युद्धको मुखमा रुस र युक्रेन
रामप्रसाद आचार्य
रुस र युक्रेनबीचको तनाव उत्कर्षमा पुगेको छ । रुसको सेना युक्रेनमा आक्रमणको अन्तिम तयारीमा जुटेसँगै तनाव उत्कर्षमा पुगेको हो । युक्रेनसँग जोडिएको आफ्नो सीमामा रुसले हातहतियारसहित एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ । युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको भनी अमेरिकाले पछिल्ला दिनमा बारम्बार चेतावनी दिएको छ यद्यपि रुसले भने युक्रेनमाथि आक्रमण गर्ने योजना नभएको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति जोए बाइडेनले युक्रेनमा रुसले सैनिक कारबाही गर्न लागेको भन्दै त्यो घातक हुने बताउनुभएको छ । उहाँले यस कदमबाट युरोप युद्धमा तानिन सक्ने आशङ्का व्यक्त गर्नुभएको छ । अमेरिकी गुप्तचर निकायले रुस र युक्रेनबीच युद्ध भए ५० हजार सर्वसाधारणसमेत मारिन सक्ने चेतावनी दिएको छ । राष्ट्रपति बाइडेनले रुस र युक्रेन युद्धको मुखमा पुुगेको भन्दै युरोपको सुरक्षाका लागि थप दुई हजार अमेरिकी सेना पठाउने घोषणासमेत गर्नुभएको छ ।
अहिले अमेरिका युक्रेनको सुरक्षाप्रति चिन्तित छ । त्यसैले उसलाई हतियार सहयोग गरेको छ । अमेरिकातर्फबाट युक्रेनलाई सैन्य सहयोगको स्वीकृतिप्राप्त भएपछि हतियारको पहिलो खेप युक्रेन पुगेको छ । सीमामा तैनाथ सैनिकका लागि हतियार पनि समावेश गरिएको छ । कुनै पनि बेला रुसी आक्रमण हुन सक्ने भन्दै युक्रेनले पनि सीमा क्षेत्रमा सेना तैनाथ गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षा तालिमसमेत दिन थालेको छ ।
यता बेलायती विदेश मन्त्रालयले युक्रेनमा रुसले आफ्नोे समर्थन गर्ने र रुसी छाताभित्र बस्ने नेता खोजेकाले जटिल परिस्थिति सिर्जना भएको बताएको छ । रुसले बेलायत र अमेरिकाको आरोपलाई गलत बताउँदै आएको छ । युक्रेनको विषयलाई लिएर रुसले पश्चिमा देशसँग केही माग राख्दै आएको छ । उसले युक्रेन कहिले पनि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्य नहोस् भन्ने माग राखेको छ । पूर्वी युरोपमा नेटोले उसका गतिविधि नगरोस् भन्ने चाहना रुसको छ । पूर्वी युरोपमा नेटो विस्तार रुसलाई सह्य छैन । उसले यस कदमलाई रोक्न हदैसम्मको प्रयास गर्ने बताएको छ ।
युक्रेनको सीमामा एक लाखभन्दा पनि बढी सेना खटाए पनि रुसले यहाँ कुनै पनि आक्रमणको योजना नभएको बताउँदै आएको छ । रुसले धेरै पहिलेदेखि युरोपेली संस्था विशेष गरी नेटोबाट युक्रेनको सम्बन्धको विरोध गर्दै आएको हो । युक्रेनको सीमा पश्चिममा युरोपेली देश र पूर्वमा रुससँग जोडिएको छ । युक्रेन पूर्व सोभियत सङ्घका सदस्य हो । त्यहाँको जनसङ्ख्याको केही भाग रुसी मूलका हुनाले युक्रेनको रुससँग गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको छ ।
युक्रेनले सन् २०१४ मा जब आफ्नो रुसी समर्थक राष्ट्रपतिलाई पदबाट हटायो, यसबाट रुस पनि युक्रेनसँग रिसाएको थियो । यसलगत्तै रुसले दक्षिणी युक्रेनको क्रिमिया प्रायद्वीप आफ्नो कब्जामा लियो । त्यतिबेलादेखि रुस समर्थक विद्रोही र युक्रेनको सेनाबीच सङ्घर्ष भएको छ । यस सङ्घर्षमा १४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । पृथकतावादी र युक्रेनी सेनाबीच सङ्घर्ष विगतका कैयौँ वर्षदेखि रहँदै आएको छ तर पछिल्लो समयमा दुवै पक्षबीच युद्धविराम भएको छ ।
त्यहाँ चिन्ताको विषय के छ भने युक्रेनको सीमामा रुसका लाखभन्दा बढी सैनिक युद्धको तयारी अवस्थामा जम्मा भएर बसेका छन् । रुसले आफ्ना सैनिक युक्रेन सीमामा रहेको विषयलाई लिएर कुनै प्रतिक्रिया दिएको छैन । रुसले सैन्य कारबाहीको त्रास देखाएर युक्रेनलाई गलाउन यो अभियान जारी राखेको हो । रुसी सेना अभ्यासका लागि बेला रुसतर्फ पनि गएका छन् । रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले विद्यमान अवस्थाको तुलना सन् १९६२ को क्युवा क्षेप्यास्त्र सङ्कटसँग गर्नुभएकोे छ । उक्त समयमा अमेरिका र सोभियत सङ्घ परमाणु सङ्घर्षको नजिकै पुगेका थिए ।
पश्चिमा गुप्तचर एजेन्सीका अनुसार रुसले युक्रेनमाथि यसै महिना आक्रमण गर्ने सम्भावना प्रबल छ । नेटोले पनि युक्रेनको विषयलाई लिएर आक्रमणको खतरा भएको चेतवनी दिएको छ । रुसले नेटोसँगको आफ्नो सम्बन्धलाई नयाँ रूप दिनका लागि आफ्नो प्रस्ताव राखेको छ । रुसका उपविदेशमन्त्री र्याबको भलेयुक्रेन कहिल्यै नेटोको सदस्य देश नबनोस् भन्ने कुरामा निश्चित गर्न आवश्यक छ भन्नुभएको छ । नेटो सदस्य देशहरूले युक्रेनमा लगातार हतियारको आपूर्ति गरिरहेको आरोप रुसले लगाएको छ । अमेरिकाले दुवै देशलाई एक अर्काविरुद्ध भड्काइरहेको आरोप पनि रुसले लगाएको छ । राष्ट्रपति पुटिनले नेटो र पश्चिमा देशका कारण नचाहेर पनि युद्धमा होमिन पर्ने अवस्था आउन सक्ने सङ्केत गर्नुभएको छ ।
रुसले सन् २०१४ मा क्रिमियालाई उक्त प्रायद्वीपसँग ऐतिहासिक सम्बन्ध रहेको भन्दै जनमत सङ्ग्रह गरेर आफूमा विलय गराएको थियो । राष्ट्रपति पुटिनले सैन्य कारबाहीको त्रास देखाएर वार्ताद्वारा युक्रेनसँगको विवाद समाधान गर्न चाहनुभएको छ । त्यसका लागि उहाँले बारम्बार बाइडेनसँग र अन्य उच्चस्तरको वार्ता जारी राख्नु आवश्यक भएको बताउँदै आउनुभएको छ । यद्यपि आफ्नो प्रमुख मागलाई बेवास्ता गर्ने हो भने यसको नतिजा खतरनाक हुन सक्ने चेतावनी पुटिनले दिनुभएको छ । अब प्रश्न के उठ्न सक्छ भने रुस अब कहाँसम्म जान सक्छ ? बाइडेनले युक्रेनमाथि पूर्ण आक्रमण रुसका लागि गम्भीर परिणाम हुन सक्ने चेतावनी दिनुभएको छ । युक्रेनमा रुसको थोरै मात्र पनि हस्तक्षेपले पश्चिमा देशबीच असहमति पैदा हुन सक्ने खतरा छ ।
जनवरी २४ मा अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना कूटनीतिज्ञका परिवारलाई जति सक्दो छिटो युक्रेन छोड्न आदेश दियो । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने भएकाले आक्रमणपछि आफ्ना नागरिकलाई उद्दार गर्न कठिन हुने भन्दै अमेरिकी विदेश मन्त्रालयले कूटनीतिज्ञका परिवारलाई सार्वजनिक वा निजी सवारी प्रयोग गरेर युक्रेनबाट बाहिरिन दबाब दियो । अमेरिकाले अत्यावश्यक सेवाबाहेक केही कूटनीतिज्ञलाई पनि युुक्रेन छोड्न अनुमति दिएको छ ।
युक्रेनको राजधानी किभमा युरोपमा अमेरिकाको सबैभन्दा ठूलोमध्येको दूतावास छ । किभको अमेरिकी मिसनमा सय जना बढी मानिसले काम गर्छन् । तीमध्ये धेरै युक्रेनी छन् । जनवरी २३ मा बेलायतले किभमा अहिलेको सरकारलाई हटाएर रुस समर्थित व्यक्तिलाई सत्ता सुम्पिने रुसी राष्ट्रपति पुटिनको योजना रहेको बताएको थियो । एउटा सत्य को हो भने युक्रेन र रुसको सीमामा अहिले एउटा गहिरो तनाव छ । यो तनावसँग रुस र युक्रेनको इतिहास मात्रै होइन रुस र पश्चिमा देशको बीचको भूराजनीति पनि जोडिएको छ ।
जनबरी १४ मा केही रुसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे । लाखौँ मानिसले खोल्ने वेबसाइटमा उनीहरूले ‘डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस’ भनेर चेतावनी दिए । ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रुसी सेनाले युक्रेनलाई घेरिसकेका थिए । रुसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन् ।
युक्रेनको उत्तरमा पर्ने बेलारुसमा ‘बटालियन ट्याक्टिकल ग्रुुप’ का सैनिकहरू आइपुगेका छन् । रुस र बेलारुसबाट एकैसाथ आक्रमण गरेर युक्रेनी सेनालाई विभाजित गर्ने रणनीतिका साथ बेलारुसमा रुसी सेना पुगेको अनुमान गरिएको छ ।
रुससँग सीमा जोडिएको बेलारुस उसको मित्र हो । रुसमा जसरी पुटिनको शासन छ त्यसैगरी बेलारुसमा एलेक्जेन्डर लुकासेन्कोको शासन छ । २७ वर्षदेखि बेलारुसको शासनमा रहेका लुकासेन्कोले गतवर्ष साउनमा आफूविरुद्ध प्रदर्शन हुँदा पुटिनसँग सहयोग माग्नुभएको थियो । बेलारुस जस्तै युक्रेन पनि आफ्नै पक्षधर देश बनोस् भन्ने पुटिनको चाहना छ । सन् १९९१ सम्म युक्रेन त्यस्तै देश थियो । सन् १९९१ को अगस्टमा युक्रेन सोभियत सङ्घबाट स्वतन्त्र भयो । रुसीहरू बेलारुस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ र दिदी बहिनीजस्तै हुन् भन्छन् ।
क्रेनी राजधानी किभ नै सोभियत सङ्घका सबै सहरको जननी हो भन्ने उनीहरूको भनाइ छ तर सन् २०१४ मा रुसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रुस विरोधी भावना बढ्यो । रुसविरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति बन्नुभयो । सन् २०१९ मा हास्यकलाकार समेत रहेका भ्लादिमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो । पछिल्लो समय युक्रेनले ईयूको सदस्यता लिने तयारी गरिरहेको छ । सन् २०२४ सम्म ईयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ । अहिले युक्रेनमा आफ्नोे पक्षधर राष्ट्रपति पनि नभएको साथै ईयू र नेटोको सदस्यता लिन युक्रेनले तयारी गरेकाले रुसलाई यो सह्य भएको छैन ।
युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रुसको नाकैमा आइपुग्छन् । रुस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ । युक्रेनी नेतृत्व विरोधी भए रुसको सुरक्षा खतरामा पर्ने रुसी अधिकारीको चिन्ता छ । त्यसैले रुसको चिन्तालाई सम्बोधन गर्ने गरी अहिलेको जारी तनाव कूटनीतिक वार्ताद्वारा समाधान गर्नुपर्छ । युद्ध टार्नु सबैभन्दा ठूलो बुद्धिमानी हुनेछ । यदि युद्ध भयो भने यसको परिणाम
अकल्पनीय हुनेछ ।