विचार/दृष्टिकोण |

शहीदप्रतिको उच्च सम्मान

प्रा. डा. श्रीरामप्रसाद उपाध्याय
आजभन्दा १७५ वर्षअघि इतिहासमा एउटा यस्तो दुःखद घटना भयो जुन घटना विश्वको इतिहासमा विरलै सुन्न र देख्न पाइन्छ । वि.सं. १९०३ भाद्र ३१ गते तदनुसार १४ सेप्टेम्बर १८४६ मा जङ्गबहादुर राणालाई कोतपर्व हत्याकाण्ड गराउनुपर्ने परिस्थितिको सिर्जना ग-यो । त्यसपछि भएको भण्डारखाल र औलो पर्वले जङ्गबहादुरलाई शक्तिशाली प्रधानमन्त्री बनायो । उहाँले प्रधानमन्त्रीको पद आफ्ना भाइ र परिवारमा सीमित गराउनु भएको थियो । हाम्रो देशमा राणा शासन चलिरहँदा चीनमा मन्चुरियाबाट आएका छिङ वंशको राज्यसत्ता कायम थियो । भारतमा ब्रिटिश उपनिवेश कायम थियो । नेपाल स्वतन्त्र राष्ट्र भए पनि एकतन्त्रीय शासन कायम थियो । १९६८ (१९११) मा चीनमा मन्चु शासनको विरुद्धमा आन्दोलन भयो र गणतन्त्रको स्थापना भयो ।

१९१४ (१८५७) मा भारतमा सिपाहीहरूले बेलायती शासनको विरुद्धमा विद्रोह गरेका थिए । त्यसपछि बेलायतको आँखा खुल्यो । भारतीयहरूलाई दबाएर मात्र शासन गर्न सकिँदैन भन्ने लाग्यो । त्यसैले बेलायत सरकारले भारतमा आफ्नो शासन खुकुलो गर्दै लग्यो । भारतीय युवाहरूलाई आफ्नो देशमा अध्ययन गर्ने अवसर प्रदान ग¥यो । त्यसको फाइदा उठाइ करमचन्द गान्धी (रवीन्द्रनाथ टैगोरले यिनको नाम महात्मा गान्धी राखे), जवाहरलाल नेहरू, रवीन्द्रनाथ टैगोरजस्ता भारतीय युवाहरूले बेलायत गएर अध्ययन गरेका थिए । यिनीहरूले बेलायत गएर फ्रान्स, बेलायत र अमेरिकामा भएको स्वतन्त्र सङ्ग्रामको विषयमा पढेका थिए । दक्षिण अमेरिकामा गोराहरूले अपमान गरेपछि करमचन्द गान्धीको मनमा विद्रोह जाग्यो । उहाँले भारतमा आएर अङ्ग्रेज शासनको विरुद्धमा आन्दोलन गर्नुभएको थियो । २३ मार्च १९३१ मा संसद् भवनमा बम हानेको अभियोगमा अङ्ग्रेज सरकारले सरदार भगतसिंह, राजगुरु र एकदेव जस्ता भारतीय युवालाई फाँसीमा झुण्ड्याइयो । प्रजातान्त्रिक आन्दोलनको यो लहर नेपालमा पनि पस्यो ।

१९९३ जेठ २० (१९३६ जुन २) नेपाली युवाहरूले राणा शासनको विरुद्धमा आन्दोलन गर्न प्रजापरिषद् नामको गोप्य राजनीतिक सङ्गठनको स्थापना गरेका थिए । दशरथ चन्द, धर्मभक्त माथेमा, टङ्कप्रसाद आचार्य, रामहरि शर्मा र जीवराज शर्मा गरी पाँचजना यसका संस्थापक सदस्य थिए । शुक्रराज शास्त्री (जोशी) का पिता माधवराज जोशी राणा शासनको विरुद्धमा हुनुहुन्थ्यो । शुक्रराज शास्त्रीले नागरिक अधिकार समिति खोल्नुभएको थियो । गङ्गालाल श्रेष्ठ पछि प्रजापरिषद्का सदस्य हुनुभएको थियो । चिनियाँमान सिंहले महावीर स्कुल खोलेर राणा शासनको विरोध गर्नुभएको थियो । गङ्गालाल श्रेष्ठ त्रिचन्द्र कलेजका विज्ञानका विद्यार्थी र महावीर स्कुलमा पढाउँनु हुन्थ्योे ।

शुक्रराज शास्त्रीले सावरमति आश्रममा गएर महात्मा गान्धीलाई भेटेर नेपालको राणा विरोधी आन्दोलनमा सहयोग गर्न अनुरोध गर्नुभएको थियो । महात्मागान्धीले यिनको कुराको कुनै जवाफ दिनुभएन । यिनी नेपाली क्रान्तिकारीलाई साथ दिएर राणाहरूलाई चिढ्याउन चाहँदैनथे । त्यसबखत नेपाली युवाहरू डा.डिल्लीरमण रेग्मी, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, मनमोहन अधिकारीजस्ता नेपाली युवाहरू अङ्ग्रेज विरोधी आन्दोलनमा लागेका थिए । शुक्रराज शास्त्रीमाथि भारतीय नेताहरूसँग सम्पर्क गरेको आरोप पनि लगाइएको थियो ।

१९९७ माघ ६ (१९४१ जनवरी १९) मा राणा शासकहरूको विशेष अदालतले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई सर्वस्वसहित मृत्युदण्ड सुनाएको थियो । माघ ९ मा शुक्रराज शास्त्रीलाई टेकुमा र माघ ११ गते धर्मभक्त माथेमालाई सिफलमा रुखमा झुण्ड्याएर मारियो । माघ १४ गते शोभा भगवती नजिक विष्णुमतिको किनारमा गोली ठोकेर दशरथ चन्द र गङ्गालाललाई शहीद बनाइयो । गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिन नरदेवीको बाटो शोभा भगवती लैजाँदा रातको समयमा उहाँले सुत्केरी पत्नी हसिनालाई हसिना हसिना भनेर बोलाउनुभएको थियो तर हसिना मस्त निद्रामा भएको हुनाले आफ्ना पतिले बोलाएको सुन्नुभएन । यसरी गङ्गालाल श्रेष्ठले अन्तिम समयमा पनि आफ्नो पत्नी र नवजात शिशुलाई भेट्न पाउनु भएन ।
निष्कर्ष
नेपालले सङ्कटको समयमा सधैँ आफ्ना छिमेकीहरूलाई साथ र सहयोग गर्दै आएको छ । तिब्बतमा रहेको नेपाली सेना टङ्कप्रसाद आचार्यको प्रधानमन्त्रित्वकालमा नेपाल फिर्ता आएको थियो । त्यसको निम्ति चीन नेपालप्रति ज्यादै अनुग्रहित भएको थियो । नेपाली युवा भारतीय सेनामा भर्ती भएर भारतको सुरक्षा गरिरहेका छन् । त्यसैले लिपुलेक, लिम्पियाधुरा र मुस्ताङसम्बन्धी समस्या समाधानमा दुवै छिमेकी राष्ट्रहरूले नेपाललाई सहयोग गर्नु पर्दछ । हाम्रो देशमा शहीदका जीवनी झल्कने नाटक, चलचित्र वा यस्तै श्रव्यदृश्य सामग्री बनेका छैनन् । यसतर्फ सरकार र चलचित्र सङ्घको ध्यान जानु आवश्यक छ । यसको साथै शहीद तथा शहीदका परिवारहरूको रेखदेख तथा शिक्षाको उचित व्यवस्था गर्नुपर्दछ । हालसम्म पनि हाम्रो देशमा प्रजातन्त्रको निम्ति अनेक युवाहरूले आफ्नो जीवन बलिदान गरेका छन् । ती सबै ज्ञात अज्ञात शहीदप्रति श्रद्धासुमन अर्पण गर्नु सबै नागरिकको कर्तव्य हो ।