विचार/दृष्टिकोण |

हिउँदे वर्षाको प्रभाव (सम्पादकीय)

पुस १३ गते मङ्गलबार रातिबाट पूर्वदेखि पश्चिम नेपालभरि नै मौसममा अदलीबदली भएर हिउँदे वर्षाका साथै हिमपात भयो । यसबाट देशभर तुलनात्मक रूपमा जाडो निकै बढ्न गएको छ । हिउँदको याममा हिउँदे वर्षा, हिमपात तथा जाडोको समस्या स्वाभाविकै भए पनि यसपछिका दिनमा पर्ने प्रभावबाट जोगिन पनि त्यत्तिकै जरुरी देखिएको छ । त्यसो त सहरबजारमा बस्नेहरूका लागि हिमपात मनोरञ्जनको माध्यम बनिरहेको प्रमाण काठमाडाँैंको चन्द्रागिरीमा हिउँ परेको हेर्न तथा खेल्न पुगेको भीडले प्रमाणित गरेको छ । बुधबारै मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका क्षेत्रमा भएका हिमपात आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेका देखिए ।

सहरी बासिन्दाका लागि मनोरञ्जनको माध्यम बनेको हिमपात र हिउँदे वर्षा कृषकका लागि भने बरदानमा पनि रूपान्तरित भएको छ । गहुँ, तोरीका साथै अन्य हिउँदे बालीमा वर्षाबाट फाइदा पुगेको छ । कृषि विज्ञहरूका भनाइमा यस वर्ष बाली लगाएको केही समयमै भएको हिमपात र वर्षाले कृषकमा खुसीको सञ्चार गरिदिएको छ । गत वर्ष यस्तै खाले हिमपात तथा वर्षाका अभावमा कृषिले हिउँदे बालीमा निकै ठूलो नोक्सानी बेहोर्नुपरेको अवस्था थियो । हिमाली क्षेत्रमा हुने हिमपातको परिणाम माटोमा चिसोपना लामो समयसम्म रहिरहने हुँदा त्यहाँको कृषि प्रणालीमा सकारात्मक प्रभाव पर्ने मतसमेत उनीहरूको छ । सात लाख हेक्टर क्षेत्रफलमा लगाइने नेपालको प्रमुख अन्न बालीमध्येको एक गहुँका लागि सिँचाइ गर्नुपर्ने बेला परेको हिमपात र वर्षाले गहुँको उत्पादनमा वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

बालीनाली हिमपात र वर्षाको सकारात्मक प्रभाव पर्ने देखिए पनि यसबाट बढ्ने जाडोका कारण सर्वसाधारणको जनजीवन भने कष्टकर हुँदैछ । राजधानी काठमाडौँमा नै पनि न्यूनतम तापक्रम तीन डिग्रीमा झरेर जाडो बढ्दै छ भने विशेष गरी हिमाली क्षेत्रमा यसले स्थितिलाई थप विषम बनाउँदै छ । मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पाजस्ता हिमाली जिल्लामा मात्र होइन मध्यपहाडी जिल्लाहरूमा समेत अत्यधिक हिमपात र वर्षाले गर्दा धमाधम कलेज, विद्यालयलगायतका शिक्षण संस्थाहरू बन्द गर्न थालिएको छ । यता तराई क्षेत्रमा पनि चिसो बढ्नाले विगत वर्षहरूमा जस्तै शीतलहरको सम्भावनालाई नकार्न सकिँदैन । हुस्सु, कुहिरो र कमजोर भिजिविलिटीका कारण हिउँदे याममा हवाई उडानहरू निकै जोखिमपूर्ण मानिन्छन् । त्यस अतिरिक्त हिमपात र वर्षाले यसमा थप समस्या सिर्जना गरिरहेको हुन्छ । यसैको परिणामस्वरूप बुधबार मात्र झन्डै छ दर्जनजति आन्तरिक हवाई उडान रद्द गरिनुपर्ने अवस्था सिर्जना मात्र भएन, कैयौँ अन्तर्राष्ट्रिय उडानमा समेत ढिलाइ भयो ।

हिमपात र वर्षाले थप केही दिन निरन्तरता पाए ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्यालगायतका मौसमी रोगहरूले पनि मानिसलाई प्रभावित पार्ने सम्भावना हाम्रा सामुन्ने छ । ओमिक्रोनजस्ता कोरोनाका भेरियन्टहरू पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको वर्तमानमा यस्ता भाइरसको सङ्क्रमणको त्रासमा पनि वृद्धि हुने आशङ्का सकिन्छ, तापक्रमको पारो घट्ने क्रमसँगै । हिउँद याममा हुने हिमपात तथा वर्षाले खेतीपातीमा केही सकारात्मक प्रभाव पार्नुका साथै सामान्य जनजीवनमा नकारात्मक असर पनि ल्याइरहेका हुन्छन् नै । यसका लागि समयमै मौसमी बिरामीका औषधिको जोहो, सर्वसाधारणलाई न्यानो पार्न दाउराका साथै कम्बल, सिरकको व्यवस्थामा ध्यान दिइनुपर्दछ ।

जाडोमा कोरोना भाइरसको सङ्क्रमण बढ्ने विगतका उदाहरणले पनि पुष्टि गरिसकेको अवस्थामा यसप्रति चनाखो हुनै पर्दछ । साथै बालबालिका तथा युवालाई स्कुल, कलेजमा केही समयका लागि विद्यार्थीको भौतिक उपस्थितिभन्दा अनलाइन माध्यमबाट अध्ययन अध्यापन गराउनु उपयुक्त देखिन्छ । यी सबै उपायको मुख्य उद्देश्य साना बालबालिका, वृद्धवद्धालगायत मुलुकका सबै क्षेत्रका जनतालाई जाडोबाट बचाउनु नै हो । मौसमलाई रोक्न र छेक्न सकिन्न तर यसको प्रभावमा परिवर्तन ल्याउन निश्चिय नै सकिन्छ । देशका तीन तहकै सरकारहरूले नीतिगत, संस्थागत र संरचनागत रूपमा गृहकार्य गर्नु जरुरी छ । खास गरी स्थानीय तहले नागरिकका जीवन रक्षाका लागि प्रयास अगाडि बढाउनु पर्छ । सङ्घीय र प्रदेश सरकारले नीतिगत तहमा आवश्यक व्यवस्थापन गरिनु उचित हुन्छ । हिउँदमा वर्षा पनि चाहिन्छ तर त्यसको जनजीवनमा पर्ने नकारात्मक असर भने न्यूनीकरण गर्नै पर्छ ।