सभापति देउवाको दोस्रो कार्यकाल (सम्पादकीय)
नेपाली कांग्रेसको चौधौँ महाधिवेशन नेतृत्व निर्वाचनसहित सम्पन्न भएको छ । नेपालको प्रजातान्त्रिक इतिहासमा लामो एवं अग्रणी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसको आन्तरिक प्रजातान्त्रिक अभ्यासको पनि लामो शृङ्खला अविछिन्न चल्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यो ऐतिहासिक पार्टीको दोस्रो पटक निर्वाचित हुनुभएको छ । हालसम्म यो पार्टीले आफ्नो स्थापनाको सात दशक अवधिमा चौधौं पटक महाधिवेशन सम्पन्न गरेर प्रजातान्त्रिक मूल्य, मान्यताको परिपालन तथा कार्यान्वयनमा कहीँकतै नचुकेको प्रमाण एवं उदाहरणसमेत प्रस्तुत गर्न सफल भएको छ । यो महाधिवेशनलाई सभ्य, मर्यादित तथा शान्तिपूर्ण आयोजना गर्न सक्षम भएकामा नेपाली काँग्रेसका नेता, कार्यकर्तालगायत यसमा प्रत्यक्ष एवं परोक्ष रूपमा सहभागी सबै बधाईका पात्र छन् । बहुदलीय प्रजातन्त्रको सौन्दर्य आवधिक निर्वाचन, स्वच्छ प्रतिस्पर्धाका आधारमा दलको आन्तरिक प्रजातान्त्रिक अभ्यास नै हो ।
यसैअन्तर्गत प्रत्येक चार वर्षको अन्तरालमा आयोजना हुने नेपाली कांँग्रेसको यो महाधिवेशन कोरोना(कोभिड– १९) महामारी लगायतका परिस्थितिजन्य कारणका फलस्वरूप साढे पाँच वर्षको अवधिमा आयोजना गर्नुपरेको बाध्यता सबैलाई ज्ञात नै छ । यस पटकको महाधिवेशनमा निर्वाचनमार्फत नयाँ नेतृत्वसहित केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भयो । पहिलो चरणमा सहभागी पाँच उम्मेदवारमा कसैको पनि कुल मतको पचास प्रतिशतभन्दा माथि पुग्न नकेन । सो पार्टीको विधानअनुसार दोस्रो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्नुहुने प्रधानमन्त्री देउवा र डा. शेखर कोइराबीच तत्काल पुनर्निर्वाचन भयो । त्यसबाट सभापति पदको नतिजा पनि सार्वजनिक भइसकेको छ भने अन्य पदका लागि मतगणना कार्य हुँदैछन् । महाधिवेशनले वर्तमान पार्टी सभापति तथा प्रधानमन्त्री देउवालाई अत्यधिक मतसहित पुनःदोस्रो कार्यकालका लागि नेपाली काँग्रेस पार्टीको कार्यकारी नेतृत्व सम्हाल्न अवसर प्रदान गरेको छ । निर्वाचनमा सभापति देउवालगायत पार्टीका नेताहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ नेपाली काँग्रेसको आदर्शलाई आत्मसात् गर्दै काँग्रेसलाई आगामी चार वर्ष नेतृत्व प्रदान गर्न महाधिवेशन प्रतिनिधिमाझ आफ्नो लोकप्रियताको परीक्षणका लागि निकै स्वस्थ एवं मर्यादित रूपमा प्रतिस्पर्धामा उत्रिनु भयो । यो प्रजातान्त्रिक आदर्शको सुन्दर पक्ष पनि हो ।
निर्वाचनमा जित हार हुनु स्वाभाविक हो । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिहरूले अनुभव, परिपक्वता तथा समन्वयकारी भूमिका निर्वाह गर्न सक्षम देउवालाई नै यस पटक फेरि पार्टीको भविष्य सुम्पेका छन् । आठ लाखभन्दा बढी क्रियाशील सदस्य रहेका र मुलुकभर झाँगिएको पार्टी सञ्चालनमा विगतमा कमी, कमजोरी भएका हुनसक्छन्, यसमा कसैले पनि तुष पालेर बस्नु उपयुक्त हुँदैन । विगतका कमी, कमजोरीलाई हटाउँदै अब नेपाली काँग्रेसलाई महाधिवेशनको नारा एवं भावनाअनुरूप रूपान्तरणको जिम्मा देउवाको काँधमा आएको छ ।
अब केही समयपछि मुलुकमा तीनै तहका निर्वाचन हुँदैछन्, निर्वाचनलाई निष्पक्ष तथा शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने एवं पार्टीगत दृष्टिकोणबाट नेपाली काँग्रेसको प्रमुखका हैसियतमा आफ्नो पार्टीलाई विजयी गराउने दायित्व उहाँमा छ । यसका लागि पार्टीमा देखिएका वा देखिन सक्ने मतभेदलाई हटाएर नयाँ ऊर्जा एवं सोचका साथ एक ढिक्का बनाएर सुदृढ पार्टी बनाउने जिम्मा पनि सभापति देउवाको काँधमा छ । महान् राजनीतिज्ञ बीपी कोइरालाको छत्रछायाँमा राजनीतिक शिक्षादीक्षाको अवसर प्राप्त गर्नुभएका देउवाले आफ्नो उपयुक्त टिमसहित यो अभिभारा सम्पन्न गर्नसक्ने विषयमा कुनै द्विविधा छैन । नेपाली काँग्रेसको विधानअनुरूप देउवाका लागि सभापतिको कार्यभार सम्हाल्ने यो अन्तिम मौका मात्र नभएर नयाँ पुस्तालाई सुदृढ एवं सङ्गठित पार्टी सुम्पने एउटा महत्त्वपूर्ण अवसर पनि हो ।
सुदूरपश्चिमबाट उच्च शिक्षा अध्ययनका लागि राजधानी आएर राष्ट्रिय राजनीतिक अनेक उचारचढाव झेल्दै आदर्शमा दृढ भई अगाडि बढ्दा पाँच पटक प्रधानमन्त्री भएर महìवपूर्ण भूमिका खेलिरहनु भएका देउवा आफ्ना पार्टी र प्रतिस्पर्धी पार्टी नेता, कार्यकर्ता माझ स्पष्टवादी, मिलनसार, समन्वयकारी, सहयोगी एवं पूर्ण रूपमा प्रजातान्त्रिक संस्कारले निपूर्ण राजनीतिज्ञको कोटीमा पर्नुहुने सहयात्रीको भनाइ छ । हाल पाँचौँ पटक मुलुकको प्रमुख कार्यकारीको समेत भूमिका निर्वाह गरिरहनु भएका यस्ता अनुभवी एवं परिपक्व नेताको नेतृत्वमा मुलुकमा विकास तथा स्थायित्वले गति पाउनु मुलुक र लोकतन्त्रको हितमा हुनेछ ।