वसन्त श्रवणको महिमा
वसन्त महर्जन
हनुमानढोका दरबार परिसरमा सम्पन्न गरिने विभिन्न सांस्कृतिक समारोहमध्ये वसन्त श्रवण पनि एक हो । यो श्रीपञ्चमीका दिन बिहान हनुमानढोका दरबारको नासल चोकमा सम्पन्न गरिन्छ । समारोहमा सरिक हुन राष्ट्राध्यक्षका रूपमा राष्ट्रपतिको उपस्थिति हुन्छ । नेपालमा गणतन्त्र स्थापना हुनुअघि गद्दीनसीन राजाको विशेष उपस्थिति हुन्थ्यो । विशिष्ट समारोहअन्तर्गत पर्ने भएकाले यस समारोहका लागि राजपत्राङ्कित र त्यसभन्दा माथिका सबैजसो सरकारी कर्मचारी हाजिर हुन्छन् ।
वसन्तोत्सवको प्राचीन साहित्यमा बडो महìवका साथ रोचक शब्दावलीमा वर्णन गरिएको पाइन्छ । प्रकृति वर्णनको साहित्य यस प्रसङ्गमा अझ मुखरित हुन पुग्छ । वैदिक ग्रन्थहरूले यसलाई धार्मिकीकरण गरेर समाजमा यसको महìव अझ बढाउने र कतिपय सन्दर्भमा अनिवार्य पनि गरिदिएको देखिन्छ । यसबाट यो एक प्राचीन परम्परा हो भन्न सकिन्छ । वसन्तोत्सव के कसरी मनाउने भन्ने विषयमा कुनै निर्दिष्ट निर्देशिका नपाइए पनि आआफ्नो परम्परा, प्रचलन तथा सुविधाअनुसार तत्कालीन समाजमा मनाइन्थ्यो भन्ने कुरा बुझिन्छ । त्यसबेला यौनसँग सम्बन्धित देवता कामदेवको पूजा गरी यो उत्सव मनाउने प्रचलन थियो ।
यी प्रसङ्गबाट लामो समयदेखि समाजमा निरन्तरता पाइरहेका केही उत्सवमध्ये यो पनि एक हो भन्न सकिन्छ तर समय र ठाउ“अनुसार यो उत्सव मनाउने ढङ्गमा फरक आएको पाइन्छ । नेपालमा वसन्तोत्सवका अवसरमा दरबारभित्र अन्य कार्यक्रमका साथै विशिष्ट वर्गमा वसन्त श्रवण कार्यक्रम पनि लोकप्रिय रहेको पाइन्छ । राजतन्त्रात्मक राज्य व्यवस्थाको समयमा गद्दीनसीन राजाको उपस्थितिमा हुने वसन्त श्रवणको परम्परा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनापछि पनि राष्ट्राध्यक्षको उपस्थितिमा उत्सवले निरन्तरता पाई नै राखेको छ । यो कहिलेदेखि चलेको हो भन्ने कुरा जिज्ञासाको विषय हुन्छ ।
वसन्तोत्सवको परम्परा नेपालमा कहिलेदेखि प्रचलनमा आएको भन्नेसम्बन्धमा किटान गरेर भन्न सकिने ऐतिहासिक स्रोतहरूको अभाव छ तर यसको सङ्केत गर्ने एउटा अभिलेख भने गोकर्णको गोकर्णेश्वर महादेवको मन्दिरदेखि केही पूर्वोत्तरतिरको एक मन्दिरनजिक भुइ“मा रहेको छ । छेउको अलिकति भाग मात्र बचेको यस अभिलेखमा संवत् भाग खिइएको छ तर लिच्छविकालीन राजा अंशु बर्माले ‘श्रयंशुबर्मा’का रूपमा शासन चलाउन लागेको बेलाको अभिलेख भएको मत इतिहासकार धनवज्र वज्राचार्यले आफ्नो ‘लिच्छविकालका अभिलेख’ पुस्तकमा उल्लेख गर्नुभएको छ ।
अभिलेख जतिसुकै नष्ट भइसके पनि त्यसमा ‘(व)ज्रयान’, ‘बुद्ध’, ‘(स्वयम्भू) भूचैत्यभट्टा (रक)’ जस्ता शब्दावली सबुत रहेबाट बुद्ध धर्मस“ग सम्बन्ध राख्ने अनुमान गरिएको यस अभिलेखमा ‘...प्रतिवर्ष ... शुक्ल पञ्चमीको दिन बिहान नै स्नान गरी ...’ भन्ने वाक्यांश परेको हुनाले सम्भवतः माघ शुक्ल पञ्चमीका दिन हुने वसन्त पञ्चमीका बारेमा केही कुरा लेखिएको हुन सक्ने अनुमान अर्का इतिहासविज्ञ गौतमवज्र वज्राचार्यको छ तर यत्तिकै भरमा लिच्छविकालमा नेपालका राजाहरू वसन्त श्रवण गर्थे भन्न सकिने अवस्था छैन । यसो हुँदाहुँदै त्यो बेला पनि यस दिन केही न केही हुन्थ्यो भन्ने सङ्केत भने दिन्छ र वसन्त श्रवण नै हो कि भनी अनुमान गर्न ठाउँ भने दिएको छ ।
मल्ल राजाहरूले यस दिन वसन्त श्रवण गर्ने गरेको कुरा स्पष्टस“ग उल्लेख छ । भक्तपुरका राजा जितामित्र मल्लको वि.सं. १७४५ र भूपतीन्द्र मल्लको वि.सं. १७५५ को दुई अभिलेखबाट श्रीपञ्चमीको दिन राजाहरू वसन्त श्रवण गर्दथे भन्ने थाहा पाइन्छ । यसरी कान्तिपुरका राजा प्रताप मल्लको मोहनचोकको दलानमा रहेको वि.सं. १७०५ को अभिलेखमा माघ शुक्ल पञ्चमीका दिन कामदेवलाई पूजा गर्ने कुरा लेखिएको छ । वसन्त श्रवण गर्ने परम्परालाई मल्ल राजाहरूले जस्तै शाहवंशीय राजाहरूले पनि निरन्तरता दिएको पाइन्छ । गोरखालगायत अन्य छिमेकी राज्यमा प्रचलनमा नभएको यो परम्परालाई शाहवंशीय राजाहरूले अपनाउनुको अर्थ काठमाडाँैं उपत्यकामा प्रचलित परम्परागत सांस्कृतिक पर्व उत्सवलाई अपनाउनु हो ।
श्रीपञ्चमीको यस बिहान हनुमानढोकाको नासल चोकमा राजकीय सिंहासन ल्याएर राखिन्छ । त्यहा“ रहेका विभिन्न पूजा सामग्रीबाट मूलपुरोहितले पूर्ण कलशमा विधिवत् पूजा गरी शुभ मुहूर्तमा गीतगोविन्दको दोस्रो अध्याय राजालाई पढेर सुनाउ“छन् । पछि उस्तादहरू वसन्तराग गाउन थाल्छन् । यसरी नै धादी भनी प्रसिद्ध परम्परागत प्राचीन गीत गाउनेहरू पनि व्याञ्चुुली राग गाउ“छन् । राजाबाट हुने यही श्रवणलाई ‘वसन्त श्रवण’ भनिन्छ । यो परम्परा आजभोलि राष्ट्रपतिको उपस्थितिमा हुने गरेको छ । वसन्त श्रवण, थोरै समयको एउटा परम्परा निर्वाह मात्रै होइन, यो प्रकृति, साहित्य, सङ्गीत र गायनसँग पनि सम्बन्धित छ । यो परम्पराको निर्वाहले धेरै पाटोलाई छोएको छ भने त्यसलाई निरन्तरता दिनु सांस्कृतिक गरिमालाई उच्च पारी संस्कृतिको मूल्य मान्यताबाट समाजलाई विचलित हुन नदिने सन्देश पनि हो ।