विचार/दृष्टिकोण |

क्रिकेट रङ्गशालाको बिजोग (सम्पादकीय)

कहिलेकाहीँ उद्देश्य सही हुन्छ तर त्यस उद्देश्यसम्म पुग्ने बाटो सही हुँदैन । सही उद्देश्य प्राप्त गर्नका लागि सही मार्ग नै अवलम्बन गर्नुपर्ने हुन्छ । गलत मार्ग अवलम्बन गरेर सही गन्तव्यमा पुग्न सकिन्न । चितवनमा बन्न लागेको क्रिकेट रङ्गशाला निर्माणको उद्देश्य शायद सही नै थियो होला । क्रिकेटको क्रेज बढिरहेको देशलाई सुविधासम्पन्न रङ्गशाला हुँदा सुनमा सुवास थपिन्थ्यो । तथापि रङ्गशाला बनाउनलाई जेजस्तो प्रक्रिया अवलम्बन गरियो, त्यो भने सही भन्न सकिने अवस्था आरम्भमै थिएन । अब त बनाउँछु भन्ने संस्थाले नै बनाउँदिन भनेर पन्छिएपछि प्रक्रिया गलत थियो भनेर सुरुदेखिकै अडान राख्नेहरू ठीक रहेछन् भन्नुपर्ने हुन्छ । राज्यका निकायले यस्तो परिघटनाबाट राम्रै पाठ सिक्नुपर्छ । मुख्य कुरा त लगानी भइसकेकोे स्रोत र साधनको उपयोगिताका लागिसमेत निर्माणाधीन रङ्गशाला जस्तो अवस्थामा छ, लिएर पूरा गर्नुपर्छ । दाताको मन रुवाउनु हुन्न ।

कुरा चितवनको रामपुरमा बन्न लागेको रङ्गशालाको हो । निर्माण पूरा नभए पनि त्यस रङ्गशालाले गौतम बुद्ध क्रिकेट रङ्गशाला नाम पाइसकेको छ । यो रङ्गशाला दुई जना कलाकारले बनाउन थाल्नुभएको हो । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे पारिवारिक रूपमा दम्पती हुनुहुन्छ । उहाँहरू धुर्मुस र सुन्तलीका नामले कला क्षेत्रमा प्रिय मानिनुहुन्छ । ०७२ सालको भूकम्पपछि उहाँहरूले विपन्नलाई घर बनाइदिने लगायतका सामाजिक काम गर्नुभयो । योसम्म पनि ठीकै थियो । उहाँहरूले आफ्नो साधनभन्दा बाहिरबाटै उठ्तीपुठ्ती गरेर त्यो पवित्र सामाजिक काम गर्नुभयो । आपत्विपत्का बेला निजी क्षेत्रबाट राज्यलाई सहयोग पुग्ने काम गर्नु पुण्य कर्म नै हो तर यस्तो देखियो, सामाजिक काम गर्दागर्दै उहाँहरू धेरै हौसिनुभयो । आफू कुन क्षेत्रको र आफूले गर्ने काम के हो भन्ने बिर्सिंदै गएर महìवाकाङ्क्षाको भ-याङ चढ्दै जानुभयो । उकास्नेले उकास्दै गए । त्यसको फलस्वरूप चितवनमा रङ्गशाला नै बनाउने काममा हात हाल्नुभयो । उद्देश्य सही भए पनि प्रक्रिया गलत थियो त्यो ।

धुर्मुस सन्तुली फाउन्डेसनको नाममा काम थालेर अहिले स्रोत उठ्न सकेन भनेर रङ्गशाला निर्माणको काम चटक्क छोड्नुभयो, त्यसलाई गल्ती नभनेर के भन्ने ? तर उहाँहरूको मात्रै भने गल्ती होइन, कलाकारद्वयलाई रङ्गशाला निर्माणजस्तो जटिल पूर्वाधार निर्माण भीख जम्मा गरेर बनाऊ भन्न जो जो निकाय लागे, जसजसले उकासे, ती सबै दोषका भागिदार छन् । तिनीहरूले पूर्वाधार निर्माणको न्यूनतम नीतिसमेत बुझेनन् । राज्यले हात हालेका पूर्वाधार त समयमा बन्न सकेको छैन, बिजोग छ भने सुकामोहोर उठाएर रङ्गशाला बन्छ भन्ने कल्पना गर्ने राजकीय निकाय र त्यसका अधिकारी पानीमाथिका ओभानो थिए भन्न मिल्दैन । रङ्गशालाको बिजोगको उनीहरू पनि भागीदार हुनुपर्छ ।

जानकारीमा आएअनुसार धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकालाई पत्र लेखी बाँकी रहेको निर्माणको जिम्मा लिन अनुरोध गर्दै काम छोडेको छ । फाउन्डेसनले अहिलेसम्म ५६ करोड ५० लाख रुपियाँ खर्च भइसकेको र त्यसमध्ये ३९ करोड ५० लाख रुपियाँ सहयोग सङ्कलन भएको तथा बाँकी १७ करोड रुपियाँ ऋण रहेको दाबी देखाइएको छ । भरतपुर महानगरपालिकाले विज्ञ प्राविधिक लगाएर गरेको अध्ययनले त्यतिका रकम खर्च भएको नदेखिँदा भने कुरा बिलखबन्धनमा पुगेको छ ।

यो घटनाबाट मुलुकले पूरै पाठ सिक्नुपर्छ । पूर्वाधार निर्माण जस्तो जटिल प्रक्रियामा अब चन्दा उठाएर कसैलाई निर्माण गर्न दिने काम गर्नुहुँदैन । कलाकारद्वयले त त्यसो गरे–गरेनन्, आवश्यक परे छानबिन होस् तर कतिपयले आफ्नो निहित स्वार्थ पूरा गर्न समाजसेवा, पूर्वाधार निर्माणको नाटक मञ्चन गर्छन् । ठूलो पूर्वाधार निर्माणमा त निजी क्षेत्रको आर्थिक सहयोग लिन पनि हुँदैन । पूर्वाधारका नाममा चन्दा उठाउने धन्दा फस्टाउन दिनुहुन्न । यसमा राज्यको नीति स्पष्ट हुनुपर्छ । निर्माण प्रक्रियामा गइसकेको त्यस रङ्गशालाको सन्दर्भमा भने महानगरपालिकालगायतले हातमा लिएर काम अगाडि बढाउनुपर्छ । यसमा थप राजनीति हुनुहुँदैन तर यो ठूलो पूर्वाधार भएकाले महानगरपालिकाले मात्र पार लगाउने अवस्था भएन भने प्रदेश तथा सङ्घीय सरकारको उचित निर्णय वाञ्छनीय छ ।