पुँजीवाद विस्तारपछिको असर
राजकुमार सिवाकोटी
लगभग २५० वर्षपहिले अर्थशास्त्री र दार्शनिक एडम स्मिथले राष्ट्रको धनका बारेमा चर्चा गरे । उनले पुँजीवादको नाम नलिई मानव गतिविधिको एक नयाँ रूपको जन्म धन हो भने । औद्योगिक पुँजीवादले धन सञ्चयका लागि नेतृत्व गर्दछ । आज पुँजीवादले औद्योगिक, प्रविधि र हरित क्रान्तिलाई ऊर्जा दिएको छ । प्राकृतिक संसारलाई नयाँ रूप दिएको छ । समाजको सम्बन्धमा राज्यको भूमिकालाई परिवर्तन गरेको छ । यसले पछिल्ला दुई शताब्दीमा असङ्ख्य मानिसलाई गरिबीबाट बाहिर निकालेको छ । जीवन स्तरमा उल्लेखनीय वृद्धि भएको छ । मानव कल्याणमा मौलिक सुधार ल्याएको छ । यसका हाँकले मानवलाई चन्द्रमामा पाइला राख्न सम्भव बनाएको छ ।
जे होस्, पुँजीवादले मानव कल्याणका लागि धेरै कार्य गरेजस्तो देखिन्छ तर यो तर्क एकदमै टाढाबाट हेर्दा मात्र सही छ । पुँजीवादको कथा विश्वव्यापी रूपमा सकारात्मक छैन । पछिल्ला वर्षमा पुँजीवादका कमजोरी झन्झन् स्पष्ट हुँदै आएका छन् । पुँजीवादले व्यक्तिका लागि छोटो अवधिको नाफालाई प्राथमिकता दिँदा समाज र वातावरणको दीर्घकालीन कल्याण हराएको छ । विशेषगरी आज विश्वले कोभिड–१९ महामारी र जलवायु परिवर्तनको कठोर स्वरूप सामना गरिरहेको छ । पुँजीवादको खेलमा संसारभर राजनीतिक अशान्ति र धु्रवीकरणको रेखा खिचिएकोे छ ।
दोस्रो विश्वयुद्धले क्षतविक्षत बनाएको विश्वमा १९४५ पछि पुँजीवादी अर्थव्यवस्थाको तीव्र विकास सुरु भयो । पुँजीवादी उत्पादन प्रणालीबीच प्रतिस्पर्धा चुलियो । पुँजीवादको विकास प्रक्रियाले पुँजी सञ्चितीकरणका विभिन्न तह सिर्जना ग-यो । आज विश्वमा उदार पुँजीवादी अर्थव्यवस्थाको औचित्य र सान्दर्भिकतामाथि प्रश्न खडा भएको छ । पुँजीवादका निम्ति २१आंैँ शताब्दीले साँचेको सपनाको परिणामले निम्त्याउने आर्थिक साम्राज्यवादको चङ्गुलबाट कुन व्यक्ति, समूह लाभान्वित भए र यसरी लाभान्वित हुने सीमित व्यक्तिको लाभको मूल्य कसले चुकाउनुप-यो र यो चक्रमा कसले सजाय पाए ? एउटा अहं विषय हाम्रासामु उठेको छ ।
यस युगमा पुँजीवाद जटिल बनेको छ । लोकतन्त्रीकरण, अधिकार र न्यायका मूल्यहरू नाफासँग सौदाबाजी हुँदैछन् । निर्वाध नाफा, व्यापार र पुँजीको परिचालनले सामाजिक जोखिम बढेको छ । पुँजीको परिचालन तथा आर्थिक अभ्यास र गरिबीबीच निरन्तर तनाव फैलिएको छ । पुँजीवादले व्यापार, नाफा र धनकोे अधिकारलाई जोडदार प्रवद्र्धन गर्दछ । यसले जीविका हेतु रगत र श्रम चुकाउन मात्र बाध्य पार्छ । जो श्रम गर्छन्, उनीहरू नै सामाजिक सुरक्षाका सवाल आवास, खाद्यान्न, बालबच्चाको शिक्षा, स्वास्थ्य आदिमा न्यायोचित पहुँचबाट बाहिर रहनुपर्छ । यसरी पुँजीवादले उत्पादन, नाफा र श्रमबीच समता र समन्याय कायम गर्न सकेन । यो नै आज नेपालमा तनाव र द्वन्द्व ल्याउने कारण बनेको छ ।
पुँजीवादको कुरा गर्दा साम्यवादी दर्शनको विश्लेषणलाई इन्कार गर्न सकिँदैन । पूर्व सोभियत सङ्घ तथा पूर्वी युरोपमा साम्यवाद अस्तित्वमा आएर भताभुङ्ग भएको पनि चार दशक नाघिसक्यो । जुन ठाउँमा अभ्यास गरिए पनि साम्यवादको चरित्र एउटै थियो । साम्यवाद राज्य व्यवस्थाका स्वरूपमा नरहने गरी पूर्ण रूपमा ध्वस्त भए पनि साम्यवादी दर्शन र ज्ञानबाट विश्व मुक्त हुन सकेको छैन । साम्यवादी दर्शन धेरै–थोरै मात्रामा संसारभरि अझै व्याप्त छ । यो एउटा दर्शन र राजनीतिक विचारधाराका रूपमा निरन्तर अघि बढ्दै छ ।
उत्पादनका साधनमाथि समुदायको सामूहिक स्वामित्वलाई साम्यवादले अन्तिम लक्ष्य ठानेको छ तर पुँजीवाद यसको ठीक उल्टो छ । यसले स्रोतमाथि एकाधिकारमुखी पहुँचलाई प्रवद्र्धन गर्छ । पुँजी र मुनाफालाई मुठ्ठीभर व्यक्तिको हातमा केन्द्रीकृत गर्छ । जसको परिणाम समाजमा स्तरीकरणको दूरी भयावह हुन पुग्छ । विश्वमा बढ्दो अवस्थामा रहेको गरिबी र कथित धनाढ्यहरूको हातमा सीमित हुन पुगेको पुँजीबीचको खाडलले यस शताब्दीमा पुँजीवाद कसरी बाँच्ला भन्ने सवाल उब्जाएको छ । यस स्थितिले एडम स्मिथलाई अर्थशास्त्रको पर्दापछाडि सीमित गरिदिएको छ । गरिब र धनीबीचको दूरीका कारण ऋण, घाटा आदिका गर्भमा उठ्ने तर्क–वितर्कमा सीमित बनेको छ, पुँजीवादको प्रकृति । यसबाट माक्र्सवादको पक्ष र विपक्षको बहस बढ्ने सम्भावना प्रबल भएको छ ।
नाटकीय रूपमा अघि बढेको पुँजीवादको उत्कर्ष र बक्यौता सङ्कटका नाउँमा तेस्रो विश्व र युरोजोनका कतिपय राष्ट्रमा देखा परिरहेको पुँजीवादको गिरावटले विश्वव्यापी आर्थिक व्यवस्थामा परिवर्तनको आवश्यकतालाई अपरिहार्य बनाएको छ । न्युयोर्कबाट सुरु भएको यो सन्देशको गुरुत्वलाई न्युरोडसम्म अनुभव गर्न थालिएको छ । आर्थिक एवं राजनीतिक व्यवस्थाको फ्युजनस्वरूप २१औँ शताब्दीको पुँजीवाद अगाडि बढ्यो । पुँजी विस्तारका परिणामहरू राजनीतिक र आर्थिक दुवै हुन् । पुँजी, श्रम र नाफाबीचको अन्तरविरोधले आर्थिक व्यवस्थालाई अधीनमा राखेको हुन्छ भन्थे कार्ल माक्र्स । असमान वितरण प्रणालीका कारण उब्जिएको पुँजीवादी वर्ग सङ्घर्षद्वारा राजनीति सञ्चालित हुन्छ भन्ने उनको सोचाइ थियो ।
विगतको वालस्ट्रिट अभियानको उद्भव भनेको विश्वभरि रहेका पुँजीविहीनहरूको अघिल्लो युगको वर्गसङ्घर्षको पुनरागमन हो । त्यसैले माक्र्सवादी अवधारणालाई पन्छाएर अमेरिकी पुँजीवादले सायदै गरिब र धनीबीच पैदा भएको सेतीको खोचजस्तै गहिरो खाडल पुर्न सक्ला । पर्दापछाडि बसेर माक्र्सवाद पतनको शङ्खघोष गर्नेहरूको नियन्त्रणभन्दा बाहिर पुगेको छ, पुँजीवादको विस्तार र साझा सम्पत्तिका स्रोतमाथिको कब्जा । र, पुँजीवादी राजनीतिको अखडा बन्न पुगेको छ, समकालीन विश्व । पुँजीवादको राजनीतिक पक्षलाई वस्तुगत ढङ्गले बुझ्न विश्व नेतृत्व बारम्बार असफल हुँदै आएको दृष्टान्त हाम्रासामु छ ।
पुँजीवादको मैदानमा चार तहका खेलाडी छन् । पहिलो राष्ट्र–राज्य, जो विश्वव्यापी रूपमा पुँजी प्रभुत्वको सार्वभौमिकता कायम राख्न सङ्घर्षरत छन् । दोस्रो भनेको अन्तर्राष्ट्रिय सङ्गठनहरू संयुक्त राष्ट्रसङ्घ, विश्व व्यापार सङ्गठन, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष हुन् । यी विश्वव्यापी रूपमा लगानीको विस्तार र शासन–सरकारहरूलाई काबुमा राख्न प्रयासरत छन् । अर्को भनेको बहुराष्ट्रिय तथा ठूला कम्पनीहरू, जसले स्वतन्त्र लगानी, व्यापार–वाणिज्य, नाफा र धन सञ्चयका लागि प्रतिस्पर्धा गरेका छन् । यसका साथै श्रमिक, उपभोक्ता, किसान र अन्य किनारा लगाइएका समुदायहरू, जो उत्पादन र बजारका प्रमुख कर्ता, पात्र र आधार हुन् । उनीहरूको आकाङ्क्षा सकेसम्म बाँच्ने र मृत्युसँग नडराउनेबाहेक अरू केही हुँदैन ।
यी चारै तहमा अन्तर्निहित बहुमुखी प्रकृतिका कारण पुँजीवादको उत्पत्ति, गतिशीलता र विभिन्न पक्ष विवादै विवादले भरिएका छन् । कसैले यसलाई २०औँ, २१औँ शताब्दीको उपज र विजय मान्दछन् । नवमाक्र्सवादी अवधारणाले यो गैरन्यायिक, शोषणजन्य परिस्थिति र व्यवहारको उपज भन्छ ।
पुँजीवादले जन्माएका विचारका रेशा र समस्याका तहहरू धेरै कठोर छन् । पुँजीवादले संसारभर खुला र देखिने आर्थिक साम्राज्यवादको विस्तार गरिरहेको छ । यसको अदृश्य गुरुत्वले दुनियाँलाई एक सर्वसत्तावादी शासनको चङ्गुलमा कस्दै छ । यसै सेरोफेरोमा पुँजीवादका कारण तेस्रो विश्वमा सामाजिक सुरुक्षाका संयन्त्रहरू तहसनहस भएका छन् । यसले अधिकारको परिदृश्य तथा न्याय प्रदान गर्ने संयन्त्रलाई बृहत् रूपले किनारा लगाउँदै छ । पुँजीवादको वर्चस्वमा देखापर्ने चालले राज्यको उत्तरदायित्व नै नष्ट गर्ने हदसम्म असर पारेको छ ।
खासगरी सेप्टेम्बर ११ को घटनापछि बहुराष्ट्रिय कम्पनीहरूबीचको सम्बन्धमा द्वन्द्व र स्रोतहरूमाथि नियन्त्रणको सङ्घर्षले एउटा नयाँ अनुपात लिएको छ । यसले वर्तमानमा हाम्रा र भविष्यको स्रोतमाथिको नियन्त्रणसँग सम्बन्धित महìवपूर्ण प्रश्न उठाएको छ । विश्व बैङ्क, विश्व व्यापार सङ्गठन र अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिकाले तेस्रो विश्वमा दक्षिण एसियाली, ल्याटिन अमेरिकी र अफ्रिकी क्षेत्रका राष्ट्रहरूलाई सङ्कटतर्फ डो-याएको भनी आलोचना गरिएको छ । यसरी पुँजीवाद ग्रामीण पृष्ठ क्षेत्रमा प्रवेश ग-यो र साझा सम्पत्तिको स्रोतलाई आक्रमण ग-यो ।
सन् २०२० को एडलम्यानसमेतले गरेको एक अध्ययनमा ५७ प्रतिशत मानिसले पुँजीवादको अस्तित्वले संसारमा राम्रोभन्दा धेरै हानि गरेको दाबी गरेका छन् । पुँजीवाद आज जसरी अस्तित्वमा छ, यसले यथास्थितिसँग असन्तुष्टिको रेखा खिचिराखेको छ । अर्थशास्त्री माइकल याकुब र मारियाना माजुकाटोको तर्क छ, “पछिल्ला दशकमा हामीले असमानता र पर्यावरणीय क्षतिमा न्याय गर्न अपनाएका उपायहरू असपmल रहे र यसमा पश्चिमी पुँजीवादको गहिरो प्रदर्शन एवं प्रभाव देखियो ।”