दलका महाधिवेशन
नरेन्द्रजंग पिटर
नेपाली काँग्रेस नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्रवादी पार्टीका महाधिवेशन सकिए, नेकपा माओवादी केन्द्रको हुँदैछ । सबैको अभ्यास नियाल्दा राजनीति सिद्धान्तको अभ्यासभन्दा कलाका खेल रहेछन् । समकालीन नेपाली राजनीतिको राष्ट्रिय ‘आदर्श’ चतुरेहरूको सबैमा एकैखाले बिगबिगी देखिए । केपी ओली नेतृत्व सरकार सुविधाजनक अवस्थामा थियो तर अनुकूल परिस्थिति पनि सधैँ आदेशबाट मात्रै निर्देशित र नियन्त्रित हुँदैनथ्यो । शत्रु आफैँभित्र खोजेर र सिर्जना गरेर उनको अहंकारले समय र परिवेशको व्यवस्थापन गर्न नसक्दा केन्द्रीकरण गरिएको सरकार पनि ढल्यो । अहंकारले निर्मम समीक्षा स्वीकर गर्दैन । तब चतुरेहरू निमित्त कारण खोज्न थाले ।
परिणामको आकलन गर्नेहरूले घटनालाई नियन्त्रण गर्ने योजना बनाउँछन् । जो जित्छ, त्यो सिकन्दर । उसकै सौन्र्दयताका इतिहास बन्ने हुँदा मान्छे हार्नेे युद्ध पनि कुशल रणनीतिले जित्न जोखिम उठाउँछन् । जय र पराजयबीच एकरौँमात्रै फरक हुन्छ । शक्ति सञ्चयका लागि गरिने सम्झौता र सहमति तङ्ग्रिनेबित्तिकै सहजै तोडिन्छन् । कमजोर शक्ति चिच्याउँदै रहन्छ, शक्ति सुरक्षित गरेकाहरू दिइएका धोकालाई सहजै लिन्छन् । कहिलेकाहीँ १ को पनि ९९ भन्दा महìव हुन्छ । त्यो परिणाम निक्लेपछि मात्र थाहा हुन्छ । फेरिने कुरा एकै रातमा फेरिँदैनन् ।
हरेक पेसाझैँ राजनीतिका पनि सर्त हुन्छन् । ब्ल्याङ फायर खोलेपछि विरोधीमोर्चाको औकात थाहा पाइन्छ । सोच्न बाध्यता भने दिल र दिमागमा चोट लागेपछि मात्रै हुन्छ । पशुलाई सिङमा घनले, मान्छेलाई शब्दले दिल र दिमागमा प्रहार गरेपछि रन्थनिन्छन् । रन्थनिएको मान्छे प्राज्ञिकताको खोस्टो उतारेर सर्वाङ्ग भएर बर्बराउँछ । अक्करमा ठक्कर दिँदै मान्छे चिन्न वा हैसियत थाहा पाउन उत्तेजित पार्नुपर्छ । तब आदर्श, बौद्धिकता र हैसियत छर्लङ्ग हुन्छन् ।
तिज्ञ कमल थापाले दरबारलाई चिन्न धेरै समय लाग्यो ‘अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप (यससम्बन्धी यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ ।’ शक्ति गुमेको पीडा वा कुण्ठा नभनी यो तीतो सत्यको मर्म हो । शक्तिशाली महìवाकाङ्क्षी पछुवाभन्दा पनि कमजोर नयाँ दासको खोजीमा शक्ति केन्द्र लाग्छ । उसका सामु महत्त्वाकाङ्क्षाको व्यवस्थापन गर्नु पहिलो गृहकार्य हुन्छ । सङ्गीन मोडमा न मान्छे मौन बस्न सक्छ, न तटस्थ । तटस्थताको माग या त मुर्खले गर्छन्, या राजनीतिका क्यालकुलेटर नसमातेकाले ।
शक्ति, शक्तिबीचमा, प्रवृत्ति र प्रवृत्तिबीचमा सधैँ टकराट भइरहन्छ । शक्तिको द्वन्द्व मैदानमा मात्रै हुँदैन् युद्ध थल त फेरिइरहन्छ । योद्धा र योद्धाअनुसारका हतियार हुन्छन् । मनोयुद्धका मोर्चाका हतियार तर्क र कलामय खेलले लडिन्छन् । चुनावी द्वन्द्वको मैदानमा भने योद्धाभन्दा चतुरेहरू कलाबाजी गर्छन् । उनको घ्राणशक्ति र सफलताको शुत्र अनौठो हुन्छ । मौलिकता नभएको त्यो आलु वा तुरूप संस्कृति जोसँग जुनसुकै बेला मिल्न, घुस्रिन वा बज्रन सक्छ । कुन बेला कुन शक्ति, दल र दलभित्र पनि कुन गुट हावी छ भनेर हिसाबकिताब राखेर पक्ष छान्छन् । शक्ति केन्द्रमा को छ ? पुग्नेवाला छ ? ध्यान पु-याउँछन् । शक्तिरूपा चञ्चल भएर कुनबेला आफ्नो ख्वामितलाई जिल्याउँदै अर्काको काख गर्माउँछिन् र भोगिन्छिन् पत्तै पाइँदैन । हावा निचोरेर गन्ध थाहा पाउँछन् । नित्य नयाँनयाँ अभ्यास गरेर बल्छी थाप्दै सिकार फसाउँछन् । सिकार पनि स्वयंसेवी बनेर सेवामा हाजिर हुन्छ ।
चतुरेहरू दन्तेकथाको राजकुमारले राक्षसको काल लुकेको ठाउँ पहिल्यै पत्ता लगाएकै शक्ति केन्द्रको मुख्य कमजोरी थाहा पाउँँदै त्यसैको घोडा चढेर कान्तिपुरको सयर गर्छन् । शक्तिलाई पासो पार्न भावनामा उरालेर, वासनामा फसाएर, लोभी खाडलमा खसाएर, उत्तेजनाको चक्रव्यूहमा हेलिदिएर, मनोत्रासमा अल्काएर, कृत्रिम आतङ्क खडा गरेर ठाउँ र समय खुट्याउँछन् । शक्तिलाई निर्वस्त्र पारेर सदा भोग्न पाइन्छ भन्ने उनको मूलमन्त्र हुन्छ । एकचोटि शक्तिलाई फसाएपछि निरन्तर सहजै ब्ल्याकमेल गर्न सकिन्छ भन्ने सोच्छन् । भावना, आदर्श र स्वाभिमानभन्दा पनि दिमागी खेल सहारा बन्छ । त्यस्तै चाल चल्छन् । आदर्श र सिद्धान्त भनेको कायर, असक्षमहरूको रुवाइ हो भन्ने उनका मान्यता हुन्छ । व्यवहारले मागेको सिद्धान्तअनुसार तर्कशक्ति पैदा गर्छन् । चतु-याइँ र बठ्याइँ गरेर शक्ति रत्याउँदै, चढ्दै नियन्त्रण गर्छन् । अहिले तिनै चतुरेहरूको चौतर्फी बिगबिगी देखेर परिस्थिति पनि खित्का छोड्दै हाँसिरहेको छ ।
व्यवस्थाको आमूल परिवर्तन हुँदा पनि राजनीतिक संस्कृति फेरिन नसक्दा जुन उद्देश्यले संविधानमा समानुपातिक प्रतिनिधित्वको परिकल्पना गरियो, त्यसको मर्ममाथि नै प्रहार हुँदै गयो । समानुपातिक नाममा अभिजातलाई सत्ता दिलाउने शीर्षक बन्यो । निम्छराको अधिकार सुरक्षित गर्ने आसय आर्थिक र सामाजिक वर्चश्वशाली अभिजातकै शक्ति सुरक्षित थलो बन्न पुग्यो ।
राजनीतिमा चतुरे र व्यापारमा दलालको एउटै चरित्र हुन्छ । चतुरेहरूले युक्ति र बुद्धिको कलामय प्रयोग गरेजस्तै दलालका पनि स्तरअनुसारका नाम र भूमिका हुन्छन् । एजेन्ट, मध्यस्त, सहजकर्ता, रिप्रिजेन्टेटिभ, लवियस्टिक । सबैको चरित्र भनेको– मूल्य नतिरी कलाको भरपूर उपयोग गर्दै फाइदा असुल्नू । समयको घोडा चढ्ने यो तप्कालाई फाइदा नभए पनि घाटा भने कहिल्यै हुँदैन । असफताका लक्षण देखिनेवित्तिकै उपियाँले लास छोडेझैँ, जहाज डुब्न थाल्दा मुसाहरू पहिले नै समुद्रमा हामफालेझैँ अर्को मालिक फेर्दै सेवा अर्पण गर्छन् । उनीहरू आदर्श– कमाउँछ गोरुले, खान्छ घोडाले । ती मुर्खले सिद्धान्तका लागि जीवन दिए, उमेर दिए, फल खाने त दिमागको खेल हो, चतु-याइँ हो । जबसम्म लोभ देखाउन सक्दैन, तबसम्म ठगले दुनियाँमा कुनै ग्राहक पाउँदैन । जति ज्यादा मान्छे लोभी र महìवाकाङ्क्षी हुन्छ, त्यति नै चतुरे, ठग र दलालका सजिलै ग्राहक बन्छन् । लोभ र ठगको नाता भनेको अति पुरानो हो ।
जर, जोरु र जमिनको लोभ र शक्तिप्यासा चतुरे र ठगका लागि दुधालु गाई बन्छ । शक्ति, पैसा र रूप अत्यन्तै चञ्चल हुन्छ । त्यसलाई कज्याउन सामान्य मान्छेको बुताको कुरा हैन तर शक्ति केन्द्रहरू एक पटक भित्रिएकी शक्ति रूपालाई जीवनपर्यन्त भोगिरहन्छु भन्ने मिथ्या विश्वासमा हुन्छन् । चतुरेहरूले त्यसैलाई थप मलजल गरेर विश्वास आर्जन गरेर व्यवसाय चलाउँछन् ।
शक्ति रूपाले भोग्यपात्र फेरेपछि चतुरेहरू पनि ख्वामित बदल्छन् । आइते, गइते र चैतेहरूका कथासमकालीन राजनीतिक इतिहासले त्यसै भन्छ । कुन बेला कुन पेचकस कहाँ प्रयोग गर्ने कुशलताका कारण शक्ति केन्द्र पग्लिएर चतुरे–धरापमा फसेको होसै हुँदैन् । ‘महान्’ मान्छेलाई ठगिएका, धोका पाएकोे अन्यन्त्र कहाँ पनि लजाउँछन् ।
राजनीतिक चतुरे सिद्धान्तमा –सक्छौँ जित्नेको पछाडि लाग, सक्दैनौँ हार्नेपछाडि किमार्थ नलाग । त्यति पनि सक्दैनौँ भने पक्षधरताको अत्यन्तै संवेदनशील घडी आउन सक्छ, त्यसबेला युद्धरत पक्षलाई जित्यो... जित्यो भनेर थपडी बजाउ । ताली बजाउने मेरै पक्ष हो भन्ने भान दुवैलाई पार्न सक । द्वन्द्व सकिएपछि जित्नेलाई आफ्नो समर्थन मात्रै हेइन, मैदानमै भिडेको थिएँ भनेर साखुल्ले बन्दै शक्तिको भ-याङ चढ । चढ्नेबित्तिकै अरू पनि माथि उक्लेलान् भनेर भ-याङलाई मिल्क्याइदेउ ।’
पश्चिमेली चाणक्य म्याकियाबेलीले व्यावहारिक दृष्टान्त दिँदै आधुनिक राजनीतिमा चतुरेहरूलाई कालजयी दीक्षा दिए । अभिभावक दरिए । राजनीति भनेको भावना, आदर्श र सिद्धान्तको अनुयायी र कर्ता नभई समयको नाडी छामेर भूमिकामा उत्रिने दिमागी खेल हो भन्ने उनको दीक्षा हो । तब नैतिकता, आदर्श भनेको जितेपछि स्थापित हुने नजिर मात्र हुन् भन्ने मान्यता स्थापित भयो । म्याकियावेलीका चेलाहरू शक्ति चञ्चल भएर समीकरण खेल उत्कर्षमा पुग्दा । सिद्धान्त, आदर्श, इतिहासका सौन्दर्यशास्त्री र व्याख्याता पनि बन्न पुग्छन् ।
गुट वर्चश्व भएका पार्टीमा त उनीहरूको महत्त्व नै वास्तविक कार्यकर्ताभन्दा ज्यादा हुन्छ । विडम्बना जैविक कार्यकर्ताले पनि उनीहरूलाई नै नेता मान्न विवश हुन्छन् या पलायन हुन्छन् । चतुरेहरू शक्तिशाली गुटभन्दा कमजोरको फुर्काे समातेर आफ्नो औचित्य साबित गर्छन् । पार्टी फुट्दा वा राजनीतिक बसाइँ सर्दा हैसियत देखाउने मौका पाइन्छ । सानै शक्तिले राष्ट्रिय महìव पाउनु भनेको ठूलो पार्टीको सामान्य कार्यकर्ताभन्दा सानु पार्टी वा गुटको ठूलो नेता बनेर आफ्नो अस्तित्वबोध गराउने चतुरेखेल बन्छ ।
पार्टीभित्र गुट बन्नु र गुटको फुर्का समाएर अग्लो देखिने चतु-याइँ पछाडि यही सोच हावी हुने गरेको छ ।आखिर राजनीतिका चतुरे हुन् या दलालहरू दुवै लगानी बेगरको नाफा खाने परजीवी प्राणी हुन् । दुवैका कुनै सिद्धान्त र आदर्श हुँदैन । यो जोखिम उठाउने र सङ्कटमा उभिनेभन्दा प्रतिकूलतामा पिठ्यूँ फर्काएर कुलेलम ठोक्ने जात हो । सत्ता परिवर्तन हुँदा, शक्तिको धु्रवीकरण हुँदा, युद्धको सङ्गीन मोडमा च्याउझँै उम्रिन्छन्, सङ्कट क्षणमा स्यालका सिङ बन्ने गर्छन् ।