विचार/दृष्टिकोण |

पत्रकारितामा सामाजिकीकरण

डा. कुन्दन अर्याल
मिडिया अध्ययन अथवा मिडियाको अभ्यास र सिद्धान्तका विषयमा धेरैजसो चर्चा हुने गरेको शीर्षक भनेको मिडियाको प्रभाव नै हो । विश्व परिवेशमा खासगरी उन्नाइसौँ शताब्दीको मध्यपछि आम रूपमा वितरण हुने अखबारको उदय सँगसँगै शासकहरू वा त्यसबेलाका सम्भ्रान्त वर्गमा ठहरिने सीमित तर शक्तिशाली समूहमा रोष, ईष्र्या जागेको थियो । त्यो बेला मिडिया क्षितिजमा अखबार मात्र थिए । ती अखबारलाई समाजको मूल्य र मान्यता भत्काउने वा आम मानिसलाई सांस्कृतिक रूपमा च्यूत गराउने नयाँ साधनका रूपमा समेत चित्रण गर्न खोजिएको थियो । त्यस्तो हुनुको कारण समाजमा मिडिया वा त्यसबेलाका अखबारले क्रमशः सामाजिक संस्थाका रूपमा प्रभाव विस्तार गर्न थाल्नु नै थियो । अर्थात् मिडियाको प्रभावसँग शक्तिमा रहनेहरू डराउन थालेपछि त्यस्ता अभिव्यक्ति स्वतन्त्रताविरोधी तर्क अघि सारिएका थिए ।

समयक्रममा मिडियाको सामाजिक उत्तरदायित्वसहितका व्यावसायिक मूल्य–मान्यता र आम रूपमा तदनुकूलको अभ्यासले त्यस्ता तर्कलाई परास्त गरेको थियो । युरोप र अमेरिकामा त्यो चरण निकै पहिले आयो, नेपालजस्ता देशमा पछि । संसारका सबैजसो भूभागमा आमसञ्चारका आयाममा पनि समाज विकासको क्रम उस्तैउस्तै देखिन्छ । मिडियाका तत्कालीन, दीर्घकालीन वा योजनाबद्ध र योजनाविहीन प्रभावका बारेमा संसारका धेरै समाजमा अध्ययन भएका छन् । मिडियाको अपेक्षित प्रभावका सम्बन्धमा पनि धेरै छलफल चल्ने गरेको छ । मिडियामार्फत समुदायमा अपेक्षित प्रभाव सिर्जना गर्न कैयन् सैद्धान्तिक अवधारणा विकसित भएका छन् । विश्व शान्ति, विकास र समझदारी अभिवृद्धिका लागि मिडिया प्रभावको महìवका बारेमा पनि विमर्श हुँदै आएका छन् । तैपनि कतिपय बेला मिडियामा समाजमा घातक असर पर्ने वा व्यक्तिलाई हानि हुने किसिमका सामग्री पनि देखिन्छन् । कुनै सामग्री किन त्यसरी प्रस्तुत भयो भन्ने बुझ्न मिडियाकर्मीको सामाजिकीकरणका सम्बन्धमा समेत थाहा पाउनु जरुरी हुन्छ ।

मिडियालाई समाजको दर्पण मान्ने आदर्शवादी धार सँगसँगै मिडियाका अन्तर्वस्तुको आधार मूलतः समाजिक संरचना र शक्ति सम्बन्धको स्वरूप नै हो भन्ने आलोचनात्मक धारमा पनि अध्ययन भइरहेका छन् । यस धारका अध्येता मिडियाले सधैँ समाजको यथार्थलाई ऐनाजस्तै गरी जस्ताको त्यस्तै चित्रण गर्दैन भन्ने ठान्दछन् । त्यस्तो अवस्थामा पत्रकार आफ्नो नियमित कार्यतालिका अनि तर्क, सामाजिकीकरण र विज्ञापनदाताका साथसाथै दबाब समूहको समेत प्रभावमा परेर मिडियालाई दर्पणका रूपमा कायम राख्न असमर्थ हुने गर्दछन् । आलोचनात्मक धारका अध्येता मिडियाका केही अन्तरनिहित समस्या छन् भन्ने ठहर गर्दछन् र कुनै पनि सामग्री सञ्चालक, स्रोत–साधनका नियन्त्रकका साथसाथै पत्रकारको दृष्टिकोण वा आग्रह–पूर्वाग्रहबाट अछुतो रहन नसक्ने निष्कर्ष निकाल्छन् ।

सन् पचासको दशकमा प्रकाशित अति चर्चित अवधारणा प्रेसका चार सिद्धान्तमा सबैभन्दा पहिले त्यति विस्तारका साथ राजनीतिक प्रणाली र मिडिया प्रणालीबीचको अन्तरसम्बन्धका बारेमा गरिएको अध्ययनको ठहर प्रस्तुत गरिएको थियो । त्यसमा अघि सारिएको मान्यताअनुसार संसारका प्रमुख मिडिया प्रणालीमा अधिनायकवादी, तत्कालीन सोभियत सङ्घको जस्तो नियन्त्रणमुखी, स्वच्छन्दतावादी वा सामाजिक उत्तरदायित्वको सिद्धान्तमा आधारित आमसञ्चार प्रणाली नै पर्दछन् । विकासोन्मुख देशमा समेत स्थलगत अध्ययन गर्ने अमेरिकी सञ्चारविज्ञ विल्वर श्राम र साथीहरूको अध्ययनको सार थियो, कुनै पनि राजनीतिक प्रणालीले आमसञ्चार प्रणालीलाई आफू अनुकूल आकार प्रदान गर्दछ । उनीहरूले सँगसँगै के पनि ठहर गरेका थिए भने एउटै किसिमको राजनीतिक प्रणालीको पनि समाजअनुसार अभ्यास गरिएको देखिन्छ ।

आज संसारभरिका आमसञ्चार प्रणालीको ससर्ती अवलोकन गर्ने हो भने एउटै खालको शासन व्यवस्था भएका देशमा पनि मिडियाका सम्बन्धमा फरक–फरक अभ्यास गरिएको पाइन्छ । त्यसैले कुनै पनि समाजमा पत्रकारले निर्वाह गर्ने व्यावसायिक दायित्व मिडियाले आत्मसात् गर्ने दर्शन, राजनीतिक सिद्धान्त सँगसँगै व्यक्तिगत सामाजिकीकरणबाट पनि प्रभावित हुने गर्दछ ।

घटनास्थल वा कुनै पनि सामग्रीको सुरुवातको बिन्दुदेखि अन्तिम चरणको सम्पादनको क्रमसम्मै पत्रकार सन्देशका द्वारपाले हुन् । विषय वा घटना समाचारयोग्य छ कि छैन भन्ने निधो गरेर स्वीकार वा अस्वीकार गर्नेदेखि लिएर सम्पादनका क्रममा काँटछाँट गर्नेसम्मको अधिकार प्रयोग गर्दा कुनै पनि पत्रकार एउटा व्यक्तिका रूपमा पनि कार्यरत हुन्छ । त्यो व्यक्तिको संस्कार, संस्कृति र सामाजिकीकरणको आधार हुन्छ । त्यसैले व्यक्तिको सामाजिकीकरणको प्रभाव सामग्रीमा पर्दछ । कुनै विषयवस्तु वा घटना छनोटमा किन पर्दछ र कुनै अस्वीकृत किन हुन्छ भन्ने प्रश्नको जवाफमा सामान्यतः व्यावसायिक मूल्य–मान्यता र समाचारीय मूल्य वा समाचार बन्ने योग्यता नै हो भन्ने पाइन्छ तर एक पत्रकारको सामाजिकीकरणको प्रभावलाई पनि कम आँक्न सकिँदैन ।

समाज र मिडिया वा सांस्कृतिक उत्पादनका प्रमुख वाहकबीचको अन्तरसम्बन्धमा समाचार वा अन्य सामग्रीको प्रशोधन वा तयारी गर्ने लेखक र पत्रकारको सोच वा दृष्टिकोण झल्किन्छ । यो यथार्थ आत्मसात् गरेमा मिडिया साक्षरता भनेको के हो, धेरै हदसम्म बुझ्न सकिन्छ । समाचार वा अन्य सामग्री कस्तो परिचय स्थापित गरेको मिडियाबाट प्रसार भएको छ वा तयार गर्ने व्यक्ति को हो भन्ने बुझेर त्यसको सन्देश विश्लेषण गर्ने क्षमता विकास गर्नु नै आमसञ्चार साक्षरता हो । समग्रमा आमसञ्चारको समाजशास्त्रको जानकारी राख्न खोज्ने हो भने पनि यसका वाहकको सांस्कृतिक, वैचारिक वा व्यावसायिक पक्षको पनि समीक्षा गर्न जरुरी हुन्छ ।

पत्रकार वा सम्पादनमा संलग्न हुने मिडियाकर्मीको सामाजिकीकरणको प्रसङ्गमा व्यावसायिक रूपमा उनीहरूको सामाजिकीकरण र व्यक्तिका रूपमा उनीहरूको रुचि वा दृष्टिकोणको चर्चा गर्नुपर्ने हुन्छ । औपचारिक वा अनौपचारिक पत्रकारिता शिक्षा वा कलेजका पाठ्यक्रम वा अल्पकालीन व्यावसायिक तालिम पत्रकारको व्यावसायिकताको परिधिभित्रका सामाजिकीकरणका प्रक्रिया हुन् । सामाजिकीकरणका दिशामा व्यावसायिक पत्रकारका लागि सबैभन्दा महìवपूर्ण स्थल भनेको कार्यथलो नै हो । व्यावसायिक मूल्य र मान्यताको कुरा गर्ने हो भने समाचार वा अन्य सामग्रीको प्रतिनिधित्व गराउने क्रममा पत्रकारले सामान्यतया जनताको नजरमा कुन विषय, व्यक्ति वा घटना समाचारयोग्य छन् भन्ने हेर्नुपर्दछ । त्यही आधारमा समाचार वा अन्य सामग्री तयार हुनु व्यावसायिक मापदण्डको पालना गरिनु हो । त्यसरी हेर्दा समयबद्धता, आकार वा प्राथमिकता जस्ता विषयमा मिडियाका तर्क तय भएका हुन्छन् । मिडियाका सञ्चालक आफ्ना अवाञ्छित स्वार्थ पूरा गर्न अग्रसर भएका बेला वा जनताको पृष्ठपोषणउपर ध्यान नदिइएका बेला समाचारको योग्यतासम्बन्धी व्यावसायिक आधार लत्याइन्छन् । त्यस्तो बेला सकारात्मक र व्यावसायिक सामाजिकीकरणभन्दा पनि जनसम्पर्क वा स्वार्थका आधार बलियो बन्न पुग्दछन् ।

संसारमा हरेक दिन वा हरेक क्षणका यावत् घटना वा विषय समाचार बन्दैनन्, सबै घटना वा प्रवृत्ति मिडियाका सामग्री पनि बन्दैनन् । छानिएका केही घटना वा विषय मिडियाका सामग्री बन्ने गर्दछन् । मिडियामा सामग्री छनोटको व्यावसायिक आधार भनेको समाचारीय मूल्य वा कुनै विषय वा घटनाको समाचार बन्न सक्ने आधार नै हो । एउटै घटना कुनै मिडिया आउटलेटमा महìवका साथ र कुनैमा कम महìवका साथ प्रस्तुत भएको पनि देखिन्छ । प्राथमिकता प्रदान गर्ने मामिलामा भिन्नता भएका कारण त्यस्तो हुने गर्दछ । विश्वविख्यात शान्ति अभियन्ता तथा मिडिया सिद्धान्तका ज्ञाता जोन गाल्टुङले कुनै पनि घटना वा विषयको समाचार बन्न सक्ने योग्यता त्यस विषयलाई कति जोड दिएर कति दोहो-याइएको छ भन्ने कुराले पनि तय गर्ने ठहर गरेका छन् ।

अर्थात् मिडियाकर्मी कुनै घटना वा विषयसँग जति बढी परिचित हुन्छन्, ती विषय छनोटमा पर्नसक्ने सम्भावना पनि उति नै रहन्छ । विभिन्न विषय वा घटनालाई निरन्तरको सार्वजनिक दबाब, अभियान वा आन्दोलनमार्फत निरन्तर सामाजिक वृत्तमा ल्याइरहने पहल भएको देखिन्छ । कैयन् विषय वा घटनाले त्यही कारण मिडियाको छनोटमा परिरहने सफलता पाइरहेको देखिन्छ । त्यसैगरी लेखक–पत्रकार वा मिडियाकर्मीको कुनै खास विषयमा सामाजिकीकरण बढाउँदै मिडिया प्रस्तुतिमा अनुकूलता हासिल गर्न सकिन्छ भन्ने पनि ठानिन्छ । विभिन्न विषय र क्षेत्रसँग सम्बन्धित विषयवस्तुमा निरन्तर कलम चलाउने पत्रकारको संस्था वा पत्रकारसँगको गहन अन्तक्र्रिया सामाजिकीकरणको प्रयासकै उदाहरण हुन् । पत्रकार सकारात्मक र नकारात्मक दुवै किसिमका सामाजिकीकरणको प्रभावबाट मुक्त हुन सक्दैनन् भन्ने देखिँदै आएको छ । शिक्षादीक्षा, सीप र व्यावसायिक मूल्यमान्यता र नैतिक आधारको जगमा हुने सामाजिकीकरणबाट मात्र असल र उपयोगी सामग्री उत्पादन हुन सक्छ । सामाजिक उत्तरदायित्व वहन उचित सामाजिकीकरणबिना सम्भव हुन सक्दैन ।