विचार/दृष्टिकोण |

संसद् अवरोध असंसदीय आचरण

डा. अतीन्द्र दाहाल

लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट संसद्का काम कारबाहीलाई अवरोध गर्ने कार्य हुँदै आएको छ । हुन त एमालेका अध्यक्षले आपूm प्रधानमन्त्री रहँदा पनि असंवैधानिक हिसाबले दुई पटक प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । त्यसैले हरहालतमा यो प्रतिनिधि सभालाई कामकाज विहीन, निस्प्रभावी, विजिनेस विमुख र परिणाम रहित बनाउनु नै उहाँ अनि उहाँको दलको अभिप्राय हो भन्नेहरू पनि छन् । प्रजातन्त्रमा दलका आफ्ना फरक राजनीतिक मतमतान्तर स्वाभाविक हो तर लामो समय संसद्मा अनावश्यक माथापच्ची गर्दा र यसलाई नियमित कार्यसम्पादनबाट विमुख पार्दा आम मानिसमा यो प्रणालीप्रति नै निराशा जाग्न सक्छ । संसद् त जनताका हरेक चासो र गुनासोको छलफल हुने, नागरिक प्रिय र जनतामैत्री काम सम्पादन गर्ने महत्त्वपूर्ण समागम हो । संसद्मा आएर र उभिएर आम नागरिकलाई आफ्ना कुरा भन्ने अनि विचार प्रक्षेपण गर्नुको सट्टा भएको संसद्लाई नै बन्द गर्नु हदैसम्मको असंसदीय चरित्र हुन्छ । संसद् चल्नका लागि, छलफल गर्नका लागि हो । यो वा त्यो बहानामा संसद्लाई नियमित कामबाट वञ्चित गरिँदा यसको प्राथमिक सिद्धान्तमाथि नै प्रहार भएको ठर्हछ ।

सरकार, सभामुख वा अरू दलहरूको विरोध गर्ने नाममा नियमित रूपमा संसद्लाई बन्द गरिनु तर निकासका लागि हुने छलफल अथवा राष्ट्रिय सरोकारका विषयमा आह्वान हुने सर्वदलीय बैठकहरूलाई पूर्णतया बेवास्था गर्नु विरोध मात्र नभई व्यवस्थाप्रतिको उपहास देखिन सक्ने जोखिम पनि छ । ‘संविधान तहः बिना हातहतियार भेला भई आफ्ना विचारहरू सम्प्रेषण गर्न पाउनु सबै राजनीतिक दलको अधिकार हो तर क्षणिक आवेगमा आएर गालीको साहाराले ताली खोज्ने असहयोगको राजनीतिक अभ्यास गर्दा विवेक भने गम्भीर रूपमा ऋणात्मक रहेको देखिन सक्छ । प्राचीन दार्शनिक अरस्तु राजनीतिलाई विज्ञानकी रानी भन्नुहुन्थ्यो । पछि अन्य दार्शनिकले फोहोरी खेलसमेत भने । विरोधका नाममा हुने पछिल्ला केही गतिविधिले हाम्रो राजनीतिलाई दोस्रो उपमाको नजिक लैजादैछ । यसरी देशको प्रगति अनि नेतृत्व र राजनीतिमाथि नागरिक विश्वासको बढोत्तरी दुवै हँुदैन । चुलेसीमाथि फर्सी अथवा फर्सीमाथि चुलेसी जे खसे पनि आखिर फर्सी नै काटिन्छ । यस्ता खालका गतिविधिले राजनीतिमाथि नैराश्यता तथा नेतृत्वमाथि समेत घोर निराशा एवं वितृष्णाको सागर निर्माण गर्छ । त्यसले राजनीतिलाई अनुपात्दकसँगै प्रत्युत्पादक पनि बनाउँछ । कसैलाई अपमानित गरे रिसाउँछ तर माया गरे जवाफमा माया नै गर्न बाध्य हुन्छ । अरूको सहयोग खोज्नेले यो शाश्वत सत्य बिर्सनु हुँदैन । राजनीतिमा विरोध गरेर र घृणा दिएर होइन, विचार तथा कार्यक्रम दिएर आफ्नो हैसियत स्थापित गर्नुपर्छ । अझै कटाक्ष बढाउनेभन्दा प्रतिपक्षले देशप्रतिको प्रधान आवश्यकतालाई आत्मसात् गर्नुपर्छ । राजनीतिको बाटो र कार्यविधि बदल्नुपर्छ । समुन्नत देश निर्माणमा अरूसँग होस्टेमा हैसे गर्नुपर्छ । एक पटक संसद् अवरोधको भूमिकाको आत्मसमीक्षा गर्दै विचलित लक्षलाई पुर्नजीवित गर्ने उद्देश्यमा समाहित हुनुपर्छ ।

नहराओस् लक्ष्य
संविधान निर्माणपछि देशमा राजनीतिक, सामाजिक, आर्थिक प्रगतिको आशा थियो । संविधानको सफल कार्यान्वयन, अपेक्षित प्रगतिको रफ्तार एवं विकासको नयाँ बहार निर्माण होस् भन्ने नागरिक चाहनालाई खासै महìव दिइएन । विकासका नाममा सस्ता हसीमजाक, आधारहीन अहं, आफू उत्तरदायी हुनुपर्ने संसद्को एकपछि अर्को योजनाबद्ध हत्या, स्वप्रशंसाको पुलिन्दाको प्रचारप्रसारले गर्दा नागरिकमा निराशा बढेको थियो । प्रक्रिया तथा परिणाम दुवैका हिसाबले धेरै बाटो विराएपछि उक्त सरकारको पदस्थापना स्वाभाविक हुन्थ्यो र भयो । कोही पनि नागरिकको नजरबाट नलुकेको उक्त सत्यता आत्मसात् गर्न छाडेर विरोधको बहाव ल्याउने र संसद्लाई कठपुतली बनाइदिने भन्दै हौसिदा त्यसले जानी नजानी प्रतिपक्ष दलमाथि नागरिक विपक्षतालाई मलजल गर्नेछ ।

दलहरू आफूलाई सुधार्दै नागरिक विश्वास आर्जन गर्नेभन्दा अरूको हुर्मत लिने अभ्यासमा रमाउँदा राजनीतिक संस्कार नै ध्वस्त हुन्छ । विख्यात नवर्माक्सवादी लेखक नोम चोम्स्की नेपालको राजनीतिमा देखिएको ‘वंशवाद अनि गालीमोह’ लाई खेदजन्य भन्नुहुन्छ । यसले राजनीतिलाई दिन/प्रतिदिन जीर्ण र क्षीण बनाउँदैछ । कसैलाई अनवरत गाली गर्ने नभई आफैँलाई सुधार्दै जनताका लागि राम्रा कार्यक्रम ल्याउनु आजको आवश्यकता हो ।

अहिले नेता लक्षित संसदीय टकराव अनि पूर्वाग्रह नागरिकको तहसम्म विस्फोट भए अरूसँगको सद्भाव अनि सामीप्य हराउनसक्छ, दीर्घकालीन घृणा र हेय बढ्न सक्छ । विरोधको बहाव कुनै मोडमा पुगेर रोकिदा चाहिँ सामाजिक आत्मीयतासमेत रोकिन सक्छ । जसको व्यवस्थापन कुटिल कटाक्षेप गर्ने नेताहरूको कौशलले नभ्याउन सक्छ । यसकारण केवल विग्रह तथा अन्नतहिन आलोचना र विरोधको सोचलाई तत्काल रचनात्मक विश्राम दिँदै नयाँ शैलीको राजनीति नगरे अन्ततोगत्व त्यस्ता विरोध यसैको नेतृत्व पङ्क्तिलाई महँगो दुस्साहास बन्नेछ । सम्मानित प्रतिपक्ष भएर बस्नुपर्छ, सरकारको मिहिन अवलोकन गर्दै आवश्यक ठाउँमा उसलाई सर्तक बनाउनुपर्छ । आलोचनात्मक समर्थन दिनुपर्छ तर अनावश्यक रूपमा जहाँ पनि दुर्वचनमार्फत आग्रहपूर्ण कुन्ठा देखाउनु र संसद्लाई बन्धक बनाउनु हुँदैन । वर्तमान प्रधानमन्त्री पहिले प्रतिपक्षमा रहँदासमेत प्रतिपक्षले यसरी असहयोग गरेको थिएन । विकसित र समुन्नत राष्ट्रका सफल राजनीतिहरूबाट प्रशस्त दीक्षित बन्दै विरोधको राजनीतिक संस्कार बदल्नुपर्छ ।

विश्व राजनीतिको शिक्षा
विश्वका सफल नेताहरूले कसैलाई शत्रु ठान्नुभएन, आफ्ना कार्यक्रमलाई अरू विरुद्ध लक्षित गर्नेभन्दा नागरिक जीवन निर्वाहलाई सहयोग गर्ने दिशामा लगाउनुभयो । जनतालाई राम्रा सुधारका कार्यक्रम दिनुभयो, देश उहाँहरूको पक्षमा रह्यो, विपक्षीहरू कमजोर बने । राजनीतिलाई लड्ने÷भिड्ने र मारकाटको कित्तामा प्रयोग गरिएन । जनतालाई शान्ति सुरक्षा दिन, अमनचयन कायम राख्नसँगै सुशासन, समृद्धि, आर्थिक विकास, सामाजिक न्याय उन्नयन श्री वृद्धिको प्रतिस्पर्धामा प्रयोग गरियो । राम्रा कार्यक्रम दिए कुनै पनि दलका विरोधी शक्तिहरूलाई जनताले नै परास्त गर्छन् । संसद्लाई बन्धक बनाएर राजनीतिक तहमा खोचे थाप्नै पर्दैन । एउटा शक्तिले अर्को शक्तिविरुद्ध नेतृत्व तहमा सङ्र्घष गर्ने होइन, जनताको आदेश र अनुमोदन मात्र माग्नुपर्छ अनि चुनाव सामना गर्नुपर्र्छ ।

समाजको अग्रगामी रूपान्तरण गराएका सबै नेता अरूको विरोध होइन, आफ्नो क्षमतासँगै सामथ्र्य वृद्धिमा तत्पर हुनुहुन्थ्यो । विड्रो विल्सन, विस्टन चर्चिल, नेल्सन मन्डेला, जोनएफ केनेडी, मारग्यारेट थ्याचरजस्ता युगान्तकारी नेताहरूले सहजै आफ्ना विपक्षीलाई निस्तेज गर्नुभयो । रुसमा भ्लादिमिर पुटिन लगातार राष्ट्रपति र प्रधानमन्त्री बन्नुभयो । फ्रान्कलिन डी रुजभेल्ट नियम नै परिवर्तन गर्नुपर्ने गरी जनताबाट चार/चार पटक राष्ट्रपतिमा निर्वाचित हुनुभयो । ली क्वान, महाथिर वीन मोहोमदले उठाएका जस्तासुकै कदमलाई नागरिकले सहर्ष स्वीकारे । चीनका राष्ट्रपति सी अहिलेको ज्वलन्त उदाहरण हुनुहुन्छ । केही वर्ष अघिसम्म नेपालजस्तै अल्पविकसित देश गनिने मलेसिया अहिले विकासोन्मुख छ, सन् २०३० मा विकसित देशमा गनिनेछ । रहस्य यही हो कि नेतृत्वले अरूको विरोध गर्नुभन्दा नागरिकलाई परिवर्तनका कार्यक्रमहरू मार्फत आफ्नो पक्षमा राख्यो । नागरिक जीवन स्तरोन्नति, समाजको व्यापक पुर्ननिर्माण अनि अधिकांश जनताले आत्मसन्तुष्टि महसुस गर्ने कार्यक्रमहरू दियो ।

नागरिक सम्मान कमाउन दलहरूले आम विकास, व्यापक सामाजिक सुधार, गरिबी निवारण, भ्रष्टाचार निर्मूलीकरण, दमन र हिंसाको अन्त्य, बेरोजगारी व्यवस्थापनजस्ता अहं मुद्दाको पक्षमा ठोस कार्ययोजना तय गर्नुपर्छ । ती योजना कार्यान्वयन गर्न सरकार बनाउन प्रयास गर्ने भनेर जनतालाई बुझाउँदै चुनाव पर्खनुपर्छ । कार्यक्रमहरू सबल भए जनताले नै उसलाई समोचित स्थान दिनेछन् । सेनाले युद्ध, विद्यार्थीले परीक्षा तथा राजनीतिक दलले चुनाव जुनसुकै बेला हुनसक्ने भन्दै सदैव तयार रहनुपर्छ । जसले सरकार बनाए पनि देशको विकासलाई निरन्तर साथ दिनुपर्छ । ‘कन्सेन्सस् डेमोक्रेसी’ भनिने यस्तो अभ्यासले राजनीतिलाई सुसंस्कृत बनाउँछ । स्वीजरल्याण्ड, जर्मनी, डेनमार्क, स्वीडेनमा यसलाई राष्ट्रिय राजनीतिको मुख्य विशेषता भनिन्छ । ए लिजपर्टको पुस्तक ‘प्याट्रन अफ डेमोक्रेसी’मा यसलाई प्रजातान्त्रिक व्यवस्थाको अलौकिक उदाहरण मानिएको छ । यस्तो हुँदा विकासका गतिविधिले गति लिन्छन् । सरकार फेरिए पनि नीति र कार्यक्रम निरन्तर रहन्छन् । राजनीतिक स्थिरतासँगै आर्थिक प्रगतिको पथ मुख्य सूचीमा पर्दछ । नागरिकले परिवर्तनको महसुस गर्छन् ।

अहिले युद्ध छेडेर हैन बुद्ध बनेर परिवर्तन गर्नेहरूको खाँचो छ । गान्धी बन्न सक्नुपर्छ, अन्ना हजारेको नजिरलाई हेर्नुपर्छ, नेल्सन मण्डेलालाई खोज्नुपर्छ । गालीमा ताली साट्ने राजनीति अन्त्य हुनुपर्छ । अर्काको अनावश्यक विरोधभन्दा नागरिकलाई प्रिय कार्यक्रम पस्कने प्रतिस्पर्धा भए दलहरूको स्तर त ती कार्यक्रम र त्यसलाई व्यवहारमा लैजाने सामथ्र्यको आधारमा नागरिकले नै कायम गरिदिनेछन् । त्यसैले दल र नेताहरू संसद्मा लडाइँमा होइन, नागरिकसँगको सामीप्यलाई वृद्धि गर्दै नागरिकप्रेमी कार्यक्रमको निर्माणमा लाग्नुचाहिँ राम्रो हुन्छ । प्रतिपक्षी दलले यसको सुरुवात थाल्नुपर्छ, आफ्ना कार्यकर्ता पङ्क्तिलाई त्यसैगरी प्रशिक्षित गर्नुपर्छ, सबैलाई त्यसै गर्नुपर्ने नैतिक बाध्यता आइलाग्छ ।