माओवादी समाजवाद
डा. विष्णु राई
वि.सं. २०५२ फागुन १ गतेबाट सशस्त्र सङ्घर्ष थालेको क्रान्तिकारी माओवादी केन्द्र २०६३ मा सत्तापक्षसँग शान्ति प्रक्रियामा हतियार बुझाएर निःशस्त्र भयो । २०६४ को पहिलो संविधान सभामा ठूलो पार्टी पनि बन्यो । सत्तामा बारम्बार तलमाथि गरिरहँदा र अहिले पनि सत्तामै रहँदा पनि भोकाएको र जोश हराएको बूढो बाघजस्तो निस्तेज देखिन्छ । यसको कारण जनक्रान्तिबाट समाजवादमा जाने वा प्रजातान्त्रिक समाजवादको बाटो समात्ने भन्ने दोधारे नीति थियो । यसैकारण कहिले फुट, त्याग वा कहिले अन्तरसङ्घर्षले निराशावादमा फस्यो ।
डडेलोले खाएको उदास पाखाजस्तो क्रान्तिकारी पार्टी नौ वर्षअगाडि हेटौँडामा भएको अधिवेशनबाट समाजवाद हुँदै साम्यवाद पार्टीको नीतिलाई त्यागेको थियो । त्यहाँ संवैधानिक समाजवादी कार्यदिशा पास गरेको थियो । अहिले काठमाडौँमा आठौँ महाधिवेशन गरिरहेको छ । जनक्रान्तिबाट स्थापित सङ्घीय लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता पहिचानको सवाल स्थापित गर्न सफल भए पनि पूर्ण प्रयोग गर्न नसक्नु पार्टीको कार्यदिशा कमजोर हुनुको परिणाम थियो । तथापि सम्मेलनबाट महाधिवेशनमा परिणत भएको यो भेलाले देशको राजनीति कता जान्छ भन्ने कुरालाई निर्देशित गर्न सक्ने सम्भावना छ ।
जनतालाई सपना देखाएर एउटा शक्तिशाली पार्टीमा रूपान्तर हुँदा आफ्नै वर्गभित्र पनि चेहरा किन भिन्न भयो ? प्रश्न यो बिन्दुबाट विमर्श हुनेछ । समाजवादको कार्यदिशा के हो ? सरकारमा रहँदा अन्य पार्टीभन्दा किन फरक हुन सकेन ? निमुखा वर्गमा समाजवाद किन प्रयोग हुन सकेन ? दलाल नोकरशाही र दलाल पुँजीपतिसँग सत्तामा पुगेपछि उनैको सहयात्री हुने समाजवाद हो ? के एक्काइसौँ शताब्दीको जनवाद÷समाजवाद गम्भीर भ्रमको सागरमा फसेको हो ? क्रान्तिकारी पार्टीका भुक्तभोगी मित्रबाट संश्लेषण होला ।
सङ्घीय सरकारमा आफ्ना नीति कार्यान्वयन गर्न सकेन, आफ्ना नीति आफ्नो सरकार भएको प्रदेशबाट लागू गर्न नसक्नु गम्भीर भूल होइन र ? समाजवाद भन्ने शब्द कति तौलको छ भन्ने विषयको अनुसन्धान यो महाधिवेशनले खुट्ट्याउन सकेन भने अर्को महाभूल हुनेछ । अन्यथा संसारलाई चकित पार्ने गरी नेकपा (माओवादी क्रान्ति)को मोडल शान्तिमा रूपान्तरपछि समाजवाद प्रयोग गर्न सक्थ्यो । सागरमा धेरै पानी बगिसक्यो । विश्व राजनीति बोल्र्ड सिस्टम थ्योरीमा ध्रुवीकरण भइसक्यो । ट्रेनको यात्रामा आफ्नो क्रान्तिकारी साथी छुटिसके । आज यसको जवाफ दिएर मात्र पुग्ला र ?
हजारौँ शहीद भए, शहीदका परिवारले के पाए ? शहीदको रगतले कोरिएको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, सङ्घीयताको फल अर्कैले खाएर गफ ठोकिरहेछ । अझ उपलब्धि समाप्त गर्न दक्षिणपन्थी क्लासिकल विचारक विदेशीसँग गुहार मागिरहेको स्थिति छ । फरक दृष्टि विचारले मात्र समाजवाद पूरा हुन सक्दैन । स्पष्ट खाका कोर्न जरुरी हुन्छ । अन्यथा माओवादी पार्टीको समाजवादी दिशा मुखमा मात्र भएर मनमा भएन भने पुनर्जीवित हुन असम्भव हुन्छ । पार्टी थोत्रो गाडीजस्तो छ । मर्मत गरेर तेल हाले क्रान्तिकारी समाजवादी बाटो हिँड्न सक्ने प्रचुर सम्भावना छ । दुनियाँलाई थाहा छ, देशमा ठूलो परिवर्तनको संवाहक नेकपा (माओवादी केन्द्र) नै हुनसक्छ ।
सैद्धान्तिक रूपले क्लासिकल कम्युनिस्टको समाजवादबाट साम्यवाद राज्यको सम्पत्ति जनताले समान उपभोग गर्न पाउने हो । उत्पादनमा गरिब मजदुरको अस्तित्व कायम हुन्छ । अन्ततः वर्गविहीन समाजको निर्माण गर्नु हो । क्रान्तिकारी समाजवाद हुँदै साम्यवाद समात्न सकिन्छ भन्ने नेपालका माओवादी केन्द्रले अवलम्बन गरेको थियो । जनता उर्ले पनि प्रयोग गर्न असमर्थ भयो । क्रान्तिको धार क्रमशः भुत्ते भयो ।
यो महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादमा जाने कि लिबरल समाजवाद वा व्यापारिक भूमण्डली समाजवाद ? यसको व्यापक खाकाभित्र आफ्ना क्रान्तिको महìवपूर्ण सपना नकोरेसम्म नेकपा (माओवादी केन्द्र)को भविष्य खतरामा देखिन्छ । तसर्थ कमजोर धरातलमा टेकेर हुँकार गर्नुभन्दा प्राप्त उपलब्धिलाई कसरी संस्थागत गर्ने भन्ने बाटो स्पष्ट हुनुपर्छ । समाजवादभित्र नयाँ बाटो देखाउन मात्र सकिन्छ । पुनर्निर्माण र जनताको क्रान्तिकारी विचारलाई एकताबद्ध बनाएर विकासमा क्रान्ति गर्न सकिन्छ । मोडल रेडिकल गतिशीलता सञ्चार गर्न आफ्नै कार्यकर्ताभित्र समाजवादको केही महìवपूर्ण कार्यदिशा प्रयोग गर्न नितान्त आवश्यक छ । जसरी गान्धी, मण्डेला, माओ, लेनिनले गरेका थिए ।
अठारौँ शताब्दीको माक्र्स, एङ्गेल्सको औद्योगिक क्रान्तिकारी समाजवाद र चीनमा १९५०–६० को दशकसम्म उसले भोगेको गरिबी, विदेशी हस्तक्षेप, सामन्ती बर्बरता जस्तो अवस्था भने नेपालमा छैन । सामन्ती पद र संस्कारको अन्त्य नेपालको माओवादी क्रान्तिले समाप्त गरेको छ ।
के गर्नुपर्छ माओवादीले ?
उत्पादनमा सर्वहारा वर्गलाई परिचालन गर्ने र सहकारीमार्फत विश्वव्यापीकरण गर्ने । जमिनमा निमुखालाई प्राथमिकता दिई घर–बसोबास दिलाउने । गरिबले सानो जग्गा जोड्न नसकेर सुकुम्बासी भएको छ । यस्ता गरिबलाई पहुँच दिलाउने । प्रदेशमा ठूला सम्भावना बोकेका कृषि, पर्यटन, उद्योग स्थापना गर्न सके प्रदेशअन्तर्गतका युवालाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ । स्वास्थ्य निःशुल्क बनाउनुपर्छ । धर्मलाई राज्यशक्तिबाट टाढा राख्नुपर्छ । धेरै मान्छेलाई पशुपन्छी खाएको आधारमा जेल ठोकेर विभेद गरिएको छ । अत्याचारबाट समाज मुक्त गर्ने क्रान्ति उठोस् ।
स्वरोजगारका लागि दीर्घकालीन योजना बनाएर कम्तीमा बीस वर्षसम्म व्यावसायिक रूपमा युवालाई एक करोडका दरले उत्पादन गर्न प्रोत्साहन गर्नुपर्छ । दलाल नोकरशाही र पुँजीपति दलाललाई निस्तेज गर्ने नीतिगत समाजवाद आदर्श सिद्धान्त निर्माण गर्न सके मात्र माओवादी केन्द्र जनतामा लोकप्रिय पार्टी बन्न सक्छ । हरेक क्षेत्रमा पूर्ण समावेशी समानुपातिक नियुक्ति होस् । विदेश नीति पनि युगसुहाउँदो होस् । समाजवाद भनेको काठमाडौँको कार चढ्ने र गाउँमा बस्ने मान्छेका लागि फरक–फरक हुन्छ । यसैलाई मुखमा होइन, मनको केन्द्रमा राखेर कार्यदिशा बने विकासमा सबै पार्टीको साथ र सहयोग हुनेछ ।