संस्कृति अमूल्य निधि
डा. नम्रता पाण्डे
हामी नेपाली क्रिसमस होस् या अङ्ग्रेजी नयाँ वर्ष, केही वर्षयता खुला हृदयले हरेक उत्सव मनाउने, छुट्टी मिलाएर घुम्न जानेलगायतका कार्यक्रम तय गर्न क्यालेन्डरमै अङ्कित गरेका हुन्छौँ । धार्मिक साहिष्णुता नेपालीको गुण नै हो । त्यसैले इसाईको क्रिसमस, पश्चिमाको अङ्ग्रेजी नयाँ वर्ष भनेर परिभाषा नगरी हरेक परिस्थितिलाई उत्सवका रूपमा लिने संस्कार विकास भएको मान्न सकिन्छ तर पहुँच भएका, सहरिया जीवनमा मनाउने प्रचलन बढेको हो र सबैलाई यसको प्रभाव नपर्ने यथार्थता पनि आफ्नो ठाउँमा छ भनेर व्याख्या गर्ने गरेको पनि पाइन्छ । कतिपय राष्ट्रमा हाम्रोजस्ता पर्वहरू छैनन् । क्रिसमस र नयाँ वर्ष नै उनीहरूका लागि महान् पर्व, उत्सव जे भने पनि महìवको समय रहेको हुन्छ ।
नेपाललगायतका देशमा इसाई धर्मावलम्बीको महान् पर्व हो– क्रिसमस । अङ्ग्रेजी नयाँ वर्ष धेरैका लागि ऐच्छिक हो, जसलाई रमाइलोका निम्ति, फेसनका निम्ति, कतिपय विदेशी सङ्घसंस्थाका साथीसँंग सँंगै काम गरेको आधारमा उनीहरूको सम्मान भाव प्रकट गर्न पनि मनाइने गरिन्छ । जे होस्, यी सबै बहाना सबैको संस्कार र संस्कृतिसंँग जोडिएर आएका छन् । हामीले त्यसलाई कसरी आफ्नो संस्कारमा सामेल गराएका छौँ र कसरी अन्तरधार्मिक संस्कारलाई सम्मान गर्न जान्दछौँ त्यो हाम्रो बिल्कुल व्यक्तिगत धारणा र तरिका हो ।
जन्मदेखि नै मानिसले समाजको वर्ण व्यवस्था, आहारविहार, रीतिथिति र मान्यताहरू सिकेर हुर्कन्छ, बढ्छ त्यसैले सामाजिक प्राणी भनिन्छ । जुन समाजमा जन्म्यो बढ्यो, त्यहीँको जातीय संस्कृति, सभ्यता र परम्पराले उसलाई प्रभाव पार्दछ । यही मान्यता र परिवेश संस्कृति हो, त्यसैले मानिस सांस्कृतिक परिवेशमा बाँधिएको हुन्छ र त्यसभन्दा पृथक् भएर बाँच्न सक्दैन । मानिस जन्मेको दिनदेखि नै उसको सांस्कृतिक जीवन सुरु भइहाल्छ र मृत्युपछि पनि उसको अन्त्येष्टि त्यही समाज र जातिको सांस्कृतिक परम्पराका आधारमा तय हुन्छ । संस्कृति कुनै पनि समाज, जातिको आस्था–विश्वास र परम्पराको मापदण्डका रूपमा स्थापित भएको हुन्छ ।
त्यति मात्र कहाँ हो र ! सामाजिक रीतिथितिहरू वासस्थान, घरका बनोट, प्रयोग गर्ने सामग्री, वास्तुकला, सोचविचार र दैनिक व्यवहारका अनेक विधामा निर्भर गर्दछ । यिनमा कतिपय अवस्थामा स्वतस्फुर्त रचनात्मक अभिव्यक्ति प्रस्फुटन भएका हुन्छन् भने कतिपय मान्यताले निरन्तरता दिएकै कारण अनुसरण गरिएका हुन्छन् । मानिसले चाहेर, नचाहेर जीवनमा कुनै न कुनै रूपमा सांस्कृतिक मूल्य–मान्यता, आस्था, विश्वास र परम्परालाई अँगालेकै हुन्छ ।
वर्षौंदेखिको भोगाइ र अनुभवको संस्कारबाट संस्कृति विकसित भएको हुन्छ र समाजमा लोकसंस्कृति बनेर व्यवहारमा देखा पर्छ । समाजअनुसारका जनजाति, तिनीहरूका कला, सङ्गीत, धर्म–दर्शन, विचार–चिन्तन, वेशभूषा, रहनसहन, भाषा–भाका, मूल्यमान्यताहरू संस्कृतिभित्रै बलियोसँग गाँसिएका हुन्छन् । त्यसैले लोक व्यवहारमा संस्कृतिले प्रवेश पाएको हुन्छ । प्रत्येक जातिको आ–आफ्नै किसिमको मौलिक र जीवन्त रीति–थिति, रहन–सहन, चाल–चलन, आचार–विचार, धर्म–कर्म, कला–साहित्य हुन्छ, यी सबैको समष्टी रूप नै संस्कृति हो ।
सजगता, जागरुकता र सचेतताका साथ जिउने कला जान्नु संस्कार हो । संस्कारबाट विकसित जीवन पद्धतिको नाम नै वास्तवमा संस्कृति हो । संस्कार प्रत्येक घर र परिवारबाट सिकिने कुरा हो । भनाइमा कुलको सन्तान र मूलको पानी उदाहरण दिएर स्वच्छता, पवित्रता र उच्च स्थान दिइनुको तात्पर्य उच्चस्तरीय चेतनाबारे जागृत गर्न खोजिएको प्रयास हुनुपर्दछ । संस्कारगत पृष्ठभूमिभित्रै संस्कृतिले जन्म लिने हुनाले संस्कार र संस्कृतिबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ तर व्यक्तिगत स्वभाव र स्वधर्ममा जिउने कला संस्कार र समाजको मान्यता संस्कृति हो भनेर छुट्ट्याउन पनि सक्नुपर्दछ । किनकि संस्कार मानव हितका निम्ति ग्रहण गरिने वा अपनाइने रीतिरिवाज हो । संस्कारले अहित गर्दैन ।
संस्कारको समष्टि रूप बरु संस्कृति बन्न सक्छ भन्ने बोध हुनुपर्दछ । किनभने जीवनका आस्था–विश्वास, चिन्तन धारणा–दर्शन, धर्म–परम्परा र आनुवंशिक क्रियाकलापमा मानिसको संस्कार जीवित रहेको हुन्छ भने यसको वास्तविक मर्म र पहिचान के हो छुट्ट्याउन सक्नुपर्दछ । जीवनको उद्देश्य, जीवन जिउनुको आनन्द र समाजमा त्यसले ल्याउने सकारात्मक रूपान्तरण संस्कारमा लुकेको हुन्छ । संस्कृति र मान्यतालाई पछ्याउँदैमा जीवन सुसंस्कृत बन्छ र समाज सभ्य बन्छ भन्न सकिँदैन । रूपान्तरणभित्रैबाट स्वस्फूर्त हुनुपर्दछ । मानिस दमित र विक्षिप्त स्वभाव लिएर बाँचेको छ भने सहजै अनुमान गर्न सकिन्छ । उसले घरपरिवारबाट कस्तो संस्कार सिकेको होला र कस्तो शिक्षा पाएको होला ? समाजमा घट्ने हिंसा, अराजकता र बलात्कारका घटना समाजको संस्कृतिबाट भन्दा पनि व्यक्तिको संस्कारबाट घट्ने गर्दछन् ।
हाम्रो समाजमा अझै पनि व्यक्तिको संस्कार कस्तो हुनुपर्दछ र कुन माध्यमबाट उसले सु–संस्कृत आचरण सिक्न सक्दछ भन्ने शिक्षा दिन सकिएको छैन । सु–संस्कृत शिक्षाको अभाव नै आज समाजमा बढ्दै गएका बलात्कारलगायतका अराजकताका कारण हुन् । एउटा मनोविश्लेषकले व्यक्तिमा रहेको समस्या थाहा पाउन सक्ला तर समस्याको समाधान के हो भन्ने वास्तविक ज्ञान दिन सकेको देखिँदैन । समस्या थाहा पाउनु ठूलो कुरा होइन, समाधानको उपाय व्यवहारगत रूपमा लागू गर्नु महìवपूर्ण पक्ष हो ।
संस्कृतिलाई जीवन्त राख्ने भन्दै परम्परागत चालचलन, चाडपर्व, जीवनशैली, पद्धति, रीति–रिवाजलाई समाजको मुख्य आधारका रूपमा मान्दै आए पनि मानिसको स्वभावमा सकारात्मक परिवर्तन नआएर विकृत भावना जाग्नुको कारण के हो त ? कारण हो– मानिसले अन्तरहृदयबाट आफूलाई सकारात्मक बनाउने संस्कार पाएन । आज समाजमा र राष्ट्रमा समस्या नै समस्या र अराजकता मात्र बढ्नुको कारण के हो ? कारण हो– सरल र प्राकृतिक जीवनशैली बिर्सिएर भड्किलो र अनुकरणीय संस्कारको विकास हँुदै जानु । जीवन जिउन छोडेर जीवन जिउने तरिका र माध्यमहरू खोज्दै हिँड्नु । सहज जीवनलाई खुसी र सम्पन्न देखाउने नाममा भागदौड र प्रतिस्पर्धा बढ्दै जानु । जीवन आफ्ना लागि बाँच्न र हाँस्न होइन, अरूलाई देखाउनका निम्ति सङ्घर्षका रूपमा लिनु । मृगतृष्णासरह कता किन दौडिरहेको, जीवनको लक्ष्य र उद्देश्य के हो, गन्तव्य कहाँ छ थाहा नपाउनु । वास्तवमा जीवन बेहोसीमै बिताउनु र होशरूपी संस्कारलाई नै बिर्सनुको कारण मानिस सुन्दर जीवन जिउन छाडेर अराजकतामा होमिन पुगेको छ ।
आफ्नो होश गुमाएर, आफ्नो संस्कार र स्वभाव बिर्सेर कुबाटोमा लागेको छ, त्यसैले आज मानिसले मानिसलाई नै मृत्युदण्डको सजाय माग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । प्राकृतिक जीवनशैली अपनाउनु संस्कार हो तर मानिस दिनानुदिन अप्राकृतिक बन्दै गइरहेको छ । मर्यादा, अनुशासन, नियम, चरित्र, आचरण, शिक्षा सबै अस्वाभाविक र आदर्शका रूपमा मात्र विकसित हुँदै गइरहेका छन् । स्वाभाविक हुनु, आफ्नो स्वभाव र आचरणमा रमाउनु, प्रेमपूर्ण, सहयोगी, करुणावान् हुनु मानिसका संस्कार हुन् । हाम्रो समाजमा कस्तो संस्कारको विकास हुँदै गइरहेको छ, सजिलै छुट्ट्याउन सकिन्छ । चेतनशील र विवेकशील प्राणी मानिसले आज समाजमा अचेतनरूपी प्राणीझैँ व्यवहार देखाउन थालेको छ ।
संस्कारको अर्थ हो– शुद्धीकरण । संस्कारका दुई स्वरूप आन्तरिक र बाह्य संस्कार हुन् । बाह्य संस्कारले रीतिरिवाज र मान्यतालाई मात्र पछ्याउँछ भने भित्रैबाट जागृत हुनु आन्तरिक संस्कार हो । कर्मद्वारा आत्मा, बुद्धि, मन, शरीर र इन्द्रीयलाई उत्तम कोटीमा राख्न सक्नु संस्कार हो । नैतिक मूल्य मान्यतामा आधारित कर्म गर्ने खुबी राख्नु संस्कारयुक्त व्यक्तिका लक्षण हुन् । सदाचारी, परोपकारी, संयमी, आत्मिक र सामाजिक रूपमै नैतिकवान् र इमानदारिता व्यक्तिका सर्वोच्च संस्कार हुन् । कस्तो संस्कार अँगाल्ने व्यक्तिको आफ्नो रोजाइ हो तर अब पनि जागृत र सचेत हुन सकिएन भने यो सुन्दर मानव जीवन व्यर्थमा बित्ने निश्चित छ ।