विचार/दृष्टिकोण |

स्थिरताबाटै विकास सम्भव

राजकुमार सिवाकोटी
नेपाल किन बनेन भन्ने बहस आज सतहमा आएको छ । देश नबन्नुका कारणका धेरै आयाम र पक्ष छन् । हो, नेपाल नबन्नुका पछाडि यहाँको सामाजिक, आर्थिक र राजनीतिक मनोविज्ञान मुख्य कारक बनेको छ । यसको जड दरिद्र मनोविज्ञान सोच र गरिबी हो । गरिबीले आम रूपमा प्रभाव राख्दछ भने द्ररिद्र मनोविज्ञानले नीतिनिर्माता एवं समाजका मुख्य अभिकर्ता राजनीतिक तह, कर्मचारीतन्त्र, विकासे अभियन्ता, व्यापारिक घराना, बुद्धिजीवी आदि सबैलाई जेलेको छ । राज्य अस्थिरता र पछौटेपनतिर पुग्ने मुख्य कारण गरिबी हो । त्यसैले गरिबी निवारण गर्ने मुद्दाले सधैँ प्राथमिकता पाइरहन्छ । नेपालमा सन् १९५९ देखि नै गरिबी निवारणको अवधारणा अघि सारियो । आज नेपालदेखि विश्वभरि नै गरिबीलाई कसरी हेर्ने भन्ने सैद्धान्तिक बहस जारी छ । गरिबी निवारणको प्राज्ञिक बहस र कार्यबीच तालमेल नमिलेको पनि देखिन्छ । नेपालमा यो समस्या विद्यमान छ । गरिबी निवारणको प्रयत्नबाट नेपाल न पृथक् रहेको छ, न त गरिबी नै निवारण भएको छ ।

गरिबीलाई निरपेक्ष वा तुलनात्मकमध्ये कुन आयामबाट हेर्ने प्रस्ट हुन जरुरी छ । निरपेक्ष गरिबीले सामाजिक मूल्य मान्यतामा आधारित जीवनस्तरभन्दा तलको अवस्थालाई जनाउँछ । तुलनात्मक गरिबीले समाजको तल्लो र उपल्लो तहमा रहेको समूहबीच गरिने तुलनालाई जनाउँछ ।काठमाडौँको मध्यमवर्र्गीय समाज र धादिङ जोगीमाराका चेपाङबीचको तुलना यसको सेतु हो । यसरी हेर्दा नेपालमा गरिबी निवारणको मापदण्ड न्यूनतम आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यको प्रत्याभूति र राज्यका निकायमाथिको पहुँच हुनुपर्छ भन्नेमा कसैको विमति नहोला ।

राज्य अस्तित्वमा आएको लामो इतिहास भए पनि यो मुलुक नबन्नु साँच्चै दुर्भाग्यपूर्ण छ । हाम्रो समाजलाई दरिद्र सामाजिक मनोविज्ञानले नराम्रोसँग जेलेको छ । र, यो पुस्ता–पुस्तान्तर झाँगिँदै अघि बढेको छ । विडम्बना, हाम्रो सोचाइ र व्यवहार यसैबाट निर्देशित हुँदै आएको छ । हामी मेहनत, लगनशीलता र श्रमको सदुपयोगले हुने द्रव्य सञ्चयको सम्भावनामा विश्वास गर्दैनौँ । भाग्यवादी रूपमा कमिसन, घुस, दाइजोलगायतका सौदाबाजीबाट प्राप्त हुने भौतिक सुख–सुविधामाथि विश्वास गर्छौं । यसबाट सामाजिक स्तरीकरण बढेको छ । आडम्बरपनले समाजलाई बेरेको छ । भावनात्मक रूपमा नै मानवीयता र कर्तव्य कमजोर हुँदै छ । अवसर केन्द्रित प्रवृत्तिले हामीलाई लोभीपापी बनाउँदै छ । पहुँचमा रहेकाहरूको पहुँच विस्तार हुने र पहुँचविहीनहरू सीमान्तकृत हुने जड यही हो । त्यसैले नेपाल बनेन तर मुठ्ठीभर व्यक्ति बने ।

नेपाल नबन्नुको अर्को गाँठी कुरा यहाँको राजनीतिक प्रणाली, यसको स्थायित्व र नेतृत्व हो । राणाकाल, पञ्चायतकाल, २०४६ को परिवर्तन र २०६२/६३ पछिको खुला बहुलवादी गणतान्त्रिक लोकतन्त्र जे होस्, हामीले एक पूर्ण कार्यकाल निडर भएर काम गर्ने सरकार बनाउन सकेनौँ । गएको ७० वर्षमा राजनीतिक स्थायित्व र स्थिर सरकारको इतिहास बनाउन चुक्यौँ । राजनीतिमा अवकाशको संस्कार यो मुलुकमा बसेको छैन । मुलुक बन्नका लागि राजनीतिक प्रणाली, स्थायित्व र नेतृत्व प्रमुख मानक हो । राजनीतिक दलको गलगाँड संस्कृति पनि नेपाली राजनीतिक स्थायित्वको सन्दर्भमा दुर्भाग्यपूर्ण छ । सबल लोकतान्त्रिक अभ्यासका लागि पक्ष र विपक्षमा रहने दुई दल भए पुग्छ । जहाँ नागरिक समाज र थिङ्क ट्याङ्कले तेस्रो शक्तिका रूपमा दल र नीति निर्मातालाई मुद्दामा दिशानिर्देश गर्छन्, त्यहाँ लोकतन्त्र फस्टाउँछ । अमेरिकामा नोम चोम्स्कीले हजार शब्दको एउटा लेख लेख्दा विधेयकले पारित गर्न लागेको कानुन तथा नीति उल्टिन्छ तर नेपालका महावीर पुनले गरेका प्रयत्न र अघि सारेको दृष्टिकोण हाम्रा नीति निर्माता र राजनीतिक नेतृत्वका लागि खुर्पाको बिँड हुन्छ । यहाँ विकासमा एकले थालेको कामलाई अर्काेले निषेध गर्ने परिपाटी निरन्तर छ । यो विडम्बना हो ।

नेपालीको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १०४८ डलर छ । दैनिक आम्दानी २.८८ डलर छ । नेपाल मानव विकास सूचकाङ्कमा ०.६०२औँ स्थानमा रहेको छ र दुनियाँमा यो सूचकाङ्कको श्रेणी १४२औँ श्रेणीमा छ । नेपाल ४८ वटा अल्पविकसित राष्ट्रको सूचीमा छ । हामीले २०७७ फागुनसम्ममा तिर्न बाँकी खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपियाँ पुगेको छ । यो भार कुल गार्हस्थ्य उत्पादनको ३७.३ प्रतिशत हो । हाम्रो व्यापार घाटा आठ खर्ब ४९ अर्ब ३३ करोड रुपियाँ छ । यसरी उठ्ने हैन भासिने क्रमले हामी निरीह बनेका छौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई १०० अङ्कमा ३३ अङ्क दिएर धेरै भ्रष्टाचार हुने मुलुकको श्रेणीमा राखेको छ । हाम्रो देश भ्रष्टाचार व्याप्त हुने मुलुकको ११७औँ स्थानमा छ । यहाँ स्थानीयदेखि केन्द्रीय प्रशासनसम्म कर, राजस्व, भन्सार र नापीसम्म भ्रष्टाचारको जगजगी बढेको छ ।

२१औँ शताब्दीमा पनि हाम्रो अविकासको विकास बढेको बढै छ । हामी आधारभूत आवश्यकता खाद्यान्न, लत्ताकपडा र फलामजन्य वस्तुको उत्पादनमा परनिर्भर छौँ । हाम्रो विकासको ढाँचाले पँुजीवादी उत्पादन प्रणालीको प्रतिस्पर्धामा मुलुकको राष्ट्रिय स्रोत, श्रम, पुँजी, ऊर्जा, सीप र प्रविधिलाई जोडेर तलबाट माथि जाने ढाँचामा सबैलाई समन्याय दिने नीति, कार्यक्रम र कार्यान्वयन संयन्त्र बनाउन सकेन । दुर्भाग्य यसैकारण कृषिप्रधान देश भए पनि हामीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको छ महिनासम्ममा भारतबाट दुई अर्ब रुपियाँको प्याज आयात गरेका छौँ । यसरी दुई अर्ब रुपियाँ भारत गयो । यता २६ करोड ६२ लाख रुपियाँ राजस्व सङ्कलन भएकोमा सरकार गर्व गर्छ ।

कुनै नवीन कार्यको सुरुवातमा प्राविधिक र आर्थिक सहायता चाहिन्छ । त्यसपछि निरन्तरता र व्यापकता दिने कार्य सहयोग पाउनेको जाँगर र इच्छाश्क्तिमा भर पर्छ तर यो यथार्थलाई नेपाली समाजका व्यवहारले पुष्टि गर्न सकेको छैन । अमेरिकनले दोस्रो विश्वयुद्धमा चलाएका ‘डेकोटा’ विमान नेपालीलाई दिएपछि तिनै विमानबाट नेपाल वायुसेवा निगमको स्थापना भयो तर यस निगमलाई ७० वर्षको इतिहासमा हाम्रो राज्य प्रणालीले आत्मनिर्भर र सबल बनाउन सकेन । सुरुवाती सहयोगमा हाम्रो असफलताका दृष्टान्त धेरै छन् । स्विसले मोटर मर्मत तालिमको व्यवस्था मिलाइदिए पनि हामीले त्यसलाई सदुपयोग गरेर स्वदेशमै मोटर उत्पादन गर्न सकेनौँ । जापानले कृषिमा सिकाएको सीपलाई हामीले कृषिको व्यावसायीकरणमा प्रयोग गरेनौँ । चीनले बनाइदिएको इँटा–टायल, छाला जुत्ता र ट्रलीबस सेवालाई मासिसकेका छौँ । यस्ता सुरुवातलाई विस्तारीकरण गर्न राज्य चुक्यो र हामी भने आशे दरिद्रता प्रदर्शन गर्दै आइरहेछौँ ।

वैदेशिक सहायता र हाम्रो कर्मको यो सानो दृश्यले नेपाल किन बनेन भन्ने छर्लङ्ग पार्छ । अब नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासबाहेक अरू कार्यमा आउने विदेशी सहायतालाई अस्वीकार गर्ने इच्छाशक्ति राख्नुपर्छ तर यो साहस प्रदर्शन गर्ने नागरिक समाज र नेता पाउन हामी इतिहास र भाग्यद्वारा ठगिएका छौँ । हामीले भौतिक पूर्वाधारमा विकास गर्न सकेनौँ । हुलाकी मार्गले आजसम्म पूर्णता पाएन । २०२८ सालमा जापानिजले विद्युत् सम्भाव्यताको अध्ययन गरी सुझाएका कागजात आज हराइसकेका छन् । ठूला कलकारखाना, उद्योगधन्दालाई प्रवद्र्धन गर्न न राज्यले सक्यो न त राज्यले निजी क्षेत्रलाई प्रोत्साहन ग-यो । विदेशबाट साधन ल्याउँदा राजस्व उठ्छ भन्ने बुद्धि र भन्सार तथा राजस्वको तहमा हुने नीतिगत लाभको दरिद्र मनोविज्ञानले यस्तो भएको हो । अब हामीले दृृढ इच्छाशक्ति राख्नु जरुरी छ । हामी सबै कर्मशीलतातिर होमिने हो भने हाम्रो नेपालले १० वर्षमा मुहार फेर्न सक्छ ।