विचार/दृष्टिकोण |

ज्येष्ठ नागरिकको सम्मान (सम्पादकीय)

प्रकृतिको शाश्वत नियमै छ मानिस जन्मेपछि हुर्कन्छ । वयस्क र वृद्ध हुन्छ अनि आफ्नो सांसारिक चोला फेर्दछ । जीवनचक्रको यो अपरिवर्तनीय नियमसँगै संसारको गति नियमित रूपले चलिरहेको छ । वृद्ध अर्थात् ज्येष्ठ नागरिकले आफ्नो जीवनको जीवन्त, उर्वर तथा महìवपूर्ण समय परिवार, समाज तथा राष्ट्रप्रति पूर्ण रूपमा समर्पित गरेको हुन्छन् । उनीहरूकै योगदान एवं प्रतिबद्धताकै फलस्वरूप परिवार, समाज तथा राष्ट्रको गरिमा अभिवृद्धि भइरहेको हुन्छ । अहिले ज्येष्ठ नागरिक भएकाहरूको पूरै जीवन जिम्मेवारपूर्ण तवरले अगाडि नबढेको भए समाज र सभ्यता निर्माण हुँदैन थियो । तसर्थ ज्येष्ठ नागरिकप्रतिको श्रद्धा, सम्मान तथा आदरपूर्ण व्यवहार आजको आवश्यकता हो र भोलिका लागि मार्ग निर्देशन पनि । प्राकृतिक नियमानुसार भोलि सबैले वृद्धावस्था भोग्नु नै पर्दछ । यस अवस्थामा आज हामीले ज्येष्ठ नागरिकका लागि तय गर्ने आजका नीति नियम भोलि स्वयं हाम्रै लागि पनि लाभदायक हुनसक्छ । समाज र राष्ट्रको उन्नतिमा नवीन संस्कार र सभ्यता निर्माण हुन सक्छ ।

सरकारले ज्येष्ठ नागरिकको योगदानको सम्मान गर्दै पुस ११ गतेलाई ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रूपमा मनाउने निर्णय गरेअनुरूप यही पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसका रूपमा मुलुकभर विविध मनाइयोे । ज्येष्ठ नागरिक दिवस मनाउने सरकारको यो कदम ज्येष्ठ नागरिकको सम्मानका दृष्टिकोणबाट समसामयिक तथा सराहनीय छ । यो किन पनि असल अभ्यास हो भने यो कदमले आफ्ना अग्रजको सम्मान एवं आदरको वातावरण निर्माणमा महìवपूर्ण आधार बन्न सक्छ । ज्येष्ठ नागरिकलाई परिवार, समाज तथा राष्ट्रप्रति आफूहरूले गरेको योगदानको कदर भएकामा आत्मसन्तुष्टि एवं सुखानुभूतिको अनुभव पक्कै पनि हुन्छ ।

मुलुकवासी सबैको अभिभावकका रूपमा रहेको सरकारले सक्रिय तथा ऊर्जाशील समय व्यतित गरिसकेका ज्येष्ठ नागरिकहरूको सहज जीवनयापनका लागि बढ्दो उमेरमा आवश्यक पर्ने औषधोपचार, आवास तथा खानपानका साथै आदर, सम्मान एवं संरक्षणलगायतका न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका सन्दर्भमा उचित बन्दोबस्त गर्नु प्रमुख दायित्व हुन आउँछ । ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीले दिनुभएको शुभकामना सन्देशहरूमा यिनै पक्ष मुखरित भएको छ । सरकार प्रमुखका नाताले प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित रहने गरी थप सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसबाट पक्कै पनि ज्येष्ठ नागरिकमा उत्साह एवं खुसीको सञ्चार गरेको हुनुपर्दछ ।

सरकार प्रमुखको यो प्रतिबद्धतालाई छिटोभन्दा छिटो कार्यान्वयनका दिशातर्फ पहल गर्नु निकै महìवपूर्ण छ । सामाजिक संरचनाको परिवर्तन, भूमण्डलीकरण, रोजगारीका प्रकृति आदिले ज्येष्ठ नागरिकप्रति समाज र परिवारको पर्याप्त ध्यान पुग्न नसकेको सम्बन्धमा अनेक प्रश्न सिर्जना भइरहेका छन् । कतिपय ज्येष्ठ नागरिकले परिवारबाटै अपहेलित हुनु परेको छ भने कतिपयले राज्यले प्रदान गरेको सेवा सुविधा पनि सहज रूपले उययोग गर्न सकेका छैनन् । सङ्घीय सरकारले त ज्येष्ठ नागरिकका लागि विविध कार्यक्रम ल्याइरहेको छ, थप प्रतिबद्धता पनि आउँदैछ । मुलुकमा सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकार पनि क्रियाशील छन् । यो सबै अवस्थालाई स्थानीय सरकारका रूपमा रहेको वडा, पालिकाले व्यवस्थापनमा ध्यान दिनुपर्छ । प्रदेश सरकारले समेत ज्येष्ठ नागरिकको उचित सम्मान र व्यवस्थापनका लागि नीति र योजना अगाडि ल्याउनुपर्छ । यसो गर्दा उही कार्यक्रम दोहोरिनुभन्दा समन्वयलाई ध्यान दिनु जरुरी छ ।

ज्येष्ठ नागरिकलाई सामाजिक बोझ वा अनुत्पादक उमेर समूहका रूपमा हेर्ने गल्ती कसैले पनि गर्नुहुँदैन । राजनीतिक दल, समाज तथा सङ्घसंस्था सबैको दृष्टिकोणमा कही कतै खोट छ भने आमूल परिवर्तन जरुरी छ । ज्येष्ठ नागरिकलाई दिइने सुविधा र सम्मानलाई भोट बैङ्कका रूपमा हेर्ने कतै प्रवृत्ति छ भने त्यसमा पनि सुधार वाञ्छनीय छ । ज्येष्ठ नागरिक समाजका साझा सम्पत्ति हुन् । पाका उमेर समूहको ज्ञान, सीप, अनुभवबाट समग्र समाज लाभान्वित हुनुपर्छ । हाम्रो पूर्वीय संस्कृति एवं संस्कारले यिनै तथ्यलाई मार्गनिर्देश गरिरहेको हुन्छ । जन्मदाता अनि कर्मदाता ज्येष्ठ नागरिकको हेरचाह, सम्मान, सुविधा र समयानुकूल समुचित व्यवस्थापनले राष्ट्रको शिर उँचो हुने कुरा बिर्सन मिल्दैन ।