विचार/दृष्टिकोण |

सुदूरपश्चिममा सौर्य ऊर्जा (सम्पादकीय)

दिनानुदिन बढिरहेको जनसङ्ख्या तथा औद्योगिकीकरणका कारण विश्वभर नै ऊर्जाको मागमा अत्यधिक वृद्धि भइरहेको छ । ऊर्जा पूर्वाधार हो तर विकासको आधार हो । ऊर्जाको बढ्दो मागकै कारण ऊर्जा उत्पादन अहिले सबैतिर प्राथमिकतामा परेको छ । केही वर्षअघिसम्म दिनमै आधाभन्दा बढी समय विद्युत् कटौतीमा परेका नेपालमा ऊर्जाको महत्त्व भनिरहनु पर्दैन ।

अझै पनि देशभित्र ऊर्जा अपुग भएर भारतबाट बिजुली आयात गर्नु परिरहेको छ । देशभित्रै ऊर्जाको उच्च माग छ । नेपालमा हालसम्म विशेषगरी जलविद्युत् नै ऊर्जाको प्रमुख तथा आधारभूत स्रोतका रूपमा रहिआएको छ । यताका वर्षमा जलविद्युत्मा लगानीसमेत बढ्दो क्रममा रहेको छ । ऊर्जा तथा इन्धनको अर्को स्रोत पेट्रोलियम पदार्थ हो । देशभित्र उत्पादन हुन नसक्ने पेट्रोलियम आयातमा निर्भर रहनुपर्छ । वार्षिक दुई खर्ब रुपियाँभन्दा बढीको त पेट्रोलियम नै आयात गर्नुपरेको छ । केही अंशमा सौर्य ऊर्जा र वायु ऊर्जाको प्रयोग पनि नेपालमा बढिरहेको छ । नवीकरणीय ऊर्जाको महìवपूर्ण स्रोत तथा वायु ऊर्जातर्फ अझै मुलुकको पर्याप्त ध्यान जान सकेको छैन ।

नेपालमा जलविद्युत्को राम्रो सम्भावना भएर पनि यो ऊर्जा सीमाविहीन छैन । जलवायु परिवर्तनका असर देखिन थालेका छन् । हिमनदी पग्लदै छन् । बाढी र पहिरोको प्रकोप पनि बढ्दैछ । यस सन्दर्भमा विद्युतीय ऊर्जाको दिगोपनामा धेरै बहस गर्ने ठाउँ छ तर अझै केही दशक नेपालका नदी नालाबाट विद्युतीय ऊर्जाको अब्बल सम्भावना छ । खानी ऊर्जाका रूपमा रहेको पेट्रोलिय उत्खननको लामो इतिहास छैन तर यो एकडेढ सय वर्षमा पेट्रोलियका उत्खनन र बढ्दो प्रयोगलाई विश्लेषण गर्ने हो भने लामो समय पेट्रोलियम ऊर्जामा भर पर्ने अवस्था छैन । देशभित्र अझै पनि खानीको कथामै रमाउनु पर्ने र बर्सेनि आयात भने उच्च हुँदैछ । पेट्रोलियमका कारण बाहिरिने मुद्राले देशको व्यापार घाटा उच्च बनाउँदै लगेको छ । त्यसैले ऊर्जाको दिगो स्रोत दीर्घकालीन महìव राख्दछ । देशभित्र ऊर्जाको मौजुदा अवस्थामा लगानी बोर्ड नेपालको मङ्गलबारको बैठकले सुखद खबर बाहिर ल्याएको छ ।

सुदूरपश्चिम प्रदेशको डोटी तथा डडेल्धुरा जिल्लामा विकास गर्ने गरी ३५० मेगावाटको सौर्य ऊर्जा विकास योजनाको सम्भाव्यता अध्ययन गर्न स्वीकृति प्रदान गरिएको छ । यो प्रदेशमा विद्युत् उत्पादनमा ठूलो फड्को मार्न नसकेको अवस्थामा सौर्य ऊर्जा उत्पादनको यो निर्णयले प्रदेशभर उत्साह छाएको हुनुपर्छ । यसबाट आगामी दिनमा सौर्य ऊर्जा विकासका सन्दर्भमा मार्ग प्रशस्त गर्ने वातावरण तयार गरेको छ । हाल विश्वमा नै सौर्य ऊर्जालाई भरपर्दो, वातावरणमैत्री, सहज एवं नवीकरणीय ऊर्जाका लिइने गरिएको छ । हाम्रोजस्तो बाह्रै महिना घाम लाग्ने मुलुकमा सौर्य ऊर्जाको एक प्रमुख स्रोत हो । प्रविधिको विकाससँगै यसको लागतमा पनि क्रमिक रूपमा कमी आएकोले स्वच्छ, हराभरा तथा प्रदूषणमुक्त समाजका लागि पनि यसको आवश्यकता बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेशको हालसम्मकै सबैभन्दा बृहत परियोजनाका रूपमा २३ अर्ब रुपियाँ लगानी हुने यस परियोजना डोटीको दिपायल सिलगढी नगरपालिका तथा डडेल्धुराको अमरगढी नगरपालिका क्षेत्रमा क्रमशः १२५ तथा २२५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनको लक्ष्य लिइएको छ । यो परियोजना सम्पन्न हुन सके सुदूरपश्चिम क्षेत्रले ऊर्जाका क्षेत्रमा ठूलो रूपान्तरण हुने विश्वास लिन सकिन्छ । सुदूरपश्चिमको भाग्य विधाताका रूपमा लिइएको पश्चिम सेती जलविद्युत् परियोजना निर्माणको अन्योलका कारण मर्महत भएको यो प्रदेशमा सौर्य ऊर्जाको यस नवीन परियोजनाबाट पक्कै पनि राहत एवं उत्साहको सञ्चार हुने विश्वास लिन सकिन्छ ।

विकासका दृष्टिकोणबाट पिछडिएको सुदूरपश्चिम प्रदेशमा यो परियोजना सम्पन्न हुन सके त्यहाँको आर्थिक क्रियाशीलतामा आधार बन्न सक्छ । ऊर्जाको पहुँचसँगै घरेलु प्रयोगसँगै कृषि, उद्योग र सेवा क्षेत्रमा रोजगारी सिर्जना हुन्छ । उत्पादन बढ्छ, यसबाट जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउनेछ । भारतको एक विद्युत् कम्पनीलाई परियोजनाको सम्भाव्यता अध्ययन गर्न जिम्मा दिइएको यस परियोजनालाई गति दिन सरकार, लगानी बोर्ड तथा स्थानीयको ऐक्यबद्धता, सहयोग आवश्यक पर्छ । नयाँ आयोजना आउने भनेपछि अनेक विध्नबाधा खडा गर्ने प्रवृत्तिसमेत समाजमा छ । त्यस्ता नकारात्मक प्रवृत्तिको अन्त्य जरुरी छ । ऊर्जा नै आर्थिक विकासको आधार भएकोले आयोजना सफल बनाउन भगीरथ प्रयास जरुरी छ ।