भूकम्पमा पूर्वसूचना प्रणाली
भरतप्रसाद कोइराला
भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ हामी २४औँ भूकम्प सुरक्षा दिवस मनाउँदै छौँ । १९९० को भूकम्पबाट भएको क्षतिको सम्झनामा पुनः सोही किसिमको मानवीय तथा भौतिक क्षति नहोस् वा बेहोर्न नपरोस् र त्यसका लागि गर्नुपर्ने पूर्वतयारीका लागि जनचेतना फैलाउने उद्देश्यले पुस १५ गतेबाट एक महिना कार्यक्रमसहित यो दिवस मनाउन सुरु भएको हो । १९९० पछि पछिल्लो भनौँ वा खासगरी अहिलेको पुस्ताले थाहा पाएको सबैभन्दा ठूलो भूकम्प २०७२ वैशाख १२ मा गोरखा जिल्लाको वारपाक आसपास केन्द्रबिन्दु भएको ७.६ मानको भूकम्प हो । दैनिक जाने ससाना भूकम्पलाई छाड्ने हो भने पनि नेपालमा २०३७ मा बझाङ, २०४५ मा उदयपुर र २०६८ मा ताप्लेजुङ–सिक्किम सिमाना केन्द्रबिन्दु भएका मझौला भूकम्प गएका थिए । नेपालमा भूकम्पमापन यन्त्र जडान गरी भूकम्पको अध्ययन, अनुसन्धान तथा निगरानी गर्न सुरु भएयता हालसम्म नेपालमा गएको ०७२ को भूकम्प नै सबैभन्दा ठूलो र विनाशकारी हो । जसबाट मध्य नेपालका १४ वटा जिल्ला अति प्रभावित भए । सो भूकम्पको केही सेकेन्ड मात्रको धक्काका कारण करिब नौ हजार मानिस हताहत भए ।
०७२ वैशाख १२ को भूकम्प बिर्सिएका वा बिर्सन लागेका हामीलाई यसले के सङ्केत गरेको छ भने नेपाल भूकम्पीय जोखिम क्षेत्रमा पर्छ र यहाँ जुनसुकै समय मझौला तथा ठूला भूकम्प जान सक्छ । यसै पनि गोरखादेखि पश्चिम देहरादुनसम्म विगत करिब पाँच शताब्दीयता ठूला र महाभूकम्प गएको पाइँदैन, त्यसैले पनि हामी ठूला भूकम्पको खतराबाट मुक्त छैनौँ । तथापि हामी आत्तिनु, त्रसित हुनु वा डराउनुभन्दा सधैँ सजग र
सचेत रहनुपर्छ ।
नेपालमा हामीले महसुस नगर्ने तर भूकम्प संवेदनशील यन्त्रले रेकर्ड गर्ने ससाना भूकम्प दैनिक र मझौला, ठूला तथा महाभूकम्प केही समय (वर्ष)को अन्तरालमा जाने गर्छ । दुई सक्रिय प्लेटको टकराव क्षेत्रको ठीकमाथि अवस्थित नेपालमा भूकम्प जुनसुकै समय जान सक्छ, रोक्न र पूर्वानुमान गर्न नसकिने यससँग केही समय भागेर बाँच्न सकिँदैन । त्यसैले बेलाबेलामा आउने भूकम्पसँगै जुधेर वा भूकम्पको सामना गरेर बाँच्नुको विकल्प नभएकाले सधैँ सजग वा सचेत हुनुपर्दछ । त्यसका लागि हामीले पूर्वतयारी (भूकम्प जानुअघि, गइरहेको समयमा र गइसकेपछि के गर्ने ? भन्ने जानकारी राख्ने) गर्नुपर्दछ । यसमा भवन वा संरचना निर्माणदेखि उद्धार र राहतको तयारीसम्म पर्दछन् । अब हामी सबैभन्दा जटिल र अनुत्तरित प्रश्न, भूकम्पको पूर्वानुमान र पूर्वसूचना वा पूर्वचेतावनीका कुरा गरौँ, आखिर के हुन् त यी ?
भूकम्पको पूर्वानुमान
भूकम्प जानुअघि नै भूकम्प जाने समय (मिति र समय), स्थान (केन्द्रबिन्दु) र भूकम्पमानको भविष्यवाणी गर्नु वा पहिले नै अड्कल वा अनुमान गर्नु पूर्वानुमान हो, यस क्षेत्रमा कार्यरत वैज्ञानिकको चुनौतीका रूपमा रहेको भूकम्पको पूर्वानुमान हालसम्मको अथक् प्रयास हुँदाहुँदै पनि सम्भव भएको छैन ।
पूर्वसूचना प्रणाली
कुनै पनि भूकम्प गएपछि भूकम्पको कारणले उत्पन्न भएका तरङ्ग उद्गम बिन्दुबाट पृथ्वीको विभिन्न तह पार गर्दै सतहसम्म आइपुग्छन् । यी तरङ्गलाई सतहमा सुरक्षित रूपमा स्थापना गरिएका भूकम्प संवेदनशील यन्त्र (सिस्मोमिटर)को सहायताले रेकर्ड गरिन्छ । हाल भूकम्प संवेदनशील यन्त्रले रेकर्ड गरेका सबै भूकम्प मानिसले अनुभव नगर्न पनि सक्दछन् । भूकम्पका कारण उत्पन्न हुने विभिन्न तरङ्गमध्ये प्राथमिक तरङ्गको गति सबैभन्दा बढी भए पनि शक्ति भने सबैभन्दा कम हुन्छ । सोही कारण कहिलेकाहीँ मानिसले पहिलो तरङ्गको झट्का महसुस नगरी त्योभन्दा शक्तिशाली द्वितीयक तरङ्गका कारण उत्पन्न धक्का मात्र महसुस गर्न पनि सक्छ । यी दुई तरङ्ग पृथ्वीको भित्रभित्रै हिँड्ने वा प्रवाहित हुने भएकाले संयुक्त रूपमा वोडी वेभ पनि भन्ने गरिन्छ । त्यसैगरी त्यसपछि पृथ्वीको सतह–सतहमा हिँड्ने सतही तरङ्ग (सर्फेस वेभ)आउने गर्दछ, जसलाई हामी सबैभन्दा शक्तिशाली तरङ्ग
मान्ने गर्दछाँै ।
अहिलेसम्म प्रयोगमा आएको पूर्वसूचना प्रणाली यिनै प्राथमिक तरङ्ग र द्वितीयक तरङ्गसँग सम्बन्धित छ । पूर्वसूचना प्रणालीले भूकम्पबाट उत्पन्न हुने तरङ्गमध्ये सबैभन्दा छिटो गतिको प्राथमिक तरङ्ग आउनासाथ त्यसलाई रेकर्ड र प्रोसेसिङ गरेर सोभन्दा शक्तिशाली तथा विनाशकारी द्वितीयक तरङ्ग आउनुअगाडि त्यसको सूचना दिने प्रणाली हो । यसरी प्राथमिक तरङ्गका आधारमा भूकम्पको सूचना दिन सकिएमा द्वितीयक तरङ्ग (जुन प्राथमिक वेभभन्दा शक्तिशाली र विनाशकारी हुन्छ)बाट हुने मानवीय क्षति कम गर्न सकिन्छ कि भन्ने हो । यसमा धेरै बहस भए पनि यो प्रविधि पनि हालसम्म सोचेजति प्रभावकारी भने देखिएको छैन । यस किसिमको पूर्वसूचना प्रणाली खासगरी ठूलाठूला उद्योगजस्तै आणविक भट्टी, विद्युत् गृह तथा रेलहरू स्वतः बन्द गर्न सकिने क्षेत्रमा केही हदसम्म प्रभावकारी भएको पाइन्छ ।
त्यसैले विश्वसनीय पूर्वानुमान गर्न, नियन्त्रण गर्न वा रोक्न नसकिने तथा प्रभावकारी पूर्वसूचना प्रणाली नभएकाले जनचेतना र पूर्वतयारीमार्फत यसबाट हुने क्षति र जोखिम न्यूनीकरण गर्न भने अवश्यै सकिन्छ । अहिलेसम्मको अवस्थामा भूकम्पबाट हुने जोखिम र क्षति कम गर्ने सबैभन्दा उत्तम विकल्प पनि यही नै हो ।
माथि उल्लेख गरिएको र अहिलेसम्म प्रयोगमा आएको प्राथमिक वेभ र सेकेन्डरी वेभसँग सम्बन्धित पूर्वसूचना प्रणालीले घना भूकम्पीय सञ्जाल भएको अवस्थामा मात्र भूकम्प सुरु हुनासाथ पूर्वसूचना दिन सक्छ, जसका कारण मानिसलाई आफ्नो अमूल्य जीवन बचाउन मात्र केही सेकेन्डको समय मिल्न सक्दछ भन्ने हो । यो प्रविधिमा भूकम्पको केन्द्रबिन्दुको नजिकका स्टेसनमा प्राप्त भूकम्पीय तरङ्गको सहायताबाट यथाशीघ्र भूकम्पको केन्द्रबिन्दु र मान पत्ता लगाई त्यो सूचना सर्वसाधारणको जानकारी र सतर्कताका लागि छिटो प्रवाह गर्ने गरिन्छ । खासमा भूकम्प त गई नै सकेको हुन्छ, मात्र दुई तरङ्गको फरक गतिका कारण विनाशकारी तरङ्ग आइपुग्नु केही सेकेन्डअघि मात्र भए पनि यो सूचना दिन सकिएमा केही जीवन बचाउन सकिन्छ कि भन्ने अवधारणा हो– अहिलेसम्म गरिएको भूकम्प पूर्वसूचना प्रणाली ।
यसबाट के पनि बुझ्न जरुरी छ भने भूकम्पको केन्द्रबिन्दु नजिकका (जहाँ सामान्यतया बढी क्षति हुने गर्दछ) बासिन्दाले यो सूचना प्राप्त नगर्न वा प्राप्त गरे पनि त्यो ढिला भइसकेकाले त्यसबाट लाभान्वित हुने अवसर प्राप्त नगर्न पनि सक्दछन् । धेरै कम प्रवाह गरिने पूर्वसूचना प्रणाली दोषमुक्त पनि छैन । कहिलेकाहीँ यसरी गरिने पूर्वसूचना प्रणालीले दिने भूकम्पको मान वा तीव्रता (खासगरी ठूला मानका भूकम्पमा) वास्तविक नहुन सक्ने तथा सो भूकम्पबाट सबैभन्दा बढी प्रभावित हुने केन्द्रबिन्दु नजिकका व्यक्तिले यो सूचनाबाट लाभ लिन नसक्ने हुन सक्छ र छिटो सूचना दिनका खातिर केही स्टेसनको रेकर्डकै आधारमा सूचना प्रवाह गरिने हुँदा कहिलेकाहीँ गलत सूचना पनि प्रवाह हुन सक्छ भन्ने गरिन्छ । त्यसैगरी कहिलेकाहीँ दु्ई वा सोभन्दा बढी भूकम्प उस्तैउस्तै समयमा गएको अवस्थामा पनि सूचना वास्तविक नहुन सक्छ भन्ने मानिन्छ । यी सबै हाम्रा प्रयास भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि भएकाले आशा गरौँ, भविष्यमा विश्वसनीय पूर्वसूचना प्रणालीको विकास होला नै तथापि पनि ठूलो भूकम्पको सम्भावित जोखिम क्षेत्रमा बसेका हामी नेपालीका लागि भूकम्पबाट हुने क्षति अल्पीकरणका सम्बन्धमा पूर्वतयारी गर्नु तथा सधैँ सचेत, सजग र चनाखो हुनु वा रहनुको
विकल्प छैन ।