महिला भलिबलको सफलता (सम्पादकीय)
बङ्गलादेशका राजधानी ढाकामा मङ्गलबार सम्पन्न एसियन सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको उपाधि नेपाली महिला भलिबल टिमले हात पारेको छ । नेपाली महिला भलिबल टिमको यो दोस्रो अन्तर्राष्ट्रिय सफलता हो, यसअघि सन् २०१९ को यही अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली महिला टोलीले विजय भएको थियो । त्यसै पनि समग्र नेपाली खेलकुद क्षेत्र बामे सर्दै गरिरहेको अवस्थामा सामाजिक, शारीरिक, आर्थिकलगायतका विविध कारणका फलस्वरूप नेपाली महिलाको खेलकुद क्षेत्रमा तुलनात्मक रूपमा कमै सहभागिता मात्र देख्न पाइन्छ । सामाजिक तथा सांस्कृतिक संरचनाका कारण घर, कार्यालय तथा परिवार सम्हाल्न महिलाका लागि त्यति सहज विषय होइनन् । यसमा पनि खेलकुद क्षेत्रमा लाग्नुलाई समयको बर्बादी ठान्ने हाम्रो समाजका महिला खेलकुदमा सहभागी हुनु आफँैमा साहसी एवं चुनौतीपूर्ण विषय हो । यी सबै चुनौती पार गर्दै नेपाली महिला भलिबल टोलीले नेपालभन्दा बाहिर गएर एसियन सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा सहभागी भएर उपाधि चुम्नु राष्ट्रिय गौरवको विषय हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उपाधि जित्न सफल महिला खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरी प्रशनता व्यक्त गर्नु भएबाट समेत यो उपाधिको राष्ट्रिय महत्त्व स्पष्ट हुन्छ ।
खेलप्रतिको समर्पंण, आत्मविश्वास एवं खेल कौशलमा महत्त्वपूर्ण भूमिका भएर नै महिलाले यो उपलब्धि हासिल गरेकोमा दुई मत छैन । त्यस प्रतियोगितामा नेपाललगायत आयोजक बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स्, उज्वेकिस्तान तथा किर्गिस्तानका महिला टोलीहरूको सहभागिता थियो र सबै टोलीको खेल कमजोर थिएन । प्रतियोगिताको प्रारम्भदेखि नै नेपाली महिला टोलीले उत्कृष्ट खेल प्रस्तुत गर्दै सहभागी सबै पाँच राष्ट्रहरूलाई लिगअन्तर्गतको खेलमा पराजित गरेर फाइनलका लागि मार्ग प्रशस्त गरेको थियो । नेपाली महिला टोलीका लागि खुसी एवं गौरवको कुरा यो प्रतियोगिताभर नेपाली टोलीले पराजयको स्वाद भोग्नु परेन र अपराजित हुँदै फाइनलमा प्रवेश गरेको थियो ।
भलिबल खेलमा प्राविधिक ज्ञानसँगै खेलाडीको शारीरिक क्षमताले पनि निकै प्रभाव पार्ने गर्दछ । एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप प्रतियोगितामा दक्षिण एसियाली क्षेत्रका नेपाललगायत बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स् मात्र होइन, पूर्वी सोभियत गणराज्यहरू उज्वेकिस्तान तथा किर्गिस्तानका खेलाडीहरू पनि सहभागी थिए । ती मुलुकका खेलाडी तुलनात्मक रूपमा शारीरिक दृष्टिकोणबाट दक्षिण एसियाली क्षेत्रका महिला खेलाडीका दाँजोमा बढी सबल हुन्छन् । भौतिक पूर्वाधार, सबल शारीरिक अवस्थालगायतका कारण उनीहरूलाई हराउन वास्तवमै कलापूर्ण खेल र शारीरिक तन्दुरुस्ती अब्बल हुनुपर्दछ । यो सन्दर्भमा नेपाली महिला खेलाडीले प्रतिस्पर्धी क्षमताको विकास गरेर फाइनलमा उज्वेकिस्तान जस्तो सशक्त टिमलाई पराजित गर्न सफल भएर उपाधि रक्षा गर्न सफल भएको आफँैमा प्रशंसनीय पक्ष हो । यस विषयले समग्र नेपालीमा खुसी एवं सन्तोषको विस्तार गरिदिएको छ । विजयी नेपाली टिममा सहभागी खेलाडी, प्रशिक्षक, प्रबन्धकलगायत सबैलाई बधाई तथा धन्यवादका पात्र भएका छन् । आउँदा दिनमा नेपालले भलिबल खेलमा अझै उन्नति गर्दै अझ प्रख्यात अन्तर्राष्ट्रिय प्रतियोगिता विजय पताका फहराउने विश्वास लिन सकिन्छ ।
महिला खेलाडीलाई प्रोत्साहन गर्न सरकारले नगद पुरस्कारको पनि घोषणा गरिसकेको छ । खेलाडीलाई थप हौसला तथा प्रेरणा जगाउन सरकारको एक्लो प्रयास मात्रै पनि पर्याप्त हुँदैन । सक्षम औद्योगिक तथा व्यापारिक सङ्घसंस्थाहरूको भूमिकामा पनि महìवपूर्ण हुन्छ । निजी क्षेत्रको प्रायोजन पुरस्कार तथा सम्मानमा कुनै कन्जुस्याँइ नगर्ने वातावरण सिर्जना भएमा खेल क्षेत्रलाई माथि लैजान सहयोग पुग्छ । खेलाडीहरूलाई समेत खेल क्षेत्रमा लाग्न थप हौसला तथा उत्प्रेरणा बन्न सक्छ । राष्ट्रिय गौरव बढाउने काम गरेको नेपाली महिलाको यो उपलब्धिको सरकारले त पक्कै पनि कुनै न किसिमबाट सम्मान गर्ने नै छ । साथै यस्ता विषयमा सामाजिक उत्तरदायित्व बहन गर्ने नीति अनुरूप सक्षम औद्योगिक तथा व्यापारिक सङ्घसंस्थाहरूले पनि हातेमालो गर्नु सामाजिक जिम्मेवारी हो । यस प्रकारका कार्यबाट खेलकुद क्षेत्रको विकासमा निकै सघाउ पुग्ने अपेक्षा लिन सकिन्छ । विश्वका धनी तथा विकसित मुलुकमा खेलकुदको विकासमा सरकारको मात्रै नभएर औद्योगिक तथा व्यापारिक सङ्घसंस्थाको अग्रसरता निकै महìवपूर्ण रहेको वास्तविकतालाई नेपाली औद्योगिक तथा व्यापारिक घरानाले मनन गर्नुपर्दछ । राष्ट्रिय नाम उँचो पार्न सफल महिला भलिबल टोलीलाई हार्दिक बधाई ।