सङ्घीयताका फरक अभ्यास
प्रेमराज सिलवाल
विश्वको सङ्घीय शासनमा अमेरिकाको नाम अग्रपङ्क्तिमा आउने गरेको छ । सन् १७७६ मा स्वतन्त्रता पाएको शक्तिशाली देश अमेरिका पूर्ण सङ्घीयता भएको मुलुक हो । जहाँ राज्यहरूका आफ्नै संविधान रहेका छन् । सोही कारण ३१ राज्यमा मृत्युदण्ड दिने कानुन लागू गरिएको छ । यद्यपि व्यक्तिगत स्वतन्त्रता, प्रजातन्त्र, मानव अधिकार, विधिको शासन, सुशासन, विकासमुखी प्रजातन्त्र, उदारवाद, निजीकरणजस्ता आधुनिक मान्यताका कारण विश्वको ध्यान सधँै खिच्न सफल अमेरिकामा सुरुमा १३ राज्य रहेकोमा हाल ५० राज्य तथा एक विशेष भूभाग रहेको छ ।
विश्वमा सङ्घीय शासन भएका देशमध्येमा स्विट्जरल्यान्डलाई उत्तम नमुनाको रूपमा लिइन्छ । विश्व युद्धहरूमा कुनै पनि समूहबाट भाग नलिएको सीधा प्रजातन्त्र, विधिको शासन, मानव अधिकार, नागरिक समाज, प्रेस स्वतन्त्रता, पारदर्शिता, सुशासनजस्ता आधुनिक लोकतन्त्रका मान्यतामा पूर्ण विश्वास गर्ने स्विट्जरल्यान्डले सबै जनताको शासनमा पूर्ण प्रतिनिधित्व गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरेको छ । २७ क्यान्टोनहरूमा विभाजित शासनमा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउनेसम्मको अधिकार जनतालाई रहेको देखिन्छ ।
अस्ट्रेलिया संवैधानिक राजतन्त्र भएको अलग्गै महादेश हो । राजा सेरेमोनियल भएकोले शासनमा भने कुनै हस्तक्षेप गर्दैनन् । निर्वाचित संसद्ले बहुमतको आधारमा प्रधानमन्त्रीको चयन गर्र्ने गर्दछ । विकास, उन्नत्ति, सुशासन, लोकतन्त्र, विधिको शासन, मानव अधिकारजस्ता कुरामा अत्यन्त सजग देखिन्छ । जहाँ छ राज्य र तीन भौगोलिक क्षेत्र रहेका छन् ।
क्यानडा पनि भूगोलमा ठूलो मुलुक भए पनि विकास, सुशासन, पर्यटन, उद्योगजस्ता विषयका कारण विश्वमा उसको नाम चर्चामा रहेको छ । शासनको प्रमुखमा राजा रहेको भए पनि संवैधानिक र सेरेमोनियल भएका कारण शासनमा निर्वाचित संसद्बाट विश्वासप्राप्त प्रधानमन्त्री कार्यकारी पदमा रहने गरेका छन् । १० प्रदेश र तीन भूगोलको सङ्घीय शासनले सो मुलुक चलेको छ ।
सङ्घीय शासनको विश्व इतिहासमा नाइजेरियाको शासनलाई निकै कमजोर खालको सङ्घीयता भन्ने गरिएको छ । गणतन्त्र भएको मुलुक भए पनि गरिबी, चरम हिंसा–द्वन्द्व, अशिक्षा, भोकमरीजस्ता समस्याले आक्रान्त छ । शासन अस्थिर भएको कारण जनताले कुनै आधारभूत सुविधा पाउन सकेका छैनन् । सो मुलुकमा सन् १९९४ मा नौ जातीय राज्यबाट सुरु भएको जातीय राज्य अहिले ३० भन्दा बढी भइसक्दा पनि सोही माग राखी सशस्त्र सङ्घर्ष जारी रहेको छ । जर्मनीलाई १६ राज्यमा विभाजन गरिएको छ । उद्योग, पर्यटन तथा समग्र विकास तथा सुशासनमा अग्रणी मुलुक जर्मन गणतन्त्र भए पनि राष्ट्र प्रमुख सेरेमोनियल हुन्छन् भने संसद्बाट निर्वाचित चान्सर्लर कार्यकारी भूमिकामा छन् ।
नेपालको दक्षिणी छिमेकी भारत सन् १९४७ देखि गणतन्त्र भएको मुलुक हो । संसदीय प्रजातन्त्र मान्दै आएको भारत लोक सभाका ५४३ सदस्यमध्ये संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीले शासन सञ्चालन गर्ने गर्दछन् । संवैधानिक व्यवस्थाअनुसार निर्वाचित राष्ट्रपति संवैधानिक रहेका छन् । एक अर्ब ३२ करोडभन्दा धेरै जनसङ्ख्या भएको मुुलुक भूगोल र जनसङ्ख्यामा सिङ्गो युरोपभन्दा ठूलो भए पनि गरिबी, कुशासन, अशिक्षा, अव्यवस्था, भ्रष्टाचारजस्ता चरम सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक समस्याबाट गुज्रिरहेको छ । यद्यपि ठूलो भूगोल, जनसङ्ख्या, बजार तथा उत्पादन क्षमता भएका कारण व्यापक बजार, कृषि, ठूला अन्तर्राष्ट्रिय स्तरका उद्योग, सस्तो श्रमजस्ता कारणले उसको सङ्घीय गणतन्त्र–लोकतन्त्र दिगो तथा समृद्ध देखिन्छ । सुरुमा ११ राज्यको गणतान्त्रिक सङ्घीयताको मुलुक भारत अहिले ३१ राज्य र सात संयुक्त भूभागको देश भएर पनि नयाँ सङ्घीय राज्यको माग राख्दै आज पनि सङ्घर्ष चाहिँ जारी राखिएका छन् ।
द्वन्द्वग्रस्त मुलुकको उदाहरण दिनुपर्दा सन् २००९ देखि चरम हिंस्रक द्वन्द्वमा फसेको मुलुक इराकलाई पनि लिन सकिन्छ । जहाँ तेलको भण्डार रहेको मानिएको छ । अमेरिकाले तत्कालीन राष्ट्रपति सद्दाम हुसैनको हत्या गरी शासन आफ्नो हातमा लिएपछि राजनीतिक र धार्मिक हिंसाका कारण लाखौँलाखले ज्यान गुमाइसकेका छन् । १८ गोभनोरेटस् र एक भौगोलिक क्षेत्र कुर्दिस्तानमा शासन विभाजित गरिएको छ ।
मलेसिया उद्योग, पर्यटन, कृषिजस्ता पूर्वाधारमा लगानी गरी उच्च आर्थिक हैसियत बनाएको कार्यकारी राष्ट्रपति भएको गणतान्त्रिक मुलुक हो । १३ राज्य र तीन सङ्घीय भूभागमा विभाजन गरी शासन सञ्चालित छ ।
सार्क सदस्य मुलुक पाकिस्तान सन् १९४७ मा भारतबाट अलग भई बनेको इस्लामिक राष्ट्र हो । इतिहासदेखि नै राजनीतिक द्वन्द्व, कमजोर गणतान्त्रिक प्रजातन्त्र, सेनाको सत्तामाथि सधैँजसो हस्तक्षेप, हत्या र हिंसा, आतङ्कारीको आश्रयस्थलजस्ता समस्याबाट आक्रान्त भएको देखिन्छ । संसद्बाट निर्वाचित सेरेमोनियल राष्ट्रपति र संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री भएको पाकिस्तानमा भूगोलको आधारमा सङ्घीय शासनलाई विभाजन गरेको देखिन्छ । जसमा चार प्रदेश र दुई स्वायत्त क्षेत्र र दुई भूभाग रहेका छन् ।
त्यसैगरी, संयुक्त राष्ट्रसङ्घमा विशेषाधिकार भएको रुस भूगोलमा विश्वमै ठूलो मुलुक हो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिबाट शासन गर्ने रुसमा ४६ ओब्लेस, २२ गणराज्य, नौ किरिस, चार स्वायत्त ओकुर्ग, तीन सङ्घीय राज्य र एक स्वायत्त ओव्लेल्र्स रहेका छन् ।
दक्षिणी सुुडान गरिबी, अस्थिरता, भोकमरी, धार्मिक अन्धविश्वास रहेको देश हो । जहाँ १० राज्य रहेका छन् । त्यस्तै अफ्रिकी मुलुक सुडान अर्काे चरम द्वन्द्वग्रस्त, हिंसा, गरिबी भएको गणतान्त्रिक मुलुक हो । जसमा १७ राज्य छन् । सक्रिय राजतन्त्र भएको संयुक्त अरब इमिरेटस्मा सात इमिरेटस् रहेका छन् । समुद्री पर्यटन, उद्योग आदिका कारण सानो मुलुक भएर पनि विकसित रहेको देखिन्छ ।
भेनेजुएला गाणतान्त्रिक मुलुक भए पनि अमेरिकामा जस्तो राष्ट्रपतिलाई शासनको अधिकार छैन । विगतमा तेलको मूल्यमा आएको गिरावट, राजनीतिक द्वन्द्व, कृषिजन्य सामग्रीको मूल्यमा गिरावटजस्ता कारणले बेरोजगारी, गरिबी, हिंसा तथा राजनीतिक द्वन्द्व झेल्दै आएको कारण पूरै प्रणाली अस्तव्यस्त भएको देखिन्छ । २३ राज्य, एक राजधानी जिल्ला भेनेजुएलामा तत्कालीन राष्ट्रपति ह्यूगो चावेजको कार्यकालमा अमेरिकाले चर्काे विरोध गर्दागर्दै जुधेरै अघि बढ्दै शक्तिशाली मानिएका थिए । हाल दयनीय अवस्था छ ।
विश्वमा एकात्मक प्रणाली भएको विशाल चीनजस्ता देशले पनि सङ्घीयतामा जस्तै प्रान्तहरूलाई अधिकार दिएको देखिन्छ । जसमा २२ प्रान्त, पाँच स्वायत्त क्षेत्र, चार प्रदेश तहका महानगरपालिका, दुई विशेष प्रशासनिक क्षेत्र र एक आफ्नो दावा गरिरहेको प्रदेश रहेका छन् । एकात्मक शासन भएको अर्काे विश्वको शक्तिशालीमध्येको बेलायतमा चारवटा भूगोल इङ्ग्ल्यान्ड, वालिस, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डलाई सङ्घीयतामा जस्तै कतिपय शासकीय अधिकारसमेत दिइएको देखिन्छ ।
फ्रान्समा १८ क्षेत्र जसमा सात स्वायत्त शासनको अधिकारसहितको भाग रहेको छ । इन्डोनेसिया ३४ प्रदेश, पाँच विशेष क्षेत्र रहेका छन् । इटाली २० क्षेत्र जसमा पाँच स्वायत्त, नेदरल्यान्डमा चार क्षेत्र, फिलिपिन्स एक स्वायत्त क्षेत्र जसमा पाँच प्रदेश र ११३ अन्य साना प्रदेश तथा स्वतन्त्र सहरहरू र त्यसमा पनि १७ अन्य स्वायत्त क्षेत्र रहेको देखिन्छ ।
विश्वमा सङ्घीय शासनसहित कार्यकारी राष्ट्रपतीय शासन भएका देशहरूमा अमेरिका, अफगानिस्तान, अंगोला, अर्जेन्टिना, बोलिभिया, ब्राजिल, बुरुण्डी, चिली, कोलम्बिया, कोमोरस, कोष्टारिका, साइप्रस, डोमिनियान रिपब्लिक, इक्वेयडर, एल साल्भाडोर, गाम्बिया, घाना, ग्वाटेमाला, होन्डुरस, इन्डोनेसिया, केन्या, लिविया, लाइवेरिया, मालावी, माल्दिप्स, मेस्सिको, निकारागुवा, नाइजेरिया, पालाउ, पानामा, पाराग्वे, फिलिपिन्स, सेचिलिस, सियेरा लियोन, सोमालिया, दक्षिणी सुडान, तुर्किमिनिस्तान, उरुग्वे, भेनेजुएला, जाम्बिया, जिम्बावे आदि रहेका छन् ।
विश्वमा सङ्घीयताको अनुभव हेर्दा समृद्धिको सहायक सङ्घीय शासन व्यवस्था एक मात्र प्रणाली हुन्छ भन्ने देखिन्न । नर्वेमा राजतन्त्रसहितको सङ्घीयता रहेको छ । जहाँ सन् २०१२ मा एक सय वर्षमा बल्ल संविधानको संशोधन भएको भए पनि कुनै राजनीतिक द्वन्द्व छैन् । बरु राष्ट्र विकसित रहेको छ । सुडान, नाइजेरिया, इथियोपिया, अफगानिस्तान, पाकिस्तानजस्ता देश सङ्घीय गणतन्त्र भए पनि सबै दृष्टिले तन्नम भइसकेका छन् । जहाँ जातीय, धार्मिक तथा अन्य युद्धसमेत चर्किएका छन् । । चीन, बेलायत, जापानजस्ता मुलुक एकात्मक भएर पनि स्थिर तथा समृद्ध रहेका छन् । नेपालको सङ्घीयता लागू गर्दा यिनै विश्वका अनुभव तथा उदाहरणहरूको सूक्ष्म विश्लेषण तथा अध्ययन गर्दै मुलुकको समग्र हित तथा राजनीतिक आवश्यकताका आधारमा अगाडि बढ्नुपर्ने अवस्था छ ।