विचार/दृष्टिकोण |

मेलमिलाप नीतिमै राष्ट्रको भविष्य (सम्पादकीय)

नेपाली राजनीतिमा अग्लो कदका व्यक्तित्व बीपी कोइरालाका प्रत्येक राजनीतिक अभिव्यक्ति तथा क्रियाकलाप दूरगामी महìवले भरिपूर्ण भएको विश्लेषण हुने गरेको छ । बीपीले नेपालमा मात्रै नभई एसियामा नै निकै दूरदर्शी नेताका परिचय बनाउनुभएको थियो । जस्तोसुकै कष्ट, यातना, जेलजीवन, झुटा मुद्दा निर्वासन भोग्नु परे पनि बीपी आफ्नो राजनीतिक अडानबाट कहिल्यै विचलित नभएको देखिन्छ । राष्ट्रिय स्वार्थ र सम्झौताविहीन राजनीति उहाँका विशेषता हुने गरेका छन् । त्यसैले फरक राजनीतिक विचारधारा बोकेका व्यक्तिले समेत बीपीलाई श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन् । काँग्रेसका नेता तथा कार्यकर्ताका लागि त बीपीलाई राजनीतिका आदर्श व्यक्तित्व नै मान्नु स्वाभाविक छ ।

बीपीले आफ्नो चार दशकभन्दा लामो राजनीतिक जीवनमा जति राजनीतिक निर्णय लिनुभयो, ती सबैमा नेपाल राष्ट्र तथा नेपाली जनतालाई नै केन्द्रबिन्दुमा राख्नुभयो । बीपीको राजनीतिक जीवनका धेरै निर्णयमध्ये राष्ट्रिय मेलमिलापको नीतिलाई यस्तै महìवपूर्ण र निकै दूरगामी निर्णयका रूपमा लिइन्छ । बीपी २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभयो । तत्कालीन भारतीय पक्षले बीपीलाई अन्तिम अवस्थामा स्वदेश फर्कनबाट रोक्ने प्रयास गरेको थियो । बीपीका समकालीन नेताहरू सुवर्णशमशेर, गणेशमान सिंह बीपीको त्यस राजनीतिक एवं रणनीतिक कदमकै फलस्वरूप नेपालको अक्षुण्णतामा कुनै आँच आएन । त्यति मात्रै होइन, नेपालको अस्तित्व एवं सार्वभौममा कुनै राष्ट्रसँग सम्झौता गर्नुपर्ने अवस्था सिर्जना भएन । विदेशी भूमिमा कसैसित सम्झौता गर्नुभन्दा स्वदेशबाट नै प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने नीति नै बीपीले तय गर्नुभयो । वि.सं. २०१७ पुस १ गते मुलुककै पहिलो जननिर्वाचित सरकार अपदस्थ गरिएपछि मुलुकभित्र असहज परिस्थिति उत्पन्न भएको थियो । बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरू आठ वर्ष सुन्दरीजलमा बन्दीका रूपमा बिताउनुभयो ।

देशविदेशको दबाबका कारण बीपीले वि.सं. २०२५ साल कात्तिकमा बन्दी जीवनबाट त छुटकारा पाउनुभयो तर उहाँले खोजेजस्तो राजनीतिक व्यवस्था देशभित्र भएन । त्यसपछि निर्वासनमा जान बाध्य पारियो तर भारत निर्वासन सहज भएन । बीपीमाथि तत्कालीन भारतीय पक्षले दोधारे र छलकपटपूर्ण नीति लियो । बीपीलाई भारतमा समेत स्वतन्त्र रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्न दिइएन । हिँडडुलमा समेत सीमा निर्धारण गरियो । आठ वर्षको निर्वासनमा बीपीले यी तथ्य प्रत्यक्ष रूपमा महसुस गर्नुभयो, स्वदेश फर्किने योजना बनाउन थाल्नुभयो । विदेशी भूमिमा यसरी निर्वासित हुनुभन्दा मेलमिलापको नीति नै उहाँको प्राथमिकतामा रह्यो । बीपी नेपाल फर्केको दिन उहाँको भावी राजनीतिक जीवन मात्रै होइन, जि६उज्यानको समेत खतरा थियो । बीपीमाथि मृत्युदण्डको माग चर्को रूपमा उठेको थियो । राजासित सम्बन्ध सुमधुर थिएन । यस्तो अवस्थामा दीर्घकालीन रूपमा प्रजातन्त्रका लागि हुन सक्ने लाभलाई दृष्टिगत गरेर स्वदेश फर्किएको बीपीको अडान विचलित भएन ।

बीपी फर्किएको पुस १६ को दिनलाई नेपाली काँग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ । बीपीले यो नीति अख्तियार गरेको साढे चार दशक भयो, बीपीको निधन भएकै ३९ वर्ष भइसक्यो तर पनि राष्ट्रिय राजनीतिमा मेलमिलाप दिवसलाई एक ऐतिहासिक दिनका रूपमा स्मरण गर्ने गरिन्छ । बीपीले अख्तियार गरेको यही मेलमिलापको नीतिको जगमा टेकेर २०३६ सालको जनमत सङ्ग्रह मात्रै होइन, २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना सम्भव भयो । २०४६ सालको परिवर्तनको जगमा टेकेर मुलुक यतिबेला सङ्घीय लोकतान्त्रिक गणतान्त्रिकको यात्रामा छ । बीपीको मेलमिलाप नीतिको जगमा उभिएको नयाँ राजनीतिक व्यवस्थाको रक्षा गर्नु अहिलेको पुस्ताको आवश्यकता हो । मेलमिलाप नीति काँग्रेसको कुनै नीति, कार्यक्रम, योजना होइन, बीपीकै भाषामा यो मुलुकको दीर्घकालीन हितका लागि हेरेर लिइएको राजनीतिक निर्णय हो । यही मेलमिलापको नीतिका आधारमा राष्ट्रिय एकता कायम गरेर राष्ट्र विकासका लागि उपयोग गरिनुपर्दछ । एकतामा नै शक्ति हुन्छ । बीपीले मेलमिलापको नीति अख्तियार गरेको र यतिबेलाको राजनीतिक परिस्थिति फरक भए पनि मुलुकको समृद्ध भविष्य निर्माणका लागि अहिले पनि एकता, सहकार्य र मेलमिलापको खाँचो टरेको छैन ।