साख उकास्ने अवसर
नरेन्द्रजंग पिटर
यो लेख सार्वजनिक हुँदासम्म राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक दस्तावेज पारित भइसकेको हुनेछ । माओवादी प्रचार उपप्रमुख महेश्वर दाहालद्वारा सम्पादित ‘समयबद्ध’ पत्रिकाको ब्यानर शीर्षक माओवादी आन्दोलनको सार्थक (औपचारिक बिसर्जन) बैठानले वैधानिकता पाउनेछ । डेढ दशकसम्म सिद्धान्त र सङ्गठनमा तदर्थवाद हावी भएको पार्टीलाई एकातर्फ जनयुद्धको धङधङीलाई पनि निरन्तरता दिनुपर्ने अनिवार्यता थियो अर्कोतर्फ जुन परिस्थितिमा शान्ति सम्झौता भएको थियो, त्यसको चुनौती सामना गर्नुपर्ने हुन्थ्यो । पार्टीको अवस्था खस्कँदा पनि अहिले अध्यक्ष प्रचण्ड आन्तरिक रूपमा सुविधाजनक अवस्थामा छन् । सर्वसम्मतलाई वैचारिक चुनौती दिने मोहन वैद्य ‘किरण’ छैनन् भने व्यवहारवादको दबाब दिने न डा. बाबुराम भट्टराई छन् न युवापङ्क्तिलाई आवेग भर्ने विप्लव नै ।
विश्वास पाउने चुनौती
२०६२ साल माघ २५ एक दैनिक पत्रिकालाई दिइएको अन्तर्वार्तामा डा.बाबुराम भट्टराईलाई साक्षी राख्दै अध्यक्ष प्रचण्डले भन्नुभएको थियो ‘केन्द्रीय समितिमा हामीले प्रस्तावित गरेका छौँ– काठमाडौँ (सत्ता) मा पुग्नेबित्तिकै हामी नेतृत्व छोडिदिन्छौँ, राष्ट्रपति, प्रधानमन्त्री हुनेतिर हामी लाग्दैनौँ ।’ ‘स्टालिन अन्तिमसम्म पार्टी प्रमुख र सरकार प्रमुख हुनुभयो । माओ पनि ३५ वर्षदेखि पार्टी नेतृत्वमा रहनुभयो, ८३ वर्षको उमेरमा नमर्दासम्म सरकार प्रमुख रहनुभयो । बाँच्दासम्म स्थापित नेतृत्वले सबै शक्ति हत्याए, मर्नेबित्तिकै गल्र्यामगुर्लुम्म ढल्यो, बिग्य्रो । मरेको भोलिदेखि नेतृत्वको अन्योल बढ्यो । यो ठूलो वैचारिक र लोकतान्त्रिक विषय हो । अब आन्दोलनको नेताका रूपमा स्थापित टिम सत्ता–शक्तिको अभ्यासमा लाग्दैनौँ । हामी स्टेट्सम्यानसीपमा जान्छौँ र नयाँ सदस्यलाई पठाउँछौँ ।’
त्यसभित्र कम्युनिस्ट आन्दोलनका सीमा समस्याले समाधानको बाटो खोजेको थियो तर टिक्न सकेन । परिस्थतिले पार्टी डोरिँदै गयो । मुखमा चुनाव, मस्तिष्कमा विद्रोहको बालाजु बैठकको दस्तावेज बाहिर आउन सकेन । सत्ताको रस चाखिसकेको पार्टीलाई भक्तपुरको आन्तरिक शक्ति सन्तुलनको रस्साकसीलाई प्राविधिक रूपमा हल गरियो ।
कुरा स्वत्वका
स्वत्वका टकराहट र महìवकाङ्क्षाको व्यवस्थापनमा गर्न माओवादी चुक्नाका कारण शान्तिप्रक्रिया सम्पन्न हुन सकेन भने सिद्धान्तको राजनीति उपेक्षित हुँदै जाँदा सङ्गठनमा अस्तव्यस्तता र राजनीतिक संस्कृति स्खलित हुँदै गए । स्वत्वले अस्तित्वको खोजी गरिरहेको हुन्छ, जब त्यसमा चुनौती अइलाग्छ तब टकराव हुन्छ । स्वत्वको यात्रा दुई कोणबाट हुन्छ । पहिलोले स्वाभिमानको दिशा पक्रन्छ भने अर्काले अहंकारको । धोका खादा, उपेक्षा र अपमान गरिँदा पनि अर्को पक्षको सम्मान गर्न नचुक्ने मात्रै बहादुर र सफल ठहरिन्छ । कमजोरी आफ्नैभित्र पहिला खोज्छन् । बदला त कायरले लिन्छन् । दुश्मन, विरोधी र धोकेवाजसँग सिकेको कलाले जिन्दगी उन्नत, सुन्दर र खारिएको इस्पातिलो बन्छ । कुनै पनि बेला पार्टी वा व्यक्तिका जिन्दगीमा नयाँ मोड आउन सक्छन् । अनावश्यक कसैसँग अपेक्षा गरिए दुःखी भइन्छ, त्यो अर्को पक्षले दिएको धोका नभई आफ्नै अनावश्यक अपेक्षाका कारण हुने गर्दछ ।
शक्तिलाई कम आकलन गर्न हुँदैन । दुश्मनले अस्तित्व नै ध्वस्त गर्छ भने विरोधीले हैसियतको । मानिसको हैसियत चिन्न उसका दुश्मन, विरोधी र सङ्गत कस्तासँग छ भनेर नियाल्नुपर्छ । अनुहार हेर्ने ऐना त पाइन्छ तर दिल र दिमाग छर्लंङ देखिने ऐना कतै पाइँदैन । बिर्सनु त खुसी हुने तरिका हो तर केही विषय जति बिर्सन चाहे पनि त्यत्तिकै सम्झना आइरहन्छन् । जरूरतभन्दा ज्यादा चतुर भएर एउटा निश्छल मान्छेसँग गरिने व्यवहारले जतिसुकै चलाख र धुर्त भए पनि उसको बर्बादीको बाटो खुल्छ । झुक्नु त सुसंस्कृत हुनु हो तर आत्मसम्मान गुमाएर झुक्नु भनेको जिउँदै मर्नु हो । अहंकारीको समस्या भनेकै आफ्नो कमजोरी नदेख्नु र अर्काको राम्रा पक्ष देख्न नसक्नु हो ।
महत्त्वकाङ्क्षाको व्यवस्थापन
माओवादी अन्तरनिहित अनेकौँ प्रश्न भने रूपान्तरणसँग जोडिएका छन् । शक्ति र गुमेको साख फर्काउने लक्ष किटान त दस्तावेजमा भए तर त्यो पवित्र चाहानाले मात्रै हुँदैन । नयाँघर बनाउन जति सजिलो हुन्छ भत्किएको, ढलेको घर फेरि बनाउन कठिन हुन्छ । दृष्टिकोण र आदर्शले निर्देशन गरेको पार्टी आचरण र जीवन व्यवहारसँग जोडिएका छन् या छैनन् सबैले नियालिरहेका हुन्छन् ।
खुला परिस्थितिमा आउने बेला माओवादीमा कुनै निश्चित योजना र मूर्त कार्यक्रम नै थिएन, लथालिङ्ग, भताभुङ्ग थियो, अथवा शान्ति युद्धको कुनै न मार्गचित्र थियो, न तयारी न त सङ्गठात्मक व्यवस्थापन । एकाध नेताले जे गरे पनि, जसो भने पनि त्यही हुने अरू फुक्काफाल बेलगाम झैँ हुने अवस्था थियो । वर्ग विभाजन र क्रान्तिको क्षतिपूर्ति भाव बढेको र परिवारवाद औकातअनुसारका नेतृत्व पङ्क्तिमा प्रस्ट देखिए । त्यसैबेला हो ‘धरहरा ढलिरहेको हेरिरहन पनि नसकिने, काँध थापेर थेग्न पनि नसकिने’ आसयको मनोयुद्ध थालनी भइसकेको थियो ।
माओवादी हिजो र आज
माओवादी पार्टी चिनियाँ नेता माओत्सेतुङको नाममा बनेको नेपाली कम्युनिस्ट पार्टी थियो र हो । अहिले महाधिवेशनको साइत पनि उनकै जन्मदिन पारेर भयो । आन्दोलनलाई राजनीतिक परिवर्तनपछि पनि सांस्कृतिक परिवर्तन भएन भने प्रतिक्रान्तिको खतरा रहिरहन्छ भनेर निरन्तर क्रान्तिको पक्षधर भन्ने नै माओवादी मान्यता हो । नेपाली सन्दर्भमा माओवादी हुनुको अर्थ सम्पूर्ण क्रान्ति अर्थात् राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनलाई मन, वचन र कर्मले स्वीकार्नु, लागि पर्नु र स्वयं उदाहरण बन्नु हो ।
लोककल्याणकारी राजनीतिक व्यवस्था र राज्यको नीतिनिर्माण तहमा सबैको समान पहुँच र समान अभिभावकत्व हुनु पनि हो । देशी वा विदेशी हरेकखाले उत्पीडनविरुद्धको (वर्ण र वर्ग) स्वाभिमानको सङ्घर्ष नै जनयुद्ध वा शान्तियुद्ध थियो । कुनै राजनीतिक पार्टी र व्यक्ति दर्शनअनुसारको राजनीतिक सिद्धान्त र सोहीअनुसार सपना बनाउँछ र उद्देश्य, भूमिकालाई त्यसैले निर्धारण गर्छ भने रूपअनुसारको गुण हुन्छ । जे नाम राखे पनि आन्दोलनको अगुवा नरहे टे«डमार्ककामै सीमित हुन्छ ।
नेपालमा भएको कम्युनिस्ट आन्दोलनको उपलब्धिले संसारै चकित बनाएको थियो । त्यसलाई ध्वस्त गर्नु कम्युनिस्ट विरोधीलाई अत्यावश्यक थियो । कम्युनिस्ट सधैँ सत्ताको प्रश्नलाई शुद्धताका नामले या पर सार्थे वा लड्दा–लड्दै सकिन्थे । नेपाली माओवादीले विद्रोहबाट आए पनि सत्ताको प्रश्नलाई अहं बनाएको थियो भने पुरानै तरिकाले नयाँ चुनौती सामना गर्न पनि सकिँदैनथ्यो । त्यसैले उसलाई ध्वस्त पार्न पुरानै तरिकाले सम्भव थिएन । पहिलो उसैलाई विजातीय सङ्गत घालमेल, सांस्कृतिक आचरणमा निजी एवं विलासिताप्रतिको मोह जागृत गराइयो । त्यही अंशमा टेकेर समग्रमा आक्रमण दोस्रो पाटो बन्यो ।
दुवै तरिकाले गरिएका आक्रमणले आन्दोलनको मर्ममै प्रहार भएर क्रान्तिको उद्देश्य नै गलत थियो भन्ने तर्क गर्न थालिए । त्यसका कच्चा सामग्री पार्टीभित्रै धुन्धुकारी शक्ति जन्माउनु, विजातीय तत्वको घुसपैठ, भोगविलास र परिवारवादमा नेतृत्वलाई फसाउन आवश्यकता पथ्र्यो । क्रान्तिको क्षतिपूर्ति भाव जन्माउनु पर्दथ्यो । विभत्स चित्रणका तर्क उत्पादन गर्ने कुशल मिडिया व्यवस्थापन भए । घृणास्पद सामूहिक विवेक तयार गरिँदै गइए । कार्यकर्ता र शुभचिन्तकमा भ्रम र आशङ्का तयार पार्दै आक्रोश भरिए । दोष अर्कालाई देखाएर पानीमाथिको ओभानु देखिने फुटका बेला बहाना मिल्छ भने जिम्मेवारी नलिई श्रेयको हकदार दाबी पनि गरिरहने मौका पाइन्छ ।
फेरिएको वर्ग सङ्घर्षको रूप वर्ग सङ्घर्ष
अति निर्मम हुन्छ । शान्तियुद्धमा शासक वर्ग कलामय विभत्सतापूर्ण खेल खेल्छन् । पुँजी, प्रविधि, कला र मिडियाको लगनगाँठो कसिएपछि सामूहिक विवेकमाथि नियन्त्रण गरिन्छ । त्यो शुद्धीकरण भनेको विचारले दिशानिर्देश गरेको संस्कृति र राजनीतिक आचरण अर्थात् रूपान्तरण हो । रूपान्तरण कसैको न निर्देशन हो, न नाटक, आत्मस्वीकारको जीवन व्यवहार । विचारहीन राजनीतिक अभ्यासले गम्भीर कुरा सोच्न वा कार्य, कारण र परिणाम खोतल्न दिँदैन । महìवाकाङ्क्षा, असन्तोष र आग्रह फैलाएर मूल कुरालाई अन्यन्त्र मोडिन्छ । वर्ग सङ्घर्षको शाश्वत नियम भनेकै ‘सर्पले माया गरेर म्वाइँ खाए पनि विषै लाग्ने, रिसाएर डसे पनि विषै लाग्ने’ भन्ने कुरा फेरिएका सन्दर्भमा माओवादीले पनि बुझ्न चाहेन, सकेन । समाज फेर्न गएकाहरू आफैँ फेरिए र वर्ग रूपान्तरण भए । सङ्क्रमणकालमा दुस्मनको धरापमा त फस्यो, फुट्यो नै, ती धरापका सामग्री पनि दुस्मनलाई आफैँले व्यवस्थित गरिदियो । एकता र सङ्घर्ष कहिल्यै पनि निरपेक्ष वा भावनामा बगेर मात्र हुँदैन । सङ्घर्ष गर्दा कहिल्यै एकता पनि गर्नुपर्छ भनेर नसोच्नु, एकता गर्ने नाममा विगतमा शत्रुतापूर्ण सङ्घर्षले आन्दोलनमा भएका घाटा बिर्सनु इतिहासले दिने शिक्षा बिर्सनु हो ।
महाधिवेशनसम्म पुग्दा के माओवादीभित्र आफ्ना सीमा, समस्या र कमजोरी चिन्ने आत्मबल बढेको छ त ? व्यवहार जहिले पनि दृष्टिकोण र नीतिको अधीनस्थ हुन्छ । नयाँ पार्टी बन्न, विश्वासको पुनप्र्राप्ति गर्न रूपान्तरण पहिलो सर्त हुन्छ । प्रज्ञाभवनमा महाधिवेशन गरेर मात्रै प्रज्ञाचक्षु खुल्दैनन् । भावनाका गफ चलिरहँदा रूपान्तरण ओझेल पर्छ भने त्यो महाधिवेशन पनि कर्मकाण्डी मात्रै बन्न पुग्छ । कुनै अर्थ रहने छैन । आभामण्डल र मोहनीजालबाट मुक्तभएपछि मात्र विषय छर्लङ्ग देखिन्छ ।
आँखा दृष्टि बनेपछि मात्रै दृष्टिकोण निर्माण हुन्छ । आँखा, नजर र दृष्टि फरक हुन् । नजर लगाए पाल्सी कुरा छर्लङ्ग हुन्छन् । भूमिका सङ्केत बनेर सन्देशमा फेरिन्छन् । आदर्श कविता त बन्छन्, जीवन बन्न सक्दैन । पवित्र चाहना र प्रतिक्रियाका उपज, आश र त्रास भक्तिमार्गका उत्तम कार्यकर्ता निर्माण त गर्न सक्छ तर राजनीतिक पार्टीलाई सामाजिकीकरण गर्ने अवस्थामा भने पु-याउँदैन ।