काँग्रेसभित्र मतादेश
डा. पुरुषोत्तम मरहठ्ठा
नेपाली काँग्रेसको हालै सम्पन्न १४औँ महाधिवेशनले शुष्क बनेको नेपालको राजनीतिमा नयाँ आशा जगाएको छ । यसको महìवपूर्ण विशेषता नै संस्थापन र इतर पक्ष भनेर महाधिवेशनमा उत्रे पनि पार्टीका मतदाताले दुवै पक्षलाई एक भएर अघि बढ्न जनादेश दिएका छन् । काँग्रेसले लोकतन्त्रको मानक कायम राख्दै यस पटक गुट–उपगुटभन्दा अलग पहिचान बनाउन सफल भयो । कम्युनिस्टको दुईतिहाइको भयमा काँग्रेसीहरू कसरी बस्न बाध्य भएका रहेछन् भन्ने पनि स्पष्ट भयो । तिनले गरेको जनवादी केन्द्रीयताको अभ्यासमा गुठीदेखि प्रेस र मानव अधिकारसम्ममा गरेको चौतर्फी प्रहारले सबै क्षेत्र अस्तव्यस्त बन्न पुग्यो ।
अदालतको अवज्ञा गर्ने, फेरि अदालतकै संरक्षण खोज्ने र अदालतले दिएको परमादेशलाई सहज रूपमा स्वीकार्न नसक्नेलाई कसरी लोकतान्त्रिक पार्टी भनेर गर्व गर्ने ? प्रतिनिधि सभाको तीन वर्षको समय झैझगडामा बित्यो । त्यसपछिको वर्ष दलहरूको अधिवेशन, महाधिवेशनमा बित्यो । जनताको विषयमा त कहिल्यै संसद्मा आवाज उठेन । एमालेकै अवरोधका कारण यो समय खेर गएको अवधि बन्न पुग्यो । संसद् विघटनको असर राजनीतिमा मात्र नभई न्यायालयसम्म प-यो ।
पाँचदलीय नेतृत्वको सरकारमा रहेको काँग्रेसले १४औँ महाधिवेशनबाट आफ्नो आन्तरिक निर्वाचनलाई आकर्षित बनाउन सक्यो । विगतमा भोगेको अपमानपूर्ण हारलाई कसरी हेर्छ त काँग्रेसले ? लोकतान्त्रिक विधिको राम्रो मानक बनाउने क्रममा बीपीको समाजवादलाई नेताहरूले गर्ने व्याख्या मात्र अकाट्य बन्न सक्दैन । भय, असन्तोष र अभावका बीच पनि जनताले माले, एमाले, राप्रपा र काँग्रेस मात्र होइन, अहिले माओवादीसम्म महाधिवेशनमा निरन्तर आफूलाई प्रजातान्त्रिक पार्टी भएको देखाउन बहुदलीय अभ्यासमा जुटिरहेका छन् । हालैको महाधिवेशनबाट भने काँग्रेसका धेरै नेताको निवासमा पहिरो गयो । देउवाले भने बाजी मार्न सफल हुनुभयो ।
बीपीपुत्र भएकै नाताले विरासतीय लाभ केन्द्रीय सदस्यको मतगणनामा डा. शशाङ्क कोइरालाले सबैभन्दा बढी तीन हजार ८२६ मत प्राप्त गर्नुभयो । अरू पार्टीमा देखिएको टीके प्रथाभन्दा काँग्रेसभित्रको लोकतान्त्रिक अभ्यासले सबैलाई यसभित्र छिरौँछिरौँ लाग्ने आकर्षण देखाउन सफल भयो । केही अराजनीतिक पात्रहरूले जति नै खोइरो खने पनि निरन्तर पुस्तान्तरण र रूपान्तरणको मुद्दा जबर्जस्ती स्थापित भएको छ । अब काँग्रेसलाई गोलबद्ध बनाउने जिम्मा प्रधानमन्त्री तथा नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको काँधमा आएको छ । अब वंशवादका आधारमा विरासतमा नेता बन्ने दिन सकियो भन्ने सन्देश सम्पन्न महाधिवेशनले दिएको छ । केही हदसम्म भए पनि यो पटक सुधारको प्रयास थालनी भएको छ ।
अब १५औँ महाधिवेशनसम्म काँग्रेसलाई जबर्जस्ती सुधार नगरी सुखै छैन । काँग्रेसमा नयाँ पुस्ताको उदयले अब अन्य राजनीतिक दलमा पनि प्रभाव नपारी छाड्दैन । टीके प्रथा अन्त्यका लागि आवाज उठाउने काँग्रेसको पदचापलाई जबर्जस्ती अन्य दलले अनुसरण गर्नुपर्ने बाध्यता छ । सहज परिस्थितिमा राजनीतिक प्रतिस्पर्धा गर्नेले अप्ठेरो स्थितिमा पनि चुनौतीको सामना गर्न तयार हुनैपर्छ । पार्टीभित्र संस्थापन र इतर पक्ष भन्ने समूह यो अधिवेशनले पूरै अन्त्य नगरे पनि आउने अधिवेशनमा एउटालाई देख्दा अर्को तर्सने र झस्कने स्थिति भने नरहने आशा गर्न सकिन्छ ।
बीपी कोइरालाले जनमतको परिणामलाई अस्वीकार गर्नुभएन । बहुदलीय व्यवस्थाको पक्षमा ४५ प्रतिशत हाल्ने मतदाताको कदर गर्दै त्यसको परिणामलाई उहाँले सहजै स्वीकार गरिदिनुभयो । नेताहरूले पनि एकअर्काको कदर गर्नुपर्छ । अहिले काँग्रेसमा देउवाको निकटतम प्रतिस्पर्धामा रहेका शेखर कोइरालाले जसरी १८५५ मत ल्याउनुभयो, त्यो एक किसिमको ४० र ६० कै हाराहारीमा भएको देखियो । आगामी १५औँ महाधिवेशनका लागि अब नेतृत्व हस्तान्तरण र पुस्तान्तरण होला÷नहोला तर अहिलेको चेतनशील महाधिवेशन प्रतिनिधिले भने विरासत नभए पनि पुस्तान्तरण र रूपान्तरणका लागि मत दिएका छन् । अब पहिलेको जस्तो भाग खोज्नमा लाग्ने हैन, सङ्गठित काँग्रेस बनाऊँ भन्ने सन्देश यो महाधिवेशनले दिएको छ ।
अहिलेका प्रतिनिधिले संस्थापन र इतरका पदाधिकारीलाई पूर्ण रूपमा सन्तुलित बनाइदिएका छन् । अब बन्ने १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापति देउवा निकै सुविधाजनक अवस्थामा हुनुहुनेछ । सकेसम्म मिलेर सहमतिमा सँगसँगै हिँड्ने पद्धतिको विकास गर्नुपर्छ भन्ने नै महाधिवेशन प्रतिनिधिले दिएको सन्देश हो । पार्टीको आन्तरिक निर्वाचनमा यो समय सभापति देउवाले पार्टीमा ठूलै उत्साहको लहर ल्याउन सफल हुनुभयो । काँग्रेस सत्तामा रहेर पनि वर्तमान गठबन्धन भत्काउनभन्दा कसरी थप बलियो बनाउने भन्ने दिशामा अघि बढ्यो ।
सत्ताबाहिर रहेको प्रतिपक्षीको हर्कत हेर्दा उदेकलाग्दो छ । संविधानको समर्थन गर्ने तर संसद्लाई अघि बढ्न नदिने, सत्ता गुमेकोमा न्यायालय र कार्यपालिकाप्रति इष्र्या साँध्ने काममा एमालेजस्तो जिम्मेवार पार्टी लागेको देख्दा आम सर्वसाधारण आश्चर्यचकित छन् । जननिर्वाचित संसद् यसरी लामो समयसम्म बन्धक बनिरहनु भनेको मुलुकको परिवर्तनकारी पक्षधर राजनीतिक शक्ति कमजोर बन्दै जानु हो तर यसतर्फ कसैको पनि ध्यान जान सकेको देखिँदैन ।
अर्कोतर्फ काँग्रेसको यो महाधिवेशनले गुट र उपगुटको अन्त्य नगरे पनि ६० र ४० को भाग खोज्ने स्थितिमा कोही छैनन् । यसअघि बीपी, सुवर्णशमशेर राणा, गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला जस्ता नेता भएको समयमा समेत गुटबन्दी नभएको होइन तर १४औँ महाधिवेशनमा आइपुग्दा देउवा पक्षको पल्ला भारी भए पनि उहाँले इतर पक्षलाई मिलाएर लैजान सक्नुपर्छ । काँग्रेसले बोकेको उदार राजनीतिक चरित्र र लोकतन्त्रको रक्षामा महìवपूर्ण एजेन्डा बोकेकै कारण उसमाथि प्रतिपक्षले प्रहार गर्नु ठूलो कुरा होइन । सभापतिले आम कार्यकर्तालाई विश्वासमा लिएर काँग्रेसलाई जिम्मेवार र मुलुकको अपरिहार्य स्थायी शक्तिका रूपमा स्थापित गराउनुपर्छ ।
काँग्रेस महाधिवेशनको अर्को विशेषता भनेको महाधिवेशन प्रतिनिधिले रूपान्तरण र पुस्तान्तरणतर्फ लाग्न बाध्य बनाइदिए । टीके प्रणालीको अन्त्य भई काँग्रेसले देखाएको रहरलाग्दो प्रतिस्पर्धाबाट हरेक पार्टी लोभिएका छन् । महाधिवेशन पार्टीभित्र मात्र होइन, सबैतिर लोकतान्त्रिक अभ्यासको मानक नै बन्न पुग्यो । उत्साह, एकता र रूपान्तरणसँगै १४औँ महाधिवेशनले यसअघिको जस्तो भागबण्डा होइन, एकताबद्ध काँग्रेस बनाएको छ । पार्टीका नेताका अघि गणेश प्रवृत्तिको कार्यकर्ता होइन, शिर उठाएर सत्य बोल्न सक्ने कार्यकर्ता आवश्यक छ भन्ने सन्देश पनि दिएको छ महाधिवेशनले । महाधिवेशनपछिको काँग्रेसमा रक्तसञ्चार हुने सम्भावना बलियो देखिएको छ । अब बाँकी भ्रातृ संस्थामा पनि रक्तसञ्चार हुनु आवश्यक छ ।
रूपान्तरण र पुस्तान्तरण बोकेका पुस्ताले यो १४औँ महाधिवेशनबाट निकै ठूलो समर्थन पाएकाले काँग्रेसले कोर्स परिवर्तन गर्न भने आवश्यक छैन । अर्कोतिर काँग्रेसको पदाधिकारी समावेशी मात्र आएका छैनन्, तिनलाई अब सुधारको लहर पनि ल्याउनुपर्ने बाध्यता र चुनौती छ । केही गरेर देखाउनुपर्ने बाध्यता पदाधिकारी तहमा निर्वाचित भएकालाई पनि छ । नीतिगत सुधारमार्फत पार्टीमा आमूल परिवर्तन गरी काँग्रेसलाई एकढिक्का बनाउन सक्ने हो भने अब हुने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा जनताले सद्भाव देखाउन सक्छन् ।