चालू खाता घाटा कम गर्ने उपाय
रामेश्वरी पन्त
अन्तर्राष्ट्रिय मुद्रा कोषको छैटौँ संशोधित निर्देशिकाले परिभाषित गरेअनुसार शोधनान्तर भन्नाले कुनै देशका बासिन्दा र गैरबासिन्दाबीच कुनै निश्चित अवधिमा भएको कारोबारको तथ्याङ्कीय मौद्रिक विवरण हो । साधारणतया यस अर्थमा कुनै देशका बासिन्दा भन्नाले सरकार, घरपरिवार र संस्था भन्ने बुझिन्छ । यसैगरी गैरबासिन्दा भन्नाले अन्य देशको सरकार, सङ्घ, संस्था र घरपरिवारलाई नै बुझिन्छ । कोषले कसलाई बासिन्दा मान्ने र कसलाई गैरबासिन्दा मान्ने भन्ने सम्बन्धमा निर्देशिकामा विस्तृत व्याख्या गरेको छ । यसले कारोबारको प्रयोजनका आधारमा चालू खाता, पुँजी खाता र वित्तीय खातामा विभाजन गरेको छ । यी विभिन्न खातामा देशभित्र कति विदेशी मुद्रा प्राप्त हुन्छ र देशबाट कति विदेशी मुद्रा बाहिरिन्छ भन्ने तथ्याङ्कले देशको शोधनान्तर स्थिति बचतमा छ वा घाटामा छ भन्ने थाहा हुन्छ ।
नेपाल राष्ट्र बैङ्कले प्रत्येक महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशन गर्ने गरेको छ । यसैअनुसार आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कअनुसार देशको शोधनान्तर स्थिति एक अर्ब २३ करोडले बचतमा रहेको थियो । यद्यपि यसै अवधिमा चालू खाता भने ३३३ अर्ब ६७ करोडले घाटामा थियो । आ.व. २०७८÷७९ को पहिलो महिनामा अर्थात् साउन महिनामा चालू खाता रु. ४७ अर्ब ९० करोडले घाटामा रहेको छ । यसै अवधिमा शोधनान्तर स्थिति पनि ३८ अर्ब ७५ करोडले घाटामा रहेको छ ।
दोस्रो महिनामा चालू खाता १०६ अर्ब ७५ करोडले घाटामा छ भने शोधनान्तर स्थिति पनि ८३ अर्ब ४१ करोडले घाटामा छ । तेस्रो महिना अर्थात् असोज महिनामा पनि चालू खाता १५१ अर्ब ७० करोडले घाटामा छ । शोधनान्तर स्थिति पनि ७६ अर्ब १४ करोडले घाटामा छ । चौथो महिना अर्थात् कात्तिक महिनामा चालू खाता २२३ अर्ब १९ करोडले घाटामा छ भने शोधनान्तर स्थिति पनि १५० अर्ब ३८ करोडले घाटामा छ । यसरी प्रत्येक महिनामा चालू खातालगायत शोधनान्तर स्थितिमा घाटा बढ्दै गइरहेको छ ।
अघिल्लोे वर्षको यसै अवधिमा यी सबै बचतमा थिए । आर्थिक वर्ष २०७७/७८ को आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ भनी बैङ्कले उल्लेख गरेको थियो । आर्थिक वर्ष २०७८÷७९ को चार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यसलाई सन्तोषजनक नै मान्न सकिने भए पनि लगातार विदेशी मुद्रा सञ्चिति बढ्दो रूपमा घट्दै जाने अवस्थालाई भने चिन्ताजनक मान्न सकिन्छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको परम्परागत नियमअनुसार तीन महिनाको अवधिका लागि आयात गर्न पुग्ने अथवा अल्पकालीन ऋणको १०० प्रतिशतसम्म विदेशी मुद्रा सञ्चिति भएमा सुविधाजनक मानिन्छ । उदीयमान अर्थव्यवस्थाका लागि भने करिब छ महिना अवधिका लागि आयात गर्न पुग्ने अथवा अल्पकालीन ऋणको २०० प्रतिशतसम्म विदेशी मुद्रा सञ्चिति भएमा सुविधाजनक मानिन्छ । उदीयमान देश भन्नाले विकासशील अवस्थाबाट विकसित हुँदै त्यस्ता देशलाई भनिन्छ, जसले विश्व व्यापारमा प्रभाव वढाउँदै गइरहेका र विकसित देशकै गतिमा विकास गरिरहेका हुन्छन् । अर्थात् विश्व अर्थव्यवस्थामा प्रभाव बढाउँदै गइरहेका हुन्छन् । हाम्रा छिमेकी देश चीन र भारत उदीयमान अर्थव्यवस्थाका नमुना हुन् ।
चालू खाता कारोबार
शोधनान्तर तथ्याङ्कमा चालू खातालाई सबैभन्दा महìवपूर्ण परिसूचकका रूपमा हेरिन्छ । यसले देशको प्रमुख आर्थिक गतिविधिलाई समेट्छ र यसमा प्रस्तुत गरिएको शीर्षककोे कारोबारबाट प्राप्त रकम वर्तमान समयमा नै उपभोग गर्न सकिने हुन्छ । जसरी बैङ्क तथा वित्तीय संस्थाको चालू खातामा रहेको रकम सजिलै उपभोग गर्न सकिन्छ, यो पनि करिब त्यस्तै नै हो । यसमा देशको वैदेशिक व्यापार, सेवा क्षेत्र, आय र स्थानान्तरण (ट्रान्सफर)बाट प्राप्त हुने विदेशी मुद्रा र यिनै शीर्षकमा देशबाट बाहिरिने विदेशी मुद्रा कारोबारको रकम उल्लेख गरिएको हुन्छ । वैदेशिक व्यापारअन्तर्गत देशबाट भएको वस्तु निर्यात र वस्तु आयातको कारोबारको रकम उल्लेख भएको हुन्छ भने सेवाअन्तर्गत यातायात सेवा, भ्रमण सेवा (शिक्षा, स्वास्थ, पर्यटन, तीर्थयात्री), सञ्चार सेवा, निर्माण सेवा, बीमा, वित्तीय सेवा, कम्प्युटर र सूचना सेवा, रोयल्टी र लाइसेन्स शुल्क, सांस्कृतिक तथा मनोरञ्जन सेवा र सरकारी सेवा (दूतावास खर्च) इत्यादि पर्छन् । आय शीर्षकअन्तर्गत गैरबासिन्दा कामदारलाई दिएको ज्याला र त्यसैअन्तर्गत प्राप्त गरेको ज्याला, लगानीबाट प्राप्त आम्दानी, सरकारलाई प्राप्त भएको विदेशी अनुदान, व्यक्तिगत स्थानान्तरण ( विप्रेषण) पेन्सन, अन्य अन्तर्राष्ट्रिय अनुदान पर्छन् ।
सिद्धान्ततः चालू खाता सन्तुलनमा अर्थात शून्य हुनुपर्छ तर यो असम्भव नै हुन्छ । यसैले यो बचतमा वा घाटामा हुन्छ । बचत हुनु भनेको अन्तर्राष्ट्रिय क्षेत्रमा देशबाट वस्तु र सेवा प्रवाह गरिरहेको र त्यसको बदलामा विदेशी मुद्रा प्राप्त गरिरहेको भन्ने जानकारी पाउन सकिन्छ । घाटामा भएको समयमा भने अरू देशबाट आफूलाई साधन प्राप्त भइरहेको र त्यसको बदलामा विदेशी मुद्रा खर्च गर्नु परेको भन्ने जानकारी पाउन सकिन्छ । विशेषगरी विकासशील देशका लागि चालू खाता घाटा चिन्ताको विषय बन्छ । यद्यपि चालू खाता घाटामा भए पनि पुँजी खाता र वित्तीय खाता बचतमा भएमा शोधनान्तर स्थिति बचतमा देखिन सक्छ । आव २०७७÷७८ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालू खाता घाटामा भए पनि पुँजीगत ट्रान्सफर र खुद प्रत्यक्ष वैदेशिक लगानीमा थोरै मात्र भएकोे वृद्धिले गर्दा पनि शोधनान्तर स्थिति बचतमा थियो । एक आर्थिक वर्षमा एक–दुई महिना चालू खाता घाटामा हुनु र अर्को महिना बचतमा हुनुलाई सामान्य नै मान्न सकिन्छ । विगत महिनामा जस्तो लगातार घाटामा रहने, त्यो पनि बढ्दो रूपमा रहने अवस्थालाई भने चिन्ताको विषय मानिन्छ ।
चालू खाता घाटामा सुधार ल्याउन यसलाई घाटामा ल्याउने शीर्षक र ती शीर्षकमा सुधार गर्नु हो । बचतमा ल्याउन सक्ने उपाय भनेका निर्यात बढाउने, आयात घटाउने, पर्यटक आगमन र उनीहरूले गर्ने खर्चमा वृद्धि ल्याउने र विप्रेषणको रकमलाई बैङ्किङ प्रणालीमार्फत ल्याउने र त्यसलाई बैङ्क तथा वित्तीय संस्थामा जम्मा गर्न लगाउनुपर्छ । निर्यात बढाउन निर्यातयोग्य वस्तु तथा सेवाको उत्पादन बढाउने मात्र नभई ती वस्तु र सेवा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी पनि हुनुपर्छ । जस्तो चीनबाट उत्पादित वस्तु र सेवा सस्तो हुँदा सारा विश्वभर चीनबाट उत्पादित वस्तुको बाहुल्यता हुन्छ । वस्तु र सेवा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तरमा सुधार गर्नुका साथै विनिमय दरमा अवमूल्यन गर्नुपर्छ, जसले गर्दा निर्यात गरिने वस्तु र सेवा सस्तो पर्ने र
आयात महँगो पर्छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाली रुपियाँको भारतीय रुपियासँग स्थिर विनिमय दर तोकिएकाले भारतीय रुपियाँको अवमूल्यन वा पुनर्मूल्यनका आधारमा नेपाली रुपियाँको पनि अवमूल्यन वा पुनर्मूल्यन हुन्छ । आयात गरिने वस्तु तथा सेवा महँगो बनाई उपभोग घटाउन सरकारले कसिलो वित्त नीति अपनाउनुपर्छ । आयात गरिने वस्तुमा कर बढाउनुपर्छ । निर्यात बढाउन सरकारले स्वदेशी उद्योगको उत्पादन बढाउन कच्चा पदार्थको आयातमा कर छुटसहित सहुलियत दिनुपर्छ । विदेशी मुद्रा सञ्चिति लगातार घट्ने क्रम देखा परेपछि र शोधनान्तर स्थिति लगातार घाटामा जान थालेपछि नेपाल राष्ट्र बैङ्कले हालै विलासी वस्तुको आयात निरुत्साहित गर्न ती वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राखेर एलसी खोल्नुपर्ने निर्देशन जारी गरेको छ । नेपाल र भारतबीच खुला सिमानाका कारणले गर्दा र वस्तु र सेवाको निर्वाध आवागमन हुने भएकाले अर्को बाटोबाट आउने सम्भावना केही मात्रामा भए पनि रहन्छ ।
चालू खाता बचतमा राख्न सहयोग गर्ने प्रमुख आधार भनेको पर्यटक आगमन र विप्रेषण हो । कोभिड–१९ को कारणले गर्दा पर्यटक आगमनमा कमी आएकाले पर्यटनबाट प्राप्त हुने विदेशी मुद्रा घटेको छ । यसका साथै विप्रेषण आप्रवाह घटेको छ । अघिल्लो वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ९५.७ प्रतिशतले घटेकोमा यो वर्ष उल्लेख्य वृद्धि भएको छ । अर्को वर्ष विप्रेषणबाट प्राप्त हुने रकम भने बढ्न सक्ने देखिन्छ । यसको चुहावट भने रोक्नुपर्छ ।