विचार/दृष्टिकोण |

मिटरब्याजको विषालु जालो (सम्पादकीय)

मुलुकमा आर्थिक गतिविधिको बढोत्तरीसँगै वित्तीय अपराधका घटना पनि झाँगिँदै गइरहेका छन् । यसले समाजमा ठूलै समस्या खडा गरेको छ । वित्तीय अपराध गरेर धन आर्जन गर्ने प्रवृत्तिले कतिपयको बिल्लिबाठ भएको छ भने कतिपय रातारात धनी हुने क्रम बढेको छ । यसका खास कारण त होलान् नै तर पनि कतिपयले संस्थागत काममा आउने अवरोधले पनि मानिसलाई वित्तीय अपराधतिर डो-याउँदै छ ।

बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन त्यति सजिलो छैन । प्रक्रिया लामो छ र कतिपय सन्दर्भमा प्रक्रिया झन्झटिलोसमेत छ । मानिसलाई आफ्नो कार्य सम्पादन गर्न तत्कालै रकम चाहिन्छ तर बैङ्क तथा वित्तीय संस्थाहरू लामो समय लगाइदिन्छन् । बिनाधितो ऋण पाउनु त आकाशको फल आँखा तरी मर जस्तै हो । यस्तै समस्याका कारण पनि मानिस सजिलोसँग ऋण पाउन प्रचलित बैङ्क ब्याज दरभन्दा निकै उच्च दरमा ब्याज तिर्नसमेत तयार हुन्छन् । कानुन प्रक्रियामै नआउने त्यस्तै ऋणबाट समेत अपराध आरम्भ हुन्छ । उच्च ब्याज लिएर कर्जा चलाउनुलाई चलनचल्तीको भाषामा मिटरब्याज भनिन्छ । मिटरब्याजले वित्तीय अपचलन मात्र होइन, अपराधका अनेक हाँगाबिँगासमेत फैलाइरहेको हुन्छ ।

हिजोआज निकै चर्को ब्याजदरमा पैसा ऋण दिने तथा त्यसमा साँवा र ब्याज थप्दै गएर ऋणीमाथि शारीरिक तथा मानसिक यातना दिने घटना सतहमा आउन थालेका छन् । बैङ्क तथा वित्तीय संस्थाका ऋणको प्रचलित औसत ब्याजदरको तुलनामा मिटरब्याजीले २४ देखि शतप्रतिशतसम्म ब्याज असुल्ने गरेको पाइएको छ । मिटरब्याजकै कारण लाखको ऋण छोटो समयमा करोडौँमा परिणत हुन जान्छ ।

कतिपय उद्यमी नै मिटरब्याजबाट घरसम्पत्ति स्वाहा पार्ने अवस्थामा पुगेका छन् । फलतः यस्तै घटनाका उपजस्वरूप कतिपय व्यक्तिले आत्महत्या गरेका, उठिबास लागेका, अपहरणमा परेका एवं शारीरिक लगायतका विविध शोषणमा परेका घटनासमेत आउन थालेका छन् । थरीथरीका अपराधले प्रहरी र न्यायालयलाई समेत हैरान पारेको छ । थोरै समयमा मिटरब्याजका माध्यमबाट धनी हुन चाहने साहु तथा सजिलो तरिकाबाट ऋण लिन चाहने ऋणीबीचको अन्तरसम्बन्ध नै यस्ता अपराधका कारक हुन् । यो विषालु जालोको दोषी कसलाई मात्र मान्ने ?

समाजमा विकृत अवस्थामा देखिएको मिटरब्याजको कुचक्रका सम्बन्धमा बैङ्क तथा वित्तीय निकायका साथै प्रहरीलगायतका निकायको समयोचित ध्यानाकर्षण अति आवश्यक भएको छ । यस्ता विकृतिमा आँखा चिम्लेर यस्ता पक्षलाई प्रोत्साहित गरिनु हुँदैन । समयमै कदम चाल्न नसकिए यसले समाजमा निकै नै नकारात्मक प्रभाव पार्ने शङ्कारहित तथ्य हो ।

मिटरब्याजको धन्दा गर्नेमा बहालवाला तथा पूर्व प्रहरी उच्च अधिकारीका साथै पूर्व सरकारी कर्मचारी, राजनीतिक एवं प्रशासनिक पहुँच भएका व्यक्ति रहेको प्रहरीकै अनुसन्धानले देखिँदै आएको छ । शक्तिकै आडमा यस्ता वित्तीय विकृति फैलिरहेको बुझ्न कठिन हुँदैन । यस सन्दर्भमा अझै बढी गम्भीर भएर सोच्नुपर्ने अवस्था प्रशासनसमक्ष आइपरेको छ । शक्तिको आड र कानुनी छिद्रसमेत प्रयोग गरेर अपराध गर्नेसम्बन्धमा अझै गहन अध्ययन तथा अनुसन्धानको आवश्यकतासमेत महसुस गराएको छ ।

पूर्व प्रहरी अधिकारीलगायतको यातना सहन नसकेर काठमाडौँबाट भारत भागेको एक सम्पन्न व्यापारी परिवारको रहस्योद्घाटन तथ्यले मिटरब्याजको भयावह स्थितिको अनुमान गर्न गाह्रो पर्दैन । जनताको करबाट तलबका साथै पेन्सन सुविधा लिने प्रहरीलगायतका कर्मचारीको यस्ता आपराधिक क्रियाकलापलाई कुनै पनि दृष्टिकोणबाट बेवास्ता गर्न मिल्दैन । यसबाट समग्रमा प्रहरी तथा सरकारी कर्मचारीको प्रतिष्ठामा नै प्रतिकूल प्रभाव पर्नेछ । कानुनले नगर्नु भनेको काम गर्ने जोसुकै आपराधिक मानसिकताका व्यक्ति हुन् ।

जोसुकै भए पनि तिनलाई कानुनको कठघरामा ल्याउनुपर्छ । बैङ्क तथा वित्तीय प्रणाली समुचित सञ्चालनका लागिसमेत मिटरब्याजको समस्यालाई नियन्त्रण जरुरी छ । अन्यथा यसले भविष्यमा विकराल समस्या ननिम्त्याउँला भन्न सकिन्न । यसका लागि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन अनावश्यक झन्झटिलो प्रक्रियालाई सरलीकृत गर्नेतर्फ प्रोत्साहित गरिनु उपयुक्त देखिन्छ । साथै यस्ता अपराधका सम्बन्धमा ठोस नीति नियमको तर्जुमा एवं कार्यान्वयन पनि त्यत्तिकै आवश्यक छ । मिटरब्याज वित्तीय अपराधको विष्फोटक कारण नबन्नेतिर समयमै कदम चाल्नु जरुरी छ ।