विचार/दृष्टिकोण |

पोखरी उत्खननले विपत् जोखिम न्यूनीकरण

डा. जीवराज पोखरेल
भर्खरै नेपालका प्रमुख राजनीतिक दलको महाधिवेशन सम्पन्न भएको छ । सबै दलका नेताले जलवायु परिवर्तन तथा त्यसबाट भएको विपत् वृद्धिलाई औँल्याएका छन् । एमाले महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. भीम रावलले यो कुरा जनसमक्ष प्रक्षेपण गर्नुभएको थियो । त्यसपछि भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनियुक्त अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यो मुद्दालाई विभिन्न समयमा कोट्याउनुभएको छ । नेपाली काँग्रेस महाधिवेशनअघि महामन्त्रीको उम्मेदवारी घोषणा कार्यक्रममा गगन थापाले व्यक्त गरेको ६१ पृष्ठको अवधारणापत्रमा जलवायु परिवर्तनको विषय उठाउनुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि ४५ पृष्ठको प्रतिवेदनमा जलवायु परिवर्तन र यसले उत्पन्न गरेको विपत्को परिघटनालाई उजागर गर्नुभएको छ ।

हाम्रो देशमा भूकम्पजस्ता पृथ्वीजन्य तथा मौसम एवं जलजन्य बाढी, पहिरो, डँढेलो, प्रदूषण, जङ्गली जनावर आक्रमण, चट्याङ तथा जलवायु परिवर्तनजस्ता विपत्का घटना भइरहेका हुन्छन् । यसबाट विशाल जन तथा धनको क्षति हुने गरेको छ । राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्ष अहिलेसम्म ४२० जनाको निधन भइसकेको छ । पहिरोबाट १७८, बाढीबाट ६३, चट्याङबाट ४९, आगलागीबाट ३९, जनावर आक्रमणबाट ३३ र डँढेलोबाट तीन जनाको मृत्यु भयो । बाँकी ४५ को अन्य घटनामा मृत्यु भएको छ । जलवायु नियन्त्रणले गर्दा मौसममा अस्वाभाविक खालको असर परेको छ । बहुधा पाश्च मनसुनमा धेरै वर्षा हुँदैनथ्यो । किनभने करिब हिउँदमा तीन, पूर्वमनसुनमा १४, मनसुनमा ७८ र पाश्च मनसुनमा पाँच प्रतिशतजति मात्र वर्षा हुन्छ । यसपालि पाश्च मनसुनमा धेरै पानी पर्नाले काट्न ठिक्क भएको धानको विनाश भयो । कृषिमा आश्रित जनताले वर्षभरी हातमुख जोड्ने अन्न अधिकांश रूपमा खेर गयो ।

अब फेरि डँढेलो लाग्ने, त्यसपछि प्रदूषण हुने अनि अलि पछि गएर बाढी तथा पहिरोले मानिसलाई पिरोल्ने चक्रको आरम्भ हुँदै छ । यसका अतिरिक्त अहिले चट्याङ, पहिरो र बाढीपछि तेस्रो मारक विपत्का रूपमा देखिएको छ । जङ्गली जनावरले जङ्गलमा यथेष्ट मात्रामा चरन तथा पानी नपाएर बस्तीमा प्रवेश गर्ने तथा मानिस हताहत हुने सिलसिला पनि हरेक दिन सुनिने गरिन्छ । यस्ता विविध विपत्लाई पृथक्पृथक् खालको समाधानको उपयोग गर्न नेपालजस्तो गरिब देशलाई सम्भव हँुदैन । यसका लागि एकै खालको उपाय अवलम्बन गर्न सकिएमा कार्यान्वयनका लागि सहज हुन्छ । सौभाग्यवश यस्तो उपाय हाम्रा पूर्वजले सुझाएका छन् तर हामीले समयको प्रवाहसँगै विस्मृति भएर त्यस्ता उपायको अवलम्बन गर्न सकेका छैनौँ ।

एउटा यस्तो उपाय भएको पोखरी उत्खनन हो । पूर्व क्राइस्टाब्द चौथो शताब्दीमा चाणक्यले अर्थशास्त्र नामक एक बहुआयामिक पुस्तक लेखेका छन् । उनले बस्ती बसाउँदा जलाशय अथवा पोखरी निर्माण गर्ने सुझाव दिएका छन् । त्यतिबेला अहिलेको जस्तो नगर योजनाको विषयमा धेरै स्रोत सामग्री थिएनन् । त्यसकारण चाणक्यको अर्थशास्त्रलाई अवलम्बन गरिन्थ्यो । यसैअनुरूप नेपालमा पनि उपत्यकाका विभिन्न सहरमा पोखरी अथवा पुखु बनाउने चलन थियो र अझै पनि विभिन्न पोखरी विद्यमान भएको देख्न सकिन्छ । मधेसमा जनकपुर तथा आसपासका स्थानमा पनि पोखरी निर्माण भएका थिए । त्यसैगरी पहाडमा पनि आहाल निर्माण गरिएको अझै पनि कयौँ स्थानमा पाइन्छ ।

पोखरी निर्माण गर्दा पानी परेको समयमा पोखरीमा प्रवेश गर्ने भएकोले बाढी आइहाल्दैन । त्यसकारण परापूर्वकालमा उपत्यकाका बाह्य परिधिमा भएका खोलालाई बाँध बाँधेर राजकुलोको व्यवस्था गरिएको हुन्थ्यो । अहिले पनि ललितपुर जिल्लाको लेले खोलामा गयो भने बाँध बाँधेर राजकुलोको माध्यमद्वारा पानी टीका भैरव, चापागाउँ, थेचो आदि स्थानमा ल्याएको देख्न सकिन्छ । यही कुलोले पाटनका विभिन्न पोखरी तथा धारालाई प्रवाहित गरेको थियो ।

भलमार्ग तथा खोल्साको केही मात्रा पानी तल जानबाट रोकिने गरी पोखरी निर्माण पहाडको टुप्पा अथवा लेकको केही तलबाट हरेक छ रोपनीमा पर्ने गरी एउटा पाँच फुट गहिरो २० फुट वर्गको पोखरी निर्माण गरियो भने माथिको केही पानी माथि नै रहने हुनाले कछाडमा पहिरो र बेँसीमा बाढी नियन्त्रण हुन्छ । यसका अतिरिक्त जङ्गलमा पोखरी भएपछि यसले तापक्रमलाई घटाउने र आद्रतालाई बढाउने भएकाले डँढेलोलाई पनि यसले लाग्न दिँदैन । साथै जङ्गली जनावर पनि यथेष्ट मात्रामा पानी र चरन पाएर बस्तीमा प्रवेश गर्दैनन् । जङ्गलमा पोखरी हुँदा यो बस्तीभन्दा आद्र हुने भएकाले बस्तीमा पर्ने चट्याङ जङ्गलमा पर्दछ । पोखरीले वातावरणमा भएको कार्बनडाइअक्साइड ग्यासलाई पानीमा घुलनशील बनाएर जमिनमुनि पठाइदिन्छ र यसले जलवायु परिवर्तनलाई पनि कम गर्दछ ।

यसका लागि अलिक धेरै सङ्ख्यामा पोखरी खन्नुपर्छ । रोटरी इन्टरनेसनल, ठमेलको सहयोगमा सानाठूला गरी महोत्तरी जिल्लाको बर्दिवासमा १०१ र खोटाङको खार्पामा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको सहयोगमा ७५ वटा पोखरी खनिएको छ । एक दिनमा पाँच हजारजति पर्ने गरी यी पोखरी खनिएका छन् । यसले स्थानीय श्रमिकलाई रोजगारी पनि दिन्छ । यस विषयमा ड्यानिस चर्च एड एजेन्सी, डीपी नेट नेपाल तथा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको संयुक्त सहयोगमा जानकारी पुस्तिका पनि प्रकाशन भएको छ । यस पुस्तिकामा पोखरी किन, कहाँ, कसरी खन्ने आदि विषयको सम्बोधन गरिएको छ ।

उच्च प्रविधि तथा इन्जिनियरिङ उपायले मात्र विपत्लाई प्रभावकारिताका साथ सम्बोधन गर्न नसकेकाले अहिले यसका साथै प्रकृति आधारित समाधानका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ । पोखरी उत्खनन प्रकृति आधारित क्रियाकलाप हो । यसमा प्राकृतिक वस्तु मात्र उपयोगमा ल्याइएको छ । अति प्रवाह नल पनि बाँसको प्रयोग गरिएको छ । एउटा मध्यम खालको बस्तीमा १० लाखमा विपत्लाई पूर्ण रूपमा सदाका लागि न्यूनीकरण गर्न सकिन्छ । यसमा स्थानीय सामग्री तथा श्रमको प्रयोग हुने भएकाले यसमा गरिएको खर्च बस्तीमा नै रहन्छ ।

पोखरी उत्खनन हिउँदको वर्षा हुनासाथ गर्न सकियो भने सजिलो हुन्छ । किनभने यतिबेला खेतीको काम पनि त्यति हुँदैन । गहुँ आदि छरिसकिएको हुन्छ । पानी परेकाले माटो कमलो हुन गई उत्खनन कार्य पनि सहज हुन्छ । हिउँदको प्रत्येक चरणको पानी यस वर्षमा त परिसक्यो । फागुनमा फेरि एक पटक पर्ने भएकाले त्यतिबेला पोखरी खन्न सकियो भने पूर्वमनसुन, मनसुन तथा पाश्च मनसुनमा पर्ने पानी पोखरीमा रहन गई बाढीपहिरोमा नाटकीय कमी हुनसक्छ । करिब ३० प्रतिशतजति पानी पहाडमा नै रोक्न सकियो भने यसले यी दुई विपत्लाई धेरै हदसम्म नियन्त्रण गर्न सक्छ । किनभने पानी कम परेको वर्षमा यस्ता घटना कम भएको देखिएको छ । पानी बढी परेको वर्षमा यस्ता घटनाको मात्रा बढी हुने कुरा त यस वर्षमा सबैले अनुभव गरेकै कुरो हो । महाधिवेशनमा कुरा गरेर मात्र विपत् न्यूनीकरण गर्न सकिँदैन । त्यसकारण विभिन्न वडावडामा पोखरी उत्खनन गर्न सके यसपालि नै विपत् न्यूनीकरण गर्न सकिन्छ । यसका लागि अधिवेशनमा सहभागी भई घर फर्किएका स्थानीय जनप्रतिनिधिले ध्यान दिनु नितान्त आवश्यक छ ।