विचार/दृष्टिकोण |

भाग्य बदल्ने अवसर

दीपकुमार उपाध्याय

राजनीतिक दललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका संवाहक मानिन्छ । यही मान्यता स्थापित गर्न दलको अवधारणा विकास भएको हो । सङ्गठित रूपले नागरिकमा जाँदा उनीहरूमा पनि दलप्रति सकारात्मक सन्देश प्रवाह हुन्छ । दलले सङ्गठनलाई नागरिकमा स्थापित गराउन महाधिवेशनमार्फत समयसापेक्ष नीति, नेतृत्व परिवर्तन र पुनर्मूल्याङ्कन गर्ने स्थापित परम्परा छ । दल र त्यसको नेतृत्व समयसापेक्ष परिवर्तन भएन भने नागरिक विश्वास गुम्दै जान्छ । बहुदलीय व्यवस्थामा त व्यक्तिभन्दा सङ्गठनको साख जोगाउन सक्नुलाई महìवपूर्ण मानिन्छ ।

नेपालको ऐतिहासिक विरासत बोकेको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको १४औँ महाधिवेशन हालै सम्पन्न भएको छ । मुलुक र मुलुकवासीको दीर्घकालीन हित, समयसापेक्ष नयाँ नीति र भावी कार्यदिशामा मौन रहे पनि महाधिवेशनले रूपान्तरण र पुस्तान्तरणको नयाँ सन्देश स्थापित गरेको छ । यो मात्र पर्याप्त होइन । राज्य निर्माणमा महìवपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक संस्था क्रमशः क्षयीकरण हुन थालेको अवस्थामा पुरानो र नेतृत्वदायी पार्टी काँग्रेसको महाधिवेशनले एउटा दिशा लिनुपथ्र्यो । संवैधानिक संस्थाहरूको सुदृढीकरणको एजेन्डासहित स्थानीय तहको निर्वाचनलाई ध्यान दिएर नागरिकको विश्वास जित्न पनि काँग्रेसले माथि उल्लिखित चार विषयमा (मुलुक र मुलुकवासीको दीर्घकालीन हित, समयसापेक्ष नयाँ नीति र भावी कार्यदिशा) छिट्टै आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ ।

सत्ताको नेतृत्वमा पनि रहेकाले सहअस्तित्व र न्यायका आधारमा राज्यलाई बलियो बनाउनुपर्ने दायित्व काँग्रेसको काँधमा छ । महाधिवेशन प्रतिनिधिले काँग्रेस विविधताबीचको एकता हो भने सन्देश विवेकसम्मत निर्णयबाट दिएका छन् । त्यसलाई बचाइराख्न पनि अब पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी नेतृत्वमा थपिएको छ । नागरिकको जीवनस्तरमा उत्साहजनक परिवर्तन ल्याउने दायित्वको कार्यभार पूरा गर्नुपर्ने दायित्व पनि सँगसँगै निर्वाह गर्नुपर्छ । यतिबेला काँग्रेसले फेरि एक पटक मुलुकलाई सहज रूपमा अघि बढाउने उत्तम बाटो देखाओस् भन्ने आम अपेक्षा छ । यही अपेक्षा पूरा गर्ने दिशामा अघि बढ्यो भने मात्र महाधिवेशनको औचित्य पुष्टि हुनेछ ।

प्रजातन्त्र स्थापनाका क्रममा काँग्रेस पटकपटक विजयी भएको छ । प्रजातन्त्र प्राप्तिपछि त्यसलाई संस्थागत गर्ने क्रममा धेरै पटक चुकेको पनि छ । विजयको सन्देश प्रवाह हुन नपाउँदै पराजयको नियति भोग्नु परेको छ । काँग्रेसको पराजयमा नागरिकका सपना मात्र हारेको छैन, मुलुकले आफ्नो पक्षमा स्वतन्त्र निर्णय लिने हैसियतसमेत गुमाएको छ । फुट र कलहले काँग्रेसको मात्र अहित भएको छैन, मुलुकलाई समेत नोक्सान पु¥याएको छ । यहाँनेर स्मरणीय छ, झन्डै दुईतिहाइ मत ल्याएका कम्युनिस्ट पनि आपसी कलहले फुटेका छन् भन्ने उदाहरण काँग्रेसको हकमा लागू हुँदैन, किनकि उनीहरूले नागरिक हित कहिल्यै चाहेनन्÷चाहँदैनन् । आफू र आफ्नाबाहेक कम्युनिस्टको प्राथमिकतामा नागरिक पर्दैनन् । आफूलाई कम्युनिस्ट भन्नेहरू अधिकार र शक्तिमा विश्वास गर्छन् । विवेक, उदारता, परोपकारजस्ता मानवीय स्वभावलाई आधार मान्दैनन् । लोकतन्त्रको सपना त धेरै परको कुरा भयो । लोकतन्त्रका नाममा नाजायज फाइदा उठाएर राज्य र पार्टीको सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्न खोज्दा केपी शर्मा ओलीको के हालत भयो ?

काँग्रेसको पहिलो प्राथमिकता राष्ट्रियताको सम्बद्र्धन र नागरिक हित हुनुपर्छ । काँग्रेस राष्ट्रवादी हो भन्ने सन्देश व्यवहारबाट देखाउनुपर्छ । सामाजिक न्यायका सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्न सक्यो भने लोकतन्त्रको भविष्य सुरक्षित हुनेछ । लोकतन्त्र संस्थागत गर्दै आम नागरिकलाई यसप्रति विश्वास दिलाई पार्टीप्रति भरोसा जगाउन सक्यो भने काँग्रेसको मात्र होइन, देशकै भविष्य उज्ज्वल छ । त्यसका लागि भागबण्डाको राजनीतिक गन्ध कोही कसैबाट पनि आउनु हँुुदैन । इतिहासको ब्याज खाने काम मात्र नगरी समुन्नत नेपालको सपना साकार पार्न पनि नेतृत्वमा नयाँ योजना, त्यसलाई कार्यान्वयन गर्ने साहस र नागरिकप्रतिको समर्पणभाव आवश्यक छ । बहुदलीय व्यवस्था साधन मात्र हो, साध्य त राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि हो भन्ने मूल मन्त्रलाई काँग्रेसले अनुशरण गर्न सक्यो भने मात्र मुलुक र नागरिकप्रति उसले न्याय गरेको ठहरिनेछ । महाधिवेशनले निर्वाचित गरेको नेतृत्व यो बाटोमा हिँड्यो भने अगाडिको यात्रा सुरक्षित पनि हुनेछ ।

सबै क्षेत्र सुधार्ने राजनीतिले नै हो । राजनीति सफा भयो भने सबै क्षेत्रमा सुधारका सङ्केत देखिन थाल्छन् । त्यसका लागि काँग्रेस आधुनिक कांँग्रेस बन्नुपर्छ । काँग्रेस मात्र आधुनिक भयो भने समाजले पनि आधुनिकीकरणको जग हाल्नेछ । महाधिवेशनले काँग्रेसको नेतृत्व अब युवा पुस्तामा रूपान्तरण भएको मात्र सन्देश दिएको छैन, पार्टीभित्र गुट तथा उपगुटको औचित्य छैन भन्ने तथ्य पनि स्थापित गरिदिएको छ । अस्थिरताको जड नै पार्टीभित्रको गुट र उपगुट हो । यो रोगबाट कांँग्रेस स्थापनाकालदेखि नै ग्रसित थियो । यो महाधिवेशनले त्यसको अन्त्य गरिदिएको छ, जुन सुखद हो । अब निर्माण गरिने नीतिले काँग्रेस र मुलुकको राजनीति मात्र होइन, आम नेपाली जनताको भाग्य बदल्ने हुनुपर्छ । दलहरूभित्रको अराजनीतिक, अनैतिक गुटबन्दीको सिकार आम नागरिक हुन नपरोस् । गुटबन्दीका कारण जनताको कार्यादेशअनुसार काम हुन नसक्दा नेकपा छिन्नभिन्न मात्र भएन, पछिल्लो तीन वर्षका कारण मुलुकको विकासक्रम धेरै पछि धकेलिएको तथ्यलाई सँगसँगै स्मरण गर्नुपर्छ ।

काँग्रेसले राजनीतिक र नैतिक संस्कार स्थापित गर्न सक्यो भने मुलुककै राजनीति सफा र सङ्ग्लो बन्न सक्छ । मुलुकको आर्थिक र सामाजिक रूपान्तरण काँग्रेस सुध्रिए मात्र सम्भव छ । किनकि दलीय गुट उपगुटको सिकार मुलुक हुनुपरेको छ । अब राजनीतिक नैतिकता, इमान र चरित्रमा सुधार आउनैपर्छ । लोकतन्त्रको मूल्य मर्यादा कायम राख्ने हो भने महाधिवेशनबाट जित्नेहरू सबैको अभिभावक हुनुपर्छ भने हार्नेले सहयोग गर्नुपर्छ । कुँडिएका र भाँचिएका मन र मतलाई एकीकृत गर्नुपर्छ । नेतृत्वले कसैलाई अन्याय गरेन र क्षमताअनुसार जिम्मेवारी दियो भने गुट–उपगुटको राजनीति स्वतः अन्त्य हुनेछ । त्यसले भाँचिएका लोकतान्त्रिक मन मात्र होइन, कुँडिएको विभाजित मत पनि आफ्नो पक्षमा आउने छ ।

राष्ट्रिय शक्तिको मेलमिलापले मुलुकमा अकल्पनीय परिवर्तन भए । परिवर्तन संस्थागत हुने बेला त्यही राष्ट्रिय शक्ति छिन्नभिन्न हुँदा अरूले हेप्ने मौका पाए । दलीय नेतालाई बाहिरी शक्तिले आफू अनुकूल प्रयोग गरे । जसको बेफाइदा हामीलाई भयो । बाहिरी सल्लाहमा आफू गल्ती गर्ने दोष अरूलाई थोपर्ने नेतृत्वको चरित्रमा सुधार आउनैपर्छ । फेरि एक पटक राष्ट्रिय चरित्रको निर्माण हुनुपर्छ । राष्ट्रिय मुद्दामा एउटै स्वर गरेर अघि बढ्यौँ भने हामीलाई कसैले पनि हेप्न सक्दैन ।

ज्यान मुद्दाको पर्वाह नगरी राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएपछिको परिणाम थियो जनमत सङ्ग्रह । जनमत सङ्ग्रहमा पराजित भए पनि बीपीले ससम्मान स्वीकार गर्नुभयो । त्यो लोकतान्त्रिक मान्यताको चरित्र थियो । सुधारको थालनी आफूबाटै हुनुपर्छ अनि मात्र अरूलाई सुध्रन कर लाग्छ भन्ने उहाँको सन्देशकै कारण जनमत काँग्रेसको पक्षमा उर्लिएको थियो । जसले २०४६ को परिवर्तन सम्भव भएको हो ।

नयाँ नेतृत्व र युवा पुस्ताले यसलाई कसरी लिन्छ, त्यसको अर्थ हुनेछ । नारामा रूपान्तरण भनिएको छ तर त्यो रूपान्तरणलाई कुन अर्थमा प्रयोग गरिन्छ भन्ने चुनौती पनि त्यत्तिकै गम्भीर छ । रूपान्तरणको अर्थ नैतिक मूल्यमान्यता र निष्ठाको विजय हुनुपर्छ भन्ने हो । राजनीति भनेको बेइमानी र तत्कालको फाइदा होइन भन्ने सन्देश स्थापित गर्नु आवश्यक छ । स्वार्थ, अराष्ट्रिय सोच र भ्रष्टाचारको जञ्जालबाट मुलुकलाई बाहिर निकाल्न काँग्रेस अग्रसर हुनैपर्छ । विदेशिन चाहने युवालाई स्वदेशमै रोक्ने र विदेशिएका युवालाई स्वदेश फर्काउनेबारे काँग्रेसको स्पष्ट दृष्टिकोणको खाँचो छ । युवाले आर्जन गरेको शिक्षा, ज्ञान, श्रम र सीप स्वदेशमा उपयोग गर्न कस्तो नीति बनाउने र युवालाई स्वदेशमै कसरी खुसी बनाउने भन्नेबारे मात्र स्पष्ट हुन सकियो भने भावी पुस्तालाई काँग्रेसका नाममा राजनीति गर्न सहज हुनेछ ।