विचार/दृष्टिकोण |

प्रहरीको बोली व्यवहार (सम्पादकीय)

बोली व्यवहारले धेरै हदसम्म मानिसको सभ्यता तथा आचरणको अनुमान गर्न सकिन्छ । हरेक मानिसका बोली वचन सभ्य, सुसंस्कृत एवं मिजासिलो हुनुका अतिरिक्त ग्राह्य व्यवहारलाई न्यूनतम शिष्टाचार मानिन्छ । न्यूनतम शिष्टाचार विना कुनै पनि व्यक्ति वा सङ्गठनले समाजमा आफ्नो अस्तित्व कायम गर्न सक्दैन । सर्वसाधारण आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी वा सङ्गठित सङ्घ संस्था तथा यसका कर्मचारीका लागि यी विशेषता अनिवार्य तìव नै हुन् । यसक्रममा नेपाल प्रहरी जनसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने ममहत्त्वपूर्ण सङ्गठन हो । नेपाल प्रहरी सङ्गठनभित्रका प्रायः सबैजसो प्रहरी जवान वा अधिकृत हरेक पल आमजनतासँग प्रत्यक्ष र परोक्ष रूपमा सम्पर्कमा रहिरहनुपर्छ । सरकारको अनुहार प्रहरीको व्यवहारले झल्काइरहेको हुन्छ ।

राज्यको यो महत्त्वपूर्ण सङ्गठन चल्ने पनि नागरिककै करबाट हो । त्यसैले सेवा पनि नागरिककै गर्नुपर्छ । यस अर्थमा आमजनताका सेवकका रूपमा खटिने प्रहरीको बोली, व्यवहार तथा आचरण शिष्ट र सभ्य हुनु अति आवश्यक छ । शायद यसै मर्मलाई आत्मसात् गर्दै नेपाल प्रहरी सङ्गठनले पटक पटक बोली, भाषा, व्यवहार तथा आचरणका विषयमा विभिन्न नारा बनाइरहेका पाइन्छन् । ‘सत्य सेवा सुरक्षणं’, ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’, ‘मुस्कानसहितको सेवा’ जस्ता विभिन्न नाराले प्रहरी कार्यालयका भित्ता रङ्गिएका देख्न पाइन्छ । के व्यवहारमा प्रहरीको व्यवहार, बोली वा आचरण यही अनुरूप छ त ? यो अहिलेको मुख्य प्रश्न हो ।

नेपाल प्रहरीको सङ्गठनभित्र र आमजनसाधारणलाई गर्ने भाषा तथा व्यवहारमा विगतदेखि नै समस्या देखिन्छ । शायद यसैको कारण हुनुपर्छ, होला गृहमन्त्री बालकृष्ण खाणले प्रहरीलाई सम्मानार्थी भाषा प्रयोगका लागि निर्देशन दिनुभयो । गृहमन्त्रीको यस निर्देशनले समेत प्रहरी सङ्गठनभित्र रहेको भाषागत समस्यालाई प्रष्ट्याउँछ । यसबाहेक प्रहरीको बोली, व्यवहार, आचरण र क्रियाकलापसम्बन्धी दैनिक १० वटा उजुरी प्रहरी महानिरीक्षकको कार्यालयमा पर्ने तथ्याङ्कले समेत नेपाल प्रहरीको बोली एवं व्यवहारलाई आमजनतामा कस्तो प्रभाव पार्दोरहेछ आत्ममूल्याङकन गर्ने बेला भएको जनाउ दिएको छ ।

व्यवहारतः वरिष्ठताको मर्यादाक्रममा चल्ने प्रहरीजस्ता सङ्गठनमा माथिल्ला अधिकारीको देखासिकी तल्ला तहका कर्मचारीले गर्नु अनौठो होइन । प्रहरी सङ्गठनको विश्लेषण गर्दा भाषा, व्यवहारलगायत धेरै विषयमा तहगत व्यवहार गरिन्छ, आफूभन्दा तल्लो कर्मचारीलाई हेयपूर्ण शब्द तथा व्यवहारको अत्यधिक प्रयोग हुने बताउने गरिन्छ । तहगत मान्यताको समाजशास्त्रीय परम्पराले पनि बोली व्यवहार त्यति डोरिएको हुन्छ । मर्यादाक्रमअनुसार आफूभन्दा तल्ला कर्मचारीलाई यस्तै हेयपूर्ण बोली एवं व्यवहार प्रयोग गर्नु आफ्नो अधिकार सम्झने परम्परा छ । यो एक प्रकारको दुष्चक्र हो र यसले निरन्तरता पाइरहेको हुन्छ । यो समस्याको निराकरणका लागि माथिल्ला तहका अधिकारीहरूले तल्लो तहका कर्मचारीलाई गर्ने व्यवहारमा आमूल परिवर्तन ल्याउनु एक मात्र विकल्प देखिन्छ ।

प्रहरीमा प्रदान गरिने आधारभूत प्रशिक्षणहरूमा पनि समयसापेक्ष भाषा तथा व्यवहारको प्रयोग अर्को विकल्प हुनसक्छ । यस्ता प्रशिक्षणका क्रममा प्रशिक्षकले प्रशिक्षार्थीलाई गर्ने व्यवहार तथा रुखो बोलीवचनको रूपान्तरण नभई प्रहरी सङ्गठनमा सुधारको अपेक्षा गर्नु उपयुक्त हुन सक्दैन । आधारभूत प्रशिक्षणका व्यवहारजन्य कमीकमजोरीमा सुधार गर्नु पनि नेपाल प्रहरीले अग्रसर हुनै पर्दछ । यसले समग्रमा सङ्गठनकै छवि उजिल्याउने छ । प्रहरीमा देखिएका यस्ता व्यवहारजन्य समस्याका कारण उनीहरूले प्रदान गर्ने सेवाको गुणस्तरीयता सम्बन्धमा आमजनतामा राम्रो छाप बस्न सक्दैन ।

प्रहरीका रुखो वचन, गैरजिम्मेवारीपूर्ण आचरण, अभद्र व्यवहारले समग्रमा प्रहरीको छविमा नकारात्मक प्रभाव पारिरहेको तथ्यलाई विश्लेषण गर्दै प्रहरी सङ्गठनले सुधारात्मक कदम एवं उपायको खोजी गर्नु आवश्यक छ । प्रहरीका उच्चपदस्थ अधिकारीहरू बेलाबखतमा सङ्गठनको भाषा, व्यवहार, आचरण सम्बन्धमा सार्वजनिक खपतका लागि ठूला सैद्धान्तिक विषयहरूमा चर्चा परिचर्चा गरिरहेका पाइन्छन् तर व्यवहारमा यसले तत्त्विक अन्तर पारिरहेको हुँदैन । दृढ इच्छाशक्तिको अभावमा यस्ता परिवर्तन सम्भव देखिँदैन र उच्चपदस्थ अधिकारीहरू दृढ इच्छाशक्तिसहित अगाडि बढेमा भाषागत तथा व्यवहारजन्य समस्याको समाधान तत्कालै सम्भव देखिन्छ ।