विचार/दृष्टिकोण |

बढ्दो धार्मिक सहिष्णुता

सूर्यबल तामाङ

नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता भएको मुलुक हो । बहुमूल्य सम्पदाका चाडपर्व र संस्कृति संरक्षण गर्नुपर्ने साझा दायित्व हाम्रासामु छ । यहाँ विभिन्न सम्प्रदायका मानिस बसोबास गर्छन्, त्यसैले पनि यहाँ पृथक् पृथक् चाडपर्व मनाउने गरिँदै आएको छ । मानव समुदायले आफ्ना देवता अथवा सम्मानित व्यक्तित्वको जन्मदिन व्यापक उत्साह र सद्भावका साथ मनाउने प्रचलन बढ्दै गएको अवस्थामा इसाई धर्मावलम्बीको विशेष उत्सवका रूपमा रहेको ‘क्रिसमस डे’ पछिल्ला समयमा अझ उत्साहपूर्ण रूपमा मनाउँदै आइएको छ । इसा मसिह अथवा यशु ख्रिस्टको जन्मदिनको अवसरमा प्रत्येक वर्ष डिसेम्बर २५ का दिन मनाइने यस पर्वमा क्रिश्चियन धर्मावलम्बीका साथै गैरक्रिश्चियनले पनि मनाउने प्रचलन बढ्दो छ । धार्मिक सद्भाव, एकता, अन्तरधर्म सम्मान, सबै धर्म र संस्कृतिप्रतिको सम्मान गर्ने संस्कृतिको विकास हँुँदा सबै धर्मावलम्बीका विशेष पर्व सबै धर्म सम्प्रदायको रुचि र सम्मानको विषय बन्दै गएको हो ।

नेपालमा करिब चार सय वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको इतिहास छ भने विश्व इतिहासमा रोममा इसा पूर्व ३५४ देखि यो पर्व मनाउन थालिएको हो । उपहार आदानप्रदान, चर्चको सेवा, पारिवारिक तथा सामाजिक जमघट, क्रिसमस सजावट, प्रार्थना, भजन, सङ्गीतका माध्यमबाट यो पर्व मनाउने गरिन्छ । क्रिसमसले आपसी सद्भाव, एकता र भाइचारा सम्बन्धको विकास पछिल्लो समयमा अझै प्रगाढ बनाउँदै लगेको छ । नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएपछि सार्वजनिक रूपमा समेत ‘क्रिसमस डे’ मनाउन थालिएको हो । यसले धार्मिक सहिष्णुतामा वृद्धि गर्नुका साथै अन्तरधर्मावलम्बीबीच एकता कायम गर्न मजबुत भूमिका निर्वाह गर्दै आएको छ ।

विश्वभरका नागरिकको प्रमुख धर्ममा इसाई, इस्लाम, हिन्दु, बौद्ध, यहुदीलगायत क्षेत्र र स्थान विशेषका धर्म छन् । नेपालमा १२ हजार चर्चमार्पmत इसाई समुदायले येशु प्रभुको उपदेश र शिक्षाको चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै उपहार आदान–प्रदान गर्दै आएका छन् । नेपालमा २०६८ को जनगणनाअनुसार कुल जनसङ्ख्याको १.४ प्रतिशत अर्थात् २० लाख नागरिक इसाई धर्मप्रति आस्था राख्ने गर्छन् । नेपालमा मानिने १० प्रमुख धर्ममध्ये इसाई धर्म पाँचौँ स्थानमा रहेको छ । हालै सम्पन्न जनगणना २०७८ को नतिजा सार्वजनिक भएपछि नयाँ तथ्याङ्क सार्वजनिक हुनेछ ।

धर्मनिरपेक्षताभन्दा पनि धार्मिक समानताले मात्रै सबै धर्मावलम्बीबीचको सम्बन्ध अझै प्रगाढ बनाउने र मजबुत राष्ट्र निर्माण हुने कुरामा पछिल्लो समय धार्मिक क्षेत्रका अगुवाले जोड दिँदै आएका छन् । राज्यको कुनै धर्म हुँदैन र हुनुहुँदैन । यसमा कुनै दुईमत छैन तर राज्यले कुनै एक धर्मलाई मात्र प्राथमिकता र प्रवद्र्धन हुने किसिमको मात्रै कार्यक्रम ल्याउनु पनि हुँदैन । परापूर्वकालदेखि आफ्ना नागरिकले अङ्गीकार गर्दै आएका धार्मिक आस्थामा चोट पु¥याउने किमिसका गतिविधि कुनै पनि धर्मावलम्बीका लागि स्वीकार्य र सह्य विषय हुँदैन । सबै धर्मप्रति राज्यको समान दृष्टिकोण र व्यवहार हुनु नै धार्मिक समानता हो तर धार्मिक समानताका नाममा धार्मिक अराजकता फैलाउने छुट कसैले पाउनु हुँदैन । धार्मिक क्षेत्रका विज्ञहरूका अनुसार ज्ञानको स्रोत भनेकै धार्मिक गुरु, धार्मिक ग्रन्थ अथवा आत्मज्ञान नै हुन् । यस्तो तरिकाबाट प्राप्त हुने ज्ञान नै सत्य ज्ञान हो, जुन कहिल्यै गलत सावित हुनै सक्दैन तर धार्मिक ज्ञान, धर्म तथा सम्प्रदायअनुसार अलगअलग हुन सक्छन् ।

क्रिश्चियन समुदायमाथि यदाकदा उठ्ने गरेको प्रश्न भनेको क्रिश्चियन धर्मावलम्बी बढाउन भूमिका निर्वाह गरेको भन्ने हो । त्यसमा सत्यता छैन । कुनै पनि नागरिकलाई आफ्नो आस्थाका आधारमा जुनसुकै धर्म रोज्न पाउने अधिकार छ । जन्मँदैखेरि कुनै नागरिक कुनै धर्म लिएर जन्मिएको हुँदैन । धर्मको कुनै सीमा हुँदैन तर नागरिकको इच्छाविपरीत विभिन्न प्रलोभनका भरमा धर्म परिवर्तन गराउनु भने अपराध हो । यस्ता कार्य कारबाहीका भागिदार हुन्छन् । कारबाही हुँदै पनि आएका छन् ।

नेपालमा इसाई भन्नेबित्तिकै फरक दृष्टिकोण राख्ने चलन छ । वास्तविकता उनीहरूको सोचाइभन्दा धेरै फरक छ । झुटो कुरा वा गलत शिक्षा प्रचारप्रसार गर्ने सङ्गठन र व्यक्तिहरूका कारण आमइसाई धर्मावलम्बीमाथि राज्यको दृष्टिकोण फरक हुन गएको हो । राज्यभित्र विभेद र विवाद ल्याउने, इसाईकरणका नाममा बदनाम गराउने खालका थुप्रै अस्वस्थकर तìव नेपालमा सक्रिय छन् । उनीहरूले राष्ट्रको धार्मिक सहिष्णुतालाई खलल पु¥याउने खालका गतिविधि गरिरहेका छन् । इसाईका नाममा झुटो शिक्षा प्रचारप्रसार गर्ने समूहहरू घरदैलोमा जाने, जबर्जस्ती प्रचार सामग्री थमाउने, झुटो प्रलोभन देखाउनेहरू सक्रिय छन् । यसले गर्दा सबै क्रिश्चियन समुदाय बदनाम भइरहेको छ । यस्ता तìवलाई राज्यले कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

मुलुक सङ्घीय संरचनामा गएपश्चात् तीन तहका सरकार क्रियाशील छन् । आ–आफ्नो क्षेत्रभित्र मनाइने धर्म, संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्नु तीनै तहका सरकारको दायित्व हो । जुनसुकै धर्म, संस्कृति होस्, त्यसको जगेर्ना गर्नु राज्यको दायित्वभित्र पर्नुपर्छ । नेपालमा संविधान सभामार्पmत जारी भएको संविधानको धारा ४ ले ‘नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी लोकतन्त्रात्मक समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ’ भन्ने व्यवस्था गरेको छ ।

त्यसैगरी धारा २६ ले धार्मिक स्वतन्त्रताको हकको व्यवस्था गर्दै सोही धाराको दफा १ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भन्ने व्यवस्था छ तर अभैm संविधानको उक्त व्यवस्था व्यवहारमा कार्यान्वयन भएको महसुस इसाई धर्मावलम्बीले गर्न पाएका छैनन् । धर्मनिरपेक्षता र धर्म संरक्षणजस्ता विषय परस्पर भिन्न सिद्धान्त रहेको तथ्यलाई राज्यले अभैm स्वीकार गर्न
सकेको छैन ।

सङ्कटका विगत
विश्व महामारी कोरोनाले गर्दा विगतका दुई वर्ष अन्य क्षेत्रसँगै धार्मिक क्षेत्र पनि प्रभावित बन्न पुग्यो । इतिहासमै कहिल्यै अवरुद्ध नभएका धार्मिक अनुष्ठानहरूमा नियमित पूजापाठ, प्रार्थनाजस्ता नित्य कर्मसमेत प्रभावित हुन पुगे । इसाई धर्मावलम्बीले १०४ हप्तामा ९२ हप्ता चर्चबाट सेवा दिन सकेनन् । त्यस अवधिमा १२ हप्ता मात्रै सेवा सञ्चालन हुन पुग्यो । क्रिश्चियन धर्ममा आस्था राख्नेहरू प्रत्येक हप्ताको एक दिन चर्चमा गएर नियमित प्रार्थना गर्ने गरेकोमा विषम परिस्थितिका कारण सहभागी हुन पाएनन् । यस अवधिमा परेका क्रिसमस दिवससमेत खुला र उल्लासमय वातावरणमा मनाउन सकिएन ।

परिस्थितिमा केही सुधार भएसँगै यस पटक उत्साहपूर्ण रूपमा क्रिसमस मनाउन लागिएको छ । कोभिड महामारीका बीचमा हालसम्म पास्टर, धर्मगुरु लगायत यस क्षेत्रका अगुवा गरी करिब तीन सय जनाले मृत्युवरण गर्न पुगेका छन् । मृत्यु भएकाहरूको सम्झनामा त्यस अवधिमा प्रार्थनासमेत गर्न सकिएन । प्रविधिको प्रयोग गर्दै मृत्युवरण गरेकाहरूको सम्झनामा सामूहिक प्रार्थना गर्नुपर्ने बाध्यात्मक अवस्थाको समेत सिर्जना भयो । नियमित रूपमा चर्चमा प्रार्थना नहुँदा आर्थिक स्रोत घट्न पुग्यो भने यसमा आश्रित कर्मचारीसमेत प्रभावित बन्न पुगे । यस क्षेत्रमा कोभिडका कारणले परेको असर न्यूनीकरण गर्न राज्यस्तरबाट पनि पहलकदमी लिनु आवश्यक देखिएको छ । आगामी दिनमा यस्तो त्रासदीपूर्ण अवस्था नदोहोरियोस्, नेपाललगायत विश्व समुदायमा शान्ति र समृद्धि कायम होस् भन्ने यस पटकको ‘क्रिसमस डे’को नारा रहेको छ ।