विचार/दृष्टिकोण |

पुस्तक पारखीको व्यवस्थापन (सम्पादकीय)

ज्ञानको भण्डारका रूपमा रहेको पुस्तकालयमा अध्ययनकर्ताको रुचि कम हुँदै गएको तीतो यथार्थबीच त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयमा अध्ययनमा रुचि भएका पाठकको छिर्नै मुस्किल पर्ने भीडको खबर उत्साह एवं खुसीको विषय हो । सम्भवतः यसलाई अहिलेको नेपाली समाजको एउटा नौलो घटनाका रूपमा लिन सकिन्छ । विद्युतीय सञ्चार माध्यम तथा इन्टरनेटको सहज उपलब्धताले हिजोआज विद्यार्थीलगायत विभिन्न उमेर तथा वर्गमा अध्ययनशीलतामा कमी आएको तथ्य कसैबाट लुकेको छैन ।

विशेषतः विद्यार्थीमाझ पढ्ने बानीको विकास गर्नु थप चुनौतीका रूपमा रहँदै आएको छ । विद्यार्थीमा गहन अध्ययनको अभाव छ र छिपछिपे खाले अध्ययन प्रवृत्ति बढ्दो छ । पढ्ने बानीमा देखिएको कमीका कारण मुलुकका धेरै क्षेत्रमा पुस्तकालयहरू बन्द गरिएका समाचार सार्वजनिक हुँदै आएका छन् । मुलुकका कतिपय स्थानमा पुस्तकालयको अभाव पनि होला तर धेरै लगानी मिहिनेत गरेर स्थापित सार्वजनिक पुस्तकालयका पनि प्रयोग हुन नसकेको अवस्था पनि विद्यमान छदैछ । यसको विपरीत मुलुककै सबैभन्दा पुरानो केन्द्रीय पुस्तकालयमा बिहान सबेरै पाँच बिहान नपुग्दा प्रवेश पाउन नसकिने यथार्थले पक्कै पनि शिक्षा क्षेत्रमा नयाँ आशाको सञ्चार गरेको हुनुपर्छ ।

केन्द्रीय पुस्तकालयमा देखिने भीड रोजगारीको प्रतिस्पर्धात्मक परीक्षा तयारीमा जुटेका विद्यार्थीको भएबाट युवा विद्यार्थीमा पढ्ने बानीको विकास भइरहेको सन्दर्भमा खुसीको विषय नै हो । यसबाट उनीहरूमा उन्नत भविष्यका लागि आफ्नो बौद्धिक कुशलतालाई तिखार्नुको विकल्प नरहेको भावना विकसित हुनु पनि आफैँमा सकारात्मक अवधारणाको उपज मान्न सकिन्छ । केन्द्रीय पुस्तकालयमा रहेका सामान्य र विशेष गरी दुई किसिमका कक्षबाट विद्यार्थीहरू लाभान्वित भइरहेका छन् । १२० जना अटाउने विशेष कक्षका तीन कोठाहरूमा बिहान छ बजेदेखि बेलुका छ बजेसम्म १२ घन्टा इन्टरनेट, बिजुली, पानी, शौचालय, आरामदायी कुर्सीजस्ता विभिन्न सुविधाले परिपूर्ण हुनुका साथै आफूसँगै पुस्तक ल्याएर पनि अध्ययन गर्न सक्ने थप सहज व्यवस्था गरिएको छ । यसबाट सरकारी वा अन्य रोजगारमूलक प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि उपयुक्त वातावरण सिर्जना भएको मान्न सकिन्छ । यस्तै सामान्य कक्षमा आफ्नै पुस्तक ल्याएर पढ्न पाइने सुविधा नभए पनि जोसुकै आएर एकछिन पढेर जान सक्छन् जसको उद्देश्य समयको सदुपयोग नै हो ।

केन्द्रीय पुस्तकालयले आफूसँग उपलब्ध पाँच करोडभन्दा बढी पुस्तक, शोधग्रन्थ, जर्नल, अडियोभिडियो सामग्रीमा सहज पहुँचको उपलब्धता कायम गरिदिएबाट पनि विद्यार्थीमाझ यसको लोकप्रियता निसन्देह बढ्दो छ । मुलुककै यस प्रतिष्ठित पुस्तकालयले थुप्रै स्वदेशी राजनीतिज्ञका साथै प्रतिष्ठित व्यक्तिहरूले ज्ञान अनि विवेकको क्षितिज फराकिलो पार्न महìवपूर्ण योगदान पु¥याएको तथ्य कसैबाट छिपेको छैन । समग्रमा नेपालको शैक्षिक क्षेत्रको उत्थानमा यो पुस्तकालयको योगदान अतुलनीय नै मान्नुपर्छ ।

सुविधासम्पन्न पुस्तकालयको स्थापनाले विशेषगरी ज्ञान, बुद्धि, पढ्ने बानीको विकासका साथै समयको सदुपयोगमा सकारात्मक भूमिका खेल्ने सन्दर्भमा यस्ता पुस्तकालय निर्माणमा सरकार तथा सम्बद्ध निकायको ध्यान जान जरुरी देखिन्छ । केन्द्रीय पुस्तकालयको चर्चा गरिँदा विद्यार्थीको चापलाई दृष्टिगत विशेष कक्षको सङ्ख्या बढाइनु वाञ्छनीय देखिन्छ जसबाट बढीभन्दा बढी विद्यार्थी लाभान्वित हुन सकुन् । विश्वकै सबैभन्दा व्यस्त मानिने न्यूयोर्क पब्लिक लाइब्रेरीले दैनिक ५० हजारभन्दा बढी अर्थात् बर्सेनि डेढ करोड पाठकलाई सेवा पु-याइरहेको दृष्टान्त पनि यहाँ उल्लेखनीय हुन आउँछ । यसका अतिरिक्त सम्भव भएसम्म पुस्तकालय खोल्ने समयमा अझै केही वृद्धि गर्न आवश्यक प्रबन्ध मिलाउन सकिए विद्यार्थी थप लाभान्वित हुने विषय शङ्कारहित छ । यस अतिरिक्त आधुनिक तथा समसामयिक पाठ्यसामग्रीको व्यवस्थित सङ्ग्रहले पुस्तकालयको आकर्षणमा बढोत्तरी ल्याउन सहयोगी हुनेछ ।

यो अवस्थामा पुस्तकालयबाट महìवपूर्ण सन्दर्भ सामग्री लैजाने तर समयमा फिर्ता नगर्ने प्रवृत्तिलाई एकातिर निरुत्साहित गरिनु जरुरी छ भने अर्कोतर्फ पुस्तकालयका पुराना सामग्रीलाई संरक्षण संवद्र्धन समेत गर्नु आवश्यक छ । विगतमा पुस्तकालयको छाना चुहिएको, पुस्तकालयबाट पुस्तक चोरी हुने क्रम बढेको भन्दै सम्बद्ध क्षेत्रबाट चिन्तासमेत व्यक्त गरिएको कुरा पक्कै भुल्न सकिने अवस्था छैन । नवीन ज्ञानको भण्डार पुस्तकालयमा सधँै बजेटको अभावबाट पिरोलिनुपर्ने अवस्थाको समेत अन्त्य गर्न सम्बद्ध निकायले ध्यान दिनुपर्ने जरुरी देखिन्छ । यसो हुन सके पुस्ताकालयका पुस्तकप्रेमीको भीड मात्र बढ्ने छैन, त्यसले समाजमा पठन संस्कृतिको विकाससमेत हुनेछ । यसको सकारात्मक प्रभाव शिक्षा क्षेत्रमा मात्र होइन नेपाली समाजमा पनि पर्ने नै पर्नेछ ।