आगलागीको जोखिम
रामशरण मैनाली
अगलागी विभिन्न कारणबाट हुने गर्छ । आगलागी नियन्त्रण गर्न नेपालमा सर्वप्रथम काठमाडौँको धर्मपथमा वि.सं १९९४ भदौ ३ गतेदेखि जुद्ध वारुणयन्त्रको कार्यालय स्थापना गरी सेवा सुरु भएको हो । स्थापनाकालदेखि सञ्चालनमा रहेको यो पुरानो भवन ०७२ को भूकम्पपछि जीर्ण अवस्थामा छ । जनतालाई थप सेवा दिन काठमाडौँ महानगरपालिकाले महानगरको वडा ६ स्थित रामहिटीबाट वि.सं २०७६ मङ्सिर २९ गतेबाट अर्को वारुणयन्त्र कार्यालय स्थापना गरी सेवा उपलब्ध गराउँदै आएको छ । दुवै कार्यालयमा अग्नि नियन्त्रक र कर्मचारी गरी ४२ जना कार्यरत छन् । यस्तो जोखिममा काम गर्ने अग्नि नियन्त्रकको प्रतिव्यक्ति बीमा पाँच लाख रुपियाँ रहेको छ ।
वाटर हाइडेन्ट :
यसलाई खानेपानीको जुनसुकै प्रकारको मुख्य पाइप लाइनमा जडान गर्न सकिन्छ । मानव बस्ती बाक्लो भएको स्थानमा ५० मिटरको दूरीमा र आवश्यकता हेरी यसको जडान गर्न सकिन्छ । यसको आवश्यकतालाई ध्यान दिई करिब सय वर्षअघिको सरकारमा रहेका नीतिनिर्माताले यसको पहिलो जडान काठमाडौँबाट सुरु गरेका थिए । काठमाडौँको पानी आपूर्ति नरहेको पुरानो पाइपको माथिल्लो भागमा यसलाई अहिले पनि सुरक्षित देख्न सकिन्छ । यसको उचाइ दुईदेखि चार फिटसम्मको हुन्छ । यसबाट अग्नि नियन्त्रणका लागि पानी निकाल्न ३५ एमएमदेखि ६८ एमएम भएको मुख विभिन्न आकारमा पाइने हुँदा आवश्यकताअनुसार जडान गर्न सकिन्छ ।
काठमाडौँ महानगर १३, कालीमाटी र ओमबहालमा जडान कार्य सम्पन्न भइसकेको छ । जुद्ध वारुणयन्त्रका अग्नि नियन्त्रक गगनबहादुर गुरुङ र अजय थापा भन्नुहुन्छ– सानो बाटोमा वारुणयन्त्र प्रवेश गर्न नसक्ने, सडक जाम र अन्य कारणबाट वारुणयन्त्र समयमा आउन नसक्ने अवस्थामा तत्काल वाटर हाइडेन्टबाट पानी निकाली स्थानीय स्तरबाट पनि अग्नि नियन्त्रण गर्न सकिन्छ । यो जडान गर्न बढी खर्च पनि नलाग्ने भएकाले स्थानीय स्तरबाट यसको निर्माण गर्न सकिन्छ ।
काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको बृहत् आयोजना निर्माण हँुदासमेत यसको निर्माणमा ध्यान दिन सकिएन । देशको विभिन्न स्थानमा निर्माण हुन लागेको र निर्माण भइसकेको खानेपानी आयोजनामा धेरै मानव बसोवास रहेको क्षेत्रमा आवश्यकता हेरी यसको जडान गर्न सके सबै स्थान सुरक्षित गर्न सकिन्छ ।
फायर एक्सटिङग्विसर
आगलागी हुनेबित्तिकै तत्काल यसको प्रयोग तत्काल गरी नियन्त्रण गर्न सकिन्छ । यसमा प्रयोग हुने पाउडरलाई दुईदेखि १० केजीसम्मको विभिन्न आकारमा रातो सिलिन्डरमा भरेर तयार गरिन्छ । जुनसुकै प्रकारको आगलागी नियन्त्रणका लागि एबीसी पाउडर भएको सिलिन्डर प्रयोग गरिन्छ । यसलाई ग्याँस उद्योग, पेट्रोल पम्प, एयरपोट, बैङ्क तथा वित्तीय कारोबार हुने क्षेत्र, ठूला भवन, कारखाना, सिनेमा हल, रेस्टुराँ, अस्पताललगायतका क्षेत्रमा सुरक्षाका लागि तयारी अवस्थामा राखिन्छ ।
फायर सुट
अग्नि नियन्त्रकले आगोबाट शरीरलाई बचाउन यसलाई पोसाकको रूपमा प्रयोगमा ल्याउँछन् । यस्तो पोसाक स्थानीय स्तरमा समेत उपलब्ध गराउन सकेमा स्थानीय बासिन्दा सुरक्षित भएर अग्नि नियन्त्रण गर्न सक्षम हुन्छन् ।
वनक्षेत्रमा आगलागी
कतिपयले वनक्षेत्रमा आगो लगाएमा नयाँ घाँस राम्ररी पलाउँछ भन्ने गलत विचारले गर्दा जानीजानी आगो लगाउँछन् । चुरोट, बिडी खाइसकेपछि राम्ररी ननिभाएर फालिदिँदा सुक्खा मौसममा त्यहीँबाट आगलागी सुरु हुन्छ । यसलाई खाइसकेपछि राम्ररी निभाएर माटो वा बालुवाले पुरिदिनुपर्छ । वन नजिकको मानव बस्तीको भान्साबाट आगो उडेर आगलागी हुन सक्छ । वनमा सुक्खा मौसममा सुकेको रुखको हाँगा एक आपसमा घर्षण भएर प्राकृतिक प्रक्रियाबाट पनि आगलागी हुन सक्छ । वनको आगलागीबाट जङ्गली जनावर, लोपोन्मुख जडीबुटी, महìवपूर्ण वनस्पतीलगायतको नोक्सान हुन्छ ।
पानी भण्डारण
आगलागीको समयमा आगो निभाउन कतिपय मानव बस्तीमा पानीको अभाव हुन्छ । स्थानीय स्तरमा आगलागी नियन्त्रणमा सहयोग पु¥याउन प्रत्येक घर र समुदायले आफूसँग उपलब्ध भाँडामा पानीको अतिरिक्त भण्डारण गरी आगलागीकोे समयमा सो पानीको तत्काल प्रयोग गर्नुपर्छ ।
पानीको स्रोतको संरक्षण
स्थानीय स्तरमा उपलब्ध ढुङ्गेधारा, इनार, पोखरी, कुवा, जरुवा, कुलो, ताल, पानीको मुहानको समय समयमा सरसफाइ र मर्मतसम्भार गरी आगलागीको बेलामा सहज रूपमा प्रयोग गर्न सकिन्छ । यसमा प्रयोग हुने आधुनिक उपकरणको आवश्यक व्यवस्था समेत गर्नुपर्छ ।
तालिम
तालिमप्राप्त व्यक्तिको काम गर्ने क्षमता उत्कृष्ट हुन्छ । स्थानीय स्तरमा अग्नि नियन्त्रण गर्न विपत् व्यवस्थापनबाट विज्ञहरूको तालिम वडास्तरअन्तर्गत स्कुल, कलेज, गुठी र विभिन्न समुदायमा उपलब्ध गराउन सकेमा आगलागीको जोखिम कम गर्न सकिन्छ । बेलाबेलामा आगलागी नियन्त्रणका लागि अभ्यास पनि गर्नुपर्छ । विद्युत् आपूर्ति भइरहेका बेलामा आगलागी नियन्त्रण गर्न विद्युत् बन्द गर्नुपर्छ, नत्र करेन्ट लाग्छ ।
कुनै पनि विषय वस्तुलाई हालको आधुनिक सञ्चारमाध्यमले जनतासमक्ष छिटो, सरल प्रभावकारी तरिकाबाट पु¥याउन मद्दत गर्छ । टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल, पत्रपत्रिकाबाट पनि विभिन्न सामग्रीलाई अलगअलग भाषामा निर्माण र प्रस्तुत गरी आगलागी नियन्त्रण गर्नमा सहयोग पु-याउन सकिन्छ ।
अग्लो भवन निर्माण
आवासीय क्षेत्रमा व्यावसायिक अग्लो भवन निर्माण गर्दा सो क्षेत्रमा आगलागी, भूकम्पलगायतको प्रकोपमा बढी जोखिम हुनेछ । यस्तो भवनमा विपत् व्यवस्थापन गर्नसमेत कठिनाइ हुन्छ । व्यावसायिक अग्लो भवन निर्माण गर्न स्थानीय पालिका र समुदाय मिलेर अलगै क्षेत्र छुट््याइ यस्तो व्यावसायिक भवन निर्माण गर्नुपर्छ ।
राहत व्यवस्थापन
अग्निपीडितलाई राहत वितरण गर्दा भेदभाव गर्नु हुँदैन । पीडितलाई अस्थायी बसोवासका लागि तत्काल सामुदायिक र निजी स्कुल, मठ मन्दिर, गुम्बा, चर्च, मस्जिदलगायतको स्थानमा राख्नुपर्छ र शौचालय, सरसफाइ र सुरक्षालगायत त्रिपाल, जस्तापाता, खाद्य सामग्री, लत्ता कपडा, औषधिलगायतको व्यवस्था गर्नुपर्छ । अस्थायी बसोवासको व्यवस्था मिलाउनुपर्छ । यस बसोवासमा बढी प्रयोग हुने बाँसको उत्पादन वडा स्तरमा गर्न सकेमा अझ राम्रो हुन्छ । पालिकाको विपत् व्यवस्थापनले रेडक्रस, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी काम गर्दा राहत व्यवस्थापनमा सजिलो हुन्छ ।
सामग्री
आगलागी नियन्त्रण गर्न आवश्यक सामग्री पिग, साबेल, कोदालो, बाल्टिन, सिंढी, डोरी, हेल्मेट, पानी तान्ने मोटर, पाइप, ड्रमलगायतका आधुनिक उपकरण आवश्यकता परेको बेला तुरुन्त उपलब्ध हुने स्थानमा राख्ने गरी स्थानीय वडा र समुदायले व्यवस्था गर्नुपर्छ ।
जुद्ध वारुणयन्त्रले २०७७ मङ्सिरदेखि २०७८ कात्तिक मसान्तसम्म आगलागी निवारण ८३ वटा, जोखिमयुक्त रुख व्यवस्थापन १८ वटा, अन्य १० वटाअन्तर्गत इनार, रिजर्भ ट्याङ्की, सेफ्टी ट्याङ्कीलगायतबाट मानवको उद्धार गरिएको छ । आगलागी वृद्धि हुनुको कारण घरका ठूला मानिस कामका लागि घरबाहिर जानुपर्ने बाध्यता र घरमा बालबालिकाबाट खाना पकाउने कामको जिम्मेवार हुने भएकाले अज्ञानताका कारण पनि आगलागी हुन सक्छ ।
घरमा प्रयोग हुने विभिन्न किसिमको चुलोमा बलेको आगोलाई कसरी सुरक्षित गर्ने भन्नेबारे बालबालिकालाई राम्रोसँग जानकारी दिनुपर्छ । चुलोको नजिक आगोले छिटो टिप्ने पेट्रोलियम पदार्थ, रसायन, पराल, खर(फुस), छवाली, भुसलगायतका सामान राख्नु हुँदैन । बालबालिकाले भेट्ने गरी सलाई, लाइटर राख्नु हुँदैन । आफ्नो क्षेत्रको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वडाको जनप्रतिनिधिको सम्पर्क नम्बर राख्नुपर्छ । आवश्यकता परेको बेलामा तुरुन्त खबर गर्नुपर्छ ।
जाडोको समयमा विपन्न नागरिक कपडाको अभावमा आगो तापेर गुजरा चलाउनुपर्ने बाध्यता छ र सुतेको समयमा आगलागी र मानिसलाई चोटपटकको सम्भावना हुन्छ । युवा अध्ययन, कामको खोजी र वैदेशिक रोजगारीमा घरबाट बाध्य भएर बाहिर जानुपर्ने अवस्था सिर्जना भएको छ । स्थानीय स्तरमा रहेको समुदायले आगलागीलगायतको विभिन्न विपत्को सामना गर्नुपर्ने अवस्था छ । यसरी विभिन्न प्रकारको सुरक्षामा ध्यान दिनसकेमा देश र स्थानीय स्तरमा आउन सक्ने विपत्को सामना गरी ठूलो धनजनको क्षतिबाट बच्न सकिन्छ ।