विश्वविद्यालयमा विद्यार्थीको दायित्व
सूर्यप्रसाद पाण्डे
पुस पहिलो साता त्रिभुवन विश्वविद्यालयले ४७औँ दीक्षान्त समारोह सम्पन्न ग-यो । दीक्षान्तमा अतिथि मन्तव्यका लागि भारतबाट निम्त्याइएका प्राध्यापक भी रामगोपाल रायले विद्यार्थीलाई भाषण सुनाइरहँदा विद्यार्थीकै आन्दोलनका कारण विश्वविद्यालयका कार्यकारी नेतृत्वमा रहनुभएका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यकक्षमा भने ताला झुण्डिरहेको थियो ।
भारतको प्रतिष्ठित शैक्षिक संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)का निर्देशक रहेका राय आफैँमा सफल व्यवस्थापक हुनुहुन्छ । शिक्षाको विश्व बजारमा परिचित भएका कारण उहाँको कथन दीक्षित विद्यार्थीका लागि चासोको विषय बन्नु स्वाभाविक हो । मन्तव्यका क्रममा रायले विश्वविद्यालयको दीक्षान्तपछि विद्यार्थी प्राविधिक रूपमा त्यहाँबाट बाहिरिए पनि आफूले शिक्षा लिएको ठाउँलाई कहिल्यै भुल्न नहुने विषयलाई जोडतोडका साथ उठान गर्नुभयो । विडम्बना त्यही विश्वविद्यालयबाट उत्पादित विद्यार्थीले विश्वविद्यालयका कार्यकारी भूमिकामा रहनुभएका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यकक्षमा ताला झुण्ड्याइदिएका थिए । ताला लागेर कार्यकक्षमा छिर्न नपाएपछि तीनै जना पदाधिकारी समारोहमा सहभागी हुनसमेत करिब–करिब चोर बाटोबाट आउनुपरेको थियो । अर्थात् उनीहरूले दीक्षान्तको तयारीसमेत कहिले परीक्षा नियन्त्रण कार्यालयबाट त कहिले अनुसन्धान केन्द्र र डिन कार्यालयबाट गर्नुपरेको थियो ।
विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने, सूचना प्रविधिसँग परिचित रहनुपर्ने तथा अरूले मारेर दिएको माछा खाने होइन, आफँै माछा मार्नसक्ने सीप विकास गर्नु विद्यार्थीको अपरिहार्य आवश्यकता रहेको दीक्षान्तमा निम्त्याइएका अतिथिको भाषणको आसय थियो । यति मिठो सीप हासिल गरेकोमा रायले विद्यार्थीसँगै तिनका अभिभावकलाई समेत विशेष बधाई दिँदै जीवनभर विश्वविद्यालयलाई माया गरिरहन र सिकाइ प्रक्रियालाई जारी राख्न अनुरोध गर्नुभयो । परीक्षा नियन्त्रण कार्यालयको सानो प्राङ्गणमा सीमित विद्यार्थीलाई उपस्थित गराएर समारोह गरिरहँदा विश्वविद्यालयलाई बाहिरबाट थुप्रै परिस्थितिले गिज्याइरहेको थियो ।
पहिलो कुरा, त्यतिखेर बल्खु मात्रै त्यस्तो चोखो ठाउँ थियो, जहाँ विद्यार्थी आन्दोलनको प्रभाव थिएन र सबै कार्यालय खुलै थियो । विदेशी पाहुनालाई कमसेकम कार्यालयको आफ्नो कार्यकक्षमा एक पटक भने पनि स्वागत गर्न नपाउँदा ती पदाधिकारीलाई कस्तो लाग्यो होला ? विद्यार्थीले ताला लगाइदिएका कारण आफूहरू झन्डै महिना दिनदेखि कार्यालय छिर्न नपाएको दुखेसो विश्वविद्यालयका पदाधिकारीले रायसमक्ष पोखे कि पोखेनन् ?
अर्को कुरा विद्यार्थी र तिनका अभिभावकका लागि निकै गर्व गर्न लायक क्षण मानिने दीक्षान्त समारोहमा भाग लिन सबै विद्यार्थीसँग शुल्कसमेत लिएर परीक्षा नियन्त्रण कार्यालयले अन्तिम समयमा सहभागी गराएन । दीक्षान्तमा स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तह उत्तीर्ण सबैलाई सहभागी गराउने योजनाका साथ कार्यालयले शुल्क लिएर गाउन÷स्कार्फ वितरण गरेको थियो, त्यति मात्रै होइन, दीक्षित विद्यार्थीलाई अभिभावकसमेत ल्याउन पाउने सर्तमा थप शुल्क पनि लिएको थियो । धेरै विद्यार्थीले अभिभावक सहभागी गराउने सर्तमा लेखा शाखामा शुल्कसमेत तिरिसकेका थिए । अन्तिम समयमा एमफिल र पीएचडीका विद्यार्थीलाई मात्रै सहभागी गराएर विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई बल्खुको गेटबाट चिहाएर हेर्न बाध्य बनायो । त्रिविमा यस्ता घटना भइरहन्छ भन्दै विद्यार्थीले जसोतसो चित्त बुझाए पनि जनमानसमा भने यसले सकारात्मक सन्देश दिँदैन । यो अवस्थालाई आउने वर्षदेखि दोहोरिन दिनुहुन्न ।
यतिखेर विश्वविद्यालयभित्र झाँगिएको शैक्षिक, प्रशासनिक तथा आर्थिक विकृति तथा बेथितिको बयान गरिसाध्य छैन । विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र बनाउने भनिएको छ तर गुणात्मक मन्थन खासै भएको पाइँदैन । विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नसक्ने हुनुपर्छ भन्छौँ तर कसरी भन्ने विषयमा स्पष्ट जबाफ कसैबाट पाइँदैन । विश्वविद्यालयले दिने शिक्षा समान हुनुपर्छ भन्छौँ तर यस्तो दिव्योपदेश दिने नै आफ्नो भूमिका सम्झँदैनन् । बरु अघिल्लो दीक्षान्तमा भाग लिएर यस्तो भाषण गर्नेहरू अर्को दीक्षान्तमा पनि उस्तै कथन दोहो-याउन पछि पर्दैनन् ।
कतिसम्म भने विगतमा मैले बोलेको कुरा विश्वविद्यालयले कति पूरा ग-यो र त्यसलाई सार्थक बनाउन मेरो योगदान कति रह्यो भन्ने विषयमा सोच्ने फुर्सदसमेत त्यस्ता पदाधिकारीलाई हुँदैन । कुलपति र सहकुलपतिको जिम्मेवारीमा बस्ने व्यक्तिले विश्वविद्यालयको स्तर उकास्न गुणात्मक सहयोग गर्नु जरुरी छ । यसका लागि विश्वविद्यालयका पदाधिकारीको अग्रसरता पनि महìवपूर्ण हुनसक्छ । अहिलेको विद्यार्थी आन्दोलन र तालाबन्दी अन्त्यका लागि पनि विश्वविद्यालय नेतृत्वले पहल गर्नुपर्छ ।
दीक्षान्त समारोहमा विशिष्ट अतिथि रायको भाषण सुनिरहँदा विश्वविद्यालयमा विद्यार्थीको सिकाइ, उपलब्धि सुधारको उपाय, यहाँबाट उत्पादित जनशक्तिको बजारसँगको सम्बन्ध र बजारले खोजेको जनशक्ति र जनशक्तिसँग भएको सीपका बीचमा रहेको दूरी कम गर्ने विषयमा जिम्मेवार अधिकारीबाट प्रभावकारी मन्थन भएन । हरेकजसो दीक्षान्त यस्तै गतिविधिबाट गुज्रने परिपाटीको अन्त्य हुनुपर्छ ।
मुलुककै ठूलो र पुरानो विश्वविद्यालय भएको नाताले धेरैको पहिलो नजर यो विश्वविद्यालयमा पर्छ । पुरानाको अर्थ परिपक्व पनि हो, तसर्थ उच्च शिक्षामा त्रिविले अवलम्बन गर्ने शैक्षिक प्रणाली र अभ्यास त्रिविभन्दा पछि खुलेका विश्वविद्यालयका लागि समेत मार्गदर्शक बन्न सक्छन् । भएका विश्वविद्यालयमध्ये उच्च शिक्षाको ८० प्रतिशत भार यही विश्वविद्यालयले बहन गरिरहेको तथ्यले पनि त्रिविको भूमिका नेतृत्वदायी हुँदै आएको स्पष्ट हुन्छ । यो भूमिकामा त्रिवि कति सक्षम भएको छ वा छैन, बहस गर्ने समय आएको छ ।
प्राध्यापक र विद्यार्थी राजनीति हावी भएबाट तालाबन्दीको संस्कार बढ्दो छ । राजनीतिक आस्थाका आधारमा पदाधिकारी नियुक्ति हुँदा विज्ञ र सक्षम व्यक्तिलाई पनि राजनीतिक ट्याग लगाई अवरोध सिर्जना गर्ने परिपाटी विश्वविद्यालयभित्र व्याप्त छ । विद्यार्थी सङ्गठन पनि शैक्षिक मुद्दा उठाउनेभन्दा पनि कुन पदाधिकारीलाई कति फाइदा हुन्छ भन्ने हिसाब गरेरै अभियान सञ्चालन गरिरहेका छन् । राम्रै काम गरे पनि आफ्नो सङ्गठनविरोधी उपकुलपति छन् भने आन्दोलन चर्काइहाल्ने प्रवृत्ति उनीहरूमा झाँगिएको छ । अझ एकै सङ्गठनभित्र पनि फरकफरक गुटबाट छुट्टाछुट्टै आन्दोलन गर्ने र सानो समस्या आयो भने पनि केन्द्रीय नेतृत्वको सहमतिबिनै तालाबन्दीमा उत्रिहाल्ने गलत अभ्यास विद्यार्थी सङ्गठनमा बढिरहेको छ । यसको निर्मम समीक्षा गर्नु जरुरी छ ।
पदाधिकारीको कार्यकक्षमा ताला लाग्ने तथा दैनिक काम नै प्रभावित हुने गरी भएका छिटफुट आन्दोलनबाहेक विश्वविद्यालयविरोधी गतिविधि नभएको केही समय भएको थियो । जुन अवस्थाले विश्वविद्यालयलाई बिस्तारै लयमा लैजान सहयोग पु¥याइरहेको थियो । केन्द्रीय राजनीतिमा आएको विभाजनको असर बिस्तारै विश्वविद्यालयमा पर्न थालेको छ । तालाबन्दी मात्रै गर्नुभन्दा सार्वजनिक बहस गरेर आफूहरूको मागमा जनसमर्थन बटुल्ने र जनसमर्थनबाटै विश्वविद्यालय नेतृत्वलाई दबाब दिने काम विद्यार्थीबाट हुनुपर्छ । सधैँजसो आन्दोलन र तालाबन्दी मात्रै गरेर विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक संस्थालाई बन्दी बनाउनु हुन्न । एक महिनाको बन्दाबन्दीपछि ताला खुलिसकेको छ । आउने दिनमा यही शैलीको आन्दोलनलाई निरन्तरता दिनुहुन्न ।
यतिखेर विश्वविद्यालयमा विद्यार्थी सङ्गठनअनुसार आन्दोलन पनि फरक–फरक छ । विद्यार्थीको हितका लागि लडेको दाबी गर्ने सङ्गठनले विद्यार्थीलाई नै समस्या पर्ने गतिविधिलाई प्रश्रय दिनुहुन्न । विश्वविद्यालयको गुणात्मक विकास चाहने हो भने दलपिच्छे फरक सङ्गठनबाट होइन, संयुक्त रूपमा अभियान चलाउनुपर्छ । सङ्गठनपिच्छे फरक–फरक आन्दोलन गर्ने परिपाटीको अन्त्य हुनुपर्छ । न्यूनतम एजेन्डामा समेत सहमत हुननसक्ने र एक्लाएक्लै आन्दोलन गर्ने परिपाटीले पनि बताउँछ कि विद्यार्थी सङ्गठन, विद्यार्थी र समग्र विश्वविद्यालयको हितका लागि होइन आफ्नो पहिचान स्थापित गराउन मात्रै लडिरहेका छन् । यस्तो परम्पराको अन्त्य नभएसम्म न विद्यार्थी आन्दोलनले सार्थकता पाउँछ, न त विश्वविद्यालयभित्र मौलाउँदै गरेको विकृति अन्त्य हुन्छ ।