कृषि पर्यटनसँग जोडिएको अर्थतन्त्र
धर्मराज भट्टराई
मानवीय इच्छा र चाहना परिवर्तनशील छन् । एउटै वातावरण, दृश्य र परिस्थितिले सधैँभरि सन्तुष्टि दिइरहन सक्दैन । नयाँ खोज–अनुसन्धान, नवीनतम प्रयोग र फरक अनुभव प्राप्त गर्न खोज्नुलाई सामान्य मानवीय व्यवहारका रूपमा लिन सकिन्छ । पर्यटन क्षेत्रमा पनि समयअनुसार पर्यटकका रुचि एवं इच्छा परिवर्तन हँुदै गएका छन् । केही समय पहिलेसम्म पर्यटनस्थल भन्नेबित्तिकै मठ–मन्दिर, कलात्मक भवन, दरबार, सङ्ग्रहालय, संरक्षित क्षेत्र, निकुञ्ज, भौगोलिक दृश्य आदिलाई मात्र लिने गरिन्थ्यो । बदलिँदो समय सँगसँगै पर्यटन स्थलको दायरा पनि फराकिलो हँुदै गएको छ । पछिल्लो समय कृषक र कृषि गतिविधिसँग सम्बन्धित कृषि पर्यटनको लोकप्रियता पनि बढ्ने क्रममा देखिन्छ ।
कृषि पर्यटनलाई व्यावसायिक कृषि उद्यमको रूपमा लिन सकिन्छ । यसले कृषि उत्पादन र प्रशोधनलाई पर्यटनसँग जोड्छ । पर्यटकलाई मनोरञ्जन र शिक्षा दिने उद्देश्यले गरिने हरेक कृषि व्यवसाय र योसँग सम्बन्धित विभिन्न क्रियाकलाप नै कृषि पर्यटन हो । कृषि पर्यटनले किसान र पर्यटकलाई जोड्ने भएकाले पर्यटनबाट हुने कुनै पनि आम्दानीले किसानलाई प्रत्यक्ष फाइदा पु-याउँछ । यसले किसानको आय मात्र बढाउँदैन, वरपरको ग्रामीण क्षेत्रको विकास र ग्रामीण अर्थतन्त्रको पुनरुत्थानमा पनि महìवपूर्ण योगदान पु-याउँछ ।
नेपालमा दुईतिहाइभन्दा बढी जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोवास गर्छन् र तीमध्ये अधिकांश कृषिमा निर्भर छन् । कुल जनसङ्ख्याको लगभग ६५ प्रतिशत रोजगारी यही क्षेत्रबाट सिर्जना भएको छ तर अझै पनि परम्परागत निर्वाहमुखी खेती नै प्रचलनमा रहेका कारण देशको कुल गार्हस्थ्य उत्पादनमा यसको हिस्सा एक तिहाइभन्दा कम छ । अर्कोतर्फ अधिकांश किसान गरिबीको रेखामुनि जीवन निर्वाह गर्न बाध्य छन् । कृषि क्षेत्र भनेको फसल उत्पादन गर्ने र त्यसको बिक्री वितरणबाट आम्दानी प्राप्त गर्ने क्षेत्र मात्र हो भन्ने एकतर्फी सोचका कारण अधिकांश किसानले यो क्षेत्रबाट आर्जन गर्न सक्ने अतिरिक्त लाभ लिन सकिरहेका छैनन् । कृषि क्षेत्रमा वस्तु उत्पादनबाहेक विशेष उत्पादन विधि, खेती प्रणाली र प्रशोधनजस्ता क्रियाकलापले पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यो प्रत्यक्ष/परोक्ष रूपमा पर्यटनको अन्य स्वरूप जस्तै ग्रामीण पर्यटन, जातीय वा सांस्कृतिक पर्यटन, खेलकुद पर्यटन, साहसिक पर्यटन आदिसँग पनि जोडिएको हुन्छ किनकि सबै प्रकारका पर्यटकका लागि खाद्यान्न आपूर्ति कृषि क्षेत्रबाट नै हुन्छ ।
कृषि पर्यटनसँग सम्बन्धित स्पष्ट योजना नदेखिए पनि विकसित देश भने यसमा गम्भीर रूपमा लागिपरेका छन् । संयुक्त राज्य अमेरिकामा कृषि पर्यटनअन्तर्गत आफ्नो बाली आफ्नै छान्नुहोस्जस्ता उत्सव आयोजना गरिन्छ । यस्तै क्रिसमस ट्रिको बिक्री, घाँसको सवारी, शैक्षिक कार्यक्रम, चिडियाखाना र विभिन्न प्रकारका विशिष्ट कृषि फार्मको सिर्जना गरी पर्यटकलाई आकर्षित गर्न खोजेका हुन्छन् । त्यहाँ आउने अधिकांश पर्यटक कृषि गतिविधिको अवलोकन वा मनोरञ्जन वा शैक्षिक उद्देश्यका लागि फार्म भ्रमण गरेको पाइन्छ । यसबाट किसानले मनग्ये लाभ लिइरहेका छन् । यस्तै जापान र इटालीका किसानले आफ्ना आगन्तुकलाई सेवा दिन स्थानीय खाना, खेतीका लागि प्रयोग गरिने परम्परागत प्रविधि, मूर्त र अमूर्त ग्रामीण सम्पदा, कृषि उत्पादनअन्तर्गत बहु–फसल प्रणालीका अनुभव साटासाट गरेर पर्यटकलाई आकर्षित गरेको पाइन्छ ।
पछिल्लो समय विश्वका प्रमुख कृषि पर्यटन गन्तव्यमा ताइवानको चिया र उखु खेती, फलफूलका साथै होमस्टे व्यवसाय, इटालीको स्थानिय टमाटर, जडीबुटी र चीज उत्पादन, ब्राजिलको स्वदेशी वनस्पति संरक्षण अभियानका, फिलिपिन्सको अर्किड फार्म, मौरी फार्म, ड्रागन र पपिताजस्ता फलहरूको उत्पादन, संयुक्त राज्य अमेरिकाअन्तर्गत क्यालिफोर्नियाको प्रसिद्ध वाइन, एभोकाडो फार्म, मत्स्यपालन, यस्तै हवाई सहरको उष्णकटबन्धीय वृक्षारोपण र कफी बगान, इजरायलको खेती प्रणाली, श्रीलङ्काको मसला पर्यटन आदिले विश्वका कृषि पर्यटकको ध्यान केन्द्रित गर्न सफल भएका छन् ।
नेपालमा केही सीमित कृषि गतिविधि मात्रै उपलब्ध छन् । देशको पूर्वी भूभागअन्तर्गत भारतको दार्जिलिङ र सिक्किम नजिकको चियाबगान आन्तरिक पर्यटकमाझ लोकप्रिय छ । सामान्यतया, देशका विभिन्न भागबाट चिया खेतीलाई शैक्षिक भ्रमणको रूपमा हेर्न विद्यार्थी र सर्वसाधारण त्यहाँ जाने गर्छन् र फार्मभित्र न्यून मात्रामा मौद्रिक लेनदेन हुने गरेको चिया किसान बताउँछन् । रूपन्देहीको अस्ट्रिच फार्मले पनि केही समयदेखि चर्चामा छ । देशका विभिन्न भागबाट अस्ट्रिच चरा हेर्न मानिस यहाँ जाने गर्छन् । यीबाहेक केही ट्राभल र ट्रेकिङ कम्पनीले पर्यटन प्रवद्र्धन गर्न विभिन्न आयोजनाजस्तै धान रोपाइँ महोत्सव, ग्रामीण खेतमार्फत पदयात्रा आयोजना गरेको पाइन्छ । विभिन्न सङ्घसस्थाको आयोजनामा घरेलु तथा कृषि उत्पादन मेला, खाना महोत्सव, कृषि सामग्री प्रदर्शनीजस्ता अन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरेको पाइन्छ । यीबाहेक देशका विभिन्न ठाउँमा रहेका मौरी फार्म, माछा फार्म, चरा–चुरुङ्गी फार्म, जडीबुटी फार्म, जैविक तरकारी तथा फलफूल खेती, विभिन्न हाट बजार, पोल्ट्री एक्सपो तथा प्रदर्शनी, घोडचढी र सिकारसँग सम्बन्धित क्रियाकलाप, विभिन्न जातजातिका कृषि अभ्यास, परम्परागत स्थनीय कृषि वस्तु तथा मौलिक प्रविधि, वागवानी, कृषिउपज उत्पादन क्षेत्रका बारेमा चर्चा चले पनि पूर्ण रूपमा कृषि पर्यटनकै रूपमा अगाडि बढेको पाइँदैन ।
आर्थिक वर्ष २०६३/६४ को बजेटमा सरकारले ‘एक गाउँ एक उत्पादन’ अवधारणालाई राष्ट्रिय कार्यक्रममा समावेश गरेको थियो । सार्वजनिक–निजी क्षेत्रको सहकार्यमा सञ्चालित यो अवधारणाको निरन्तरताले देशका विभिन्न गाउँलाई आफ्नो छुट्टै विशिष्ट पहिचान मिलेको छ । यसले किसानमा छुट्टै उत्साह थपेको छ । यसैगरी २०६६÷६७ को स्मार्ट कृषि कार्यक्रमले नेपालमा विदेशी विज्ञलाई भ्रमण गराउन सफल भएको थियो । देशका विभिन्न गाउँजस्तै कैलालीको घोडाघडी, सुनसरीको माछामरा, उदयपुरको रौतामाई, सोलुखुम्बुको पाटले, नुवाकोटको ककनीमा सामुदायिक कृषिको सुरुवात गरी कृषि र पर्यटनलाई जोड्ने प्रयास गरेको पाइन्छ । सरकारले विभिन्न समयमा घोषणा गरेका पर्यटन गाउँ कार्यक्रमले स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ र घनपोखरा, काभ्रेपलाञ्चोकको बल्थली, चितवनको चेपाङ गाउँ, तनहुँको बन्दीपुर, कास्कीको घान्द्रुक पर्यटकको रोजाइमा परेका छन् । यो ग्रामीण भेगका मानिसका लागि रोजगारी र आयको मुख्य स्रोत बनेको छ ।
देशको सामाजिक आर्थिक रूपान्तरणमा पर्यटन क्षेत्रले महìवपूर्ण भूमिका खेल्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा भने यो क्षेत्रले पाँच प्रतिशत पनि ओगट्न सकेको छैन । देशले नयाँ पर्यटन गन्तव्यको खोजी गरिरहेको समयमा कृषि पर्यटन एउटा बलियो विकल्प बन्न सक्छ । भौगोलिक विविधता र विशिष्ट धरातल संरचनाले गर्दा नेपाल कृषि जैविक विविधताले सम्पन्न र सुशोभित छ । भौगोलिक शान्त दृश्य र परिदृश्य, प्राकृतिक र मानवनिर्मित स्रोतसाधनको आदर्शतम उपयोग गरी कृषि पर्यटनलाई अघि बढाउन सकिने प्रबल सम्भावना छ । समुन्द्री सतहबाट संसारको सबैभन्दा उचाइ हिमालमा फल्ने धान, जडीबुटीदेखि होचो भाग तराईमा उत्पादन हुने नरिवल, जुटसम्मको विविधताले नेपाल एउटा विश्वमै कृषि पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ । यसका लागि सरकारी र निजी दुवै पक्षको सहकार्य आवश्यक छ । कृषि पर्यटनलाई किसानको वैकल्पिक आम्दानीको स्रोतको रूपमा स्थापित गर्ने सम्भावना मात्र होइन यसले ग्रामीण क्षेत्र र पूरै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नसक्ने विषयमा दुई मत छैन ।