बहसमा बुस्टर डोज
डा. प्रकाश बुढाथोकी
कुनै बेला खोप पाउन संसार जित्नुसरह थियो । खोप आउने क्रम दैनिक बढ्दैछ । साढे पाँच करोड मात्रा सुनिश्चित तथा चार करोड भित्रिसक्दा पनि दुईतिहाइ जनता पहुँच बाहिर रहँदा पनि साढे एक करोड मात्रा स्टोरमा थन्किए । कहिले सार्वजनिक बिदा त कहिले सिलिञ्ज अभाव त कहिले जनशक्ति र खोपकेन्द्र अभावका कारण सोचेजस्तो द्रुतगतिमा खोप कार्यक्रम हुन सकेको छैन । तथापि पहिलो, दोस्रो सँगसँगै तेस्रो अर्थात् बुस्टर डोज देशभर चलिरहेका छन् । २०७७ माघ १४ गते कोभिसिल्ड खोप दिई शुभारम्भ भएको कोरोनाविरुद्धको खोप अभियान २०७८ माघ १३ गतेसम्म तीन करोड छ लाख चार हजार १५२ मात्रा खोप लगाइसकिएको छ ।
जसमा एक मात्रा एक करोड ६४ लाख ७४ हजार ५१४ र एक करोड ३८ लाख ३३ हजार ६२९ ले पूर्ण मात्रा खोप लगाएका छन् भने बुस्टर मात्रा लगाउने दुई लाख ९६ हजार नौ छन् । हालसम्म नेपालमा कोभिसिल्ड, सिनोफार्म/ भेरोसेल, जोन्सन, एस्ट्राजेनिका, मोर्डना र फाइजर गरी चार करोड २० लाख ४९ हजार ६४० मात्रा खोप आइसकेको छ । अहिलेसम्म १८ वर्षमाथिका ८२.७ प्रतिशतले एक मात्रा र ६९.४ प्रतिशतले पूर्ण खोप तथा तीन लाखले अतिरिक्त मात्रा लगाइसकेका छन् । १२ देखि १७ वर्ष उमेर समूहका १८ लाख ७२ हजार छ सय ७० ले पहिलो र तीन लाख ५८ हजार २९८ ले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
सरकारले हालसम्मकै बढी पुस १२ गते पाँच लाख ६८ हजार तीन सय १९ जनालाई कोरोनाविरुद्धको खोप दिन सफल भएपछि उत्साहित हँुदै पुस मसान्तसम्म दैनिक पाँच लाख नागरिकलाई खोप लगाउने र सरकारले ६६ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्य पूरा गर्ने बतायो । त्यसपछिका दिनमा त्यो तथा त्योभन्दा बढीलाई खोप दिन सकेन । १६ हजार खोप केन्द्रबाट सेवा दिँदा पनि अपेक्षाकृत नतिजा नआए जनगणना गर्दाजस्तै घरघरमा टोली पठाई खोप लगाउने विषयमा पनि मन्त्रालयले गृहकार्य गर्दैछ ।
बालबालिकालाई खोप
नेपालका १२ देखि १८ वर्षका ३४ लाख बालबालिका भएकाले तीन चरणमा सम्पन्न गर्ने गरी बालबालिकालाई लक्षित गर्दै पहिलो चरण पुस ४ गतेदेखि १५ दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सुरु भयो । पहिलो चरणमा फाइजर खोप नलगाएका सातवटै प्रदेशका हिमाली, पहाडी, उपत्यकालगायत ५७ जिल्लाका १७ लाख बालबालिका लक्षित गर्दै विद्यालयमै खोप केन्द्र सञ्चालन भए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आफैँले पढेको हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट शुभारम्भ गर्नुभएको थियो । तीन प्रदेशका आठ जिल्लामा भने पुस १३ देखि २२ गतेसम्म फाइजर खोप अभियान चल्नेछ भनिए पनि सञ्चालन पुस २७ देखि भयो ।
बाँकी १२ जिल्लामा सञ्चालन मिति पछि तोकियो । पहाडी र दुर्गम जिल्लामा सय तथा तराई र सहरी इलाकामा दुई सय विद्यार्थी भएपछि एक खोप केन्द्र मानेर जिल्ला स्वास्थ्यले समन्वय गर्दै स्थानीय प्रशासन र तहबाट निर्णय गरेका थिए । त्यसो त यसअघि कात्तिकमा पनि १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई १९ जिल्लाका अस्पतालबाट फाइजर खोप दिइएको थियो ।
मोर्डनाको ४० लाख र कोभ्याक्सबाट आएको खोप ११ देखि १७ वर्षकालाई पर्याप्त हुने भएपछि सरकारले ५ देखि ११ वर्ष समूहका ३९ लाख ९५ हजार ८८६ जना बालबालिकालाई खोप दिने प्रक्रिया सुरु भएको छ । सन् २०२२ को मार्चसम्म खोप दिइसक्ने सरकारी योजना छ । पुस ६ गते फाइजरलाई पत्राचार गर्दै बालबालिकालाई दिन मिल्ने गरी आउन लागेको ६० लाख वयष्क खोपलाई गुलाबी खोपमा परिवर्तन गर्न सरकारले अनुरोध गरिसकेको छ ।
तेस्रो मात्रा
एक पटक खोप लगाएर जीवनभर एन्टिबडी नरही घट्दै जाने भएकाले पुनः सङ्क्रमणको जोखिम रहन्छ । एन्टिबडी बढाउन थप खोपको जरुरत पर्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि कुल जनसङ्ख्याको ४० प्रतिशतले खोप लगाएपछि तथा छ महिनापछि बुस्टर डोज दिन सिफारिस गरेको छ । बुस्टर डोज सबैलाई हो भने अतिरिक्त मात्रा रोग प्रतिरोधी क्षमता कम भएका उमेर समूह र दीर्घरोगीलाई दिने मात्रा हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाएका तीन महिना पुगेका अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य संस्था तथा सरकारी निकायमा काम गर्ने कर्मचारीलाई माघको पहिलो साता अर्थात् माघ २ गतेदेखि बुस्टर र ६० वर्षमाथिका ज्येष्ठ नागरिक तथा मध्यम र गम्भीर रूपमा प्रतिरोधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सर, अङ्ग प्रत्यारोपण, एचआईभी, उपचारका क्रममा प्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरिरहेका बिरामी, पूर्ण मात्रा लगाएको छ महिना पुगेका सबैलाई थप एक मात्रा खोप माघको दोस्रो साता अर्थात् १४ गतेबाट दिइँदैछ । हाल देशमा करिब नौ लाख ४९ हजार आठ सय ८७ फ्रन्टलाइनर र २६ लाख २५ हजार जति ६० वर्षमाथिका ज्येष्ठ नागरिक छन् । त्यस्तै गत वर्ष फ्रन्टलाइन भन्दै कूटनीतिक पदाधिकारी, राजदूतावास र राष्ट्रसङ्घका कर्मचारी, पत्रकार र स्थानीय तहका जनप्रतिनिधिलाई पनि लगाइएकाले यस पटक पनि त्यस्तै भएको छ ।
खोप लगाएकामा पनि सङ्क्रमण
नेपालमा खोप लगाउन सुरु गरेका बेला प्राथमिकतामा परेका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार तेस्रो लहरमा सङ्क्रमित हँुदैछन् । खोप अभियान चल्दै गर्दा दोस्रो लहर आयो र प्रायः खोप लगाएकालाई कमै र नलगाएकालाई बढी असर देखायो । तेस्रो अर्थात् ओमिक्रोन फैलिँदै गर्दा २०७७ माघ दोस्रोमा पहिलो र वैशाखमा दोस्रो मात्रा लगाएका देशका धेरैजसो अस्पतालका स्वास्थ्यकर्मीमा २०७८ पुस १५ पछि सङ्क्रमण धमाधम बढ्दै सङ्क्रमितको सङ्ख्या हजार बढी पुगे । पहिलो कारणमा सङ्क्रमण वा खोप लगाएको छ महिना कट्यो र एन्टिबडी घट्दै गएको छ । दोस्रो ओमिक्रोन भेरियन्टले खोप तथा सङ्क्रमणले बनाएको एन्टिबडी लाई पनि कमजोर बनाउँछ । तेस्रो सङ्क्रामक तर कम घातक भएको भन्दै अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्य सर्तकता र स्वास्थ्यका मापदण्ड पूर्ण पालना भएनन् । चौथो कारणमा तेस्रो लहर आइसक्दा पनि तेस्रो वा बुस्टर मात्रा पाएनन् हुन त लगाए पनि एन्टिबडी बन्न दुई साता लाग्ने र अस्ट्रेलियाको केसले पनि पुष्टि गरेको खोप लगाएको भए पनि ओमिक्रोनले एन्टिबडी लाई ब्रेक गर्छ भन्ने पनि हालको अनुसन्धानले देखाएका छन् । सङ्क्रमण नै भए पनि अस्पताल भर्ना र मृत्यु भने खोपले रोक्ने गरेको छ ।
बुस्टर तथा तेस्रो मात्रा कति प्रभावकारी
बुस्टर डोजले एन्टिबडी को तह उच्च हुने, भाइरसको मात्रा बढ्न तथा कोषमा प्रवेश गर्न रोक्ने भएकाले ओमिक्रोनबाट ८५ प्रतिशत सुरक्षित रहने बेलायतका अनुसन्धानकर्ताले जनाएका छन् । लन्डनस्थित इम्पेरियल कलेजले गरेको उक्त अध्ययनमा दुई मात्रा खोप लगाएकामा एन्टिबडीको क्षमतामा २० देखि ४० प्रतिशतसम्म कमी आएकाले खोप ओमिक्रोनमा कम प्रभावकारी देखिएको जनाएको छ । तसर्थ बुस्टर खण्डमा प्रभावकारिता ८० देखि ८५.९ प्रतिशत देखिएको छ । डेल्टालगायतका अन्य भेरियन्टमा यस्तो प्रभावकारिता ९७ प्रतिशत छ ।
बेलायती वैज्ञानिकले डेल्टा र ओमिक्रोनबाट बच्न खोपको दुई मात्राले नपुग्ने र थप एक मात्राले सुरक्षित हुने सम्भावना ७० देखि ७५ प्रतिशत हुने, करिब ६ सय जनामा अध्ययनअनुसार बताएका छन् । दोस्रो र तेस्रो मात्राको फरक छ महिनालाई घटाई तीन महिनामा बेलायतले ल्याएको छ । बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीको प्रतिवेदनमा दोस्रो मात्रा लिएको छ महिनापछि त्यसको असर ५२ प्रतिशत कम हुने भएकाले कोभिड सङ्क्रमण र गम्भीर लक्षणबाट जोगिन बुस्टर डोज आवश्यक छ । उक्त प्रतिवेदनमा डेल्टा भेरियन्टको दाँजोमा बुस्टर डोज ओमिक्रोनमा कम असरदार छ तर बिरामी भएपछि अस्पताल भर्ना हुनपर्ने अवस्था आउन गम्भीर लक्षणबाट जोगाउँछ । बुस्टर डोज अर्थात् तेस्रो मात्रा लिएपछि खोपको प्रभावशीलता ५२ प्रतिशतदेखि ८८ प्रतिशतसम्म बढ्छ, ओमिक्रोन सङ्क्रमण गम्भीर हुन पाउँदैन र अस्पताल भर्ना हुने जोखिमसमेत ८१ प्रतिशतसम्म कम हुन्छ । त्यस्तै ओमिक्रोन सङ्क्रमणपश्चात् लक्षण देखिएकामा बुस्टर डोजले अस्पताल भर्ना हुने जोखिम ६८ प्रतिशतसम्म कम रहन्छ ।