने आम जिज्ञासा छ । महाधिवेशनले नीतिका बारेमा खासै चर्चा नगरे पनि विश्वव्यापी रूपमा चलेको प्रजातन्त्रका मान्यता नै काँग्रेसका आधारभूत मान्यता हुन्, हुनेछन् । अझ सामाजिक प्रजातन्त्रका पक्षमा उभिने भएकाले भावी दिनमा नीतिमा नयाँ विचलन नआउला तर युवाको उत्साह र सोचलाई कार्यरूपमा परिणत गर्न काँग्रेसलाई आधुनिक सञ्चार प्रविधिमैत्री दलको रूपमा विकसित गराउन नयाँ नीतिको जरुरत पर्नेछ ।

करिब नौ लाख नयाँ क्रियाशील कार्यकर्ताले निर्वाचन गरेर पठाएका महाधिवेशन प्रतिनिधिले राजनीतिक जीवनमा पाँचौँ पटक प्रधानमन्त्री हुनुभएकै देउवालाई फेरि दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित गरेका छन् । उहाँलाई दोहोरो दायित्व थपिएको छ । एउटा सरकारको प्रमुखको रूपमा प्रजातान्त्रिक व्यवस्थामा कतैबाट पनि सङ्कट नआओस् भन्ने चुनौती छ भने अर्कोतिर पार्टीलाई समय सापेक्ष गतिशील बनाउनुपर्ने
आवश्यकता छ ।

एक्काइसौँ शताब्दीको पहिलो एकचौथाइ समय व्यतीत हुन लागेको आजको विश्वमा उन्नत प्रजातन्त्रका बारेमा गम्भीर बहस हुन थालेको छ । नेपाल जस्तो प्रजातान्त्रिक मुलुक भए पनि सधैँ अस्थिरतामा रुमलिएको देशमा प्रजातान्त्रिक दलको नेतृत्व गर्नु आफैँमा चुनौती छ । झन् त्यसमा कम्युनिस्टहरूसँगको गठबन्धन सरकारको नेतृत्व गरिरहेको एउटा प्रजातान्त्रिक दलका लागि सबैखाले विचारका मानिसलाई समन्वय गरेर अगाडि बढ्नु कम चुनौतीपूर्ण छैन ।
त्यसैले यस पटकको सभापतिको पद र प्रधानमन्त्रीको दोहोरो दायित्वलाई चुनौती र अवसरको मौका भन्दा पनि हुन्छ । अझै पनि काँग्रेस नेपाली राजनीति र वैश्विक फाँटमा प्रजातन्त्रको पर्याय रहनुमा काँग्रेसले जोगाइरहेको प्रजातान्त्रिक छवि नै हो । जसलाई आजसम्म जोगाएर राख्न नेता तथा पथप्रदर्शकको महìवपूर्ण देन छ । झन् त्यसमा पनि वैचारिक रूपले सबै प्रजातन्त्रवादी तथा नागरिक स्वतन्त्रता पक्षधरहरूले सम्झने नाम हो बीपी कोइरालाको । यो पनि एउटा संयोग नै मान्नुपर्छ, प्रधानमन्त्री देउवाले बीपीको सन्निकट बसेर दीक्षित हुने मौका पाउनु भएको थियो । उहाँ बीपीका युवा सारथिका रूपमा परिचित हुनुहुन्थ्यो ।

प्रजातान्त्रिक प्रक्रियाको एउटा महìवपूर्ण कडी भनेको आन्तरिक प्रजातन्त्रमार्फत आगामी नेतृत्व तयार गरी समय सापेक्ष रूपमा संस्थालाई नेतृत्व दिनु हो । महाधिवेशनमार्फत नेतृत्व चुन्ने प्रचलन संसारकै प्रजातान्त्रिक संस्थामा हुन्छ । त्यही पद्धतिको अनुशरण गर्दै काँग्रेसले महाधिवेशनमार्फत आउँदो चार वर्षे कार्यकालका लागि नेतृत्व छानेको छ । जतिसुकै समावेशी र सामूहिक नेतृत्वको कुरा गरे पनि मुख्य नेतृत्व संस्थाको प्रमुख पदको बारेमा चासो हुन्छ, प्रतिस्पर्धा पनि त्यहीँ हुन्छ, पक्ष र विपक्षको आधार पनि नेतृत्वमा उठेको व्यक्तिको समग्र व्यक्तित्वमा पनि केन्द्रित हुन्छ ।

सभापति देउवाले आगामी दिनमा आफू नयाँ रूपमा प्रस्तुत भई काँग्रेसलाई चलायमान गराउने वाचा गर्नुभएको छ । आत्मजागरण र आत्मालोचनाले आफैँलाई दीक्षित बनाउनु भएको हो भने त्यसको परिणाम नयाँ केन्द्रीय समितिको पहिलो बैठकबाटै देखिनुपर्छ । वार्षिक योजनाअनुसार पार्टीका सम्पूर्ण अवयवहरूको क्रियाशीलता बढ्नुपर्छ । आम नागरिक स्थानीय, प्रादेशिक तथा सङ्घीय संसद्को निर्वाचन पर्खेर बसेका छन् । आउँदो वर्ष स्थानीय तहको निर्वाचन सुरु गर्नुपर्नेछ । निर्वाचन सम्पन्न गर्ने दायित्व सभापति देउवाकै काँधमा छ । एउटा निष्पक्ष प्रधानमन्त्रीको भूमिका निर्वाह गर्नुपर्ने दायित्व त छँदैछ, आफूले नेतृत्व गरेको पार्टीलाई निर्वाचनमा जिताउनैपर्ने चुनौती पनि सँगसँगै छ ।

कुनै निर्वाचनमा हार्नु र जित्नु एउटा प्रक्रिया हो तर गुलिया शब्दका भरमा निर्वाचन जितेर आउने अनि प्रजातान्त्रिक प्रक्रियाप्रति पटक्कै आस्था नभएका अनि वचनमा सबैभन्दा ठूला प्रजातन्त्रवादी भएर देखिनेहरूको दुईतिहाइको घमण्ड पनि देखिएकै हो । प्रतिपक्षमा रहेको काँग्रेसले सत्ताको बागडोर सम्हाल्नुपर्ने बाध्यता त्यही घमण्डको प्रतिफल हो । एकातिर निर्वाचन निष्पक्ष गर्नुपर्ने अर्कोतिर मुलुकलाई प्रजातान्त्रिक गोरेटोबाट बाहिर जान दिन पनि नहुने बेला छ । करिब ३५ प्रतिशतको मात्र समर्थन देखिएको काँग्रेसका लागि प्रजातन्त्रका पक्षमा जागरण ल्याउनुपर्ने पनि छ । जागरणले मात्र नभएर पुनर्जागरणको समेत बेला भएको देखिन्छ । यसका लागि नयाँ कार्यकालमा एकदमै नयाँ तरिकाले, विना पूर्वाग्रह, विना सङ्कोच, विना द्विविधा, काँग्रेस नाम गरेको प्रजातान्त्रिक समाजवादी दललाई परिचालन गर्नु नै पर्नेछ, जसमा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी देउवा सफल हुनुहुने
विश्वास छ ।

सकारात्मक उदाहरण काँग्रेसले महाधिवेशन उद्घाटन सत्रमा विनाभेदभाव सबै दललाई आमन्त्रण गरी उनीहरूको शुभकामना प्राप्त गरेर देखाएको छ । यहीक्रममा विश्वका करिब सयभन्दा बढी प्रजातन्त्रवादी देशहरूसँगको सहकार्यमा बाइडेन–ह्यारिसको विश्वव्यापी भर्चुअल बैठकमा सहभागी भएर नयाँ ऊर्जा प्राप्त पनि गरेको अवस्था छ । यहाँ स्मरणीय के पनि छ भने काँग्रेस प्रजातान्त्रिक समाजवादी आन्दोलनको संस्थापनादेखिको सक्रिय सदस्य हो । हाल काँग्रेसका सभापति देउवा एसिया प्रशान्त क्षेत्रका संयोजक तथा उपाध्यक्ष पनि हुनुहुन्छ । अहिलेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस पनि त्यही संस्थाका पूर्व नेता पनि हुनुहुन्थ्यो र हाल स्क्यान्डेनेभियन देशमा समाजवादीको पुनरोदय भएको बेला छ । यस्तो वैश्विक व्यवस्थापनमा काँग्रेसले प्रजातन्त्रका पक्षमा नयाँ चेतनाको विकास गराउन सक्नुपर्छ, नयाँ जोस र जाँगरका साथ, पूर्वाग्रहरहित तरिकाले । आज विश्वमा प्रजातन्त्रको पक्षमा नयाँ जागरण यसरी आएको छ कि कसरी अझ उन्नत प्रजातन्त्रको पक्षमा मुलुकहरूलाई सहभागी बनाउने ?

प्रजातन्त्र भनेको निरन्तरताको सजगता हो । प्रजातन्त्रमा मात्र आन्तरिक निर्वाचन र स्वतन्त्रतापूर्वक आफ्ना प्रतिनिधि छान्ने हक हुन्छ । काँग्रेसमा पनि वडादेखि महाधिवेशन प्रतिनिधि छान्ने काम भएको थियो । केन्द्रमा पनि स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छानिएको छ । यसले अरू दलहरूलाई पनि उदाहरण प्रस्तुत गरेको हुनुपर्छ । काँग्रेसलाई एकता, समन्वय, समझदारी र सहिष्णुताले मात्र प्रजातन्त्रका पक्षमा जागरण र पुनर्जागरणको भूमिका निर्वाह गर्न ऊर्जा प्राप्त हुनेछ । काँग्रेस सबै क्रियाशील कार्यकर्तामात्रको होइन कि प्रजातन्त्रप्रति आस्था हुनेहरूको साझा संस्थाको रूपमा विकसित हुन सकोस् । नयाँ कार्यकालका लागि निर्वाचित हुनुभएका सभापति देउवालाई शुभकामना ।