दूधको जोहोबारे सोचौँ (सम्पादकीय)
विगतमा दूधको उत्पादन चक्रलाई विश्लेषण गर्दा असोजदेखि माघसम्म दूध उत्पादनमा वृद्धि तथा फागुनदेखि भदौसम्म कम उत्पादन हुने समयका रूपमा लिइन्छ । फलतः दूध बढी उत्पादन हुने अर्थात् फल्स सिजनमा मिल्क होलिडेको अवस्थाले गर्दा किसानबाट सडकमा दूध पोखेको दृश्यहरू समेत देखिन्थ्यो । आफ्नो उत्पादनले बजार नपाएको झोक किसानले सडकमा दूध पोखेर गर्ने गर्दथे । दूधको माग र आपूर्तिको सन्तुलनका निम्ति दूध उत्पादन बढी हुने समय फल्स सिजनमा बढी दूध सङ्ग्रह गरेर मिल्क कन्भर्जन अर्थात् दूधलाई धुलो दूधलगायतका अन्य दुग्ध पदार्थमा प्रयोग गर्न सकिने गरेर जोहो गरिन्थ्यो । पछि यसै धुलो दूधलाई फागुनदेखि भदौसम्म कम उत्पादन हुने सुक्खा याम (लिनसिजन) मा प्रयोग गरिन्थ्यो ।
तर अहिले स्थितिमा केही फरक देखिएको छ । दूध उत्पादन बढी हुने यो समयमा समेत सरकारीलगायत अन्य डेरी कम्पनीलाई दूध अभावको समस्याले सताउन थालेको खबर सार्वजनिक भएको छ । अहिले प्रायः सबै डेरी कम्पनीको दुग्ध पदार्थ सङ्कलन तथा मौज्दात अवस्थामा समस्या सिर्जना भएको छ । विगतका वर्षको यही समयमा सरकारी कम्पनी दुग्ध विकास संस्था (डीडीसी) ले मात्र दिनहुँ झन्डै दुई लाख लिटर दूध सङ्कलन गरेर एक लाख लिटर दूध बजारमा पु-याउँथ्यो र बाँकी दूधलाई धुलो दूध बनाएर लिन सिजनमा प्रयोगका लागि राखिन्थ्यो । अहिलेको आँकडाअनुसार, डीडीसीले दैनिक एक लाख तीस हजार लिटर जति दूध सङ्कलन गरिरहेको छ । जसबाट सहज रूपमा दैनिक आपूर्ति सम्भव भए पनि भोलि लिन सिजनका लागि दूधको मौज्दात हुन सकिरहेको अवस्था देखिँदैन । मुलुकको दुग्ध बजारको मुख्य साझेदार डीडीसीकै यस्तो अवस्था सार्वजनिक भएबाट अन्य निजी कम्पनीको अवस्था सहजै अनुमान गर्न सकिन्छ । परिणाम आउँदो सुक्खा याममा बजारमा दूधलगायत अन्य दुग्ध पदार्थको अभाव अवश्यम्भावी देखिएको छ ।
लिन सिजनको तयारीका सन्दर्भमा डीडीसीद्वारा विगतमा दैनिक ७० देखि ८० हजार लिटर दूध कन्भर्जनका लागि व्यवस्था गरिन्थ्यो ।
साथै यस्तै नीति निजी डेरीहरूको पनि थियो । जसको परिणामस्वरूप आम उपभोक्ताका भान्छामा पाउडर गन्हाउने नै भए पनि दूधको आपूर्ति सम्भव भइरहेको थियो तर अहिलेको अवस्था यस्तो रहेन । हाल दैनिक २० देखि ३० हजार लिटर दूधको कन्भर्जन गरिँदा तयार हुने तीन हजार किलो धुलो दूध, दही र आइसक्रिम बनाउनकै लागि आवश्यक आँकडा छ । विगतमा लिन सिजनका लागि डीडीसीसँग मात्र ११ लाख किलो धुलो मौज्दात रहने गरेको तथ्याङ्क छ तर वर्तमान यो मौज्दात लगभग शून्यमा झरेको छ । यसबाट आउँदा दिनमा बजारमा दूध तथा दुग्ध पदार्थको अभाव टड्कारो रूपमा देखिनेछ । यो अवस्थाबाट तत्काल मुक्ति पाउन दुग्ध विकास बोर्डलगायतका सरोकारवाला निकायको जिम्मेवारपूर्ण भूमिका महìवपूर्ण हुन आउँछ । अन्यथा आउँदो गर्मी याममा बालक, वृद्ध, युवा सबैको महìवपूर्ण आहार मानिने दूधका साथै दही, मही, घिउ, आइसक्रिमलगायतका दुग्धजन्य पदार्थ अभाव टार्न निकै जटिल हुने देखिन्छ ।
मुख्यतया कोरोनाका कारण पशुपालनमा परेको प्रतिकूल प्रभावकै फलस्वरूप दूध आपूर्तिमा समस्या देखापरिरहेको विज्ञहरूको भनाइलाई निजी डेरी सञ्चालकहरूले समेत अन्यत्र मुलुकबाट दैनिक एक लाख लिटर दूध आयात गर्न पाउनुपर्ने माग राखेबाट बल पुगेको अवस्था छ । आम जनताका दैनिक उपभोग्य वस्तुमा सरकारी तथा निजी क्षेत्रबीच समन्वय देखिनुपर्नेमा दुवै क्षेत्रका परस्पर विरोधाभासपूर्ण टिप्पणी आउनु दुग्र्भाग्यपूर्ण हो । दूध अभावकै विषयमा सरकारी संस्थालगायत निजी कम्पनीहरूका आवाज बाहिर आउँदा सम्बद्ध सरकारी निकायका मुलुकमा दूध उत्पादनमा कुनै कमी नआएको जानकारी सार्वजनिक भएबाट सरकारी र निजी क्षेत्रको भनाइमा तादम्यताको अभाव स्पष्ट हुन्छ । तसर्थ सबै याममा दूधजस्तो अत्यावश्यकीय खाद्य पदार्थको सहज एवं सुलभ आपूर्तिका निम्ति सरकारी र निजी क्षेत्र दुवैको जिम्मेवारपूर्ण भूमिका अत्यावश्यक देखिन्छ । दूधको सम्भावित अभावलाई टार्न के कस्तो रणनीति बनाउन सकिन्छ भन्ने विषयमा अहिलेसम्म सरोकारवालाको ध्यान जान सकेको देखिँदैन । समय छँदै दूधको उत्पादन कसरी बढाउन के गर्न सकिन्छ भन्ने विषयमा सोच बनाउन सके समस्या समाधानमा टेवा पुग्ने थियो ।