काँग्रेसमा देखिएको रूपान्तरण
शिरीषबल्लभ प्रधान
सत्तारूढ दल नेपाली कांँग्रेसको १४औँ महाधिवेशनले पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः एकपल्ट सभापतिको गरिमामय पदमा स्थापित गरिदिएको छ । यसले सभापति देउवालाई नयाँ चुनौती र जिम्मेवारीसमेत थपिदिएको छ । सो पार्टीको हालै सम्पन्न महाधिवेशनका सहभागी चार हजार ७७६ महाधिवेशन प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग खुलेर गरेका छन् । जसका कारण देशको सबैभन्दा बृहत् प्रजातान्त्रिक अभ्यासको सफल प्रयोग भएको छ । पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी कुल १३४ पदका निम्ति नौ सयभन्दा बढी नेताले उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रेका थिए । यसरी महाधिवेशन प्रतिनिधिले स्वविवेकले खुलेर आफ्ना मताधिकारको प्रयोग गरेबाट सो पार्टी सबैभन्दा प्रजातान्त्रिक भएको र आफ्नो प्रजातान्त्रिक मूल्य मान्यतालाई कायम राख्न सक्षम भएको प्रस्ट पारेको छ ।
महाधिवेशनमा चुनिएका प्रतिनिधिको अनुहार हेर्दा त्यहाँ पुरानो तथा नयाँ पु्स्ताबीच सम्मिश्रण र सामञ्जस्य देखिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र युवा पुस्ताका नेता गगन थापा पार्टी महामन्त्रीजस्तो जिम्मेवार पदमा चुनिनुले पार्टीमा पुस्तान्तरणको प्रक्रिया मात्र सहज भएको नभई पार्टीमा परिवर्तन चाहने ठूलो सङ्ख्याका प्रतिनिधिको आवाजको कदर भएको मान्नुपर्छ । जसले पार्टीलाई जीवन्त र ऊर्जाशील बनाउन मद्दत मिलेको छ । त्यसैगरी प्रधानमन्त्री देउवा अत्यधिक मतबाट दोस्रो चरणको चुनावमा सभापतिमा विजयी हुनुले पार्टीमा पुराना पुस्तालाई पनि सम्मानजनक स्थान मिलेको देखिन्छ ।
त्यसैगरी पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित हुनु र महालक्ष्मी डीना उपाध्याय जस्ता महिला नेत्री सहमहामन्त्रीमा निर्वाचित हु्नुले पार्टीलाई गतिशील बनाउँदै नयाँ परिवेशमा नयाँ ढङ्गले सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार भएको मान्नुपर्छ ।
केही अन्य वाम तथा दक्षिणपन्थी झुकावका पार्टीमा टीका लगाएर नेतृत्वमा ल्याइदिने वा माथिबाट हस्तक्षेप गरी कृत्रिम रूपमा नेतृत्व चयन गर्ने र पार्टीका प्रतिनिधिले ताली पिटेर त्यसको समर्थन गर्ने प्रवृत्ति देखिएको सन्दर्भमा काँग्रेसको यस महाधिवेशन उनीहरूका निम्ति पनि पाठ सिक्ने थलो बनेको छ । पार्टी सभापतिलाई चुनौती दिने र खुलेरै उनका क्रियाकलापको विरोध गर्ने युवा नेताले पनि निर्धक्कसँग निर्वाचनमा उम्मेदवारी दिई अत्यधिक मतका साथ विजयी हुने वातावरण जुन काँग्रेसमा बन्यो, त्यो अन्य ठूला पार्टीका निम्ति अनुकरणीय बनेको छ । प्रजातन्त्रमा विरोधीको मतको पनि कदर हुन्छ, आफूसँग असहमत हुनेको पनि विचार सुन्ने र त्यसलाई सम्मानजनक स्थान दिने परिपाटी हुन्छ, जुन प्रजातान्त्रिक पद्धतिको रमाइलो पक्ष हो ।
यसपल्ट काँग्रेसमा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुने कुरा निकै जोडदारका साथ उठ्यो र अधिकांश नेता तथा कार्यकर्ताले उत्साहित भएर मतदान पनि गरे, जसबाट अपेक्षा गरेजस्तो नतिजा पनि निस्क्यो तर पुस्तान्तरणको विषयलाई निरपेक्ष भएर केवल उमेर र व्यक्ति परिवर्तनको दृष्टिले मात्र व्याख्या गरिनु उपयुक्त हुँदैन । पुस्तान्तरणको प्रक्रियामा कस्ता व्यक्ति निर्वाचित भएर आए र त्यसले पार्टीको नेतृत्वमा के कस्तो दूरगामी प्रभाव पार्ला भन्ने कुरामा ध्यान दिनु उत्तिकै जरुरी हन्छ । पुस्तान्तरण स्वाभाविक र सहज हुनपर्छ, परिवर्तनका पक्षमा, समावेशिताका पक्षमा हुनुपर्छ र त्यसले पार्टीलाई सुधारोन्मुख वा प्रगति उन्मुख गराउन सक्नु पनि पर्छ । वास्तवमा पार्टीमा पुस्तान्तरण रूपान्तरणको कारण बन्न सके मात्र त्यो सार्थक हुन्छ ।
काँग्रेसमा एकथरि पक्षले पार्टी विधानसम्मत ढङ्गले सञ्चालन हुन सकेन, विधि र पद्धतिअनुरूप पार्टी सङ्गठन सञ्चालन हुनप-यो, भ्रातृ सङ्गठनको अधिवेशन समय–समयमा हुनप¥यो, एकल नेतृत्वको सट्टा सामूहिक नेतृत्वको अवधारणाअनुरूप कामकारबाही अगाडि बढ्न प-यो भनी आवाज उठाइरहेको देखिन्छ । अहिले चुनिएको नयाँ नेतृत्वले पहिले भएका कमीकमजोरी सुधार्दै यी सारा विषय सम्बोधन गर्न सक्नुपर्छ ।
हालै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा नयाँ पुस्ताको हातमा नेतृत्व त आयो तर त्यो न त सहज प्रक्रियाबाट भएको देखियो न त्यसले पार्टीमा प्रगति उन्मुख र परिवर्तनकारी शक्तिलाई स्थापित गर्न सक्यो । अध्यक्ष पदमा पराजित कमल थापाले राजेन्द्र लिङ्देनको विजयमा निर्मल निवासको आशीर्वाद रहेको टिप्पणी गरेबाट उक्त परिवर्तन सहज नभएको र त्यसबाट कट्टरपन्थी समूहको उदय सो पार्टीमा हुने खतरा बढेको सङ्केत देखाउँछ । त्यसको विपरीत नेकपा (एमाले)मा उदारवाद र सुधारवादको विपरीत दिशामा पार्टीलाई धकेल्न पुस्तान्तरणको प्रक्रिया अवरुद्ध पारियो र पुरानै नेतृत्वलाई निरन्तरता दिने काम भयो ।
तर काँग्रेसमा देउवाको विजयलाई बेग्लै दृष्टिले विश्लेषण गरिनु जरुरी देखिन्छ । केपी ओलीले विघटन गरेको संसद्लाई पुनस्र्थापित गरी प्रतिगमनलाई रोकी देशलाई अग्रगमनमा लैजाने दिशामा देउवाको जुन योगदान देखियो, त्यसले पनि पार्टीमा देउवालाई आफ्नो पक्षमा अधिकांश मतदाताको समर्थन जुटाउन सजिलो भयो । यहाँनेर अन्तिम समयमा सभापति पदमा देउवाको विजयलाई सुनिश्चित गर्न खासगरी दुइटा मनोविज्ञानले काम गरेको देखिन्छ । पहिलो, देउवाको पराजयपछि काँग्रेसको नेतृत्वमा बनेको पाँचदलीय गठबन्धनको सरकारको भविष्य अनिश्चित हुनु र सभापतिमा हारेको प्रधानमन्त्रीको नेतृत्वमा आगामी चुनावमा जानुपर्ने असहज परिस्थिति सिर्जना हुनु । दोस्रो, देउवापछि पार्टी नेतृत्व सम्हाल्ने नयाँ पुस्तामा को वरिष्ठ र को कनिष्ठ भन्ने प्रश्न खडा हुनु ।
दोस्रो चरणको निर्वाचनमा नयाँ पुस्ताका सशक्त हस्ति प्रकाशमान सिंह र विमलेन्द्र निधि दुवैले देउवाका पक्षमा मत हाल्ने निर्णयमा पुग्नुमा त्यही मनोविज्ञानले काम गरेको बुझिन्छ । पार्टीमा केवल नयाँ पुस्ताको मात्र कुरा गरी पुराना र अनुभवी नेतालाई छायामा पारिनु कदापि न्यायसङ्गत हुँदैन । तसर्थ इतर पक्षबाट सभापति पदका दावेदार शेखर कोइराला सिंह र निधि दुवैभन्दा पार्टीमा कनिष्ठ हुनाले दुवै नयाँ पुस्ताका हस्तीको रोजाइको उम्मेदवार बन्न सक्नुभएन । यहाँनेर स्मरणीय छ, काँग्रेसको १३औँ महाधिवेशनमा इतर पक्षबाट सभापति पदको उम्मेदवारी दिने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह दुवैको दाबी परेपछि वरिष्ठताका आधारमा सिंहले पौडेलको पक्षमा आफ्नो दाबी छोडेका थिए । यसरी पार्टी महाधिवेशनमा अन्तिम घडीमा जुन समीकरण बदलियो, त्यसलाई अत्यन्तै अस्वाभाविक भनी अतिरञ्जित गरी व्याख्या गरिनु जरुरी देखिँदैन । कोइरालाको हारको अर्को कारण हो– उनले आफ्नै परिवारका सदस्यको मन जित्न नसक्नु । काँग्रेस महामन्त्री तथा बीपीपुत्र शशाङ्क कोइराला स्वतन्त्र भई केन्द्रीय सदस्यमा निर्वाचन लडेको र महिला नेत्री सुजाता कोइराला पनि प्रकाशमान सिंहको समूहबाट चुनाव लडेको यहाँ स्मरणीय छ ।
यसपालिको महाधिवेशनको अर्को महìवपूर्ण पक्ष हो, महाधिवेशन प्रतिनिधिले कुनै पनि प्यानलका पक्षमा आँखा चिम्लेर मतदान नगरी आफ्नो स्वविवेक प्रयोग गर्नु, जुन प्रजातान्त्रिक प्रणालीको अति सुन्दर पक्ष पनि हो । यता महामन्त्रीमा देउवा पक्षबाट लड्ने युवानेता प्रदीप पौडेल पराजित हुनुभएको छ भने उता सिंह पक्षबाट महामन्त्रीमा लड्ने विश्वप्रकाश विजयी हुनुभएको छ । यसरी काँग्रेसको चुनावमा अधिकांश युवा नयाँ, जोशिला उम्मेदवार चयन भए ।
अब पार्टीलाई चुनावपछि एकढिक्का गरेर लैजाने जिम्मा नेतृत्व वर्गको काँधमा आइपुगेको छ । आगामी प्रतिनिधि सभाको निर्वाचन एक वर्ष जति मात्र बाँकी छ । त्यसभन्दा अघि सायद स्थानीय तहको निर्वाचन गर्ने समय आउँछ । अब चुनावमा अनुहार फेरिएको काँग्रेस, रूपान्तरित भएको र विधि, विधानअनुरूप चलेको काँग्रेस लिएर मतदातासामु जान सकिएमा निश्चित रूपमा त्यसको परिणाम उत्कृष्ट हुनेछ । नयाँ पुस्ताको काँधमा जुन महìवपूर्ण जिम्मेवारी आएको छ, त्यसलाई कति इमानदारी र कति गम्भीरताका साथ निर्वाह गर्न नयाँ पुस्ता सक्षम हुनेछ भनेर आम प्रजातन्त्रवादीले हेरिरहेका छन् । समस्त प्रजातन्त्रवादीले चासोका साथ हेरिरहेका छन् कि काँग्रेसमा केवल कसैको व्यक्तिगत महìवाकाङ्क्षा पूर्तिनिम्ति पुस्तान्तरण मात्र भएको छ कि रूपान्तरण पनि हुँदैछ ? केवल अनुहार मात्र फेरिएको छ कि कार्यशैली बदलिनेतर्फ पनि प्रयास हुँदैछ ? के अब काँग्रेस पार्टीले समावेशी, न्यायपूर्ण, समानतामा आधारित समाज निर्माण गरी देश आर्थिक समुन्नति र समृद्धितर्फ साँच्चै फड्को मार्दै छ त ? के काँग्रेसको नवनिर्वाचित नेतृत्व त्यसतर्फ नयाँ ढङ्गले पार्टीलाई डो-याउन साँच्चै गम्भीर भएर लाग्ला ?