कर्मचारी प्रशासनमा व्यवस्थापन
टीकाराम आचार्य
सङ्गठनले तर्जुमा गरेको निर्दिष्ट लक्ष्य÷उद्देश्य प्राप्तिका लागि विभिन्न स्रोतसाधनको आवश्यकता पर्दछ । जस्तै आर्थिक, भौतिक, मानवीय, सूचना प्रविधि र कार्यविधि आदि । यी विभिन्न साधनमध्ये जनशक्ति एक विवेकशील प्राणी भएकाले सङ्गठनमा आवश्यक अन्य साधनको कुशालतापूर्वक पहिचान, परिचालन तथा व्यवस्थापन गरी अपेक्षित उपलब्धि हासिल गर्न केन्द्रित रहने साधन हो । तसर्थ सङ्गठनमा अन्य साधनको तुलनामा जनशक्तिको बढी एवं विशेष महìव रहन्छ जसको अभावमा अन्य साधन परिचालित गर्न र गतिशील तुल्याउन सकिँदैन । तसर्थ निर्धारित लक्ष्य हासिल गर्न सङ्गठनमा मानव स्रोतको समुचित प्रयोग गर्ने कार्यलाई कर्मचारी प्रशासन भनिन्छ ।
सङ्गठनमा आवश्यक जनशक्तिको अनुमान गर्ने, मेधावी जनशक्ति आकर्षण गरी सङ्गठनमा भिœयाउने, तिनीहरूको विकास गर्ने र आवश्यक सेवासुविधा उपलब्ध गराई सङ्गठनको हितमा उपयोग गर्नेजस्ता समग्र व्यवस्थापकीय गतिविधिलाई कर्मचारी व्यवस्थापन भनिन्छ । मूलतः कर्मचारी व्यवस्थापन भन्नाले मुलुक र सङ्गठनमा आवश्यक पर्ने कर्मचारीको योजना, प्राप्ति, उपयोग, विकास, सम्भार, क्षतिपूर्ति, एकाकार र अवकाश योजनाजस्ता विषयको व्यवस्थापकीय कार्यलाई जनाउँछ ।
विश्वमा कर्मचारी प्रशासन सुधारका लागि देश, काल र परिस्थितिअनुसार अनेकौँ प्रयास गरिएका छन् । त्यस्तै कर्मचारी व्यवस्थापनले कर्मचारीको भर्ना, छनोट, नियुक्ति, पदस्थापन, बढुवा, तलब सुविधा, उत्प्रेरणा, वृत्ति विकास, कार्यसम्पादन मूल्याङ्कन र अवकाशजस्ता नियुक्ति पूर्वदेखि अवकाशपश्चात् सम्मका समग्र क्रियाकलाप समेट्दछ । सङ्गठनको भौतिक, वित्तीय तथा अन्य सहयोगी स्रोत एवं सामग्रीलाई उपयोग गरी सङ्गठनको उद्देश्य हासिल गर्न उपयुक्त जनशक्ति छनोट गरी व्यवस्थित एवं वैज्ञानिक ढङ्गबाट व्यवस्थापन, सञ्चालन एवं परिचालन गर्ने कार्य नै कर्मचारी व्यवस्थापन हो । साङ्गठनिक व्यवस्थापनका अन्य पक्ष यसबाट निर्देशित एवं सञ्चालित हुने भएकाले कर्मचारी व्यवस्थापनलाई साङ्गठनिक व्यवस्थापनको सबैभन्दा महìवपूर्ण पक्षको रूपमा लिने गरिन्छ । सङ्गठनको कार्यक्षेत्रको आधारमा आवश्यक पर्ने कर्मचारीको सङ्ख्या, स्तर र उपलब्धता अनुमान गर्ने, योजना बनाउने, प्राप्ति, विकास र उपयोग गर्नेलगायतका जनशक्ति केन्द्रित समग्र व्यवस्थापकीय कार्य कर्मचारी व्यवस्थापनका विषयवस्तु हुन् ।
कर्मचारीको सक्रिय संलग्नतामा मात्र सङ्गठनले आफ्नो उद्देश्य प्राप्त गर्ने सक्ने भएकोले कर्मचारी प्रशासन सङ्गठनको आधारशीलाका रूपमा रहेको हुन्छ । प्रारम्भमा कर्मचारी प्रशासनको क्षेत्र ज्यादै सीमित एवं सङ्कुचित थियो । पुँजीवादी अर्थव्यवस्था र श्रमको व्यापक शोषणका कारण विकसित हुन सकेको थिएन । कार्यको सीमितता र श्रम बजारमा श्रमिकको अपर्याप्तता रहेको अवस्थामा यसको क्षेत्र सीमित रह्यो । औद्योगिक क्रान्तिपछि यस क्षेत्रमा सुधार हँुदै उन्नाइसौँ शताब्दीको प्रारम्भदेखि यस क्षेत्रको व्यापकता बढ्न थालेको देखिन्छ । त्यस्तै सन् १९७० को दशकपश्चात् निजी क्षेत्र, सार्वजनिक संस्थानदेखि सार्वजनिक प्रशासनसम्मकै मानव स्रोतको समुचित व्यवस्थापनलाई समेटने गरी कर्मचारी प्रशासनको सट्टा कर्मचारी व्यवस्थापन शब्दावली प्रयोगमा आयो । पुनः सन् १९९० पछि कर्मचारी व्यवस्थापनलाई मानव साधन व्यवस्थापन शब्दावलीले प्रतिस्थापन गरी अझ व्यापक र सम्मानित बनाउन खोजिएको पाइन्छ । परम्परागत रूपमा कर्मचारी प्रशासनले सरकारी कर्मचारी व्यवस्थापनलाई र कर्मचारी व्यवस्थापनले निजी क्षेत्रका कर्मचारीको व्यवस्थापनलाई जनाउने गर्दथ्यो तर वर्तमान समयमा सरकारी, गैरसरकारी, निजी क्षेत्रलगायतका सङ्गठनमा मानवीय साधनको व्यवस्थापन गर्ने कार्यलाई मानव साधन व्यवस्थापन शब्दावलीको प्रयोग गरिएको पाइन्छ ।
आजको विश्व वैज्ञानिक समुन्नतिका कारण खुम्चिएर साँघुरो भएको छ । अर्कोतर्फ कर्मचारी प्रशासनको क्षेत्र भने विस्तारित भएको छ । यसको क्षेत्र गाउँ, नगर, जिल्ला, राष्ट्र हँुदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको छ । आज कुनै पनि सङ्गठनले आफ्नो मुलुकको आवश्यकतालाई मात्र आधार मानेर प्रशासन सञ्चालन गरेर पुग्दैन । उसले अन्तर्राष्ट्रिय क्षेत्रमा भएको नवीन परिर्वतनलाई आत्मसात् गरी अघि बढ्नु आवश्यक देखिन्छ । त्यसर्थ कर्मचारी प्रशासनले प्रभावकारिता, कार्यकुशलता र मितव्ययितामा विशेष जोड दिनु पर्दछ । भर्ना, छनोट, पदस्थापन, परिश्रमको उचित मूल्यका साथसाथै अनुकूल कार्य वातावरण निर्माण आदीको व्यवस्थापन गर्नु नै कर्मचारी प्रशासनका व्यवस्थापकीय पक्ष हुन् । उचित व्यवस्थापन भएको खण्डमा कर्मचारीहरूले प्रभावकारी कार्यकुशलता प्रस्तुत गर्न सक्दछन् । विद्वान् रोजेन ब्लुमले पद वर्गीकरण, भर्ना, छनोट, पदोन्नति, कार्यसम्पादन मूल्याङ्कन, तलब सुविधा, कर्मचारी कटौती र राजनीतिक तटस्थतालाई व्यवस्थापकीय कर्मचारी प्रशासनको सार हो भन्दछन् ।
कर्मचारी प्रशासनमा व्यवस्थापकीय पक्षले सङ्गठनको कार्यक्षेत्रका आधारमा पद वर्गीकरण, भर्ना छनोट र पदोन्नति, कार्यसम्पादन मूल्याङ्कन, कार्यक्षमताका आभारमा कार्य जिम्मेवारी, तलब, छँटनी, राजनीतिक तटस्थताजस्ता पक्षहरूलाई ध्यान दिएर कर्मचारीको क्षमता, दक्षता, रुचि, अनुभवजस्ता पक्षहरूका आधारमा कार्य जिम्मेवारी तोक्नु पर्दछ तर व्यवस्थापन पक्ष नै राजनीति दृष्टिकोणवाट प्रभावित भई राजनीति दृष्टिकोणका आधारमा कर्मचारीहरूलाई कार्य जिम्मेवारी दिने गरेमा सङ्गठनमा कार्यरत कर्मचारीहरूको आत्ममनोबलमा कमी आउन गई सङ्गठनले लिएको लक्ष्य÷उद्देश्य हासिल गर्न कठिन हुन सक्छ ।
आजको परिवर्तित परिवेशमा कर्मचारी प्रशासनका परम्परागत मूल्यमान्यता र विधि असान्दर्भिक सिद्ध हुन सक्छन् । यसका अनेकौँ नवीन मान्यता, प्रवृत्ति सिद्धान्तको विकास भएको पाइन्छ । यस्तो अवस्थामा आधुनिक कर्मचारी प्रशासनले नवीन मान्यतालाई सामना गर्न सक्ने किसिमले आफूलाई परिवर्तित तुल्याउनुपर्दछ । नेपालको कर्मचारी प्रशासनमा वैज्ञानिक छनोट प्रणाली, तालिम, पदस्थापन तथा प्रभावकारी सुपरिवेक्षण, समन्वयनजस्ता पक्षमा जोड दिने प्रतिबद्धताहरू जाहेर गरिने एवं योजना र नीति बन्ने गरे पनि तिनीहरूको कार्यान्वयन विरलै मात्र हुने गरेको देखिन्छ । कर्मचारीका आवश्यकता, उत्प्रेरणा र मनोबलमा जोड दिने भनिए पनि त्यसो गर्ने उपयुक्त कार्ययोजनाको अभाव छ । प्रोत्साहन, उत्प्रेरणा, मनोबल र पुरस्कारसम्बन्धी व्यवस्था नभएका पनि होइनन् तर ती व्यवस्था कार्यान्वयन गर्न सकारात्मक मनोवृत्ति, वस्तुगत मूल्याङ्कन र स्वच्छ अनि निष्पक्ष वातावरणको कमी छ । समूह मान्यता, मूल्य, प्रवृत्ति र वातावरणीय तìवहरू बढी नियन्त्रणमुखी छन् । अर्थात् यिनीहरू ग्रेगरको एक्स थ्योरीमा आधारित छन् । व्यावहारिक र मनोवैज्ञानिक पक्षहरूलाई बेवास्ता गर्ने गरिएको पाइन्छ । उत्प्रेरणासम्बन्धी विभिन्न सिद्धान्तको न्यून उपयोग र कम महìव दिएको देखिन्छ ।
वृद्धि, विकास, जिम्मेवारी, मान्यता र उपलब्धिजस्ता उत्प्रेरणाजस्ता आन्तरिक स्रोत सीमित छन् भने सुरक्षा, प्रतिष्ठा, अन्तरवैक्तिक सम्बन्ध, कार्यवातावरण, तलबमान र सुपरिवेक्षणजस्ता बाह्य स्वस्थकारी तìवहरू पनि अपर्याप्त देखिन्छ । त्यस्तै पुरस्कार र दण्डलाई पनि कार्यसम्पादनसँग सामञ्जस्यता गर्न सकिएको छैन ।
योग्यता प्रणालीका आधारमा निष्पक्ष तवरले कर्मचारी छनोट गरी कुशल एवं प्रतिभावान जनशक्ति सङ्गठनले प्राप्त गर्दछ । नव रक्तसञ्चारको रूपमा रहेको नवीन जनशक्तिबाट सङ्गठनले विश्वबजारमा आएको नवीन प्रविधिलाई आत्मसात् गर्दै आजको कर्मचारी प्रशासन विश्वव्यापी रूपमा सोच्ने तर स्थानीय आवश्यकताअनुसार काम गर्ने तवरको हुनुपर्दछ भन्ने मान्यताको विकास भएको देखिन्छ तर परिवर्तन व्यवस्थापन, सङ्गठनात्मक प्रभावकारिता, समय सापेक्षित कानुनी तर्जुमा, पुरस्कार र दण्डको प्रभाावकारी कार्यान्वयन आदिको कार्यान्वयन पक्ष कमजोर हुँदा नेपालको कर्मचारी प्रशासनको व्यवस्थापकीय पक्ष कमजोर देखिन्छ । आधुनिक प्रविधि, अवधारणा, मान्यता एवं सिद्धान्त अनुसरण गर्दै अगाडि बढेमा नेपालको कर्मचारी प्रशासनको व्यवस्थापकीय पक्षले अपेक्षित उपलब्धि हासिल गर्ने देखिन्छ ।